भर्खरै :

‘नवदुर्गा गणको मुकुण्डो निर्माण अक्षय कोष व्यवस्थापन निर्देशिका– २०७५’ : एक चर्चा

नेपालको मानचित्रमा बाग्मती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकाको तीन जिल्लामध्ये भक्तपुर एक हो । यो जिल्ला विशेषगरी धार्मिक, सांस्कृतिक, पुरातात्विक, कला तथा शिक्षाको दृष्टिकोणले देशकै एक धरोहरको रूपमा रहेको छ । भक्तपुर जिल्लाको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा यसको प्राचीन नाम खोपृङ थियो । लिच्छवीहरूको आगमनपूर्व किरातहरूले कैयौँ शताब्दीसम्म शासन चलाउँदा नेपाल उपत्यका र आसपासका इलाकामा अनेक नामका बस्तीहरू आवाद भइसकेको सम्बद्ध प्रमाणहरूको आधारमा जान्न सकिन्छ । लिच्छवी कालका शासकहरूले संस्कृतलाई राजभाषा बनाई यावत कुराहरू संस्कृतमै लेखाएको पाइए पनि तत्कालीन अभिलेखहरूमा सम्बद्ध ग्राम एवम् प्रदेशका नाम उल्लेख गर्ने सन्दर्भमा ऐतङ, कडम्प्रिङ, कादुङ, किचप्रिचिङ, कुर्पासी, खकम्प्रिङ, खूलप्रिङ, खृपुङ, गणिदुङ, जोन्जोन्दिङ, टेग्वल, दुप्रङ, पिखू, माखोदुलुं, माखोपृङ, खोपृङ, याप्रिङ, लोप्रिङ आदि शब्दहरू संस्कृत भाषाका होइनन्, सम्भवतः लिच्छवी पूर्व शासन गर्ने किरात परिवारका भाषाबाट आएका नामहरू हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।
लिच्छवी कालका अभिलेखहरूमा खूलप्रिङ, खृपुङ, खोपृङ, माखोदुलुं, माखोपृङ आदि शब्दहरू उल्लेख हुनआएको सन्दर्भमा भक्तपुर भेगमा अनेक नामका बस्तीहरू किरातकालमा बसिसकेको जानिन्छ । धनवज्र बज्राचार्यले लिच्छवीकालीन अभिलेख पुस्तकमा तुलाछेँ टोलको शिवदेव र अंशुवर्माको संयुक्त अभिलेखको व्याख्या गर्ने क्रममा लेखेका छन्, “माखोपृम् द्रङका बासिन्दाहरूलाई प्रशासनसम्बन्धी केही अधिकार सुम्पेको लगत्तै पछि त्योसँगै रहेको खृपुङ्ग्रामलाई पनि त्यही अधिकार सुम्पेको यताबाट बुझिन्छ । माखोपृम् र खृपुङग्राम भिन्नाभिन्नै बस्ती हुन् भने पनि यताबाट बुझिन्छ ।” त्यस्तै धनवज्र बज्राचार्यले लिच्छवीकालीन अभिलेखको पुस्तकमा गोलमढी टोलको शिवदेव र अंशुवर्माको अभिलेखको व्याख्या गर्ने क्रममा लेखेका छन्, “नेवारी भाषामा भक्तपुरलाई अहिलेसम्म पनि खोपः भनिन्छ । यसको पूर्वरूप खोपृङ् हो ।” मानदेवको पालाको देउपाटनको रत्नसङ्घको अभिलेखमा खोपृङ्ग्रामको उल्लेख छ । गोल्मढीको यस अभिलेखमा खोपृम्को अगाडि ‘मा’ पनि जोडिएको छ । ‘मा’ ले के कुरा जनाएको हो, सो बुझ्न सकिएको छैन । भक्तपुरको तुलाछेँ टोलको अभिलेखमा अर्कै खृपुङ् ग्रामको उल्लेख छ । तर, पछिसम्म चलेर आएको हुनाले भक्तपुरको प्राचीन नाउँ खोपृङ नै हो भन्ने कुरामा शङ्का छैन । स्थानभेदले मात्र यसको विभिन्न रूप देखिएको बुझिन्छ । तत्कालीन समयमा समग्र भक्तपुर भेगलाई खोपृङ भनिन्थ्यो । विक्रमको छैटौँ शताब्दीको सुरूतिर ग्रामको रूपमा रहेको भक्तपुरको सातौँ शताब्दीको मध्यतिर शिवदेव तथा अंशुवर्माको पालासम्म पुग्दा तलसहितको द्रङजस्तो समृद्व बस्तीको रूपमा प्रसिद्ध भइसकेको थियो । यस कुराको प्रामाणिक पुष्टि गोल्मढी टोलको शिवदेव तथा अंशुवर्माको संवत् ५१६ को संयुक्त अभिलेखबाट मिल्छ भनी डा. पुरूषोत्तमलोचन श्रेष्ठले आफ्नो पुस्तक ‘त्रिपुरा र युथुनियमम् राजकुल’ मा उल्लेख गरेका छन् । तुलाछेँ टोलको अभिलेखमा खृपुग्राम उल्लेख भएको र कुम्हाले टोलको अभिलेखमा माखोदुलुं उल्लेख गरिएकोले लिच्छवी कालमा तुलाछेँ टोल इलाकामा खृपुङ र कुम्हाले टोल इलाकामा माखोदुलुं नामका बस्ती आवाद थिए भन्ने बुझिन्छ । यसरी भक्तपुरको ऐतिहासिक अभिलेखबाट यसको प्राचीन नामलाई विभिन्न नामबाट सम्बोधन भएको थियो भने आनन्द देवको समयदेखि यक्ष मल्लको समयसम्म भक्तपुर नेपालको राजधानीको रूपमा रहेको थियो ।
हाल भक्तपुर जिल्लामा ४ वटा नगरपालिका छन् । भक्तपुर र मध्यपुर पुराना नगरपालिकाहरू हुन् भने सूर्यविनायक र चाँगुनारायण नयाँथपिएका नगरपालिका हुन् । नेपाल मजदुर किसान पार्टीले आफ्नो घोषणापत्रमा कला संस्कृतिको संरक्षण गर्ने उल्लेख छ । त्यसैले भनपाका जनप्रतिनिधिहरू घोषणापत्रमा उल्लेखित प्रतिबद्धतालाई पूरा गर्न क्रियाशील छन् ।
नेमकिपा केन्द्रीय निर्वाचन परिचालन समितिले प्रकाशन गरेको स्थानीय तहको निर्वाचन घोषणापत्र २०७४ मा ‘नगरको कला–संस्कृति र सम्पदा संरक्षण गरी पर्यटन उद्योगलाई प्रोत्साहित गर्ने तथा सांस्कृतिकरूपले महत्वपूर्ण र विश्व सम्पदा क्षेत्रका निजी घरहरू पुनःनिर्माण गर्न आवश्यक जनशक्तिलाई तालिम दिने र निर्माण सामग्री सहुलियतमा उपलब्ध गराइने’ उल्लेख छ । साथै भक्तपुर नगरपालिकाको नेमकिपाको घोषणापत्र २०७४ को बुँदा न. ४ मा कला, संस्कृति÷पर्यटन शीर्षक दिई ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउने उल्लेख छ । उक्त घोषणापत्रमा ‘भक्तपुरलाई सफा, स्वच्छ सांस्कृतिक नगर, पर्यटकीय गन्तव्य र शिक्षाको केन्द्र बनाउने’ पनि उल्लेख छ । भक्तपुर नगरपालिका र यहाँनिर्वाचित नेमिकपाका जनप्रतिनिधिहरू घोषणापत्रका प्रतिबद्धताहरू कार्यान्वयन गर्दै टोल–टोलको जात्रा, पर्व, रीतिथिति, चलनलाई संरक्षण र प्रवद्र्धन गर्न क्रियाशील छन् । त्यस्तै विविध चलनहरूमध्ये भक्तपुर नगरपालिका वडा नं. ६ साविक वडा नं. ५ याछेँमा हरेक वर्ष नवमीको दिनमा नवदुर्गाको मुकुण्डो प्रदर्शन गर्ने चलन छ । यो मुकुण्डो प्रदर्शन गर्ने कामलाई संरक्षण गर्न भक्तपुर नगरपालिका लागिपरेको छ । यसको उदाहरण भक्तपुर नगरपालिका, नवदुर्गा गणको मुकुण्डो निर्माण अक्षय कोष व्यवस्थापन निर्देशिका, २०७५ हो । जुन निर्देशिका नगर सभाबाट पारित भएर कार्यान्वयनमा छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको चौथो नगर सभा २०७५ बाट यो निर्देशिका पारित गरिएको थियो । प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रसिद्ध नवदुर्गा नाचका लागि बनाइने नवदुर्गा गणको मुकुण्डो निर्माण कार्यलाई निरन्तरता दिई कालान्तरसम्म नवदुर्गा नाचलाई जीवन्त राख्न आर्थिक स्रोतहरू परिचालन गरी नवदुर्गा गणको मुकुण्डो निर्माण कोषको रूपमा अक्षय कोष सञ्चालन गरी सो अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट वार्षिकरूपमा मुकुण्डो निर्माण कार्यलाई निरन्तरता दिन वाञ्छित भएको हुँदा भक्तपुर नगरपालिकाको चौथो नगरसभाले यो निर्देशिका बनाएको हो ।
यस निर्देशिकाको दफा २(१) ले अक्षय कोष सञ्चालन समिति गठन र सञ्चालनको व्यवस्था गरेको छ । निर्देशिकामा प्रत्येक वर्ष नवदुर्गा नाचका लागि नयाँ मुकुण्डो निर्माण गरी देवगणलाई हस्तान्तरण गर्नको लागि आवश्यक आम्दानी र खर्चको व्यवस्थापनको लागि अक्षय कोष सञ्चालन समिति गठन गरिने उल्लेख छ । दफा २ (२) ले अक्षयकोष सञ्चालन समितिका पदाधिकारीहरूको सम्बन्धमा गरिएको व्यवस्थाअनुसार भक्तपुर नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा वडा नं ६ का वडाध्यक्ष सचिव, वडा नं. ९ का वडाध्यक्ष कोषाध्यक्ष, गुठी संस्थान, भक्तपुर नगरपालिकाको अधिकृत प्रतिनिधि सदस्य, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि सदस्य, नवदुर्गा गणको मुकुण्डो निर्माण गर्ने परम्परागत पेशाका व्यक्ति सदस्य र स्थानीय बुद्धिजीवीबाट संयोजकले मनोनीत गरेका एक जना सदस्य रहने व्यवस्था छ । हाल यस दफाअनुसार भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. ६ का वडाध्यक्ष डा. हरिराम सुवाल सचिव, भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व कोषाध्यक्ष, मुकुण्डो निर्माणकर्ता पूर्ण चित्रकार सदस्य र जिल्ला प्रशासन र गुठी संस्थानका प्रतिनिधि रहेको ६ सदस्यीय समिति रहेको छ र एक जना मनोनीत गर्न बाँकी छ । दफा २ (३) ले अक्षय कोष खातासम्बन्धी व्यवस्था गरको छ । जसअनुसार अक्षय कोष सञ्चालन समितिले यस निर्देशिकाको उद्देश्य पूरा गर्नका लागि अक्षय कोष सञ्चालन समितिको नाममा स्थानीय बैङ्क तथा वित्तीय संस्थामा आवश्यकताअनुसार अक्षय कोष खाता सञ्चालन गर्न सकिने प्रावधान छ । यस व्यवस्थाअनुसार हाल बैङ्क अफ काठमाडौँमा अक्षय कोष स्थापना गरिएको छ । यस कोषमा भक्तपुर नगर कार्यपालिकाले पनि एकमुष्ट दस लाख जम्मा गरिदिएको छ भने स्थानीयरूपमा क्रियाशील अक्षय कोष व्यवस्थापन समितिले उक्त बैङ्क खातामा रकम जम्मा गरिसकेको छ । बाँकी अरू रकम र प्राप्त सहयोग रकम पनि उक्त खातामा जम्मा गर्ने प्रक्रिया भइरहेको छ । निर्देशिकाको दफा २ (४) ले उक्त खातामा जम्मा हुने रकमबारे व्यवस्था गरेको छ । जसअनुसार नेपाल सरकार, भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, भक्तपुरका विभिन्न सङ्घ संस्था, भक्तजन तथा श्रद्धालुहरूबाट जम्मा हुने रकम यस खातामा जम्मा गर्न सकिने व्यवस्था छ । यस दफाअनुसार गुठी संस्थान, भक्तपुर शाखाले हरेक वर्ष मुकुण्डो निर्माणकर्तालाई चालीस हजार रुपैयाँ प्रदान गर्दै आएको छ भने जिल्ला प्रशासन, भक्तपुरबाट पनि सहयोग दिने आश्वासन प्राप्त भएको छ । विभिन्न व्यक्तिबाट पनि सहयोग रकम जुटिरहेको छ ।
मुकुण्डो निर्माण प्रक्रियाका विभिन्न चरणहरूमा मुकुण्डो निर्माणकर्ता पूर्ण चित्रकारको महत्वपूर्ण भूमिका छ । उहाँले वि.सं. २०१९ सालदेखि मुकुण्डो निर्माण गर्दै आउनुभएको छ । आर्थिक समस्या न्यूनीकरण गर्न नगरपालिकाले थोरै भए पनि अक्षय कोषको व्यवस्था गरेको छ भने यसलाई दीर्घकालीनरूपमा समाधान गर्नेतर्फ नगरपालिकाले पाइला चालेको छ । निर्वाचित जनप्रतिनिधिहरूले मुकुण्डो निर्माणमा आवश्यक सहयोग गर्दै आएका छन् । यस वर्ष कोरोना महामारीले नवमीको दिनमा मुकुण्डो प्रदर्शन जनप्रतिनिधिकै सहयोगमा स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *