भर्खरै :

“संरा अमेरिकासँग लड्ने चीनको कुनै मनसाय छैन”

पेइचिङ, १० डिसेम्बर । चीनका विदेशमन्त्री वाङ यीले संरा अमेरिकासँग लड्ने चीनको कुनै मनसाय नभएको बताउनुभएको छ । “कूटनीति, सञ्चार वा अरू कुनै पनि क्षेत्रमा संरा अमेरिकासँग लड्ने हाम्रो कुनै मनसाय छैन”, संरा अमेरिकी एसियाली समाजको आयोजनामा भएको भिडियो सम्मेलनमा बोल्दै विदेशमन्त्री वाङले भन्नुभयो ।
उहाँले संसारका दुई ठूला अर्थतन्त्रबीच सहकार्यको लागि आह्वान गर्दै संरा अमेरिकासँग काम गर्ने चीनको शैलीमा निरन्तरता रहेको बताउनुभयो ।
“चीन र संरा अमेरिकाबीचको सम्बन्ध कहिले पनि शून्य उपलब्धिको खेल (जिरो–सम गेम) भएको छैन । एउटाको सफल अर्कोको असफलताको मूल्यमा हुन सक्दैन”, उहाँले भन्नुभयो ।
एसियाली समाज र संरा अमेरिकाको रणनीतिक क्षेत्रका एक सयभन्दा बढी व्यक्तिहरू कार्यक्रममा सहभागी थिए ।
चीन–संरा अमेरिका सम्बन्धको न्यून बिन्दु
चीनका विदेशमन्त्रीले संरा अमेरिकाले चीनका आन्तरिक मामिलामा लगातार हस्तक्षेप गरेको र यसले चीनको हितलाई नोक्सान पु¥याएको बताउनुभयो । संरा अमेरिकाको त्यस्तै व्यवहारको कारण ४१ वर्षअघि स्थापना भएको दुई देशबीचको कूटनीतिक सम्बन्ध प्रभावित भएको उहाँले भनाइ थियो ।
वाङले चीन र संरा अमेरिकाबीचको सम्बन्धको ओरालोलाग्दो अवस्था दुवै देशको साथै अन्तर्राष्ट्रिय समुदायको निम्ति पनि घातक भएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवस्था प्रभुत्ववाद, संरक्षणवाद र एकपक्षवादले गम्भीररूपमा प्रभावित भएको चर्चा गर्दै वाङले चीन र संरा अमेरिकाबीच एकआपसमा सही बुझाइ हुनुपर्ने, अन्तर्राष्ट्रिय समुदायको आग्रहअनुुसार समयको पदचापमा हिँड्नुपर्ने र प्रमुख देशको हैसियतमा जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
चीन शान्तिप्रतिको स्वाधीन विदेश नीतिप्रति प्रतिबद्ध भएको चर्चा गर्दै चीन प्रभुत्ववाद, अरू देशका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा राजनीतिक व्यवस्था तथा विकास मोडेल निर्यात गर्नेमा प्रतिस्पर्धाको पक्षमा नरहेको बताउनुभयो । उहाँले तथाकथित आफ्नो प्रभाव वृत्त (स्पेयर अफ इन्फ्लुएन्स) विस्तार गर्ने चीनको लागि धेरै परको विषय हो भन्नुभयो ।
चीनबारे संरा अमेरिकाको रणनीतिक न्यूनाङ्कन
समन्वय, सहकार्य र स्थायित्वको आधारमा चीन र संरा अमेरिका सम्बन्ध विस्तार गर्ने चीनको व्यग्र अग्रसरता भए पनि संरा अमेरिकाका केही नेताहरू चीनको विषयमा रणनीतिक न्यूनाङ्कन गर्ने गरेको वाङले बताउनुभयो ।
उहाँले चिनियाँ कम्युनिस्ट पार्टीप्रतिको वैचारिक पूर्वाग्रहको कारण ती अमेरिकी नेताहरूले सहकार्यका साझा हित र क्षेत्रलाई उपेक्षा गर्ने गरेको, बाह्य दबाबमार्फत् चीनलाई घुँडा टेकाउन खोज्ने र अन्तर्राष्ट्रिय जगतमा चीनविरोधी गठबन्धन बनाउन खोज्ने गरेको बताउनुभयो ।
चीन–संरा अमेरिका सम्बन्धको लक्ष्य एकअर्कालाई पराजित गर्नु त पर जाओस्, एक अर्काको छवि धमिल्याउने पनि नभएको भन्दै साझा हित खोज्नु र विस्तार गर्नु नै दुवैको मूल लक्ष्य भएको बताउनुभयो ।
चिनियाँ विदेशमन्त्री वाङले संरा अमेरिकाको चीन नीति ‘चीनलाई पुनःगठन गर्ने वा चीनमाथि मिच्ने भए’ त्यस्तो लक्ष्य सम्भव नभएको बताउनुभयो ।
“चीनप्रति संरा अमेरिकाको नीति सम्भव भएसम्म वस्तुगत र संवदेनशील हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।
‘व्यापार युद्धमा कोही पनि विजेता छैन’
चिनियाँ विदेशमन्त्रीले संरा अमेरिकालाई राष्ट्रिय सुरक्षाको बहानाबाजीको विस्तार नगर्न र चिनियाँ कम्पनीहरूमाथि जथाभावी नपेल्न आग्रह गर्दै यस्ता कामलाई ‘क्षेत्राधिकारको अतिक्रमण’ को संज्ञा दिनुभयो ।
“व्यापार युद्धमा कोही पनि विजेता छैन । यसले दुवै पक्षलाई हानी गरेको छ”, वाङले भन्नुभयो, “भन्सार दर बढाएर एकआपसलाई दबाब दिंदा केही फलदायी नहुने कुरा अहिलेसम्मको परिणामले पुष्टि गरिसकेको छ ।”
“द्वन्द्व र नाकाबन्दी’ को सट्टा ‘संवाद र सरसल्लाह’ बाट व्यापार युद्धको मुद्दा सल्टाउनुपर्छ”, उहाँले भन्नुभयो ।
“दुई पक्षीय सम्बन्धको स्थायी र चुस्त विकासको लागि रणनीतिक ढाँचा बनाउन चीनसँग संरा अमेरिका काम गर्न तयार हुनेमा हामी आशावादी छौं । त्यसको आधार भनेको आपसी सम्मान हो । संवाद र सरसल्लाहलाई अझ फराकिलो बनाइनुपर्छ । आपसी हित नै यस्तो सम्बन्धको चालक शक्ति हुन जरुरी छ । जनताको समर्थन यसको मूर्त आधार हुन जरुरी छ”, वाङले भन्नुभयो ।
उहाँले केही महत्वपूर्ण विषयमा दुवै पक्षबीच रचनात्मक तरिकाले समाधान गर्नसमेत आह्वान गर्नुभयो ।
वाङले चीन र संरा अमेरिकाले राजनीतिक प्रणाली र विकासपथको विषयमा आ–आफ्नो छनौटको सम्मान गर्नुपर्ने, एकआपसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, सामुद्रिक विषयमा द्वन्द्वलाई सहकार्यमा बद्ल्नुपर्ने तथा जनस्तरमा हुने सम्बन्धमा थोपरिएका निषेध खारेज गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *