भर्खरै :

भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– २३

आपत्काल
दिल्ली र पश्चिम बङ्गालका काङ्ग्रेसका नेताहरू पश्चिम बङ्गालमा आफ्नो आधार गुम्दै गएको कुरामा पक्का थिए । केन्द्रीय गुप्तचर विभागको रिपोर्टले उनीहरूको यस्तो बुझाइ प्रस्ट हुन्थ्यो । असुरक्षा भावबाट ग्रसित उनीहरूले हाम्रा चुनावी सभाहरू बिथोल्न भरमग्दुर प्रयास गरिरहेका थिए । प्रहरीको गिरफ्तारीबाट जोगिन हाम्रो पार्टीका धेरै कमरेडहरू आफ्नो घरमै बस्न छोडेका थिए । मतदाताहरूसम्म पुग्न हामीलाई कठिन भइरहेको थियो । हामीले प्रभावित क्षेत्रको अनुगमन गर्न प्रमुख निर्वाचन आयुक्त सेन वर्मालाई आग्रह ग¥यौँ । उनले हाम्रो आग्रह स्वीकारे । अनुगमनको क्रममा उनी बेलियाघाटको मैनबगानतिर जाँदै गर्दा हातहतियार बोकेका सशस्त्र काङ्ग्रेस समर्थित अराजक जत्था आएर उनलाई अघि नबढ्न नभए उनी मारिन सक्ने भनी धम्की दिए । सेन वर्मासँगै गएका सुरक्षा अधिकारीहरूले उनलाई अघि जानु खतरा हुनसक्ने बताए । हाम्रो पार्टीको तर्फबाट सो क्षेत्रका उम्मेदवार कृष्णपदा घोषले यदि प्रमुख निर्वाचन आयुक्तलाई नै सो क्षेत्रमा जान यस्तो जोखिम छ भने वामपन्थी उम्मेदवारहरू त्यहाँ चुनाव प्रचारमा जान कसरी सम्भव हुन्छ भनी सोधे । त्यसको प्रमुख निर्वाचन आयुक्तबाट कहिल्यै पनि सन्तोषजनक जवाफ आएन ।
मतदानको केही दिनअघि मैले पश्चिम बङ्गालका गभर्नरलाई भेटँे । भेटमा मैले मतदानको निर्वाचन प्रतिनिधिहरूले शान्तिपूर्वक काम गर्नसक्छन् भनी सोधेँ । मेरो चासोप्रति गभर्नरले ज्यादै रुखो प्रतिक्रिया जनाए ।

पश्चिम बङ्गालको मुख्य मन्त्री पदमा शपथग्रहण गर्दै ज्योति बसु


त्यो निर्वाचन प्रजातन्त्रको नाममा कालो धब्बा थियो । पश्चिम बङ्गालको राजनीतिक इतिहासमा सन् १९७२ मार्च ११ को दिन कालो दिन थियो । प्रहरी, काङ्ग्रेस, सरकारी प्रशासन, दक्षिणपन्थी भारतीय कम्युनिस्ट पार्टी मिलेर बन्दुक, भाला र बमको सहारामा पश्चिम बङ्गालका जनतालाई मताधिकारबाट वञ्चित गरे । खासमा सिद्धार्थ शङ्कर रायले राइटर्स भवनस्थित आफ्नो कार्यालयबाट सबै योजनाको तानाबाना बुनेका थिए । हामीले हाम्रो पार्टीलाई त्यो हदसम्म क्षति पु¥याउने काम होला भनी पूर्वानुमान गरेका थिएनौँ । मलाई सबभन्दा आश्चर्य त्यत्तिबेला लाग्यो, जब म आफ्नो निर्वाचन क्षेत्र बारानगरमा बिहान १०ः३० बजे पुग्दा मतदान त सम्पन्न भइसकेको थियो । मतदान केन्द्रमा हाम्रो पार्टीका प्रतिनिधिलाई प्रवेश गर्न दिइएनछ । मतपेटिकाहरू खोसेर मुट्ठाका मुट्ठा मतपत्रहरू ती पेटिकामा घुसारिएको थिए । ती सबै मतपत्रमा मेरो विपक्षको मतचिह्नमा छाप पहिले नै ठोकिएको थियो । मैले मेरो निर्वाचन क्षेत्रका जिम्मेवार अधिकारी व्यारेकपुरका एसडीओलाई त्यस विषयमा पत्राचार गरेँ । मैले घटनास्थलमा जे देखेको थिएँ, ती सबै कुरा लेखेरै उजुरी दर्ता गरेँ । एक सय मतदान केन्द्रहरू कब्जामा लिइएको थियो । तर, सुरक्षाकर्मी चुपचाप मूकदर्शक बनेर उभिएका थिए । उजुरीपछि म सीधैँ पार्टी कार्यालयमा गएँ । त्यहाँ पुग्दा थाहा भयो, बारानगर एक्लैको मात्र यस्तो कथा रहेनछ । सिङ्गो पश्चिम बङ्गालमै त्यही अवस्था थियो । हाम्रो पार्टीका प्रान्तीय सचिव प्रमोददास गुप्ताले पश्चिम बङ्गालका अठार विधान सभा निर्वाचन क्षेत्रको अवस्थाबारे जानकारी दिँदै दिल्लीस्थित प्रमुख निर्वाचन आयुक्तलाई पत्राचार गरे । काङ्ग्रेस र अन्य असामाजिक शक्तिहरूबाट भएको धाँधलीबारे पश्चिम बङ्गालका जताततैबाट समाचारको ओइरो लागिरहेको थियो । मतगणनामा थप धाँधलीका दृश्य देखियो । हाम्रो मतचिह्नमा छाप राखिएका मतपत्रलाई बदर घोषणा गरियो । मत गणकहरू प्रस्टतः सशस्त्र असामाजिक शक्तिहरूको पक्षमा ढल्केको देखिन्थ्यो । यस्तो अवस्थामा मैले बिहानै आफ्नो उम्मेदवारी फिर्ता लिने निधो गरिसकेको थिएँ । मार्च १३ को दिन भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) ले मतगणना स्थलमा आफ्ना प्रतिनिधि नपठाउने निर्णय ग¥यो । वाम मोर्चाका अरू घटकले पनि उस्तै निर्णय गरे ।
त्यत्तिबेला मलाई प्राप्त भएको एउटा रोचक चिट्ठी म अझै पनि सम्झन्छु । सिलदहको छाप लागेको चिट्ठी कोही अज्ञात व्यक्तिबाट प्रेषित थियो । त्यसमा लेखिएको थियो, “म काङ्ग्रेसको पक्षमा काम गरिरहेको छु । तथापि म यो पत्र तपाईँलाई लेख्दै छु । किनभने, म व्यक्तिगतरूपमा तपाईंप्रति आदर गर्छु । विश्वास गर्नुहोस्, मलाई काङ्ग्रेसको पक्षमा प्रचार गर्न मनग्य पैसा दिइएको छ । तपाईंको निम्ति यो यस्तो ठूलो सङ्कट होला भनी मैले सोचेको पनि थिइनँ । उनीहरूले मलाई रक्सीको पोखरीमा डुबाइदिए । उनीहरूले धेरै सङ्ख्यामा गुण्डाहरू परिचालन गरे । अनि कसैलाई पनि भाकपा (माक्र्सवादी) को पक्षमा मतदान गर्न नदिन हामीलाई आदेश दिइयो । हामीलाई अघिल्लो रात नै कम्तीमा ७० प्रतिशत मतदानको काम पूरा गर्न भनिएको थियो । यस्ता काम गर्न हामीलाई कति पनि नडराउन भनिएको थियो किनभने सशस्त्र प्रहरी बल (सीआरपीएफ) ले हामीलाई सहयोग गर्ने भनिएको थियो ।” विडम्बना ¤ मैले त्यो चिट्ठी अहिले मसँग छैन । पक्कै पनि त्यो चिट्ठी खराब सङ्गतको कोही गरिब मानिसले नै लेखेको हुनुपर्छ ।
सन् १९७२ मार्च १७ को दिन वाम मोर्चाले विधान सभा बहिष्कार गर्ने निर्णय ग¥यो । भाकपा (माक्र्सवादी), फर्वड ब्लक, आरसीपीआई, एसयूसी, वर्कर्स पार्टी, एमएफबी र विप्लवी बङ्गला काङ्ग्रेसका प्रतिनिधिहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्य हामीले प्रचार ग¥यौँ । केही दिनपछि आरएसपीले आफ्ना सदस्यहरूलाई विधान सभाका अधिवेशनहरूमा भाग लिन लगायो ।

मुख्य मन्त्री पदमा शपथग्रहणपछि जनतासँग ज्योति बसु


खासमा प्रतिपक्षविहीन विधान सभामा सिद्धार्थ शङ्कर रायलाई इन्दिरा गान्धीले ‘मुख्यमन्त्री’ चुनिन् ।
केही दिनपछि कोलकोत्तामा मैले जयप्रकाश नारायणसँग भेट भयो । उनीसँग मेरो हार्दिक सम्बन्ध थियो । पश्चिम बङ्गालको कुशासन देखेर उनी कायल बनेका थिए । सन् १९७२ को चुनावमा काङ्ग्रेसले गरेको धाँधलीको कुरा सुनेर उनी चकित परेका थिए । उनले काङ्ग्रेस प्रजातन्त्र मास्ने कर्ममा लागेको प्रति चिन्ता व्यक्त गर्दै त्यसको प्रतिरोध हुनुपर्ने मत राखे । उनी सन् १९७२ को निर्वाचनमा भएका धाँधलीबारे छानबिन गर्न एउटा छानबिन समिति गठन गर्न चाहन्थे । हामी धाँधलीका आवश्यक तथ्य र सूचना दिन तयार भयौँ । तर, सिद्धार्थ शङ्कर राय डराए । उनले सो प्रतिक्रिया अघि बढाउन तयार भएनन् । छानबिन आयोग त गठन भयो । तर, त्यसले खास सत्य बाहिर ल्याउन सकेन । पश्चिम बङ्गाल सरकारले छानबिन आयोगलाई अनुसन्धान रोक्न सीधा हस्तक्षेप ग¥यो ।
तिनताक पश्चिम बङ्गाल खाद्य सङ्कटको मारमा थियो । भोकले मानिसको मृत्युको समाचार दैनिक अखबारमा छुट्दैनथ्यो । अखबारमा पश्चिम बङ्गालका विभिन्न क्षेत्रका भोकले शिथिल महिला र पुरुषका तस्वीरहरू छाप्थे । सन् १९७३ अक्टोबर १० को दिन कमरेड प्रमोद दास गुप्ताले मुख्यमन्त्री रेलाई खाद्य सङ्कटको विषयमा पत्र लेखे । पत्रमा भोकमरीका कारण र समाधानका उपायहरू पनि लेखिएको थियो । भाकपा(माक्र्सवादी) का लोकसभा सांसद समर मुखर्जीले खाद्य सङ्कटबारे सकारात्मक प्रस्ताव इन्दिरा गान्धीसमक्ष बुझाए । तर, पीडित जनताप्रति संवदेनाहीन हृदयमा कुनै परिवर्तन आएन । मुख्यमन्त्रीको मूल ध्यान नै पश्चिम बङ्गालमा नियम कानुन तोड्नमा नै केन्द्रित थियो । सिङ्गो राज्य संरचना भाकपा (माक्र्सवादी) का कार्यकर्ता र अरू विपक्षी दलका नेता–कार्यकर्ताको हत्या गर्न परिचालित थियो । बुर्दवन जिल्लाको एक जना एसपीले झन्डै २५० जना वामपन्थी कार्यकर्ताहरूको हत्या गरेका थिए । उनीविरुद्ध एउटा पनि मुद्दा दायर नगरिएको मात्र होइन बरु उनलाई उत्कृष्ट प्रहरी सम्मानबाट सम्मानित गरिएको थियो । मुख्यमन्त्री सिद्धार्थ शङ्कर रायको विशेष सिफारिसमा उनलाई त्यस्तो सम्मान प्राप्त भएको थियो । काङ्ग्रेसका असामाजिक तत्वहरूले हाम्रा कमरेडहरूको हत्या गरे । हत्या गरेर उनीहरू नजिकैका प्रहरी चौकीमा जान्थे र गफ मारेर बस्थे । यस्ता घटना तिनताक सामान्यजस्तै बनेको थियो । बैठक, सभा–सम्मेलन आदि गर्न हामीलाई धौ धौ हुन थालेको थियो । मालदहमा आयोजित एक सभामा सहभागी बन्न जान खोज्दा असामाजिक तत्वले हाम्रो बाटोमा अवरोध ग¥यो । यस्तो हुँदै गर्दा प्रहरी भने देखे–नदेखेजस्तै गरेर बसेको थियो ।
सन् १९७४ को ८ मेमा देशभरका रेलमार्ग मजदुरहरूले अनिश्चितकालको लागि हड्तालको आह्वान गरे । हड्ताल २० दिनसम्म चल्यो । सङ्कटको त्यो घडीमा मजदुरहरूको त्यो हड्तालले पार्टी कार्यकर्ताहरूलाई उत्साहित बनाएको थियो । इन्दिरा गान्धीको ‘गरिबी हटाऔँ’ भन्ने नारालाई जनताले पत्याउन छोडेको र विपक्षीमाथि आफ्ना झूटा आरोपले काम नगरेको थाहा पाएपछि काङ्ग्रेस अलमलमा प¥यो । इन्दिराले आफू जनताबाट अलग भइसकेको अनुभव गरिरहेकी थिइन् । त्यही बेला काङ्ग्रेस आन्तरिक विभाजनको चपेटामा प¥यो । त्यस परिस्थितिमा सन् १९७५ को १२ जूनमा अल्लाहवाद उच्च अदालतले एउटा ऐतिहासिक आदेश जारी ग¥यो । न्यायाधीश जगमोहन लाल सिन्हाले लोकसभा निर्वाचनको लागि इन्दिरा उम्मेदवार बनेकी राइ बरेली क्षेत्रको चुनावी नतिजा नै बदर गर्ने फैसला गरे । आदेशमा इन्दिरालाई आगामी छ वर्षको लागि चुनावी प्रतिस्पर्धामा होमिने अधिकारबाट वञ्चित गर्ने उल्लेख थियो । देशभर इन्दिराले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग भयो । सो फैसलाले आहत भएकी इन्दिराको तानाशाही भावना अन्तिम सीमामा पुगिसकेको थियो । सन् १९७५ को २६ जूनमा उनले देशभर आपत्कालको घोषणा गरिन् । आन्तरिक सुरक्षा संभार (मिसा), भारत बन्दोबस्त रक्षा (डीआइआर) जस्ता अरू धेरै प्रजातन्त्रविरोधी कानुनहरू थोपरिए । प्रजातन्त्रको धज्जी उडाइयो । सबै मौलिक अधिकारहरू निलम्बन गरिए । सबै विपक्षी शक्तिहरूमाथि घातक हमला हुन थाल्यो । हाम्रो पार्टीका नेताहरू पक्राउ परे । उनीहरूमाथि प्रहरीले अमानवीय व्यवहार गरे । आपत्काल घोषणा भएको केही दिनमै भाकपा (माक्र्सवादी) का नेताहरू ईएमएस नम्बोदरिपाद, एके गोपालन र बशी बसाबपुन्हैयालाई कारागारमा कैद गरियो । सन् १९७६ को १६ जनवरीमा हामीले चाओ एन लाईको दुःखद निधनमा शोक सभाको आयोजना गरेका थियौँ । त्यही शोक सभा पनि सरकारले गर्न दिएन । यस्तो आदेश पहिले कहिले पनि दिइएको थिएन । आपत्कालमा सर्वोच्च अदालतमा चलेको एउटा मुद्दा म सम्झन्छु । सो मुद्दामा महान्यायाधिवक्ता निरेन डीले केन्द्रीय सरकारको तर्फबाट वकालत गरिरहेका थिए । प्रसङ्गवस न्यायाधीशले उनलाई सोधे, “हामीलाई बाँच्ने अधिकार पनि नभएको कुरा हामीले बुझ्दा हुन्छ त ?” महान्यायाधिवक्ताले जवाफमा भनेका थिए, “हुन्छ श्रीमान् !”
इन्दिरा गान्धीले आपत्काल घोषणा गर्न धेरै अघिदेखि नै हामीले व्यवहारमा आपत्कालीन समय नै भोगिरहेका थियौँ । हामीलाई आपत्कालीन समयको उत्पीडनको स्वाद पहिले नै थाहा थियो । देशभरका सबै सञ्चारमाध्यममाथि आपत्कालमा कडा बन्देजहरू थोपरिए । अवस्था थप भयावह बन्दै गयो ।
तर, मानवतामाथिको मेरो विश्वास कहिले पनि डगमगाएन । म आशावादी मान्छे हुँ । मानव मुक्तिको हाम्रो लामो सङ्घर्षको क्रममा ती प्रतिकूलताका दिनहरू अप्ठ्यारा चरणमात्र हुन् भन्ने मलाई लाग्थ्यो । मलाई त्यत्तिबेला र आज पनि विश्वास लाग्छ, जनताको आवाजलाई कदापि दबाउन सकिँंदैन । अन्ततः सन् १९७७ को मार्च महिनामा इन्दिरा गान्धी छैटौँ आम चुनाव घोषणा गर्न बाध्य भइन् । म, एम बसाबपुन्हैया र समर मुखर्जीले दिल्लीमा इन्दिरा गान्धीलाई भेटेर राजनीतिक बन्दीहरूलाई रिहा गर्न माग ग¥यौँ । हामीले उनलाई भेटेकै दिन जनता पार्टीका प्रतिनिधिहरूले पनि त्यही माग पेश गरेका थिए । जनता पार्टीका नेता जयप्रकाश नारायण थिए । त्यो पार्टीभित्र भारतीय लोक दल, समाजवादी पार्टी र जनसङ्घजस्ता दलहरू समाहित थिए । भारतीय प्रजातन्त्रमाथि खतराको बादल मडारिरहेको भनी पूर्वसावधानी गरिरहने एक जना नेता थिए–जयप्रकाश नारायण । आपत्काल थोपर्नु अघि कोलकोत्ता भ्रमणको आउँदा काङ्ग्रेस पार्टीले नारायणको नराम्रो अपमान गरेको थियो । हामीले उनको सम्मानमा कोलकोत्तामा विशाल सभाको आयोजना गरेका थियौँ । उनले तत्कालीन राजनीतिक परिस्थितिमा हामीले तत्काल जनाएको प्रतिक्रियाको कदर गरेका थिए ।
भाकपा (माक्र्सवादी) ले जनता पार्टीसँग मिलेर हड्तालको घोषणा ग¥यो । हाम्रा धेरै नेताहरू अझै कारागारमा थिए । सबैतिर आतङ्कको राज थियो । उत्तरी बङ्गालमा हजारौँ हजार फर्जी मतपत्र छापिँदै थियो । जलपाईगुरीमा आक्रोशित जनतासामु उच्च अधिकारीहरूले अन्ततः सत्य कुरा स्वीकारे । मैले पनि केही फर्जी मतपत्र हात पारेको थिएँ । मैले जाभेदपुर निर्वाचन क्षेत्रका प्रमुख निर्वाचन अधिकृतलाई भेटेँ । उनी निकै अलमलिए । उनलाई वास्तविकतालाई न्यायोचित ठहर गर्न हम्मेहम्मे भयो । सिद्धार्थ शङ्कर रायको षड्यन्त्र उदाङ्गियो । उनले सबै दोष सरकारी कर्मचारीको थाप्लामा थोपरे ।
छैटौँ आम निर्वाचन सम्पन्न भयो । नतिजा पनि धमाधम बाहिरियो । जनता पार्टीका उम्मेदवारबाट राज नारायणबाट इन्दिरा गान्धी ५५ हजारभन्दा बढी मतको अन्तरले पराजित भइन् । लोकसभामा भाकपा (माक्र्सवादी) ले २२ स्थान जित्यो । पश्चिम बङ्गालबाट लोकसभाको लागि कुल ४२ स्थानमध्ये काङ्ग्रेसको भागमा जम्मा तीन स्थानमात्र हात लाग्यो । मोराजी देसाई भारतका प्रधानमन्त्री बने । केन्द्रमा गैर–काङ्ग्रेस सरकारको नयाँ चरण आरम्भ भयो । मिसाजस्ता सबै काला कानुन खारेज भए । तानाशाही र अधिनायकवादीहरू पराजित भए । भारतमा काङ्ग्रेसको तीन दशक लामो शासन अन्त्य गर्दै भारतीय राजनीति नयाँ चरणको आरम्भ भयो ।
वाम मोर्चाको जीत
प्रतिकूल राजनीतिक परिस्थितिबीच सन् १९७७ जून १२ मा पश्चिम बङ्गालमा विधानसभाको निर्वाचन भयो । यो पटकको निर्वाचनमा विगतका वर्षमा जस्तै पश्चिम बङ्गाललाई हिंसा र अराजकताको कोपभाजन हुनबाट रोक्न कटिबद्ध थियौँ । चुनावमा पनि हामीले जनता पार्टीसँग गठबन्धन गर्ने प्रयास ग¥यौँ । शक्ति, सङ्गठन, पार्टीको प्रभाव र उम्मेदवारको व्यक्तित्वको आधारमा सीटको बाँडफाँट गर्न हामीले प्रस्ताव ग¥यौँ । एकताको लागि हामीले जनता पार्टीलाई ५२ प्रतिशत सीट दिने प्रस्ताव ग¥यौँ । तथापि, जनता पार्टीका नेताहरूले हामीसँग आँखामा आँखा जुधाएर हेर्न सकेनन् । त्यस्तो परिस्थितिमा हामीले पश्चिम बङ्गालका कुल २९४ वटै स्थानमा वामपन्थी उम्मेदवार उठाउने तयारी ग¥यौँ । वाम मोर्चामा त्यत्तिबेला ६ वटा घटक थिए । हामीले ३६ बुँदे न्यूनतम कार्यक्रम तयार पा¥यौँ । जून १२ र जून १४ मा गरी दुई चरणमा निर्वाचन भयो । वाम मोर्चाले निर्वाचनमा दुईतिहाइभन्दा बढी (२३१ स्थान) मा जीत हासिल गर्न सफल भयो । हाम्रो पार्टी भाकपा (माक्र्सवादी) एक्लैले मात्र कुल २९४ स्थानमध्ये १७८ स्थानमा जीत हासिल गरेको थियो । काङ्ग्रेस २० स्थानमा खुम्चिएको थियो । मैले बज बज क्षेत्रको सत्गचियाबाट उम्मेदवारी दिएको थिएँ । त्यो क्षेत्र मेरो लागि नयाँ निर्वाचन क्षेत्र थियो । अनेकन प्रतिकूलताबीच मैले चुनाव जितेँ । सन् १९७७ को जून २१ मा मैले पश्चिम बङ्गालको मुख्यमन्त्री पदको सपथ लिएँ ।

सन् १९७७ पश्चिम बङ्गालमा वाम मोर्चाको इतिहासमा कोशेढुङ्गा थियो । हामी राजनीतिक इतिहासको नयाँ चरणमा प्रवेश गरेका थियौँ । म उत्साहित थिएँ । तर, हाम्रो गन्तव्यमा पुग्न अझै धेरै माइलको यात्रा गर्नुपर्ने कुरा पनि मलाई राम्ररी थाहा थियो । हाम्रो यात्रा त बल्ल सुरु भएको थियो । हामीले बोकेको विरासत पक्कै पनि अजेय थियो । सपथ ग्रहणको दिन मैले मन–मनै एउटा वाचा गरेको थिएँ–आफूलाई जनताबाट कदापि अलग राख्नेछैन । म जनताको निकै निकटको सम्पर्कमा रहन प्रतिबद्ध थिएँ किनभने हाम्रो राजनीतिक सङ्घर्षका अनेकन आरोह–अवरोहमा जनताले हामीलाई सधैँ साथ दिइरहे । सङ्कटका हरेक घडीमा उनीहरू हामीसँग दत्तचित्त भएर उभिरहे । विगतमा जस्तै पुनः एक पल्ट मैले जनताको लागि काम गर्ने वाचा गरेँ । जनतासँग कुनै पनि राजनीतिक नेता बनाउने वा नबनाउने कुराको शक्ति निहीत हुन्छ । जनताले मात्र कुनै पनि कल्पित देश बनाउन सक्छन् । जनताले नै इतिहास बनाउने र आकार दिने वास्तविकताबाट म कुनै पनि क्षण विमुख भइनँ । जनताप्रतिको विश्वास गर्न मैले कहिल्यै पनि छोडिनँ ।
नेपाली अनुवादः बर्बरिक
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *