धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
के महान् रुसी कवि अलेक्जेन्डर पुश्किन डिसेम्बरवादी हुन् ?
अलेक्जेन्डर सर्गेईभिच पुश्किन रुसी भाषाका महान् स्वच्छन्दतावादी कवि हुन् । पुश्किनभन्दा अगाडि रुसी साहित्य र आधिकारिक कागजातहरूमा क्लिष्ट खालको पुरानो रुसी भाषा प्रयोग गरिन्थ्यो । कुलीन परिवारहरूमा फ्रान्सेली भाषा र साहित्यको ठूलो प्रभाव थियो । १८ र १९ औँ शताब्दीको पूर्वाद्र्धमा कुलीनहरूबीचको कुराकानी र चिठ्ठीपत्रमा फ्रान्सेली भाषाको बढी प्रयोग हुन्थ्यो । रुसी भाषामा लेखिएका आधिकारिक चिठ्ठीपत्रहरू दैनिक बोलिने रुसी भाषाभन्दा फरक हुन्थ्यो र आम जनताले त्यो रुसी भाषा बुझ्दैनथे । पुश्किनले रुसी भाषामा लेखिने आफ्ना कविता र महाकाव्यहरूमा लेख्य भाषामा मात्र प्रयोग हुने पुराना शब्दहरूको ठाउँमा आम जनताले बोल्ने रुसी शब्दहरूको प्रयोग सुरु गरे । उनको साहित्यले रुसी साहित्यमा नयाँ भाषाशैली भित्र्यायो जुन अहिलेसम्म चालु छ । त्यसकारण, पुश्किनलाई आधुनिक रुसी भाषा र साहित्यको संस्थापक पनि मानिन्छ ।
सन् १७९९ को जून महिनामा मस्कोको पुरानो कुलीन परिवारमा जन्मेका कवि अलेक्जेन्डर पुश्किन डिसेम्बर विद्रोहको समयमा २६ वर्षका युवा थिए । पुश्किन डिसेम्बरवादी हुन् कि होइनन् भन्ने अहिलेसम्म पनि बहसको विषय हुने गरेको छ ।
पुश्किनका पिता सेनामा मेजर थिए भने आमा एक रुसी जनरलको परिवारबाट थिइन् । प्रारम्भिक शिक्षाको निम्ति पुश्किनलाई घरमै फ्रान्सेली शिक्षकहरूको व्यवस्था गरिएको थियो । दश वर्षको उमेरसम्म उनले फ्रान्सेली बाहेक अरू भाषा बोलेनन् । त्यसपछि हेरविचारको निम्ति खटाइएका एक शिक्षित र साहित्यमा रुची राख्ने धाई आमाबाट उनले रुसी भाषा सिकेका थिए ।
पुश्किन र डिसेम्बरवादी गुप्त समाज
सन् १८११ मा बा¥ह वर्षको उमेरमा उनी सेन्ट पिटर्सवर्गबाट २४ किलोमिटर टाढा जारको दरबारसँगै खोलिएको कुलीन वर्गीय शिक्षालय (शाही लेजियम) मा भर्ना गरिए । अभिजात वर्गीय परिवारबाट रुसी राज्य सञ्चालनको निम्ति आवश्यक जनशक्ति तयार गर्न जारको प्रत्यक्ष योजना र निर्देशनमा उक्त शिक्षालय त्यही वर्ष स्थापना गरिएको थियो । पुश्किन र उनका सहपाठीहरू उक्त शिक्षालयका पहिलो सत्रका विद्यार्थी थिए । जार निकोलस अलेक्जेन्डर दोस्रोको समय (१८५५–१८८१) मा विदेशमन्त्री र पछि चान्सलर बनाइएका प्रिन्स मिखाइल गोर्चाकोभ र एकतीस वर्ष साइबेरिया निर्वासनको सजाय भोगेका सिनेट स्क्वायर विद्रोहका एक योजनाकार एवम् नेता इभान पुश्चिन शाही लेजियममा उनका सहपाठी र नजिकका साथी थिए । उनका धेरै सहपाठी र समकालीनहरू डिसेम्बरवादी गुप्त सङ्गठनमा सहभागी थिए । तर, छिट्टै रिसाउने स्वभाव अनि शङ्कास्पद मानिसहरूसँग नजिकको सम्बन्ध भएका पुश्किनलाई सूचना चुहिने डरले डिसेम्बरवादी गुप्त सङ्गठनमा भित्र्याइएन ।
शाही लेजियममा जम्मा छ वर्षको पढाइ हुन्थ्यो । लेजियममा अध्ययन गर्दैताका पन्ध्र वर्षको उमेरदेखि नै पुश्किनले रुसी भाषामा कविता लेख्न थालिसकेका थिए । लेजियममा हुने हरेकजसो साहित्यिक गतिविधिमा उनी आफ्ना काविता पाठ गर्थे । उनी पढाइमा अब्बल थिएनन् तर पुरानो भाषाभन्दा फरक नयाँ खालको सरल भाषामा लेखिएका उनका कविताहरूले रुसी साहित्यिक घेरामा आफ्नो छुट्टै ठाउँ बनाउन थालिसकेको थियो । पुश्किन फ्रान्सेली विचारकहरू भोल्टायर र डिदेरोबाट प्रभावित थिए । ‘इतिहासको अँध्यारो कालखण्डमा दर्शनको दियो बाल्न नयाँ बाटो पहिल्याउने विचारक’ को रूपमा उनी भोल्टायरलाई सम्मान गर्थे ।
सन् १८१७ मा लेजियमको पढाइ सकिएपछि उनी आफ्ना साथी गोर्चाकोभसँगै विदेश मन्त्रालयमा कूटनैतिक अधिकारीको रूपमा खटाइए । तर, पुश्किनको रुची साहित्यमा थियो । विदेश मन्त्रालयको जिम्मेवारीमा उनलाई कत्ति पनि रुची थिएन । एक उदार विचार बोकेका युवा पुश्किन स्वेच्छाचारी शासनविरोधी भावनाहरू आफ्ना कवितामार्फत व्यक्त गर्थे ।
सन् १८२० को अप्रिलको एक दिन सेन्ट पिटर्सवर्गस्थित उनको घरमा पुश्किनका एक साहित्यिक प्रशंसक आए । त्यस दिन पुश्किन घरमा थिएनन् । पुश्किनका घरेलु सहयोगीलाई ती प्रशंसकले पुश्किनका कविताको पाण्डुलिपि पढ्न मागे । धेरै पैसा दिने वाचा गरेपनि ती सहयोगीले कविताको पाण्डुलिपि दिएनन् र अतिथि फर्के । पुश्किन घर फर्केपछि रहस्य खुल्यो । वास्तवमा उनी सादा पोशाकमा आएका गुप्त प्रहरी अधिकारी रहेछन् ¤ पुश्किनले त्यही दिन विद्रोही भावना भएका आफ्ना केही पाण्डुलिपि जलाए । भोलिपल्ट प्रहरीले पुश्किनको घरमा खानतलासी लियो र उनलाई गभर्नरकहाँ लगियो । विद्रोही कविता लेखेर युवाहरूलाई भड्काएको अरोपमा जार अलेक्जेन्डर प्रथमको निर्देशनमा उनलाई दक्षिण–पश्चिम रुसस्थित किस्नियभ सहर (हाल माल्डोभाको राजधानी) मा निर्वासनमा पठाइयो । यसरी एक्काइस वर्षको उमेरमा एक उदार र क्रान्तिकारी कवि तानाशाही शासनको आखाको तारो बने र डिसेम्बर विद्रोहको पाँच वर्ष अगाडि नै राजधानीबाट टाढा निर्वासनमा पठाइए ।ककेसिया, क्रिमिया हुँदै सेन्ट पिटर्सवर्गबाट दुई हजार किलोमिटर टाढा किस्नियभ पु¥याइएका पुश्किनले आफ्नो लेखन यात्रालाई जारी राखे । यसक्रममा पुश्किनले ‘ककेसियाको बन्दी’, ‘बाक्चिसरिको फोहरा’ लगायत धेरै चर्चित कविताहरू रचे । किस्नियभ ‘दक्षिणी गुप्त समाज’का गणतन्त्रवादी नेता कर्णेल पाभेल पेस्तेलको सैनिक रेजिमेन्ट तैनाथ गरिएको सहर थियो । सेनामा धेरै जसो युवा अधिकारीहरू डिसेम्बरवादी गतिविधिमा सक्रिय थिए । साहित्यिक जमघटहरूमार्फत पुश्किन ती युवाहरूको सम्पर्कमा थिए भन्ने अनुमान सहजै लगाउन सकिन्थ्यो । पारिवारिक सम्बन्ध भएका कारण किस्नियभमा रहँदा पुश्किनलाई गुप्त समाजमा सदस्य बनाउने जिम्मा मेजर जनरल सर्गेई भोल्कोन्स्कीलाई दिइएको थियो । तर, पुश्किनको अनुशासनमा नबाँधिने स्वतन्त्र र भावुक स्वभावका कारण सदस्य नबनाउनु नै उपयुक्त भएको निष्कर्ष भोल्कोन्स्कीले निकाले । सन् १८२३ मा पुश्किनलाई किस्नियभ सहरको १८० किलोमिटर दक्षिणमा रहेको ओडेसा सहरमा सारियो । त्यहाँ पनि स्थानीय अधिकारीहरूसँग विवादमा परेपछि उत्तरी रुसको पिस्कोभ सहर नजिकको मिखाईलोभ्स्कोय गाउँमा उनकै घरमा नजरबन्दमा राखियो । राजधानी सेन्ट पिटर्सवर्गबाट ३०० किलोमिटर दक्षिण–पश्चिममा रहेको मिखाईलोभ्स्कोय गाउँ उनकी आमाको पुख्र्याैली गाउँ थियो ।
पुश्किन र पुश्चिन
विद्रोहको असफलतापछि समातिएका केही विद्रोहीहरूले पुश्चिन भन्ने एक नेता पनि रहेको बयान दिए । समान खालको नामका कारण सुरुमा त अनुसन्धान अधिकारीहरूले पुश्चिन भनिने व्यक्ति पुश्किन नै त होइनन् भन्ने आशङ्का गरेका थिए । पुश्किन जारद्वारा युवा उमेरमै निर्वासित कवि भएका कारण त्यो आशङ्का स्वाभाविक थियो । त्यसमाथि क्रान्तिकारीहरूका गुप्त दस्तावेजहरूको सङ्ग्रहमा पुस्किनका कविताहरू पनि भेटिएका थिए ।
पुश्किन मिखाईलोभ्स्कोय गाउँमा निर्वासनमा रहँदा गुप्त समाजका नेताहरू जारको तानाशाही शासनको ठाउँमा संवैधानिक व्यवस्था ल्याउन निर्णायक कदम चाल्नुपर्ने निश्कर्षमा पुगिसकेका थिए । तिनै क्रान्तिकारीमध्ये एक थिए शाही लेजियमका उनका सहपाठी र नजिकमा मित्र इभान इभानोभिच पुश्चिन । पुश्चिन त्यस बखत ‘उत्तरी गुप्त समाज’को मस्को शाखामा नेता थिए ।
इभान पुश्चिनको जन्म सन् १७९८ को मे महिनामा मस्कोमा एक लिफ्टिनेन्ट जर्नेलको परिवारमा भएको थियो । सन् १८११ मा पुश्किन जस्तै उनी पनि शाही लेजियममा भर्ना भए । लेजियमको पढाइकै क्रममा उनी गुप्त समाजको सम्पर्कमा पुगे र १६ वर्षको उमेरमा गुप्त समाजको सदस्य बनाइए । नजिकका साथी भएर पनि शाही लेजियम कालमा अस्थिर स्वभावका कारण उनले उदार विचार भएका पुश्किनलाई गुप्त समाजको सदस्य बनाउन उपयुक्त देखेनन् ।
पढाइपछि उनी गार्ड सेनामा तोप हान्ने टुकडीको सैनिक अफिसर बने । सन् १८२३ मा खुकुलो ‘समृद्ध समाज’ विघटन गरेर ‘उत्तरी गुप्त समाज’ पुनः गठन गर्न उनको सक्रिय भूमिका थियो । गुप्त समाजकै कामको निम्ति उनी सैनिक सेवा छोडेर मस्कोमा न्यायाधीश बन्न गए । मस्को सहरमा ‘उत्तरी समाज’को मस्को शाखा बनाउने जिम्मा उनलाई दिइएको थियो ।
विद्रोहको एघार महिना अगाडि ईभान पुश्चिन पुश्किन बसेको मिखाईलोभ्स्कोय गाउँ पुगेका थिए । नजरबन्दमा राखिएका पुश्किनलाई पनि गुप्त समाजको बारेमा बताउने र उनलाई पनि विद्रोहमा सामेल बनाउने उद्देश्यले उनी त्यहाँ पुगेका थिए । त्यस बेलासम्म पुश्किन एक प्रख्यात कवि बनिसकेका थिए र उनका कविताहरूले धैरै डिसेम्बरवादीहरूलाई उत्साहित पार्थे । निर्वासनको सजाय भोगिरहेका पुश्किन डिसेम्बरवादी युवाहरूबीच एक विद्रोही कविको रूपमा परिचित थिए । लामो समयसम्म नभेटेका साथीहरूले दिनभरि विद्यालयकाल र साथीहरूको विषयमा कुरा गरे । पुश्चिनले गुप्त समाजहरूबारे सङ्केत गर्दै आफू नयाँ तरिकाले देशको सेवामा लागेको र आफू जस्तै धेरै युवा त्यो दिशामा क्रियाशील रहेको बताए । इभान पुश्चिनको सङ्केत बुझेर पुश्किनले आफ्नो अवस्थाका कारण आफू ‘विश्वास गर्न लायक नभएको’ बताए । त्यसपछि इभान पुश्चिनले गुप्त समाजको विषयलाई अगाडि बढाएनन् ।
सन् १८२५ डिसेम्बर २६ (१४)– विद्रोहको दिन सिनेट स्क्वायरमा पुग्ने पहिलो क्रान्तिकारीमध्ये एक थिए इभान पुश्चिन । तोप टुकडीका पुराना अफिसरको अनुभव भएका पुश्चिनलाई अन्योलका बीच सिनेट स्क्वायरमा विद्रोही सेनाको मनोबल र सैनिक संरचना कायम राख्न एवम् अन्तमा तोप आक्रमण हुँदा तितरबितर हुन अवश्यक निर्देशन दिन सक्रिय रहे । विद्रोहको असफलतापछि त्यस रात उनीलगायत विद्रोहका केही नेताहरू ‘उत्तरी समाज’का नेता कोन्द्राति रिलियभको कोठामा भेला भए र केही छलफलपछि आ–आफ्नो घर फर्के । आफ्नो भविष्य कस्तो हुनेछ भन्नेबारे सबै स्पष्ट थिए त्यसैले विद्रोहको असफलताबाट कोही पनि विचलित थिएनन् ।
पुश्किन र पुश्चिनका एक सहपाठी प्रिन्स गोर्चाकोभ विदेश मन्त्रालयमा कार्यरत थिए । लन्डनको रुसी दूतावासमा काम गर्ने गोर्चाकोभ त्यतिबेला जार निकोलसको शपथ लिन रुसी राजधानी फर्केका थिए । विद्रोहको भोलिपल्ट बिहान पुश्चिन गुप्त कागजातहरू भएको आफ्नो सुटकेस एक भरपर्दो साथीलाई जिम्मा दिन लेजियम पुगे । त्यहाँ उनको भेट गोर्चाकोभसँग भयो । गोर्चाकोभले पुश्चिनलाई पासपोर्टको व्यवस्था गरेर विदेशी जहाजमार्फत बेलायत भाग्न कर गरेका थिए । तर, पुश्चिन आफ्ना सबै विद्रोही साथीहरूलाई रुसमा छोडेर एक्लै विदेश भाग्ने कुरामा सहमत भएनन् । दुई दिनपछि इभान पुश्चिन आफ्नै घरबाट समातिए र सबै कैदीहरूलाई जस्तै उनलाई पनि पिटर तथा पउल किल्लामा बन्दी बनाइयो ।
विद्रोहीहरूको घर खानतलासीमा पुश्किनका विद्रोही कविताहरू भेटिएका थिए । तर, गुप्त समाजमा पुश्किनको सहभागिता भएको कुनै पनि प्रमाण भेटिएन । विद्रोहको नौ महिनापछि नयाँ जारले पुस्किनलाई राजधानी ल्याउन आफ्ना प्रतिनिधि पठाए । जार निकोलसले पुश्किनसँगको भेटमा सोधेका थिए – “यदि तिमी पनि सेन्ट पिटर्सवर्गमा भएको भए के विद्रोहमा सामेल हुन्थ्यौ ?” सत्ताइस वर्षका युवा पुश्किनले निडरताका साथ भनेका थिए – “जरुर सरकार ! म सहभागी हुन्थेँ । किनकी, मेरा धेरै साथीहरू त्यसमा सहभागी थिए, म कसरी छुट्न सक्थेँ र ?”
पुश्किन कुलीन वर्गमा एक स्थापित कवि बनिसकेका थिए । विद्रोहपछि कुलीन वर्गबीच आफ्नो पक्षमा वातावरण सहज बनाउन निकोलसले पुश्किनलाई नजरबन्द र निर्वासनबाट मुक्त गरे । पुश्किन राजधानी सेन्ट पिटर्सवर्गमा बस्न थाले । तर, उनी निरन्तर गुप्त प्रहरीको निगरानीमा रहे । गाउँमा नजरबन्दको समयमा उनले लेखेको नाटक ‘बोरिस गोदुनोभ’ प्रकाशन गर्न पनि पाँच वर्ष कुर्नुप¥यो ।
यता इभान पुश्चिनलाई भने साइबेरियामा २० वर्षको जेल सजाय र सदाका लागि निर्वासनको सजाय सुनाइयो । २० वर्षको कैद सजायको १३ वर्षपछि उनी सन् १८३९ मा साइबेरियाको जेलबाट मुक्त भएर निर्वासनको जिवन बिताउन थाले । ३१ वर्षको साइबेरिया बसाइपछि आममाफी पाएर युरोपेली रुस फर्किने थोरै डिसेम्बरवादीमध्ये ईभान पुश्चिन पनि थिए । साइबेरियाबाट युरोप फर्केका इभान पुश्चिनजस्ता क्रान्तिकारीहरूलाई मस्को वा सेन्ट पिटर्सवर्गमा बसोबास गर्ने अनुमति थिएन । एक डिसेम्बरवादीका विधवासँग विवाह गरी पुश्चिन मस्कोबाहिरको एक गाउँमा बस्न थाले । निर्वासनबाट फर्केको तीन वर्षपछि सन् १८५९ मा पुश्चिनको निधन भयो ।
पुश्चिन निर्वासनबाट फर्किँदा उनका साथी कवि अलेक्जेन्डर पुश्किनको निधन भएको २० वर्ष पुग्न लागिसकेको थियो । आफ्नो स्वाभिमानको निम्ति एक ‘ड्युयल’मा सहभागी हुँदा गम्भीर घाइते भएर पुश्किनको सन् १८३७ मा मृत्यु भइसकेको थियो ।
पुश्किन डिसेम्बरवादी गुप्त समाजहरूमा सहभागी भएनन् तर जारको स्वेच्छाचारी शासन र दासप्रथा अन्त गर्ने डिसेम्बरवादीहरूको उद्देश्यमा पश्चिम युरोपको उदार विचारबाट प्रभावित धेरै कुलीन युवाहरू जस्तै सहानुभूति राख्थे र समर्थन गर्थे । गुप्त समाज सक्रिय भएको र विद्रोहको तयारी भइरहेका वर्षहरूमा निर्वासन र नजरबन्दमा राखिएका कारणले पनि अलेक्जेन्डर पुश्किन गुप्त समाज र डिसेम्बर विद्रोहसँग जोडिएका थिएनन् भन्ने मूल्याङ्कन गर्नेहरूको पनि कमि छैन ।
Leave a Reply