रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
भारतमा ‘लव जिहाद’ को ‘प्रेत’ एकपटक पुनः उठेको छ । पछिल्लोपटक सन् २०१३ मा भारतीय जनता पार्टीले त्यसलाई पूरै जतनका साथ एक राजनीतिक रणनीतिकका रूपमा अगाडि बढाएको थियो । त्यतिबेला त्यसको परिणामस्वरूप उत्तर प्रदेशको मुजफ्फरनगरमा साम्प्रदायिक दङ्गा हुँदा ६२ जनाको ज्यान गएको थियो र त्यसपछि ५० हजारभन्दा बढी मुसलमान विस्थापितका रूपमा त्यहाँबाट निकालिएका थिए ।
पूरै पश्चिमी उत्तर प्रदेशलाई धार्मिक आधारमा ध्रुवीकरण गरिदिएको उक्त दङ्गा हुनुभन्दा केही महिना अगाडिदेखि राज्यको भारतीय जनता पार्टीको एकाइले प्रयोगको रूपमा ‘लव जिहाद’ को अभियान चलाएको थियो र त्यस क्षेत्रको धार्मिक सहिष्णुता एवम् सामाजिक सौहाद्र्धतालाई नष्ट गरेको थियो ।
भारतका पूर्वप्रधानमन्त्री चरणसिंह चौधरीको प्रधानमन्त्रीत्वकालमा सन् १९७० को दशकको अन्तिममा एक कृषक समुदायको रूपमा लिइने जाट समुदाय र मुसलमानहरू एक अर्काका शत्रु बने । त्यसको परिणामस्वरूप अगाडि आएको सामाजिक विखण्डनले आजपनि भारतीय जनता पार्टी (भाजपा) लाई राजनीतिक लाभ मिलिरहेको छ ।
सन् २०१४ मा गुजरातभन्दा बाहिर कुनै खास परिचय नभएका अमित शाह (हालका भारतीय गृहमन्त्री) लाई भाजपाले प्रदेश चुनावको प्रभारी (इन्चार्ज) नियुक्त गरेको थियो । उनको नेतृत्वको ऊर्जा पाएर भाजपा कार्यकर्ता तथाकथित ‘लव जिहाद’ को विरुद्ध अभियान चलाउनका लागि पश्चिमी उत्तर प्रदेशका गाउँ–गाउँ गए ।
‘लव जिहाद’ को प्रयोग सङ्घ परिवारले पहिले नै तटीय राज्य केरल र ऐतिहासिकरूपमा हिन्दुत्वको प्रयोगशाला रहेको राज्य कर्नाटकमा हिन्दु र मुस्लिमबीच ध्रुवीकरणका लागि गरिरहेको थियो । भाजपा कार्यकर्ताहरू र सङ्घ परिवारसित जोडिएका अन्य मानिसले पहिले जाट र मुसलमानहरूबीच अविश्वास जन्माए । उनीहरू गाउँहरूमा गएर जाट समुदायका ठूला बडाहरूसित बैठकहरू गरे । उनीहरूको नियत बुढा मानिसहरूसित रहेको पुरातनपन्थी सोच र कुनै पनि प्रकारको प्रेम सम्बन्धलाई लिएर उनीहरूले गरिरहेको परम्परागत विरोधलाई आफ्नो राजनीतिक उद्देश्यका निम्ति दोहन गर्नु थियो ।
कसरी बन्यो ‘लव जिहाद’ दङ्गा फैलाउने प्रभावकारी हतियार ?
सामाजिक सञ्जालहरूमा नवनिर्मित र अत्यन्त सक्षम तन्त्र भिरेर भाजपाका केही कार्यकर्ताले दावा गरे कि केही मदरसा (मुस्लिम विद्यालय) हरूलाई हिन्दु महिलाहरूलाई धर्मान्तरण गराउनका लागि आतङ्कवादी सङ्गठन र इस्लामी देशहरूबाट पैसा मिलिरहेको छ । उनीहरूले यो काल्पनिक कथालाई यसप्रकार पेश गरे कि यी मदरसाहरूले ‘राम्रो देखिने नवजवान मुसलमानहरू’ छान्छन् र उनीहरूलाई हिन्दु महिला र केटीहरूको पछि लाग्ने तालिम दिन्छन् ।
हिन्दुत्ववादी कार्यकर्ताहरूका अनुसार यी मदरसाहरूबाट यी जवान मुसलमान केटाहरूलाई आधुनिक तरिकाको लुगा लगाउने तालिमदेखि उनीहरूलाई मोबाइल पसल खोल्न र मोटरसाइकल किन्नका लागि पैसा दिने गर्छन् । त्यसको उपयोग तिनीहरूले हिन्दु केटीहरूलाई फसाउनका लागि गर्ने गर्छन् ।
त्यसपछि सामाजिक सञ्जाल ह्वाट्सएपको माध्यमले कैयाँै नक्कली भिडियो फर्वार्ड गरेर यस अतार्किक सिद्धान्तको त्रास खडा गरियो । यस अभियानको असरस्वरूप सन् २०१२ को अन्तिमतिर पश्चिम उत्तर प्रदेशको खाप गाउँ पञ्चायतले महिलाहरूलाई मोबाइल फोन राख्न पूरै प्रतिबन्ध लगाउने निर्णय ग¥यो । सङ्घ परिवारले फैलाएको हल्लाका अनुसार मुस्लिम युवाहरूले खोलेका मोबाइलका पसलहरू नै हिन्दु महिलाहरू र मुस्लिम केटाहरू पहिलोपटक भेट्ने स्थान हो । त्यसपछि पश्चिमी उत्तर प्रदेश र र हरियाणाका कैयौँ जाटबहुल इलाकाका गाउँ पञ्चायतहरूले महिलाहरूमाथि मोबाइल फोन बोक्न प्रतिबन्धको निर्णय हुबहु लागु गरे । यसप्रकार २०१३ को पश्चिमी उत्तर प्रदेशको मुजफ्फरनगरमा साम्प्रदायिक दङ्गाभन्दा अगाडि अविश्वासको बिउ रोप्ने कार्य गरिएको थियो ।
मुजफ्फरनगर जिल्लाको सहरसँगैको कवाल गाउँमा एक मोटरसाइकललाई लिएर हिन्दु र मुस्लिम केटाहरूबीच भएको सानो झगडालाई लिएर ठूलो आयतनको साम्प्रदायिक दङ्गा फैलाइएको थियो । त्यस झगडामा पहिले एक मुस्लिमको ज्यान गयो । एक मुस्लिमको ज्यान जानेगरी भएको झगडाको केही घण्टाभित्रै एक मुस्लिम भिडले मुस्लिमको ज्यान लिनमा जिम्मेवार मानिएका दुईजना जाट पुरुषलाई पिटीपिटीकन हत्या ग¥यो । त्यहाँ पुलिस परिचालन गरियो । त्यसपछि त्यो घटना त्यतिक्कै सामसुम हुँदै गयो ।
तर, जसैजसै दिनहरू बित्दै गए, सङ्घ परिवारले एक पुरानो भिडियो फैलाउन सुरु गरिदियो, जसमा अफगानिस्तानमा तालिवान सदस्यहरूले एक व्यक्तिलाई पिटी पिटीकन हत्या गरेको देख्न सकिन्थ्यो । त्यस भिडियोलाई कवाल गाउँको भिडले हिन्दुको हत्या गरेको घटना भनी दावा गरियो । यस नक्कली भिडियोसँगै के भ्रम फैलाइयो भने मुस्लिमहरूलाई आफ्ना बहिनीहरूको पिछा गर्न रोक्न खोजेका दुईजना जाट पुरुषलाई मुस्लिमहरूले मारिदिए । साम्प्रदायिक तनावलाई भड्काउनका लागि सङ्घ परिवारले मारिएका दुई जाट युवकको दाह संस्कारका लागि ठूलो ¥यालीको आयोजना ग¥यो । दाहसंस्कारबाट ट्राक्टर र मोटरसाइकलहरूमा सवार भई फर्केका मानिसहरू सम्मिलित भिड कवाल गाउँको मुस्लिम बस्तीमा प्रवेश ग¥यो । उनीहरूले मुस्लिमको घर र पसलहरूमा तोडफोड र लुटपाट गरे र त्यस क्षेत्रका मस्जिद जलाइदिए । त्यस क्रममा उनीहरूले ‘जाऊ पाकिस्तान, नभए कब्रिस्तान (समाधिस्थल)’, ‘हिन्दु एकता जिन्दावाद’ र ‘एकको बदला एक सय’ को नारा लगाइरहे ।
साम्प्रदायिक परियोजना अझै अधुरो थियो । त्यसैले उत्तेजक क्याप्सनहरूका साथ नक्कली भिडियो तिब्र गतिमा चारैतिर फैलाउने काम पनि जारी नै थियो । भाजपाको ‘लव जिहाद’को अभियानमा आइसकेका केही जाट सम्प्रदायका नेताहरूले एक महापञ्चायत अर्थात् जाट समुदायको आमसभाको माग गरे । त्यसको घोषित विषय ‘आक्रमणकारी मुसलमानहरूबाट जाट सम्मानको रक्षा’ थियो । त्यस्ता महापञ्चायतहरूमा पहिलेपहिले मुस्लिमहरूको पनि थोरै भएपनि सहभागिता हुनेगथ्र्यो तर यसपटक भएन ।
कवाल गाउँको हिंसापछि बोलाइएको त्यस महापञ्चायतमा भाजपा निकट भारतीय किसान युनियनका प्रभावशाली नेताहरू नरेश र राकेश टिकैत सँगसँगै भाजपा नेताहरू हुकुम सिंह, सङ्गीत सोम, सुरेश राणालगायत थिए । उनीहरूले एकै मुखले आफ्ना महिलाहरूको इज्जत बचाउनका लागि आह्वान गरे । त्यस महापञ्चायतलाई – बहुबेटी बचाऊ महासम्मेलनको नाम दिइयो ।
जसरी शव ¥याली अन्त्यपछिको जुलुसले ग¥यो त्यस्तै महासम्मेलन समाप्तिपछिको जुलुसले मुसलमानहरूविरुद्ध हिंसात्मक कारबाही ग¥यो र निर्दोष मुस्लिमहरूका घर जलायो ।
मुस्लिम नेताहरूले पनि त्यस हिंसाको विरोधमा बैठकहरू गरे र केही दिनपछि नै साम्प्रदायिक हिंसा मुजफ्फरनगर जिल्लाभर तथा वरिपरिका जिल्लाहरूमा फैलियो । साम्प्रदायिक हिंसालाई रोक्न तत्कालीन समाजवादी पार्टीको नेतृत्वमा रहेको राज्य सरकार पूर्णतया अक्षम साबित भयो ।
विश्व हिन्दु परिषद्का नेता अशोक सिङ्घलले त्यतिखेर त्यस हिंसालाई जायज भनेर साम्प्रदायिक दङ्गालाई प्रोत्साहन दिएका थिए । उनले भनेका थिए, “जब समाजको लागि उत्तर प्रदेशको ग्रामीण इलाकाहरूमा ‘लव जिहादी’हरूद्वारा हिन्दु महिला र केटीहरूको इज्जत आवरु खराब गरिरहेको सहन गर्न नै नसकिने अवस्था भइसकेको थियो, तब बहुबेटी बचाऊ महापञ्चायतको रूपमा स्थितिलाई सुधार्नका लागि यो अभियान अस्तित्वमा आएको हो ।”
राजनीतिक परिणाम
लव जिहाद अभियानको नतिजा भारतको सबभन्दा ठूलो जनसङ्ख्या भएको राज्य उत्तर प्रदेशमा सत्ता परिवर्तनको रूपमा अगाडि आयो । त्यस समय फ्रन्टलाइन पत्रिकामा काम गरिरहँदा मैले पश्चिमी उत्तर प्रदेशका दङ्गा प्रभावित कैयौँ गाउँहरूको भ्रमण गरेँ । तब त्यहाँको सामाजिक – आर्थिक ढाँचामा नकारात्मक परिवर्तन भइरहेको मैले स्पष्ट देखेँ ।
हिन्दु बहुल्यता भएका गाउँबाट मुसलमानहरू आफ्नो घर र सम्पत्तिहरू छोडेर भागिरहेका थिए र सुरक्षित लाग्ने कुनै स्थानमा आश्रय लिएका थिए । त्यस्तै सङ्ख्यामा कम भएपनि मुस्लिमबहुल गाउँहरूबाट पनि हिन्दुहरूको एक ठूलो जनसङ्ख्या भागेर अन्यत्रै बसोबास गर्न पुगेका थिए ।
कवाल गाउँ र त्यस्तै अन्य कैयौँ गाउँका मुसलमानहरू शरणार्थी क्याम्पहरूमा बस्नका लागि बाध्य भएका थिए । त्यसपछि जाट र सैनिकहरूले गैरकानुनीरूपमा तिनीहरूको जमिन र घरहरू कब्जा गरेका थिए ।
ध्रुवीकरण यस्तो थियो कि २०१४ को लोकसभाको आम निर्वाचनमा धार्मिक आधारमा मतदाताहरूलाई सफलतापूर्वक विभाजित गरेर पश्चिमी उत्तर प्रदेशका सबै सिटहरू आफ्नो पोल्टामा पार्न भाजपा सफल भयो । जहाँ पहिले भाजपाको उपस्थिति नगण्य मात्र थियो । पूर्व प्रधानमन्त्री चरणसिंहका छोरा अजित सिंहको नेतृत्वमा रहेको राष्ट्रिय लोक दलको चुनावी नक्साबाट नामै हरायो, जब कि त्यसअघि उक्त क्षेत्र त्यस पार्टीको गढ मानिन्थ्यो ।
आरएसएस समर्थित अभियान
ठीक त्यसै समय जब मुजफ्फरनगर दङ्गाको कुख्यात इतिहास बनाउँदै थियो सेप्टेम्बर २०१३ मा भाजपाको मूल वैचारिक सङ्गठन – राष्ट्रिय स्वयम्सेवक सङ्घ (आरएसएस) ले बिना कुनै प्रसङ्ग सयौँ पत्रकारलाई सामान्यजस्तो देखिने शीर्षक ‘कुछ तथ्य मुस्लिम पुरुष÷हिन्दु स्त्री’ शीर्षक राखेर एक इमेल पठायो । त्यस इमेलमा चर्चित मुस्लिम व्यक्तित्वहरूको एक सूची बनाइएको थियो जसले हिन्दु स्त्रीसित विवाह गरेका थिए । त्यस सूचीमा फिल्म निर्देशक के. आशिफ, मुजफ्फर अली, सुपरस्टार शाहरुख खान, आमिर खान, हिन्दुस्तानी शास्त्रीय कलाकार उस्ताद अली अकबर खान र उस्ताद बिलायत खानदेखिको नाम थियो । तर, त्यसमा ‘लव जिहाद’ शब्दको उल्लेख गरिएको भने थिएन ।
त्यस इमेलमा भनिएको थियो – “एक महाराष्ट्रको ब्राह्मण डाक्टर÷मोडल अदिती गोवित्रिकरले डाक्टर मुफ्फजल लकडवालासित विवाह गरेकी थिइन् । उनीहरूको एक छोरी कियारा र एक छोरा जिहान छन् । गोवित्रिकरले विवाहपछि आफ्नो नाम सारा मुफ्फजल लकडवाला राखेर मिसेज इन्डिया प्रतियोगितामा भाग लिएकी थिइन् र विजेता बनेकी थिइन् । तिनीहरू अहिले अलग्ग भइसकेका छन् । डाक्टर मुफ्फजलले पछि मेजर जनरल टीके कौलकी छोरी प्रियंकासित विवाह गरेका छन् ।”
मुस्लिमहरू एकभन्दा बढी विवाह गर्नसक्ने उल्लेख गर्दै त्यसमा अगाडि भनिएको थियो – “शास्त्रीय गायक अली अकबर खानले धेरैवटा विवाह गरेका थिए । उनकी एक पत्नी राजदुलारी देवी थिइन् । तिनी स्वयम् एक गायिका थिइन् । उनीहरूकी छोरी अनिसा टीभी सिरियलका निर्माता राजीव चौधरीसित विवाहित छिन् । आश्चर्यजनक ढङ्गले अली अकबर खान र उनकी मुस्लिम पत्नी जुवैदाले आफ्ना छोराहरूलाई हिन्दु नाम दिए – आशीष, ध्यानेश र प्रणेश । तिनीहरूमध्ये आशीषले आफैलाई हिन्दु घोषित गरे र आफ्नी मुस्लिम पत्नी फिरोजा देहलवीसित अलग्ग भए । आशीषका छोराको नाम फराज र छोरीको नाम नुसरत छ । ध्यानेशको छोरी सहानाले एक हिन्दु युवक श्री गुप्तासित विवाह गरिन् । ध्यानेशको छोराको नाम सिराज खान छ ।”
कसैको व्यक्तिगत जीवनलाई लिएर अनावश्यक तर्क गरिएको उक्त इमेलमा अगाडि भनिएको थियो – “गायिका सुनिधि चौहानले १८ वर्षको उमेरमै कोरियोग्राफर (नृत्यनिर्देशक) अहमद खानका भाइ बबी खानसित भागेर विवाह गरिन् । सुनिधिको परिवारले त्यस विवाहलाई स्वीकार गरेको थिएन र उनीसित सम्बन्ध अन्त गर्ने धम्की दिएको थियो । एक वर्षपछि तिनीहरू अलग्ग भए र सुनिधि आफ्नो परिवारकहाँ फर्केर आइन् । तिनले पछि एक हिन्दुसित विवाह गरिन् ।” यस्तै यस्तै कुरा अगाडि भनिएको थियो । उनीहरूले अन्तरधार्मिक विवाहको असफलतालाई देखाउन खोजेका थिए तर त्यसो गर्दा सफल दम्पतिहरूको नाम पनि सूचीमा उल्लेख गरे । उनीहरूले कैयौँ हिन्दु केटाले मुस्लिम केटीसित विवाह गरेर घरजम गरेको र मुस्लिम केटीले हिन्दु धर्म अपनाएको तथ्य भने देख्न सकेका छैनन् ।
कहाँबाट उब्जियो यो विचार ?
सङ्घ परिवारले धेरै अघिदेखि आफ्नो राजनीतिक फाइदाका लागि कथित ‘लव जिहाद’ अभियानलाई रणनीतिक तरिकाले प्रयोग गरेका छन् । निश्चय पनि एक राजनीतिक विचारको रूपमा यो विचार पहिलोपटक तटीय कर्नाटकको कन्नड जिल्ला र उत्तर केरलाको केही भागमा सिमान्त दक्षिणपन्थी सङ्गठन –हिन्दु जनजागृति समिति (हिजस) को अभियानको रूपमा अगाडि ल्याइएको थियो ।
हिन्दु जनजागृति समितिले आफैलाई सनातन संस्थाहरूसित जोड्ने गरेको छ । २००९ मा भएको गोवा बम विस्फोटजस्ता कैयौँ आतङ्ककारी गतिविधिमा त्यसको नाम जोडिएको छ । साथै चर्चित कम्युनिस्ट नेता गोविन्द पनसारे, सामाजिक कार्यकर्ता तथा तर्कशास्त्री नरेन्द्र दाभोलकर, पुरातत्ववेत्ता र लिङ्गायत समुदायसम्बन्धी विद्वान एमएम कलबुर्गी तथा पत्रकार गौरी लङ्केश लगायतको हत्यामा यो सङ्गठन प्रत्यक्ष र परोक्षरूपमा जोडिएको छ ।
हिजस तटीय कर्नाटकका सहरी इलाकाहरूमा विभिन्न प्रकारका सांस्कृतिक पहरेदारीको अभियानहरूमा सक्रिय रहेको छ । भारतीय संस्कृतिको पश्चिमाकरणको विरुद्ध आफ्नो अभियानको नाममा पार्क, पब र कलेजहरूमा युगल जोडीमाथि हमला गरिएका कैयौँ घटनामा जोडिएपछि यो सङ्गठन समाचारहरूमा छाएको थियो । २००७ सम्म आइपुग्दा यसले त्यही अभियानलाई साम्प्रदायिक रङ्ग दियो । त्यसका नेताहरूले कैयौँ सभाहरूमा ‘लव जिहाद’ शब्द प्रयोग गर्न थाले । त्यसपछि आरएसएसले योजनाबद्धरूपमा यस सिद्धान्तलाई अगाडि बढाउन थाल्यो । त्यसमा दावा गरियो कि मुस्लिम पुरुषहरूले एक योजनाबद्ध षड्यन्त्रबमोजिम हिन्दु महिलाहरूलाई फसाउँछन्, उनीहरूसित विवाह गर्छन् र उनीहरूलाई एक इस्लामी परियोजनाबमोजिम इस्लाममा धर्मान्तरण गराउने गर्छन् । हिन्दुत्ववादी सङ्गठनहरूका अनुसार मुस्लिमहरूको वास्तविक उद्देश्य भारतमा हिन्दुहरूलाई अल्पसङ्ख्यक समूह बनाउनु हो ।
आफ्नो वेभसाइटमा हिजसले मुस्लिम युवाहरूलाई शिकारमा निक्लेका ‘सेक्स वुल्फ’ (यौन समागमको खोजीमा निक्लेका ब्वाँसो) समान भनेको छ । बिना कुनै प्रमाण दावा गरिएको छ कि कर्नाटकमा मात्र ३० हजार महिलालाई इस्लाम धर्ममा धर्मान्तरण गराइसकिएको छ, दक्षिण कन्नडमा मात्र हरदिन तीनजना महिला ‘लव जिहाद’को शिकार बन्ने गरेका छन् । हिजस आफ्नो दावाको पक्षमा कुनै प्रमाण पेश गर्न जरुरी भने ठान्दैन । तर, त्यही अभियान चलाएर सङ्घ परिवारले चाहेजस्तो जनतामाझ धार्मिक विभाजन ल्याई भाजपालाई सत्तारूढ गराउने अभिष्ट भने पूरा गरेको छ ।
सन् २००९ को कर्नाटक उच्च अदालतको आदेशले ‘लव जिहाद’ शब्दलाई वैधता दिने काम भयो । त्यस आदेशमा कथित ‘लव जिहाद मुहिम’ को कर्नाटक र केरला पुलिसले संयुक्त अनुसन्धान गराउनका लागि भनिएको थियो । त्यो आदेश मुस्लिम युवकसित विवाह गरेका एक वयस्क हिन्दु युवतीका अभिभावकहरूले बन्दी प्रत्यक्षीकरणको निवेदनको फैसला गर्ने क्रममा आएको थियो । ती युवतीले भने अदालतमा उपस्थित भएर कसैको दबाबमा नपरी आफ्नै इच्छाले मुस्लिम युवकसित विवाह गरेको र धर्मान्तरण गरेको बताएकी थिइन् ।
दक्षिण कर्नाटकको चमराजनगरकी निवासी ती युवतीको बयानलाई बेवास्ता गर्दै अदालतको त्यस बेन्चले अनुसन्धानको प्रतिवेदन नआएसम्म विवाह गरिसकेकी ती युवतीलाई आफ्ना मातापितासितै बस्ने निर्देशन दिएको थियो । यो भन्दा पनि आश्चर्यजनक त अदालतले यस बन्दी प्रत्यक्षीकरणको निवेदनलाई राज्यभरका बेपत्ता महिलाहरूसित जोडिदियो । अदालतको कथन थियो, “बेपत्ता महिलाहरू पनि ‘लव जिहाद’ को शिकार भएका हुन सक्छन् ।”
त्यसपछि दक्षिणपन्थी र अन्य दैनिक अखबारहरूले त्यस पदावलीलाई बिना हिच्किचाहट प्रयोग गर्न थाले र त्यस प्रकारको प्रमाणहीन दावाहरूलाई जनताको माझमा फैलाउने काम गरे । हिजसलगायत आरएसएससम्बद्ध कैयौँ हिन्दुवादी सङ्गठनहरूले – मुस्लिम युथ फोरमलगायत अन्य कैयौँ मुस्लिम सङ्गठनहरूले युवाहरूलाई ‘लव जिहाद’ को प्रशिक्षण दिइरहेको दावी गर्दै आफ्नो साम्प्रदायिक अभियानलाई थप तीब्र बनाए ।
ती आरोपहरूमाथि केरलाको पुलिसले अनुसन्धान ग¥यो र आरोपमा कुनै सत्यता भएको देखिएन । पछि केरला उच्च अदालतले भन्यो कि अन्तरधार्मिक विवाह सामान्य कुरा हो र त्यसलाई अपराधको रूपमा हेर्नै सकिँदैन । उच्च अदालतले अनुसन्धानलाई पनि बन्द गराइदियो ।
त्यसपछि २०१२ मा भाजपाको उत्तर प्रदेश एकाइद्वारा ‘लव जिहाद’लाई एक रणनीतिका रूपमा प्रयोग नगरुन्जेलसम्म हिजसले पनि ‘लव जिहाद’माथि नरम तरिका अपनाई बस्यो । पितृसतात्मक इज्जत र जाट बिरादरीको रुढीवादी भावनाले गहिरो जरा गाडेको उत्तर प्रदेशमा त्यो अभियानले सफलता पाउन धेरै समय लागेन । उत्तर प्रदेशमा ‘लव जिहाद’ अभियान तटीय कर्नाटकको तुलनामा धेरै व्यापक थियो । यहाँ सङ्घ परिवारका कार्यकर्ताहरूले यस विचारको प्रयोग हिन्दुत्वको पुरानो प्रपोगण्डालाई जगाउनका लागि गरे । त्यस प्रपोगण्डाले मुसलमानहरूलाई गाईलाई समेत बाँकी नराख्ने, बच्चा जन्माउने वासनामय मेसिन, अपराधीहरू र कालाबजारियाहरूका रूपमा चित्रित गथ्र्याे ।
यसै प्रकारको बिनाआधारको हल्ला २००२ को गुजरात दङ्गाभन्दा अगाडिको अवधिमा पनि फैलाइएको थियो । आज वर्तमान स्वरूपमा ‘लव जिहाद’ पहिलेका अनौपचारिक अवतारहरूभन्दा कैयौँ ज्यादा विभाजनकारी अभियानका रूपमा अगाडि आएको छ । यस विचारलाई जीवनभर आफ्नै जीवनको असफलतामा रुमल्लिएका, बहुआयामिक डरहरूसित जुझिरहेका हिन्दु पुरुषहरूलाई गोलबन्द गर्ने सबैभन्दा प्रभावशाली हतियारका रूपमा सङ्घ परिवारको हिन्दुत्वको रणनीतिमा रूपान्तरण गरिसकिएको छ ।
भाजपाको रणनीतिक सिक्री
अहिले उत्तर प्रदेश, मध्य प्रदेश, हिमाञ्चल प्रदेश, हरियाणा र कर्नाटकमा रहेका भाजपा सरकारहरूले ‘लव जिहाद’को प्रपोगण्डालाई हावा दिँदै उग्र पुरुषवादी साम्प्रदायिक राजनीतिलाई नयाँ उचाईसम्म लाने र संस्थागत गर्ने काम गरिरहेका छन् । धर्मान्तरणविरोधी कानुनका नाममा स्वेच्छाको धर्मान्तरण र अन्तर धार्मिक विवाहलाई समेत अपराध घोषित गरिएको छ । उत्तर प्रदेशमा लागु गरिएको कथित ‘लव जिहाद’ विरोधी कानुनलाई हुबहु हिमाञ्चल प्रदेश, मध्यप्रदेश र कर्नाटकमा पनि लागु गरिएका छन् ।
कानुन घोषणा गरेर होस् वा राजनीतिक भाषणहरूमा मुस्लिम, धर्मनिरपेक्षतावादी र वामपन्थीहरूमाथि हमला गर्नका लागि यस अपमानजनक विचारलाई सङ्घ परिवारले हतियारका रूपमा विभत्स तरिकाले प्रयोग गरिरहेको छ । यस अभियानलाई सङ्घ परिवार र भगवा पार्टी (भाजपा) हिन्दुहरूको बहुमत भएको समाजमाथि आफ्नो रणनीतिक सिक्री कस्ने र समाजमाथि आफ्नो नियन्त्रण बनाइराख्ने नियतअनुरूप शुत्रहरू लागु गरिरहेका छन् । जुन तत्परताले भाजपा नेतृत्व भएका सरकारहरूले यसलाई एकैसाथ उठाइरहेका छन् त्यसले स्पष्ट हुन्छ कि यो सबै पहिले नै तय भएका योजनाअनुसार भइरहेका छन् ।
अर्कोतर्फ यस विषय र घटनाहरू भारतमा बढ्दो महामारी, आर्थिक सङ्कुचन र मन्दी तथा अकासिँदो बेरोजगारी एवम् महँगीको समाधान निकाल्न असक्षम भई आफ्नो शासनकालको सबैभन्दा कठिन अवधिमा रहेको मोदी सरकारको चौतर्फी असफलताबाट जनताको ध्यान अन्यत्र मोड्नमा सहायकसिद्ध भइरहेका छन् ।
(The History of ‘Love Jihad’ : How Sangh Parivar Spread a Dangerous, Imaginary Idea)
–The Wire
अनुवाद : प्रकाश
Leave a Reply