राजनीतिक रूपमा सचेत हुन पार्टी प्रकाशनहरू अध्ययन गर्न आवश्यक
- जेष्ठ २०, २०८३
काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री केपी ओलीको आयोजनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार सर्वदलीय बैठक बस्यो ।
बिहान ११ बजे बोलाइएको बैठक ११ः२० बजे सुरु गर्दैै प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिबारे सङ्क्षिप्त छलफल गर्न बैठकको आयोजना गरेको बताउनुभयो ।
प्रम ओलीले कोभिड–१९ रोकथाम गर्न सरकार पहिलो दिनदेखि लागिपरेको, विदेशमा गर्नुपर्ने पीसीआर परीक्षण अहिले देशका ७७ ठाउँमा भइरहेको, स्थानीय तहमा एकैदिन ३०९ अस्पतालको शिलान्यास भएको, कोभिड रोकथामको भ्याक्सिन सम्भव भएसम्म निःशुल्क उपलब्ध गराउने चर्चा गर्दैै दलहरूभित्रको असामाजिक र असान्दर्भिक तत्वहरूको कारण संविधानविरोधीहरूलाई मलजल पुगेको, आफ्नो स्वार्थको निम्ति गलत काम गराउन सडकमा उत्रन उक्साइएको, मोरङ र पाँचथरको सीमामा विप्लव समूहले एकजना शिक्षकको हत्या गरेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सरकारमा गएका नेता र तिनका वरपर बसेका कार्यकर्ताहरू इमानदार हुनुपर्ने, विदेशीको भरमा काम गर्न नहुने, देश र जनताको सेवालाई प्राथमिकतामा राख्नुपर्ने, कोभिड–१९ सङ्क्रमण रोकथामको निम्ति तराईका जनताको स्वास्थ्य उपचार सेवामा ध्यान दिनुपर्ने, सीमामा परीक्षण, अनुगमन र निरीक्षण गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य तथा शिक्षासमेत निजीकरण गरिएको हुँदा निजी अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा लाखौँ रुपैयाँ लागेको र यसमा अर्बपति र खर्बपतिको हित हुने गरी निजीकरणलाई जोड दिएका सरकारहरू दोषी भएको उल्लेख गर्दै सचिव सुवालले सरकारमा गएका कुन–कुन नेताका खराब ठेकेदारहरू र किसानलाई समयमा मल ल्याइनदिने ठेकेदारसँग साठगाँठ छ, छानबिन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“सरकारको आफ्नै आयोजनाको २० प्रतिशत जलविद्युत् उत्पादन कम गरी वार्षिक ४०० मेगावाट बिजुली आयात गर्ने र पञ्चायतकालमा झैँ वन फडानी गरी भ्रष्टाचार गर्नेहरूमाथि पनि छानबिन हुनु आवश्यक छ”, सचिव सुवालले थप्नुभयो ।
भक्तपुरको हस्तकलामा आधारित परम्परागत सीपलाई व्यावसायीकरण गर्न स्थापना भएको भक्तपुर सानो उद्योग क्षेत्रमा बहुदलीय व्यवस्था पुनःस्थापनालगत्तै विसं २०४७ सालको सरकारले ध्वनि, धुवाँ, रसायन प्रदूषण फैलाउने टेक्सटाइल, डाइङ्ग, प्लास्टिक, रङ–रोगनलगायत उद्योगहरू सञ्चालन गराएकोले जनताको स्वास्थ्यमा हानि भइरहेको उल्लेख गर्दैै उहाँले आव २०७३÷७४ को बजेट वक्तव्यको प्रतिबद्धताअनुसार काठमाडौँ उपत्यकामा औद्योगिक क्षेत्रहरू स्थानान्तरण गर्नुपर्ने वा हस्तकलाका उद्योगमात्र कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
सचिव सुवालले देश र जनताका समस्याबारे छलफल गर्न संसद अधिवेशन बोलाउनुपर्ने र संसद बैठक नभएको बेला बरोबर सर्वदलीय बैठक बस्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले सर्वसाधारण जनतासँग मालपोत र घरजग्गा कर उठाउने सरकार ठूला उद्योगी–व्यापारीसँग एक खर्ब ३ अर्ब रुपैयाँ बक्यौता कर उठाउन अक्षम हुनु मिलेमतो हुनसक्ने उल्लेख गर्दैै राजनीतिक नियुक्तिमा भागबन्डा होइन, योग्यतालाई ठाउँ दिनुपर्नेमा जोड दिनुभयो ।
सचिव सुवालले भ्रष्टाचारीहरूमाथि कारबाही गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेका सभापति देउवाको निर्देशन प्राप्त गरी बैठकमा बोल्नुभएको थियो । पौडेलले प्रम ओलीले भ्रष्टाचारी मन्त्रीको बचाउ गरेको, अख्तियार र अदालतलाई सरकारी दबाबमा राखेको, ओम्नी, वाइडबडी सबैमा ढाकछोप गरेको, सत्ताको दुरुपयोग गरेको, अयोध्याबारे भारतलाई चिढ्याउने भाषा बोलेको, अध्यादेशको भरमा शासन चलाएको, तनहुँमा आफूमाथि प्रहरी दमन गराएको आरोप लगाउँदै जनता प्रतिगामीहरूलाई निरुत्तरित पार्न तयार रहेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका महासचिव जनक शर्माले राजतन्त्र र हिन्दू राज्यको पक्षमा निस्केको सडक प्रदर्शनमा नेका र नेकपाका कार्यकर्तासमेत संलग्न रहेको, कानुनमा अधिकार गाउँमा भनिए पनि व्यवहारमा नभएको, प्रतिपक्षीमाथि प्रतिशोधको व्यवहार भएको, भ्रष्टाचारीलाई कारबाही नभएको, दुईतिहाइको सरकारले राम्रो काम गर्न नसकेको, स्थानीय तहका जनप्रतिनिधि डोजर र ट्रिपर मालिक बनेको, सरकारमा गएका पार्टीलाई माफियाले चुनाव जिताएको, कोभिड–१९ सङ्क्रमण रोकथामको नाममा बजेट दुरुपयोग भएको उल्लेख गर्दै तत्काललाई वर्तमान सरकारको विकल्प नभएको बताउनुभयो ।
राप्रपाका दीपक बोहराले धर्म परिवर्तन गराउनेलाई कारबाही नभएको, राजालाई संविधानभित्र ल्याउनुपर्ने, हिन्दू धर्मको लागि सडक आन्दोलन भएकोमा राप्रपाको समर्थन रहेको बताउनुभयो ।
जनता समाजवादी पार्टीका महन्थ ठाकुरले कोभिड–१९ को सङ्क्रमणसँगै शिक्षा र कृषिमा हानि पुगेको, बेरोजगारी बढेको उल्लेख गर्दैै जनआन्दोलनबाट फालिएको राजतन्त्र अब पुनःस्थापना सम्भव नभएको, जनताको धर्म हुने तर राज्य धर्म निरपेक्ष हुने, लोकतन्त्रका लागि लडेकाहरूलाई जेलमा थुन्न नहुने बताउनुभयो ।
समाजवादी जनता पार्टीका अर्का नेता उपेन्द्र यादवले नेकपाको सरकार समाजवादउन्मुख नभई प्रतिगमनउन्मुख भएको आरोप लगाउनुभयो । उहाँले सीडीओसमेत सरकारी कर्मचारी हो वा सरकारी पार्टीको कार्यकर्ता, छुट्याउन गा¥हो भएको बताउनुभयो ।
नेकाका विमलेन्द्र निधीले नेकपाको सरकार असफल भएको बताउनुभयो । नेकाकै विजयकुमार गच्छदारले तत्कालीन प्रम माधवकुमार नेपालको आग्रहअनुसार बालुवाटारको सरकारी निवास विस्तार गर्न आफूले मन्त्रिपरिषद्मा ललिता निवासको जग्गाबारे प्रस्ताव लगेको, त्यसैमा आफूलाई अख्तियार लगाई भ्रष्टाचारमा कारबाही गरी फसाएको वेदना पोख्नुभयो । नेकाकै प्रकाशशरण महतले निजी अस्पतालमा कोभिड–१९ सङ्क्रमणका बिरामीको उपचारमा दिनको लाखौँ–लाख खर्च लागेको बताउनुभयो ।
राजमोका भैरव रेग्मीले महिला हिंसाविरुद्धको मुद्दा छोटो प्रक्रियाबाट निर्णय गर्ने व्यवहारिक बाटोको आवश्यकता औँल्याउनुभयो ।
बैठकमा सहभागी पूर्वप्रमहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाललगायतले बोल्नुभएन । उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेकपा उपाध्यक्ष वामदेव गौतम, पूर्वसभामुख सुवास नेम्वाङको पनि बैठकमा सहभागिता थियो । प्रम ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार राजन भट्टराईको पनि बैठकमा उपस्थिति थियो ।
प्रम ओलीले बैठकमा प्राप्त सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दैै आगामी दिनमा पनि सर्वदलीय बैठक चालू राख्ने आश्वासन दिनुभयो ।
Leave a Reply