के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
‘बा¥ह वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्दा पनि बाङ्गाको बाङ्गै’ भन्ने नेपाली उखान बरोबर नेपालका शासक दलका नेताहरूको सन्दर्भमा प्रयोग हुने गरेको छ । पटक–पटक देशको शासनको बागडोर सम्हालेका नेताहरूलाई समयले धेरै पाठ सिकाए पनि उनीहरू नचेतेका धेरै उदाहरण छन् । नेका र एमालेका नेताहरूको लोभीपापी स्वभावकै कारण राजाले उनीहरूलाई २०५८ सालपछि सत्ताबाट गलहत्याएर घाममा सिद्रा सुकाएझैं सुकाएकै थिए । नेका र एमालेका नेताहरूले माफी मागेपछि राजाको निरङ्कुशता र लोकतन्त्रविरोधी कदमविरूद्ध आन्दोलनमा साथ दिन जनता तयार भए । २०६२÷०६३ सालको जनआन्दोलन भयो । तिनै दलहरू शासनमा पुगे । तर, उनीहरूले सत्ताको भागबन्डा गरी खाने प्रवृत्ति भने सुधारेनन् । सत्तामा भागबन्डा गर्न उनीहरूलाई कुनै नैतिकताको बाँधले छेकेन । काङ्ग्रेस सरकारमा छँदा एमाले र माओवादीले भाग खोजे, एमाले–माओवादी सरकारमा छँदा काङ्ग्रेसले भागबन्डा गरेर खायो । सरकारको नेतृत्वमा जो भए पनि शासक दलहरूले आपसमा भागबन्डा गर्ने गलत अभ्यासलाई निरन्तरता दिइरहे ।
विश्वविद्यालयको उपकुलपतिदेखि राजदूतसम्म, मन्त्रालयका सचिवदेखि सीडीओसम्मको पद भागबन्डामा आफ्नो भागमा कति पर्ने वा नपर्ने आधारमा शासक दलहरूको सहमति र असहमति निर्भर रहने गरेको छ । आफूले खोजे जति पाए ‘समर्थन’ र नपाए ‘विरोध’ गर्ने प्रवृत्तिले देशमा राजनीतिक नैतिकता स्खलित भएको छ । आज भागबन्डाको त्यही गलत संस्कारले देश फेरि अस्थिर र फोहोरी राजनीतिको जालोमा फस्दै छ ।
प्रधानमन्त्री ओलीले आइतबार संसद् विघटनको सिफारिस गरे । प्रधानमन्त्रीको सो कदम अनायास चालिएको पक्कै थिएन । सत्तारूढ नेकपाभित्र भागबन्डाको झगडा चलेको निकै अघिबाट हो । धूर्त नेताहरू भागबन्डामा नमिल्दाको झगडालाई वैचारिक रङले लुकाउन खोज्छन् । भागबन्डा गर्ने नाममा नैतिकताको परिधिसमेत नाघेर नेताहरू लुछाचुँडीमा लागेपछि प्रधानमन्त्रीले आफूसँग भएको हतियार प्रयोग गरे । आफूले खोजेको भाग नपाएपछि सरकारको हात खुट्टै बाँध्ने अवस्था आएपछि प्रधानमन्त्रीले संसद् नै विघटन गरिदिए । अर्को शब्दमा भन्दा सरकारलाई पङ्गु बनाउने घेराबन्दी तोड्न प्रधानमन्त्रीले यस्तो कदम चालेको देखापर्छ । यसर्थ, यो कदमको लागि प्रधानमन्त्रीभन्दा बढी जिम्मेवार उनलाई त्यो कदम चाल्ने अवस्थासम्म पु¥याउने नेताहरू हुन् ।
प्रमुख प्रतिपक्ष नेकाले प्रधानमन्त्रीको सो कदमको विरोधमा प्रदर्शनहरू गरेको छ । प्रमुख प्रतिपक्ष हुँदा पनि नेकाले सत्तापक्षसँग भागबन्डा गर्न छोडेन । उसले हरेक क्षेत्रमा आफ्नो भाग खाइरह्यो । सत्तापक्षसँग प्रतिपक्षले भागशान्ति खोज्ने कहाँको लोकतान्त्रिक संस्कार हो ? ओली सरकार बनेको तीन वर्ष भइसक्यो । त्यत्तिञ्जेल जनताका कुन समस्यालाई लिएर काङ्ग्रेसले सरकारलाई दबाब दिन सक्यो ? आफ्नो भाग खोसिंदा संसद्मा रिस देखाउनेबाहेक काङ्ग्रेसले आफ्नो राजनीतिक जिम्मेवारी कहिले पूरा गर्न सक्यो ?
प्रश्न को प्रधानमन्त्री वा कसको सरकार भन्ने होइन । कुनै व्यक्तिको व्यक्तिगत विरोध वा समर्थनको कुरा पनि होइन । विषय शासक दलहरूले राजनीतिमा बसाएको गलत अभ्यासको विरोधको हो । भाग शान्तिको गलत अभ्यासको विरोध गर्नु राजनीतिक नैतिकताको विषय हो । राजनीतिक नैतिकतामा उभिन सकेको राजनीतिक दल र व्यक्तिले मात्र यस्ता प्रवृत्तिको विरोधमा उभिने साहस गर्नसक्छ ।
Leave a Reply