भर्खरै :

क्यान्सर अस्पतालमा अनियमतिता गर्ने अर्को दुष्प्रयास !

भक्तपुर, ४ पुस । नेपाल अर्बुद रोग निवारण संस्थाका निमित्त अध्यक्ष महेश श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालमा पुनः अनियमितता गर्ने र हस्तक्षेप गर्ने दुष्प्रयास गरेका छन् । उनले भक्तपुर क्यान्सर अस्पताल छोडेर अर्को अस्पतालमा पूर्णकालीन चिकित्सकका रूपमा कार्यरत चिकित्सकलाई हालै तयार गरेका पत्रहरूमार्फत काजमा पठाएको र काजबाट फिर्ता गरेको कपोलकल्पित स्थिति तयार गरी अस्पतालबाट एक वर्ष बराबरको तलब सुविधाबापतको रकम हात पार्न खोजेका हुन् ।
नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष तथा भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ आर्थिक अनियमिततामा मुछिएर राजीनामा गरेपछि निमित्त अध्यक्ष बनाइएका महेश श्रेष्ठले अस्पतालका पूर्व सिनियर कन्सलटेन्ट डा. प्रकाशराज न्यौपानेलाई २०७६÷०८÷९ को मितिमा नेपाल अर्बुद रोग निवारण संस्थाको केन्द्रीय कार्यालयमा काजमा खटाइएको र मिति २०७७÷०८÷२७ गते काज फिर्ताको पत्र तयार गरी अस्पतालबाट तलब सुविधा दिलाउने प्रयास गरेका हुन् ।
डा. न्यौपाने भने त्यसभन्दा पहिले नै क्यान्सर अस्पताल व्यवस्थापन समितिसित असन्तुष्ट भई निक्लेर डेढ वर्षभन्दा अगाडिदेखि ललितपुरस्थित बीएन्डबी अस्पतालमा क्यान्सर उपचार विभागको प्रमुख भई कार्यरत छन् । उनको फेसबुक एकाउन्ट र बीएन्डबी अस्पतालको वेभसाइटबाट त्यसबारे स्पष्ट हुन सकिन्छ । भक्तपुर क्यान्सर अस्पतालमा त्यसपछि डा. न्यौपानेको एक दिनको पनि हाजिरको रेकर्ड छैन । भक्तपुर क्यान्सर अस्पतालको कर्मचारी विनियममा अस्पताल प्रशासनले बाहेक अरू कसैले डाक्टर,नर्स वा अन्य कर्मचारीहरूलाई काजमा पठाउन सकिने व्यवस्था छैन र डा. न्यौपानेको काजबारे २०७७ मंसिर २७ अगाडिसम्म अस्पताल प्रशासनलाई त्यसबारे लिखित वा मौखिक कुनै किसिमको सूचना वा जानकारीसम्म छैन ।
अस्पतालमा एक दिन पनि हाजिर नभएका डा. न्यौपानेलाई काज मानेर तलब सुविधा उपलब्ध गराउँदा झन्डै २० लाख रुपैयाँ अस्पतालको व्ययभार बढ्ने र त्यो अनियमितता नै हुने बताइएको छ । यसबारे डा. न्यौपानेसँग स्पष्ट हुन खोज्दा सम्पर्क हुन सकेन ।
भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समितिले गरिरहेको अनियमितता र भ्रष्टाचार गत वर्ष बाहिर आएपछि र कथित व्यवस्थापन समिति र अस्पताल परिवारबीचको विवादले अस्पताल नै बन्द हुने अवस्था निम्तिएपछि स्थानीय सरकारको रूपमा रहेको भक्तपुर नगरपालिकाले अस्पतालको व्यवस्थापन हातमा लिएको थियो । अस्पताल व्यवस्थापन समितिको नेतृत्व गरिरहेका नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीहरूले त्यसमा कानुनी अड्चन खडा गर्दै आएका थिए ।
त्यसबीचमा नेपाल अर्बुद रोग निवारण संस्था र भक्तपुर क्यान्सर अस्पतालको अनुरोधमा नेपाल सरकारको मन्त्रीपरिषद्को २०७७ कार्तिक २४ गतेको बैठकले उपरान्त भक्तपुर क्यान्सर अस्पताल सरकारी अस्पतालसरह विकास समितिमार्फत सञ्चालन गर्ने निर्णय गरी दैनिक कार्य सञ्चालन र उपचार सेवा निरन्तरता दिनेबाहेक अस्पतालको प्रशासनिक र आर्थिक गतिविधिमा रोक लगाएको थियो । कार्तिक २४ पछि नेपाल अर्बुद रोग निवारण संस्थाले गठन गरेको र भक्तपुर नगरपालिकाले गठन गरेको दुवै व्यवस्थापन समितिको अस्तित्व समाप्त भएको मानिएको थियो । त्यस्तै नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७७ मङ्सिरको तेस्रो हप्तामा नै प्रा.डा. विष्णुदत्त पौडेललाई कार्यकारी निर्देशकको नियुक्ति दिई पठाइसकेको छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाका निमित्त अध्यक्ष महेश श्रेष्ठले सेवा अवधि नै नपुगेका अस्पतालका जुनियर कन्सल्टेन्ट उत्सवमान श्रेष्ठलाई कन्सल्टेन्टमा तथा रजिष्टार डा. मोहम्मद रर्फान आजाद र रजिष्टार डा. मनिस रायलाई जुनियर कन्सलटेन्ट पदमा बढुवा गरिएको पत्र दिई भक्तपुर क्यान्सर अस्पतालको लेटरप्याडमा पठाएका छन् । कार्तिक २४ उपरान्त पुराना व्यवस्थापन समितिको अस्तित्व नै समाप्त भइसकेको अवस्था र अस्पताल प्रशासन र मेडिकल डाइरेक्टरको सिफारिसबिना बढुवा हुनै नसक्ने नियमलाई अनदेखा गरी बढुवाको पत्र ठमाउनुमा पनि आर्थिक अनियमितताको आशङ्का गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *