भर्खरै :

एङ्गेल्सका देनहरू बेलायतमा मजदुर वर्गको अवस्था

औद्योगिक क्रान्तिले बेलायतलाई सम्पन्न बनायो । तर, त्यो सम्पन्नता या झिलिमिली खाली बाहिरी रूप मात्र थियो । कामदार वर्गको कामअनुसार ज्याला नदिएर गरिएको शोषणबाट नै बेलायतका दरबार एवम् ठूलठूला भवन बनेका थिए । मजदुर वर्गको उहिलेको अवस्थाबाट यो कुरा स्पष्ट हुन्छ ।
त्यस बेलाको बेलायतको कानुनमा ९ वर्षभन्दा कम उमेरका केटाकेटीलाई कारखानामा काम गराउन मनाही थियो । तर, कर्कश आवाजका कारखानाभित्र हेर्न जाँदा ६–७ वर्षका थुप्रै केटाकेटीहरू काम गरिरहेका हुन्थे । स–साना केटाकेटीले १२ घण्टाभन्दा बढी काम गर्नु पर्दथ्यो । तिनीहरूका आमा–बाबुको कमाइबाट उनीहरूको पालनपोषण हुन सक्दैनथ्यो । बच्चासमेत बिहान सबेरै १–२ कोश हिँडेर कारखानामा पुग्थे । तिनीहरूलाई कोर्राले हिर्काएर बिउँझाइन्थ्यो । काम गर्दागर्दै कहिलेकाहीँ निदाउँदा तिनीहरू कलमा पेलिएर मर्थे । ती बच्चाहरू घर पुग्दा रातको ८–९ बजिसकेको हुन्थ्यो र तिनीहरू थकाइले गर्दा खाना नखाई निदाइहाल्थे ।
ती बालकहरूलाई ठूला मान्छे पस्न नसकिने कपास कारखानाका मेसिनका बीचबीचमा पठाएर कपासको धुलो सफा गर्न लगाइन्थ्यो । यदि तिनीहरू साँघुरो ठाउँबाट निसास्सिएर बाहिर निस्कन खोजेमा कोर्राले हिर्काइन्थ्यो । अलिकति सावधानी अपनाउन नसक्दा पनि ती केटाकेटीहरू मेसिनको चक्कामा पर्न सक्थे, उनीहरूको जीवन समाप्त हुन्थ्यो । कहीँकहीँ धुवाँ निस्किने अग्ला चिम्नी सफा गर्न लगाइँदा केटा–केटीहरू धुलोमै निसास्सिएर मर्थे । अझ काम छिटो गराउन तल चुल्होमा आगो बालिन्थ्यो र तिनीहरू तातोको कारण वा निसास्सिएरै भुङ्ग्रोमा खस्थे र मर्थे ।

कार्ल माक्र्स


स–साना केटाकेटीलाई कोइलाखानीमा पनि काममा लगाइन्थ्यो । बिहान सुरुङ जस्तो अन्धकार खानीमा पठाएर साँझमात्र केटाकेटी निस्किन ढोका खोलिन्थ्यो । तिनीहरू डरले सुत्दै नसुतेर पनि काम गर्न बाध्य हुन्थे । ठूल–ठूला ज्यामीहरूले काम गर्ने खालका खतरनाक घिनलाग्दा एवम् फोहोर काम केटाकेटीले नै गर्नुपर्ने हुन्थ्यो । महिलाको अवस्था पनि यस्तै थियो ।
काम गर्ने ठाउँ त्यत्तिकै अस्वस्थकर हुन्थ्यो भने मजदुर बस्ने घर पनि त्यस्तै गन्हाउने एवम् फोहोर हुन्थे । पुरुष र महिलाले काम गर्ने वातावरण उपयुक्त हुन्नथ्यो । भोलि काम पाउने हो कि होइन, काम पाएर पनि ज्याला पाउने हो कि होइन जस्ता प्रश्नले मजदुर चिन्तित रहन्थे । बालबच्चाको स्याहार नपुग्दा र आमा–बाबुलाई काममा समयमै जानुपर्दा हजारौँ–लाखौँ दूधे बालकहरू अकालमै मर्थे । रोग, भोक र कारखानामा हुने दुर्घटनाहरूले गर्दा असङ्ख्य मजदुरहरू मर्थे । तर, केही सुधारवादीहरूले यस प्रकारको अमानवीयताको विरोधमा आवाज उठाएर संसद्बाट कानुन पास गर्दा पनि त्यो कागजमै सीमित हुन्थ्यो । सुधारवादीहरू वास्तवमा शोषण र अत्याचारलाई जरैदेखि फाल्न चाहन्नथे, तिनीहरू खाली त्यसमा सानातिना हेरफेर मात्र गर्न चाहन्थे । यसकारण, बेलायतका मजदुरहरूको काम गर्ने अवधि, ज्याला र कामको अवस्थामा वर्षौँ–वर्षसम्म कुनै खास परिवर्तन भएन, बरु मजदुरहरू कामको अवधि घटाउन, ज्याला बढाउन र आफ्नो अवस्थामा सुधार ल्याउन अनेक हडताल र आन्दोलनहरू गर्थे । ती आन्दोलन कहिलेकाहीँ बडो चर्को र हिंसात्मक हुन्थे ।

एङ्गेल्स


एङ्गेल्सले मेनचेस्टरमा रहेको आफ्नो बाबुको कारखानामा काम गरेर मजदुरको अवस्था अध्ययन गर्नुभयो । त्यसैको आधारमा लेखिएको उहाँको ‘बेलायतमा मजदुर वर्गको अवस्था’ किताब सन् १८४५ मा प्रकाशित भयो । त्यस किताबमा एङ्गेल्सले मजदुर वर्गको अवस्थालाई मुटु छुने शब्दमा चित्रण गर्नुभएको छ । त्यस किताबमा एङ्गेल्सले बेलायतको मजदुर वर्गको असहनीय दुःख–कष्टको बयानमात्र गर्नुभएन बरु उहाँले निचोडमा भन्नुभयो, “आखिर मजदुर वर्गलाई अन्तिम मुक्तिको निम्ति लड्न बाध्य गर्दछ र लडाकू सर्वहारावर्ग आफैले आफ्नो मद्दत गर्नेछन् । यसबाट मजदुर वर्गले एक राजनैतिक आन्दोलन गर्ने नै छ । तिनीहरूले समाजवादमा आफ्नो मुक्ति देख्नेछन् र समाजवादको उद्देश्यको निम्ति लड्नेछन् ।”
एङ्गेल्सको यस किताब धेरैले रुचाए । वास्तवमा त्यो किताब पुँजीपति वर्गको जघन्य अपराधको शिलापत्र थियो । एङ्गेल्सको यस किताबको प्रकाशनबाट कार्ल माक्र्स धेरै उत्साहित हुनुभएको थियो ।
कम्युनिस्ट लिगको स्थापना
सन् १८४५ को बसन्ततिर एङ्गेल्स बेल्जियमको राजधानी ब्रसेल्स जानुभयो । त्यसबेला कार्ल माक्र्स पेरिसबाट निस्कासित भएर ब्रसेल्समै हुनुहुन्थ्यो । एङ्गेल्स ब्रसेल्समा केही दिन बस्नुभएपछि सङ्गठनको काम चालु राख्न पेरिस जानुभयो । पेरिस त्यसबेला क्रान्तिको केन्द्र र साम्यवादीहरूको प्रचार थलो थियो । पेरिसमा सन् १८३० मै केही मजदुरहरू मिलेर ‘न्याय सङ्घ’ नामक एक गुप्त सङ्गठन खोलेका थिए । बेलायत, स्वीट्जरल्यान्ड र अरू देशहरूमा पनि यसको सङ्गठन थियो ।
त्यो सङ्गठनमा ३ देखि १० जवानसम्मको एक प्रारम्भिक समिति हुन्थ्यो । त्यसको मुख्य उद्देश्य वर्गमा आधारित पुँजीवादी समाजलाई समाप्त गर्नु, व्यक्तिगत सम्पत्ति र वर्ग नभएको नयाँ समाजको जग बसाल्नु थियो । त्यस ‘न्याय सङ्घ’ का कार्यकर्ताहरूसँग एङ्गेल्स पहिले नै परिचित हुनुहुन्थ्यो ।
सन् १८४७ को गर्मीमा ‘न्याय सङ्घ’ को पहिलो गुप्त अधिवेशन भयो । त्यस अधिवेशनले सङ्गठनको नाम ‘कम्युनिस्ट लिग’ राख्यो । लिगको नियम, उप–नियम सबै प्रारम्भिक समितिहरूमा पठाइयो र दोस्रो अधिवेशन बेलायतमा खुलारूपले गर्ने निधो गरियो ।
सन् १८४७ नोभेम्बर महिनामा लन्डनमा ‘कम्युनिस्ट लिग’ को खुला अधिवेशन भयो । अधिवेशन दश दिनसम्म चल्यो । अधिवेशनले पार्टीको सैद्धान्तिक र व्यावहारिक कार्यक्रम लेखी छपाउन माक्र्स र एङ्गेल्सलाई जिम्मा दियो । १८४७ डिसेम्बरदेखि १८४८ सम्ममा घोषणा–पत्र तयार गरियो । १८४८ को फेब्रुअरी महिनामा ‘कम्युनिस्ट घोषणापत्र’ बेलायतमा प्रकाशित गरियो । एङ्गेल्सले क्रान्तिकारी सङ्घर्षमा राष्ट्रवादको विरुद्ध भन्नुभएको थियो– “अरू राष्ट्रलाई दबाई राख्ने कुनै पनि देशले आफूलाई स्वतन्त्र गर्न सक्दैन ।”
कम्युनिस्ट घोषणापत्र
माक्र्स र एङ्गेल्स मिलेर लेख्नुभएको ‘कम्युनिस्ट घोषणा–पत्र’ प्रकाशित भएको केही दिनपछि नै फ्रान्समा क्रान्ति भयो । घोषणा–पत्र ४ भागमा विभाजित छ । त्यसको सुरुमा लेखिएको छ– “आज सारा युरोप कम्युनिज्मको चर्चाले तर्सेकोे छ ।” पुँजीपति र मजदुर शीर्षकको भागमा लेखिएको छ– “अहिलेसम्मको समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” दोस्रो भाग ‘मजदुर र कम्युनिस्ट’ को विषयमा छ । त्यसमा लेखिएको छ– “मजदुरहरूको पार्टीको विरोधमा कम्युनिस्ट आफ्नो कुनै छुट्टै पार्टी बनाउँदैन र मजदुर वर्गको हित छोडेर कम्युनिस्टको अर्को कुनै हित पनि छैन ।”
तेस्रो भागमा समाजवादी र साम्यवादी साहित्यको लेखाजोखा गरिएको छ । त्यसमा समाजवादी र साम्यवादी नामले शोषक वर्गको झूटो र नानाथरीका प्रचारलाई उदाङ्ग्याइएकोे छ ।
घोषणा–पत्रको अन्तमा लेखिएको छ– “कम्युनिस्टहरू आफ्नो विचार र उद्देश्यहरू लुकाउन मन पराउँदैनन् । तिनीहरू खुलमखुला घोषणा गर्छन् कि वर्तमान सबै समाज व्यवस्थालाई बलपूर्वक उखेलिसकेपछि मात्रै तिनीहरूको उद्देश्य पूरा हुन्छ । शासक वर्ग कम्युनिस्ट क्रान्तिको डरले थरथर काँपून् ¤ आफूलाई बाँधिएको सिक्रीबाहेक मजदुर वर्गले केही गुमाउनु छैन । तर, तिनीहरूको निम्ति सारा संसार नै जित्नु छ । सबै देशका मजदुरहरू एक होऔँ !”

कम्युनिस्ट घोषणापत्र


यस घोषणा–पत्रले पुँजीवादी व्यवस्थाको उत्पत्ति र भविष्यबारे राम्रो व्याख्या गरेको छ । आज त्यो घोषणा–पत्र एक ऐतिहासिक ग्रन्थ बनिसकेको छ । मजदुर र भोका–नाङ्गा जनताको निम्ति यो एक प्रेरणाको स्रोत र ज्ञानको सागर पनि हो । यस्तो महान् र अपराजयी कृतिको सह–लेखक बन्दा फ्रेडरिक एङ्गेल्स भर्खर २८ वर्षका मात्रै हुनुहुन्थ्यो । ‘कम्युनिस्ट घोषणा–पत्र’ प्रकाशन भएको एक सय ७० वर्ष नाघिसकेको छ । आजसम्म पनि यही घोषणा–पत्रले कामदार वर्गको दिशानिर्देशन गर्दै छ ।
एङ्गेल्स मातृभूमिमा
फ्रान्समा १८४८ को फेबु्रअरीको क्रान्तिपछि नयाँ क्रान्तिकारी सरकारले पहिलेका प्रतिक्रियावादी शासकहरूले देश निकाला गरेका सबै क्रान्तिकारीहरूलाई फिर्ता बोलाए । एङ्गेल्स र अरू क्रान्तिकारीहरूले पनि पेरिसमा गएर नेतृत्व स्थापना गर्नुभयो । फ्रान्सको क्रान्तिकारी सरकारले जर्मनीको क्रान्तिको निम्ति भौतिक र नैतिक सहायता दिने कुरो निश्चित थियो ।
एङ्गेल्स पनि जर्मनी जानुभयो र नयाँ पत्रिका निकाल्न बन्दोवस्त मिलाउनुभयो । माक्र्स पनि राईल्यान्ड पुग्नुभयो र ‘नयाँ राइन समाचारपत्र’ (नोये राइनिसे जाइटुङ्ग) नामको अखबार प्रकाशित गर्नुभयो । एङ्गेल्स पनि त्यस पत्रिकाको सम्पादक मण्डलमा हुनुहुन्थ्यो ।
त्यसबेला १७ वटा मागहरू राखेर जर्मनीमा आन्दोलन अगाडि बढेको थियो । राजा–रजौटा र सामन्तहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने, खानी र यातायातका साधनहरूलाई राष्ट्रियकरण गर्ने र जर्मनीलाई एक अविभाज्य गणतन्त्र घोषणा गर्ने, अनिवार्य र निःशुल्क शिक्षा आदि माग पत्रमा लेखिएको थियो । यी मागहरू सर्वहारा, निम्न माध्यमवर्ग र किसानको हितमा थियो ।
जर्मनीमा प्रतिक्रान्तिकारीहरू सक्रिय हुन थाले । तर, ‘नयाँ राइन समाचारपत्र’ ले प्रतिक्रियावादको विरोधमा जनताको हित र स्वतन्त्रताको निम्ति अन्तिम दमसम्म लेख्दै रह्यो । आखिर २० सेप्टेम्बरको दिन पत्रिका बन्द गराइयो । माक्र्सलाई देश निकालाको सजाय दिइयो र सम्पादक मण्डलका अरू सदस्यहरूको नाउँमा पक्राउ पुर्जी जारी गरियो । एङ्गेल्स स्वीट्जरल्यान्ड हुँदै बेल्जियम र पेरिस पुग्नुभयो । धेरै ठाउँमा उहाँ हिँडेरै आफ्नो गन्तव्य पुग्नुभयो ।

बेलायतमा मजदुरहरुको अवस्था


७ जून १८४९ मा माक्र्स पेरिस पुग्नुभयो र एङ्गेल्ससँग भेट्नुभयो । एङ्गेल्स फेरि काडलर स्टाउटेन फर्केर प्रसियन सरकारको भूतपूर्ण लेफ्टिनेन्ट बिलिचले सङ्गठन गरेको स्वयम्सेवक सेनामा भर्ती हुनुभयो । वाडेन र प्लाटिनातमा विद्रोहको आयोजन गर्नुभयो । तर, विद्रोह असफल भयो । एङ्गेल्स झन्डै–झन्डै मारिइसक्नुभएको थियो । विद्रोह दबाइएपछि उहाँ स्वीट्जरल्यान्डबाट बेलायत पुग्नुभयो ।
सन् १८४८–१८५० को क्रान्तिको अवधिमा एङ्गेल्सले स्वतन्त्रताको निम्ति विद्रोहको तीन लडाइँहरू लड्नुभएको थियो । यसले उहाँ निःस्वार्थी भावना, सिद्धान्त र व्यवहारप्रतिको एकरूपता भएको र एक जना बहादुरको रूपमा परिचित हुनुहुन्छ ।
कम्युनिस्ट लिगमा फाटो
१ जनवरी १८५० मा माक्र्सले लन्डनबाट ‘नयाँ राइन समीक्षा’ (नोये राइनिसे रिभ्यू) नामको २८ पाने एक मासिक निकाल्नुभयो । एङ्गेल्स पनि स्वीट्जरल्यान्डबाट लन्डन पुगेर त्यस पत्रिकामा आफ्नो आत्मालोचना लेख्न थाल्नुभयो ।
क्रान्ति असफल भएर लन्डनमा शरण लिन थुपै्र राजनैतिक शरणार्थीहरू पुगेका थिए । यसकारण, एङ्गेल्सले माक्र्ससँग मिलेर कम्युनिस्ट लिगको पुनः सङ्गठनको काम सुरु गर्नुभयो । दुवै मिलेर केन्द्रीय समितिको तर्फबाट १५ सेप्टेम्बर १८५० को केन्द्रीय समितिको अधिवेशनको परिपत्र तयार गर्नुभयो ।
त्यस पत्रिकामा निम्न–माध्यम वर्गीय प्रजातन्त्रवादीहरूको अवसरवादी नीतिदेखि मजदुर वर्गलाई सतर्क गराइएको थियो । पँुजीवादी राज्यसत्ता मजदुर वर्गको हातमा नआएसम्म र सबै देशका मजदुरहरूको हानथापपूर्ण उत्पादन सम्बन्ध समाप्त नभएसम्म क्रान्तिलाई अगाडि बढाउँदै जाने कुरो पनि परिपत्रमा उल्लेख गरिएको थियो । तर, निम्न–मध्यम वर्गीय प्रजातन्त्रवादीहरू आफूलाई अलिकति फाइदा हुनासाथै क्रान्तिलाई सम्झौतामा टुङ्ग्याइदिन्थे । यसकारण, मजदुर वर्गले पुँजीवादी प्रजातन्त्रवादीहरूको आतङ्कवादलाई वास्तविकरूपमा लागु गर्नुपर्छ । गाउँ–गाउँमा सामन्त र जमिनदारहरूको जग्गा जफत गरेर किसानहरूबीच व्यक्तिगत सम्पत्तिको रूपमा बाँडेपछि गाउँका सर्वहारावर्ग पनि निम्न मध्यम वर्गमा परिणत हुनेछन् । अनि तिनीहरूमा पनि निम्न मध्यम वर्गीय विचार आउन थाल्दछ । यसकारण, जफत गरिएको जग्गालाई एक सामूहिक खेतीमा परिणत गर्नु पर्दछ । यो सामूहिक खेती एक सामूहिक स्वामित्वको आधारमा अगाडि लगेर पुँजीवादी स्वामित्वलाई बिस्तारै समाप्त गर्नुपर्दछ ।
केन्द्रीय समितिको अधिवेशन १५ सेप्टेम्बरमै भयो । तर, केन्द्रीय नेतृत्व राख्ने विषयमा मतभेद भयो । माक्र्स र एङ्गेल्ससहित ६ जना सदस्यहरू केन्द्रीय नेतृत्व कोलोनमा राख्ने पक्षमा हुनुहुन्थ्यो । तर, बिलिच सहित अरू ४ जना सदस्यले केन्द्रीय कार्यालय लन्डनमा राख्न ढिपी गर्न लागे । हुन त एङ्गेल्ससँग बिलिच सहयोद्धा भएर विद्रोहमा लडिसकेका थिए । बिलिचले विद्रोहमा ठूलो योग्यता देखाएका भएपनि उनी सिद्धान्तमा त्यति प्रस्ट थिएनन् ।

परिवार, निजी सम्पत्ति र राज्यको अवस्था


अल्पमतले बहुमतको निर्णय मान्न अस्वीकार गरेको हुँदा ‘लिग’ निष्क्रिय भयो र ‘नयाँराइन समीक्षा’ पनि बन्द भयो । पत्रिकाको अन्तिम अङ्कमा एङ्गेल्सले सन् १८२५ को किसान सङ्ग्रामबारे ऐतिहासिक भौतिकवादी दृष्टिकोणमा एक लेख लेख्नुभएको थियो । लिग निष्क्रिय भएपछि एङ्गेल्स फेरि आफ्नो बुबा एरमेन एङ्गेल्सको कारखानामा काम गर्न जानुभयो । माक्र्स लन्डनमै अध्ययन र वैज्ञानिक अनुसन्धानमा लाग्नुभयो । एङ्गेल्स मेनचेस्टरमा रहे पनि दुई मित्रको पत्रको आदान–प्रदान चलि नै रह्यो । लिगबाट फुटेर जानेहरूले माक्र्सको विरोध गर्दै रहे । तर, एङ्गेल्सले त्यस सम्बन्धमा माक्र्सको पत्रको उत्तरमा यसरी लेख्नुभएको थियो– “धेरै दिनपछि अब फेरि हामीलाई के देखाउने समय आएको छ भने हामी नामको भोका छैनौँ, न त कुनै देशको कुनै पार्टीको समर्थन प्राप्त गर्ने आवश्यकता नै छ । यी सानातिना कुरादेखि हामी एकदमै अलग छौँ । अब हामी आफैप्रति जिम्मेवार छौँ ।”
यस चिठीको अंशबाट थाहा हुन्छ, एङ्गेल्स आफ्नो सिद्धान्तमा पक्का र दृढ हुनुहुन्थ्यो । उहाँ नाम कमाउने उद्देश्यले क्रान्तिकारी कार्यमा लाग्नुभएको थिएन बरु मजदुर वर्गको अन्तिम मुक्तिको निम्ति आफ्नो जीवन दिन तयार हुनुहुन्थ्यो । त्यसबेला एङ्गेल्स ३१ वर्षका जवान हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *