भर्खरै :

टोखाको मिर्मिरे साकोसको भवन उद्घाटन

काठमाडौँ, २३ मङ्सिर । टोखाको मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्मित भवनको मङ्गलबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संस्थाको चौधौँ साधारण सभाबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नेमकिपा अध्यक्ष बिजुक्छेँले पैसा कमाउने उद्देश्यले सहकारी संस्थामा लाग्नु वा खोल्नु गलत भएको चर्चा गर्दै समाजमा आर्थिक असमानता घटाउन सहकारी संस्थाहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले सहकारी संस्थाहरूले ऋण र बचतको कुरामात्र गर्ने र सामाजिक गतिविधिमा ध्यान नदिँदा ती संस्थाहरू ‘स–साना बैङ्क’ जस्तै भएको बताउनुभयो ।
बिजुक्छेँले सहकारी संस्थामार्फत समाजको हित हुने कृषि उत्पादन, मत्स्य पालन, पशुपक्षी पालनलगायतका गतिविधि गर्नुपर्नेमा जोड दिँदै नयाँ–नयाँ यन्त्रको मर्मतको तालिम सञ्चालन, कुटिर उद्योगको विकास गर्न सके आर्थिक असमानताको समस्या न्यून हुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले आफ्नै भवन निर्माण गर्न सफल भएकोमा मिर्मिरे बचत तथा ऋण सहकारी संस्थालाई बधाई ज्ञापन गर्दै सहकारीको उद्देश्य समाजमा सहकार्य गर्नुभएकोले संस्थाले आर्जन गरेको पुँजी समाजकै हितमा उपयोग गर्नुपर्ने बताउनुभयो । पुँजीवादी समाजमा सहकारी संस्थालाई पनि पुँजीपति वर्गले आफ्नै हितमा उपयोग गर्ने चर्चा गर्दै उहाँले सहकारी संस्थालाई समाजवादी देशको कम्युन भावनाअनुसार विकास गर्नु उपयुक्त हुने बताउनुभयो ।
बाग्मती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका सञ्चालक सदस्य तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाले तीन वर्षभित्र एउटा स्थानीय तहमा एउटामात्र सहकारी संस्थामा सदस्य बन्न पाउने र सहकारीले ‘क’ वर्गको बैङ्कमा मात्र खाता खोल्न पाउने व्यवस्था गलत भएको बताउनुभयो । सहकारी संस्थाको मूल्य मान्यताअनुसार नचल्ने सहकारी संस्थाहरू जनताको पैसा ठगेर भाग्ने गरेका घटनाले नियम निकाय अप्रभावकारी भएको र नियमको पालना नभएको उहाँले बताउनुभयो ।
कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, नगर सहकारी शाखाका प्रमुख कमला कार्की, स्थानीय वडाध्यक्ष सिंहराज श्रेष्ठ, दीपक जोशी, नयाँ किरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण डंगोल, टोखा अभियान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिकृष्ण श्रेष्ठले मिर्मिरे सहकारी संस्थालाई शुभकामना दिनुभयो ।
मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजवीर डंगोलको सभापतित्वमा भएको कार्यक्रममा सानुबाबु श्रेष्ठ, कमलबहादुर डंगोल र राजु श्रेष्ठले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *