भर्खरै :

‘नेपालमा कुनै पार्टी विशेष सत्तारुढ होस् भन्ने चाहना चीनको छैन’

काठमाडौँ, ९ पुस । नेपालमा संसद् विघटन भएको घटनालाई लिएर भारतीय सञ्चारमाध्यमहरूले चीनलाई मुछेर गरिएको दुष्प्रचारको चीनको राज्य सञ्चालित समाचारपत्र ग्लोबल टाइम्सले एक लेख प्रकाशित गरी त्यसको खण्डन गरेको छ ।
भारतीय समाचारपत्र हिन्दुस्तान टाइम्सले नेपालको राजनीतिक घटनाबारे समाचार प्रकाशित गर्दा त्यसमा ‘नेपालको विकसित घटनाले चीनलाई पनि चोट पुगेको’ उल्लेख गर्दै नेपालको आन्तरिक मामिला र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवादमा चीनले हस्तक्षेप गर्ने गरेको लेखेको थियो । अन्य भारतीय सञ्चारमाध्यमहरूले पनि नेपालको संसद् विघटनमा चीनको हात रहेको आरोप लगाउँदै प्रचार गरिएका थिए ।
चीनको पेइचिङको विदेशी मामिला अध्ययन विश्वविद्यालयको क्षेत्रीय र विश्व शासन एकेडेमीका वरिष्ठ अनुसन्धानकर्ता लङ सिङचुनले लेखेको ग्लोबल टाइम्सको लेखमा भनिएको छ , “चीनले नेपालको आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्तक्षेप गरेको छैन र कहिल्यै पनि गर्ने छैन । त्यस्तै अरू कुनै देशको मामिलामा पनि चीनले हस्तक्षेप गर्ने गरेको छैन ।”
लेखमा अगाडि लेखिएको छ, “चीनको आशा छ कि नेपालले चाँडै नै छिट्टै परिवर्तन नहुने स्थायी सरकार पाउनेछ, जसबाट सबैलाई राम्रो हुनेछ । स्थायी सरकारको सकारात्मक प्रभाव चीन–नेपाल सम्बन्धमा पनि पर्नेछ ।”
त्यस्तै नेपालमा कुनै पार्टी विशेष सरकारमा होस् भन्ने चीनको चाहना नरहेको उल्लेख गर्दै लेखिएको छ, “नेपालमा कुनै पार्टी विशेष सत्तारूढ पार्टी यो होस् भन्ने चीनले कहिल्यै चाहना राखेको छैन, चीनले नेपालमा स्थायी सरकार होस् भन्नेमात्र चाहेको छ । चीनले नेपालका कुनै पनि सत्तारूढ पार्टीमाथि दबाब, सहायता वा कुनै कुराका लागि बाध्य पारेको छैन ।” लेखमा नेपालमा सत्तारूढ पार्टीमा आएको फुटले राजनीतिक स्थायित्वलाई छायामा पारेको उल्लेख गरिएको छ ।
भारतीय समाचारपत्रहरू र टीभी समाचार च्यानलहरूले प्रचार गरेजस्तो नेपालमा चीनले कुनै हस्तक्षेप र दबाब नदिएको प्रस्ट पार्दै लेखमा सिङचुनले बरू भारतले नेपालमा बरोबर दबाब दिँदै आएको उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, “नेपाललाई दबाब दिने भारत हो, उसले नाकाबन्दीसहितका उपायहरूमार्फत नेपालमाथि दबाब बनाएको थियो । चीनले खेलेको सहकार्यात्मक भूमिकालाई नेपालको आन्तरिक मामिलामा दिइएको हस्तक्षेपका रूपमा व्याख्या गरिनु हुँदैन । भारतले चीनमाथि लगाउँदै आएको हस्तक्षेपको आरोप आधारहीन छ ।”
भारतीय सञ्चारमाध्यमहरूले बारम्बार नेपाल–चीन सम्बन्धलाई उत्तेजित पार्ने प्रयास गर्ने गरेको भन्दै अहिले पनि त्यस्तै गरिरहेको तर त्यसले कुनै पनि ठूलो छाल भने नल्याएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । लेखमा अगाडि भनिएको छ, “चीनसँगको सहकार्यको महत्व नेपालका राजनीतिज्ञले राम्रोसँग बुझेका छन् । केही भारतीय सञ्चारमाध्यमबाट भइरहेको युद्धाभ्यास असफल हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *