भर्खरै :

नपा भवन बनाउन जग खन्दा बस्ती नै पहिरोको जोखिममा

भक्तपुर, २३ मङ्सिर । भक्तपुरको सूर्यविनायक नगरपालिकाको भवन निर्माणका लागि जग खन्ने नाममा अत्यधिक माटो निकाल्दा कटुञ्जेको दर्शनढुङ्गामाथिको बस्ती पहिरोको जोखिममा परेको छ । गहिरो गरी माटो खन्दै गर्दा माटो खसेर सोमबार राति जेसीबी चेन डोजर र एउटा ट्रिपर पुरिएको छ । माटो खस्दा दर्शनढुङ्गाबाट वडा कार्यालय जाने सडकको आधा चौडाइ बाटो भत्किएको छ भने घट्टेखोला खानेपानी आयोजनाले ६ सय घरधुरीलाई खानेपानी वितरण गरिरहेको पाइपमा क्षति पुगेको छ ।
सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेस्थित दर्शनढुङ्गा डाँडाको फेदीमा रहेको पहिलेको महेन्द्र निमाविको भवन र प्राङ्गण म्हासेर सूर्यविनायक नगरपालिकाको भवन बनाउन लागिएको हो । नगरपालिका भवनको दुईतला अन्डरग्राउन्ड निर्माण गर्ने भनी गहिरो गरी माटो निकाल्दा दुर्घटनाको जोखिम बढेको देखिन्छ । माटो खस्ने र पहिरो रोक्ने उद्देश्यले केही फलामे पोल गाडिएको भए पनि त्यसले माथिको भार थेग्न सक्ने देखिन्न । उक्त सडक र बस्ती बचाउन ४०–५० फिट अग्लो कंक्रिट वाल लगाउन जरुरी देखिएको छ ।
नगरपालिका भवन बनाउनेबारे केही छलफल भए पनि भवन कसरी बनाउनेबारे नपाले स्थानीय जनतासित छलफल नगरेको स्थानीयको भनाइ छ । बस्ती नै जोखिममा पर्दा पनि नगरपालिका भने केही नभएको जस्तो बेवास्ता गरिरहेकोमा स्थानीयवासीले आश्चर्य व्यक्त गरेका छन् ।
जग खन्दा निकालिएको ग्रेगर माटो भागबन्डामा बेचिएको र त्यसैको लोभमा र भवन बनाउन सङ्घ र प्रदेश सरकारबाट आएको रकम सिध्याउन डिजाइनमै नभएको दुईतला अन्डरग्राउन्ड बनाउन लागेको भनाइ स्थानीयको छ ।
राति रातिमात्र काम गरेर ठेकेदारले स्थानीय जनतालाई त्रसित पारेको स्थानीयको आरोप छ ।
स्थानीय वडाध्यक्ष राजकुमार जोशीले त्यति धेरै जोखिम नरहेको, भवन छिट्टै बनाइने र क्षति पुगेका सडक र खानेपानी पाइपलाइन छिटो भन्दा छिटो मर्मत गरिने बताउनुभयो ।
उक्त स्थानबाट विद्यालय विस्थापित गरेर नपा भवन बनाउन नहुने भनी स्थानीय जनताले दुई वर्षअगाडि नै विरोध गरेका थिए । तीन वर्षमा पूरा गरिने भनिएको भवन निर्माणको अवधिको दुई वर्ष व्यतित भइसकेको बताइन्छ ।
भवन निर्माणस्थल बाहिर आयोजनाबारे सूचना पाटी नराखेकोले भवन कुन निर्माण कम्पनीले र कति लागतमा बन्न लागेको चर्चाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *