नगरलाई शैक्षिक गन्तव्यस्थल मात्र नभई अनुसन्धानको केन्द्रको रूपमा विकास गर्नुपर्ने
- असार २, २०८३
सामान्यतः कुनै पनि कार्य गर्न नसक्ने व्यक्ति नै अपाङ्ग हो । आफ्नो जीवनयापनको क्रममा वा अन्य कुनै कार्य गर्न नसक्ने व्यक्ति अपाङ्गको श्रेणीमा पर्दछ । अर्को भाषामा भन्नुपर्दा शारीरिक र मानसिकरूपमा असक्षम व्यक्ति नै अपाङ्ग हो । कुनै पनि व्यक्ति शारीरिकरूपमा सक्षम भए पनि यदि उसको दिमागी हालत ठीक छैन र उसले आफ्नो सामान्य जीवनयापनको क्रममा गर्नुपर्ने कुनै कार्य गर्नसक्दैन भने त्यस्तो व्यक्ति अपाङ्गको परिभाषाभित्र पर्दछ । यदि मानसिकरूपमा सक्षम र तीक्ष्ण छ, तर शारीरिकरूपमा असक्षम छ जस्तै हात, खुट्टा लुलो वा लङ्गडो छ भने पनि अपाङ्गको श्रेणीमा पर्दछ । अक्सफोर्ड एडभान्स लर्नर्स डिक्सनरीले अपाङ्गलाई Disable शब्द प्रयोग गरेको छ । Disable भन्नेको Unable to do something अर्थात् कुनै पनि कार्य गर्न नसक्नेलाई अपाङ्ग भनिएको छ । त्यस्तै नेपाली मझौला शब्दकोषका अनुसार अपाङ्ग भन्नाले अङ्गमा विकृति वा कमजोरीपना भएको व्यक्ति, विकलाङ, अपाहिच भनी उल्लेख छ । त्यस्तै Nepali-English Dictionary अनुसार अपाङ्ग भन्नाले bodiless, disembodied, maimed or disable भनी उल्लेख गरेको छ ।
अपाङ्गहरू शारीरिक र मानसिकरूपमा असक्षम हुने भएकाले परिवार तथा समाजबाट अपहेलित हुनु परिरहेको घामजतिकै छर्लङ्ग छ । कुनै शारीरिक अङ्गको अभावमा कार्य गर्न नसक्दा हेलाको पात्र हुनु स्वाभाविक हो । परिवारको सहयोग हमेसा लिनुपर्ने बाध्यताले गर्दा र परिवारले पनि आफ्नो निजी काम छोडेर पूरै दिन एक जनाको मात्र सेवा गर्नुपर्ने बाध्यताले अपहेलित भएको देखिन्छ । यस्तो अवस्थालाई न्यूनीकरण गर्नको लागि अपाङ्गहरूलाई उनीहरूको शारीरिक र मानसिकरूपमा गर्न सकिने विभिन्न सीपमूलक तालिम दिनुपर्दछ । सङ्घीय, प्रदेश र स्थानीय निकायहरूले अपाङ्गहरूको लागि विशेष किसिमको सुविधा दिन सकेको खण्डमा निश्चय नै उनीहरूको पीडालाई कम गर्न सकिन्छ । सरकारले पूर्ण अशक्त र अपाङ्गहरू चौमासिक एकमुष्ट रु. १२,००० र अति अशक्तलाई रु. ६,४०० चौमासिक दिँदै आएको छ ।
नेपालको संविधान २०७२ को धारा १८ ले समानताको हक दिएको छ । जसमा सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित नगरिने उल्लेख छ । सामान्य कानुनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन । राज्यले नागरिकहरूकाबीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्नेछैन । तर, सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिकरूपले विपन्न खस आर्यलगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन । यस संवैधानिक व्यवस्थाले अपाङ्गहरूलाई अन्य नागरिकसरह हकअधिकार दिई विशेष कानुनी व्यवस्था गरी सुविधा दिन सकिने व्यवस्था गरेको देखिन्छ । जुन व्यवस्था निकै सराहनीय छ ।
नेपाल मजदुर किसान पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले प्रकाशित गरेको स्थानीय तहको निर्वाचन घोषणापत्र २०७४ मा “नयाँ बन्दोबस्तअनुसार नगर र गाउँपालिकाले ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको समेत व्यवस्थापन गर्नुपर्ने छ …” भन्ने उल्लेख छ । नेपाल मजदुर किसान पार्टीले आफ्नो घोषणापत्रमा अपाङ्ग व्यक्तिको लागि कार्य गर्ने स्पष्ट उल्लेख छ । पार्टीका जनप्रतिनिधिहरू घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरूलाई पूरा गर्न क्रियाशील छन् । नेमकिपाका उम्मेदवारहरू भक्तपुरका अपाङ्गहरूलाई अधिकतम सुविधा दिन प्रयासरत छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको तेस्रो नगरसभा २०७५ बाट भक्तपुर नगरपालिका, अपाङ्गता भएका व्यक्तिहरूको परिचय–पत्र वितरणसम्बन्धी कार्यविधि – २०७५ पारित भएको थियो । नेपाल सरकार र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी चौथो नगर सभाले यो कार्यविधि जारी गरेको छ । घोषणापत्र कार्यान्वयनको लागि पनि भक्तपुर नगरपालिकाले यो कार्यविधि कार्यान्वयनमा ल्याएको हो । यस कार्यविधिको कार्यान्वयनले निश्चय नै भक्तपुर नगरमा अपाङ्गहरूको उचित सम्मान, थोरै भए पनि पारिश्रमिकको व्यवस्थाको लागि सहजीकरण हुँदै जानेछ । विभिन्न प्रकारका अपाङ्गता भएका नेपाली नागरिकहरूको पहिचान गरी उनीहरूलाई सेवा सुविधामा पहँुच स्थापित गर्न, त्यस्ता सेवा सुविधाहरूको लागि योजना निर्माण र स्थानीय तहदेखि नै विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूको लागि वर्गीकृत लगत राख्न सहज तुल्याउन पनि यो कार्यविधि कार्यान्वयनमा ल्याएको हो । यस कार्यविधिको कार्यान्वयनले झन् भनपालाई उत्कृष्ट नगरपालिकामा राख्नको लागि मद्दत गर्नेछ ।
यस कार्यविधिको दफा ४ ले अपाङ्गताको चार समूहमा वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने उल्लेख छ । पहिलो वर्गीकरणमा पूर्ण अशक्त अपाङ्गतालाई राखी रातो रङ्गको पृष्ठभूमिमा जारी गर्ने उल्लेख छ । पूर्ण अशक्तमा व्यक्तिको शारीरिक, मानसिक वा इन्द्रियसम्बन्धी प्रणालीहरूमा भएका क्षति र यसले ल्याएको कार्यगत विचलनको अवस्था असाध्यै गम्भीर भई अरूको सहयोग लिएर पनि दैनिक जीवन सम्पादन गर्न असाध्यै कठिन हुने व्यक्ति, सामान्यभन्दा सामान्य दैनिक क्रियाकलापहरू पनि स्वयम् गर्न नसक्ने र अन्य व्यक्तिको सहयोग आवश्यक पर्ने, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, तीव्ररूपमा अटिजम प्रभावित व्यक्ति, पूर्णरूपमा श्रवण दृष्टिविहीन व्यक्तिहरू, दुई वा सोभन्दा बढी प्रकृतिका शारीरिक, मानसिक वा इन्द्रियसम्बन्धी क्षति भई सबैजसो दैनिक क्रियाकलापहरू अन्य व्यक्तिकै सहयोगमा गर्नुपर्ने अवस्थाका व्यक्तिहरू, निरन्तररूपमा सघन हेरचाहको आवश्यकता परिरहने शारीरिक अपाङ्गता भएका व्यक्ति वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू पर्दछ । दोस्रो वर्गीकरणमा अति अशक्त अपाङ्गतालाई राखी निलो पृष्ठभूमिमा जारी गर्ने उल्लेख छ । शारीरिक, मानसिक वा इन्द्रियसम्बन्धी क्षति वा विचलन भए तापनि निरन्तर वा अधिकांश समय सहयोगी, दोभाषे वा मानव पथप्रदर्शक आदिको सहयोगमा आफ्नो दैनिक क्रियाकलापहरूलगायत हिँडडुल र सञ्चार गर्न कठिनाइ हुने व्यक्तिहरू, मस्तिष्क पक्षघात, मेरुदण्ड चोटपटक वा पक्षघात, हेमोफिलिया, मांशपेशीसम्बन्धी समस्या वा विचलनलगायत अन्य विभिन्न कारणले शरीरको ढाड, हात, गोडा, कम्मर आदिले काम गर्न नसकी दैनिक आवागमनको लागि ह्वीलचियर प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरू, दुवै हातकुमदेखि वा पाखुरादेखि मुनि पूरै नचल्ने वा गुमाएको, विभिन्न कारणले दुवै हात वा गोडा गुमाएका वा नचल्ने, कम्मरभन्दा मुनिको भाग गुमाएका वान चल्ने, दुवै गोडा पूर्ण क्रियाशील नभई वैशाखीको प्रयोग गर्ने व्यक्तिहरू, दृष्टिविहीन र पूर्ण दृष्टिविहीन व्यक्तिहरू, सञ्चारको लागि निरन्तर दोभाषे आवश्यक पर्ने पूर्णरूपमा सुन्न नसक्ने, दैनिक जीवनका क्रियाकलापहरू स्वयम् गर्न नसक्ने, सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता वा अटिजम भएका व्यक्तिहरू, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने अति अशक्त अपाङ्गता भएका व्यक्तिहरू पर्दछन् ।
तेस्रो वर्गीकरणमा मध्यम अपाङ्गतालाई राखी रातो रङ्गको पृष्ठभमिका जारी गर्ने उल्लेख छ । मध्यम अपाङ्गतामा कृत्रिम अङ्ग, क्यालीपर, विशेष प्रकारका जुत्ताजस्ता सहायक सामग्रीको प्रयोगबाट सामान्य हिँलडुललगायत दैनिक जीवनका क्रियाकलापहरू स्वयम् गर्न सक्ने, विभिन्न कारणले घुँडामुनिको अङ्गमा मात्र प्रभाव परेको तर सहायक सामग्रीको प्रयोग नगरी सामान्य हिँडडुल गर्नसक्ने, कुम वा पाखुराभन्दा मुनि एक हात गुमाएका वा हात नचल्ने वा हातले गर्ने काम गर्न नसक्ने, दुवै हातको हत्केलाभन्दा मुनिका कम्तीमा बुढी औँला र चोर औँला गुमाएका, दुवै गोडाको कुर्कुच्चाभन्दा मुनिको भाग नभएका तर सामान्य हिँडडुल गर्नसक्ने, मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको, सिकाइमा ढिलाइ भएका दैनिक क्रियाकलाप स्वयम् गर्नसक्ने बौद्धिक अपाङ्गता र अटिजम भएका व्यक्तिहरू, श्रवणयन्त्रको प्रयोगबाट वा ठूलो आवाज मात्र सुन्नसक्ने सुस्त श्रवण व्यक्तिहरू, शल्यक्रियाबाट स्वरयन्त्र झिकी घाँटीको नलीबाट मात्र बोल्नुपर्ने अवस्था भएका व्यक्तिहरू, ओठ तालु फाटेको कारण बोली अस्पष्ट भएका व्यक्तिहरू, बोल्दा अड्किने, शब्द वा अक्षर दोहो¥याउने समस्या तीव्र भएका भकभके व्यक्तिहरू, तीन फिटभन्दा मुनिका होचापुड्का व्यक्तिहरू, चस्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण दृष्टीविहीन व्यक्तिहरू, लेन्स वा म्याग्नीफायरको प्रयोगबाट मात्र पढ्न सक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू, अनुवंशीय रक्तश्रावसम्बन्धी समस्या भई दैनिक हिँडडुलमा कठिनाइमा हुने व्यक्तिहरू, मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू पर्दछन् । चौथो वर्गीकरणमा सामान्य अपाङ्गतालाई राखिएको छ । यिनीहरूलाई सेतो पृष्ठभूमिको परिचयपत्र दिनेछ । यसमा शारीरिक, मानसिक या इन्द्रियसम्बन्धी सामान्य विचलन भएका तर दैनिक जीवनका क्रियाकलापहरू स्वयम् सम्पादन गर्न सक्ने, हात वा खुट्टा केही छोटा भएका, ठूलो अक्षर पढ्नसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू, दुवै गोडाका सबै औँलाका भागहरू नभएका, श्रवणयन्त्र लगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरू पर्दछन् ।
यस कार्यविधिको दफा ६ ले परिचयपत्र वितरण गर्ने कामको लागि उप–प्रमुखको संयोजकत्वमा अस्थायी समिति रहने प्रावधान छ । जसमा भनपाका सदस्यहरूमध्येबाट एक महिलासहित दुई जना, नपाभित्रका प्रअबाट एक जना, जनस्वास्थ्यबाट एक जना, स्थानीय प्रहरी प्रमुख एक जना, अपाङ्गताको संस्थाबाट एक जना, नपाभित्रका अपाङ्गता भएका व्यक्तिहरूमध्येबाट दुई जना रहने व्यवस्था छ ।
यस कार्यविधिको दफा ७ ले परिचयपत्र वितरणको व्यवस्था गरेको छ । जसअनुसार अपाङ्गता भएका व्यक्तिले वा निजका अभिभावक वा संरक्षकले स्थानीय वडा कार्यालयमा निवेदन दिनुपर्दछ । यसरी निवेदन परेपछि वडा कार्यालयले आवश्यक कागज पुगेमा तीन दिनभित्र नगरपालिकाको नाममा सिफारिस दिई नगरपालिकामा पठाउनुपर्दछ । कागज नपुगेमा निवेदकलाई तीन दिनभित्र जानकारी दिनुपर्दछ । यसरी प्राप्त भएको निवेदनसमेत समावेश राखी स्थानीय समन्वय समितिको बैठकमा पेश गर्नुपर्दछ । निवेदकले पेश गरेका कागजात र अन्य सम्भाव्य तथ्य प्रमाणका आधारमा निजले परिचयपत्र पाउने देखियो भनी स्थानीय समन्वय समितिले सिफारिस गरेमा निजलाई परिचयपत्र वितरण गरी त्यसको जानकारी निवेदक तथा वडा कार्यालयलाई दिनु पर्दछ । पचियपत्रका लागि सिफारिस गर्न कुनै कठिनाइ परेमा वडा कार्यालयले चिकित्सक वा विशेषज्ञ वा अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिसँग राय परामर्श लिन सक्नेछ । प्रत्यक्षरूपमा देखिने वा अवलोकन गर्न सकिने शारीरिक, मानसिक वा इन्द्रियसम्बन्धी क्षतिको हकमा परिचयपत्र प्रदान गर्ने अधिकारीले अवलोकन गरी तत्काल उपयुक्त परिचयपत्र उपलब्ध गराउनुपर्नेछ ।
Leave a Reply