भर्खरै :

नेक्राकिसङ्घद्वारा प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

भक्तपुर, २५ मंसिर । नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरले देशमै रासायनिक मल कारखाना खोलेर किसानहरूलाई गुणस्तरीय मल उपलब्ध गराउन, उखु किसानहरूको उखुको मूल्य भुक्तान अविलम्ब गराउन र जोत्नेको सिद्धान्तको आधारमा क्रान्तिकारी भूमिसुधार लागू गर्नुपर्ने मागसहित बिहीबार भक्तपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीसमक्ष ज्ञापनपत्र पेश गरेको छ । उक्त ज्ञापनपत्रमा मोहीयानी हक पैतृक सम्पत्तिको रूपमा अंशबण्डा गर्न, बेचबिखन गर्न, बैङ्कमा धितो राख्न पाउने व्यवस्था गर्नुपर्ने, निजी गुठीको जग्गा कमाउने मोहीले जग्गाको ५० प्रतिशत जग्गामा निजी गुठी नजनाउने कानुनी व्यवस्था गर्नुपर्ने, गुठी जग्गा कमाउने मोही किसानहरूले जग्गा रैतानी गर्न कानुनी व्यवस्था गर्नुपर्नेलगायत १५ बुँदे माग उल्लेख छ ।
ज्ञापनपत्र बुझाउन नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष एवं भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको नेतृत्वमा गएको किसानहरूको एक प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसित भेट गरेको थियो ।
सो अवसरमा किसान नेता दुवालले समयमै पर्याप्त रासायनिक मल उपलब्ध नहुँदा कृषि उत्पादन घटेको र भारतलगायत विदेशबाट वार्षिक खर्बौँको खाद्यान्न, दलहन, तेलहनलगायत आयात गर्न परिरहेको बताउँदै स्वदेशमै रासायनिक मल कारखाना स्थापना गरी मल उत्पादन गर्नुको विकल्प छैन भन्नुभयो ।
उहाँले साना ठूला भ्रष्टाचारका कारण सर्वसाधारण जनताले अनुचित हैरानी व्यहोर्नुपरेको मात्र नभई लोकतान्त्रिक गणतन्त्रकै बदनाम भएकोले भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिका सचिव हरिराम सुवालले कानुनको अभाव र कानुन कार्यान्वयनको अभावमा पुस्तौँदेखि गुठी जग्गामा खेती गर्दै आएका किसानहरूले जग्गामाथि नैसर्गिक स्वामित्व पाउन नसकिरहेको औँल्याउनुभयो ।
किसान प्रतिनिधिमण्डलमा नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका सदस्यहरू बुद्धकेशरी माक, प्रेमकृष्ण प्रजापति, तुईकाजी बट्ट, राजेन्द्र बखुन्छेलगायत हुनुहुन्थ्यो ।
ज्ञापनपत्रको बोधार्थ कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाललाई पनि पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *