भर्खरै :

उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई ठगी मुद्दाको तयारी

काठमाडौँ, २ पुस । नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ ।
प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालयबाट आवश्यक कानुनी प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।
“किसानसँग जाहेरी लिई, पक्राउ पूर्जीसमेत जारी भइसकेको छ, ठगी मुद्दामा कारबाही अघि बढ्छ । अहिलेसम्म पक्राउ भएको भन्ने जानकारी नआएको बताउनुभयो”, प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले भन्नुभयो ।
सर्लाही, रौतहट र नवलपरासीका चार चिनी मिलका सञ्चालकले विगत ४–५ वर्षदेखि नै उखु किसानको बाँकी बक्यौता भुक्तानी गरेका छैनन् । पटकपटक ताकेता गर्दा भुक्तानी नदिएपछि किसान पुनः काठमाडौँ आएर आन्दोलन चलाइरहेका छन् । सोही विषयमा मङ्गलबार गृहमन्त्री रामबहादुर थापासहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि विकासमन्त्री घनश्याम भुसाल र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठीसहितको बैठक बसेको थियो । बैठकले उनीहरूलाई पक्राउ गरी कारबाही गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि गरेको परिपत्रअनुसार प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको हो । कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढेपछि केही मिल सञ्चालकले भने रकम जम्मा गरेको भन्ने जानकारी आएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । नतिर्नेलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई स्पष्ट निर्देशन गरिएको उहाँले बताउनुभयो ।
गत वर्ष उखु किसान आन्दोलित भएपछि माग सम्बोधन गर्ने गरी सहमति भएको थियो । उक्त सहमति पूरा नभएपछि किसान पुनः आन्दोलित भएका हुन् । प्रतिनिधिसभाका सांसदहरूले किसानको रकम भुक्तानी नगर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गरी कारबाहीको माग गर्दै आएका छन् ।
संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई रकम भुक्तानीका लागि निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तव उखुको रकम भुक्तानी नदिएको भन्दै किसान आन्दोलित बनेपछि समितिले एक साताभित्र भुक्तानी सकेर प्रतिवेदन पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको बताउनुहुन्छ ।
“गतवर्ष पनि किसान विभिन्न उद्योगले रकम नदिएको भन्दै आन्दोलन गर्न काठमाडौँ आउनुभएको थियो, एक वर्ष अगाडि भएको सहमतिअनुसार अझै भुक्तानी नभएपछि हामीले भुक्तानी गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका हौँ । उखु किसानको समस्या अहिले नै समाधान हुन्छ, उखुको रकम भुक्तानी नपाएको भन्दै अर्काे वर्ष आन्दोलन गर्नुपर्ने अवस्था आउँदैन”, उहाँले भन्नुभयो ।
समितिले ११ वटै चिनी उद्योगमा कार्यरत श्रमिकको अवस्थाका बारेमा स्थलगतरूपमा अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । लामो समयदेखि केही चिनी उद्योग बन्द भएका र अन्य उद्योगले समेत श्रमिकलाई बेवास्ता गर्ने गरेको सूचना समितिमा आएको भन्दै स्थलगतरूपमा अध्ययन गरेर समस्या समाधानको व्यवस्था मिलाई विवरण उपलब्ध गराउन श्रम मन्त्रालयलाई निर्देशन दिइएको सभापति श्रीवास्तवले जनाकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *