भर्खरै :

कस्तो आश्चर्य !

(माइतिघर मण्डलासँगैको उखु किसानको धर्ना कार्यक्रममा कानुन, राजनीतिशास्त्र र इतिहासका विद्यार्थीको भेट हुन्छ । एकापसको चिनापर्चिपछि देशको विषयमा छलफल हुन्छ ।)
विद्यार्थी १ : उखुको भुक्तानी नपाएका किसानहरू बर्सेनि काठमाडौँ आएर आन्दोलन गर्दै छन् । कुनै पनि पार्टीको सरकारले उखु किसानको माग सम्बोधन गरेनन् । कस्तो आश्चर्य ¤
विद्यार्थी २ : चिनी मिलका मालिकहरू सरकारमा गएका पार्टीका नेता भएर बसेका छन् । यस्तो स्थितिमा उखु किसानलाई कसरी भुक्तानी मिल्छ ?
विद्यार्थी ३ : दाहाल–माधव पक्षको नेकपाका नेताहरू ‘हामी यहाँ छौँ’ लेखिएको कागज छातीमा टाँसेर प्रम केपी ओलीबाट पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विरोधमा धर्ना बसे । त्यहीँ उखुको भुक्तानी नपाएका किसानहरू पनि धर्नामा थिए । तर, दाहाल, माधव लगायतले उखु किसानको भुक्तानीबारे बोलेनन् । यो झन् आश्चर्य होइन ! ?
विद्यार्थी १ : प्रम ओली पक्षको नेकपाको पुस ९ गते बसेको बैठकमा उखु किसानको रकम अबिलम्ब भुक्तानी गराउने निर्णय भयो रे ! प्रम भएको पार्टीको बैठकमा उखु किसानको रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई कारबाही गर्नुपर्ने माग उठ्नुपर्ने होइन र ? यो पनि आश्चर्य नै हो त !
विद्यार्थी २ : प्रमुख प्रतिपक्षी नेकाबाट प्रदेश २ का सांसद विनोद कनौडियाकै चिनी मिलबाट उखु किसानलाई भुक्तानी भएको छैन । तर, नेकाको बैठकमा उखु किसानको माग पूरा गर्नुपर्ने निर्णय गरियो । नेकाको बैठकले आफ्नै सांसद विनोद कनौडियालाई कारबाही गर्नुपर्ने होइन !?
विद्यार्थी ३ : बुटवलको एक ज्योतिषीले नेका सभापति देउवालाई “६ पटक प्रम बन्छस्” भनेको हुँदा विघटित प्रतिनिधिसभा पुनःस्थापना भए नेका निर्णायक हुने भएकोले प्रम बन्न पाउने भनी निकै हौसिएका छन् रे !
विद्यार्थी १ : प्रदेशमा पनि नेकपा ओली र दाहाल–माधव पक्षमा विभाजित हुने र नेका नै निर्णायक हुने अपेक्षा देउवाको छ नि ?
विद्यार्थी २ : प्रम ओली र राष्ट्रपति भण्डारीबाट प्रदेशसभा पनि विघटन हुने सम्भावना भएको हुँदा नेकाका नेताहरू प्रतिनिधिसभा पुनःस्थापनाको विरोध नगर्ने बरु प्रदेशमा निर्णायक भूमिका निर्वाह गर्नेतर्फ पनि छन् रे !
विद्यार्थी ३ : नेकाभित्र देउवा पक्ष प्रतिनिधिसभाको चुनावमै लाग्ने तर पौडेल पक्ष पुनःस्थापनातर्फ लागेको समाचार छ नि ! यथार्थमा प्रमुख प्रतिपक्षीले सरकारको चुनौतिलाई सामना गर्नु आवश्यक छ । यही स्थितिमा प्रतिनिधिसभा विघटनको विरोध गर्ने वा नगर्ने विषयमा नेकासमेत विभाजित हुने सम्भावना छ ।
विद्यार्थी १ : नेका, एमाले र माओवादी वा नेकपाको सरकार पञ्चायतको भन्दा फरक भएन । हास्य कलाकार मदनकृष्ण र हरिवंशले वनतस्कर नै वनमन्त्री भएको टेलिफिल्म बनाएका थिए । अहिले स्थिति उस्तै छ ।
विद्यार्थी २ : उद्योगीबाट भूकम्प पीडितको लागि उठाएको पैसासमेत खाने उद्योगमन्त्री भए । एक अर्का उद्योगमन्त्रीले विराटनगरको जुटमिलको कुरूवा घर र पर्खाल भत्काएर इँटा बेच्न लगाए र मेसिनको पार्टपूर्जा अनि मेसिन अड्याउने काठसमेत बिक्री गराएका थिए ।
विद्यार्थी ३ : अर्को उद्योगमन्त्रीले त औद्योगिक क्षेत्रहरूको जग्गा आफ्ना आउरे–बाउरेहरूको उद्योगलाई दिन लगाई सेयर हात पारेका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पनि प्रभावकारी देखिएन । एक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री त भारतीय नागरिक नै भएको र उनले आफू उद्योगी पनि भएको भनी कालोबजारी गरेको पनि समाचार प्रकाशित भयो ।
विद्यार्थी १ : राम्रो काम गर्ने कर्मचारीलाई कतै टिक्न दिइँदैन । भ्रष्टाचार गरेर सरकारी पार्टीका नेता र मन्त्रीलाई कमिसन बुझाउने मात्र टिक्छन् । यस्तो समाचार त प्रकाशित भइरहेकै हो ।
विद्यार्थी २ : सरकारका मन्त्रीहरू कति पक्षपाती र आफ्नो पार्टीका नेता एवम् कार्यकर्ताबाट सिफारिस भएका कर्मचारीलाई सेवा निरन्तरता र कार्य मूल्याङ्कनसमेत हुने गरी तलवी बिदा दिएर विदेश अध्ययनमा पठाउने, फिर्ता भएपछि उनैलाई महानिर्देशक र निर्देशक बनाई त्यहाँ कार्यरत पुराना महानिर्देशक एवम् निर्देशकलाई नयाँ महानिर्देशक र निर्देशकको सहयोगी बनाउने ! यो पक्षपातको हद नाघेको हो ।
विद्यार्थी ३ : सिंहदरबार फोहर भएपछि जिल्ला – जिल्लाका सरकारी कार्यालय कसरी सफा हुन्छ ? यसैकारण, देशमा भ्रष्टाचार र अनियमितता बढेको हो ।
विद्यार्थी १ : दाहाल–माधवपक्ष कस्तो ! तीन वर्षयता दाहालले बालुवाटार पुगेर तीन सय पटक प्रम ओलीसँग वार्ता, छलफल र बैठक गरे । ती भेटघाटको ९९ प्रतिशत कुर्सीको तानातानमा सिमित भयो । देश र जनताको हितमा भेटघाट हुनै सकेन ।
विद्यार्थी २ : यस्ता प्रश्न त ओली र दाहाल–माधव पक्षका कार्यकर्ताहरूबाटै उठ्नुपर्ने हो, उठ्दैन, कस्तो आश्चर्य !
विद्यार्थी ३ : नेकपा अर्थात् पूर्वएमाले र पूर्वमाओवादी त हातको चरा उडाएर जङ्गलमा चरा खोज्ने प्रवृत्तिका हुन् । भएको प्रतिनिधिसभा विघटनमा पु¥याए, अहिले दाहाल–माधव पक्ष पुनःस्थापनाको माग गर्दै छन् । यो कस्तो आश्चर्य त !
विद्यार्थी १ : नेपाली जनता हिजोभन्दा आज सचेत हुँदै छन् । सरकारमा गएका पार्टीहरूको धोकामा अब नेपाली जनता फस्ने छैनन् ।
विद्यार्थी २ : साँझ पनि प¥यो । बाँकी छलफल अर्को भेटमा गरौँला ! जाऔँ !
(पर्दा खस्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *