भर्खरै :

भक्तपुर क्यान्सर अस्पतालमा प्रा. डा. पौडेल कार्यकारी निर्देशक

भक्तपुर, २३ मंसिर । नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक २४ गतेको निर्णयबाट सरकारी अस्पतालमा परिणत भएको भक्तपुर क्यान्सर अस्पतालमा पहिलो कार्यकारी निर्देशकको रूपमा प्रा.डा. विष्णु दत्त पौडेल नियुक्त हुनुभएको छ । स्वास्थ्य मन्त्रालयले प्रा.डा. पौडेललाई केही दिनअगाडि नियुक्त गरेको हो । नेपाल सरकारको निर्णयअनुसार भक्तपुर क्यान्सर अस्पताल अब अस्पताल विकास समिति गठन गरी सञ्चालन र व्यवस्थापन गरिने बताइएको छ ।
नवनियुक्त कार्यकारी निर्देशक प्रा. डा. पौडेलको स्वागत तथा पदभार ग्रहण कार्यक्रम मङ्गलबार क्यान्सर अस्पतालमा सम्पन्न भयो । कार्यक्रममा प्रा.डा. पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा थप विकास गर्नुका साथै स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारको ऐननियम, बिरामी र जनताको सर्वोत्तम हितको लागि सबैसित मिलेर काम गर्ने तर कसैको नाजायज आग्रहमा अस्पताललाई नडो¥याउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
प्रा. डा. पौडेल यसअघि वीर अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका पूर्वमेडिकल डाइरेक्टर प्रा. डा. ऋषिकेशनारायण श्रेष्ठले आफूले अस्पतालको कन्सलटेन्ट डाक्टरको रूपमा रहेर पनि अस्पतालको विकासका लागि सक्रिय सहयोग गर्र्ने बताउनुभयो ।
उहाँले अस्पताल सरकारी भयो भनेर कर्मचारीहरूले आफ्नो ड्युटी पूरा नगरी मनपरी गर्न नहुने भन्दै त्यसो गरेमा अस्पताल नै ध्वस्त हुने तथ्यतर्फ सचेत गराउनुभयो ।
कार्यक्रममा अस्पतालको कर्मचारी कल्याणकारी सङ्घका अध्यक्ष शिवराम धुख्वाले कार्यकारी निर्देशकलाई स्वागत गर्दै बधाई र शुभकामना व्यक्त गर्नुभयो । उहाँले कर्मचारीहरूको पेशागत र कानुनी अधिकार स्थापित गर्न अस्पतालको नयाँ नेतृत्वले ध्यान दिने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा अस्पतालका प्रशासक राजाराम तजले र जगन्नाथ भुर्तेलले पनि बोल्नुभएको थियो ।
कार्यकारी निर्देशक प्रा. डा. पौडेलले मङ्गलबार नै पदभार ग्रहण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *