भर्खरै :

अझै सुरु भएन धुलिखेल–सूर्यविनायक सडक विस्तार

  • मंसिर २५, २०७७
  • गोपाल तामाङ्ग
  • समाचार

काठमाडौँ उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाको रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार सुरु हुनसकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तीनकुने–सूर्यविनायक सडक छ लेनमा विस्तार गरेको थियो । जाइकाले सूर्यविनायक–धुलिखेल सडकसमेत विस्तार गर्ने भनिए पनि काम हुन सकेको छैन ।
सडक विभागको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेल सडक र बीपी राजमार्गको धुलिखेलबाट सिन्धुली हुँदै बर्दिवास सडक गरी सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना रहेको छ । अहिले डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गका विभिन्न खण्डमा मर्मतको काम गरिरहेको छ ।
झन्डै एक दशक पहिलेदेखि नै यो सडक विस्तारका लागि छलफल भइरहे पनि निर्णय हुन नसकेको हो । जाइकाले यो सडकमा पूर्व अध्ययन गरिसकेको छ । अध्ययनको लामो समय बितिसक्दा पनि निर्माणका लागि सम्झौता नभएकोले विस्तृत अध्ययन हुनसकेको छैन । गत वर्ष जाइकाले कोटेश्वर–जडीबुटी सडकमा ‘अन्डरपास’ निर्माण गर्ने गरी छलफल हुँदा विभागले त्यससँगै यो सडकको विस्तारका लागि प्रस्ताव गरेको थियो ।
वाग्मती प्रदेश र प्रदेश नं २ का जिल्लाबाट काठमाडौँ भित्रिने नाकाको रूपमा यो सडक रहेको छ । अरनिको, बीपी राजमार्गसँगै मध्यपहाडीलगायतका राजमार्गसमेत सञ्चालनमा आएसँगै काभ्रेपलाञ्चोकको बनेपाबाट भक्तपुरसम्म सवारी चाप बढिरहेको छ । यस सडकमा साँझको समयमा सवारी साधनले उपत्यका भित्रिन घण्टाँै जाममा बस्नुपर्ने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *