भर्खरै :

महामारीविरुद्ध चीनको सफलता संसारको हितमा

काठमाडौँ, १६ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको नेतृत्वमा सबै क्षेत्रका जनता लागेर युद्धकै रूपमा कोभिड–१९ को नियन्त्रण गर्नु संसारकै लागि नौलो कुरा भएको बताउनुभएको छ । बिहीबार चिनियाँ सञ्चारमाध्यम सीसीटीभी र सीआरआईका प्रतिनिधि वर्षासँग कुराकानी गर्दै उहाँले महामारीविरूद्ध चीनको लडाइँबाट संसारले सिक्ने मौका पाएको बताउनुभयो ।
“महामारीविरूद्ध लड्दाको चीनको अनुभव संसारको लागि उपयोगी भयो । चीनले आफूले प्रयोग गरेका औषधि र उपचार विधि पनि संसारसँग बाँड्यो । त्यो महत्वपूर्ण कुरा हो । चीनले अन्य देशलाई औषधि र प्राविधिकहरू पठाएर पनि सहयोग ग¥यो । यो अन्तर्राष्ट्रिय भावनाको नमुना बनेको छ”,, उहाँले भन्नुभयो ।
दुःखको बेलामा पनि चिनियाँ जनताले उत्पादनलाई नबिर्सनु संसारको लागि उदाहरण बनेको चर्चा गर्दै उहाँले चीनले त्यसमा सफलता प्राप्त नगरेको भए संसार आर्थिक सङ्कटमा फसिसक्ने बताउनुभयो ।
संसारका देशहरू एकआपसमा जोडिसकेको अवस्थामा र एउटा देशमा भएको घटनाले अरू देशलाई पनि प्रभाव पार्ने भएकोले संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देश चीनमा उत्पादन कार्य बन्द भए संसारका अरू देशमा पनि दुःख हुने अध्यक्ष बिजुक्छेँको भनाइ थियो ।
उहाँले कोभिड–१९ को महामारीको बेलामा संसारभर चीनले गरेको सहयोगको निम्ति चिनियाँ जनता, चिनियाँ कम्युनिस्ट पार्टी, महासचिव सी चिनफिङ र अन्य चिनियाँ नेताहरूप्रति आभार व्यक्त गर्नुभयो ।
चीनले उपलब्ध गराएका स्वास्थ्य सामग्री र चीनका अनुभवले नेपाली जनताको पनि सेवा गरेको अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले बिहीबार राष्ट्रपति सी चिनफिङले दिनुभएको शुभकामना सन्देशले चीनको चित्र नै प्रस्तुत भएको चर्चा गर्दै सीको सन्देश संसारको लागि मित्रवत् र मार्मिक भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *