भर्खरै :

श्वेत भैरव साकोसको १३ औँ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, १६ पुस । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा श्वेत भैरव बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले बचत तथा ऋण सहकारी संस्थाको प्रमुख उद्देश्य सदस्यहरूको हितमा काम गर्ने हुनुपर्ने धारणा राख्दै संस्थाले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्नुका साथै किसानहरूको सहयोगीको रूपमा पनि भूमिका खेल्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले पुँजीवादी व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् भङ्ग गर्ने विशेषाधिकार हुने चर्चा गर्दै भन्नुभयो, “प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरी केपी ओलीले संसद् भङ्ग गर्नु संसदीय मूल्य–मान्यताअनुसार ठीक छ । नेकपाको विभाजन सिद्धान्तको आधारमा नभई सत्ता प्राप्ति र व्यक्तिगत स्वार्थसँग केन्द्रित छ ।”
कोरोना रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा विभिन्न सहकारी सङ्घ–संस्थाहरूबाट आर्थिक तथा भौतिक सहयोग गरेर कोरोनाविरूद्धको लडाइँमा नगरपालिकालाई सहयोग गर्नुभएको आभार प्रकट गर्दै उहाँले भक्तपुरलाई देशकै सुन्दर नगरको रूपमा विकास गर्ने उद्देश्यले भनपाका जनप्रतिनिधिहरू कार्यरत रहेको बताउनुभयो ।
भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउँदै सहकारी संस्थालाई नियन्त्रण गर्ने ढङ्गले माफियाहरू सक्रिय रहेकोतर्फ सचेत पार्नुभयो ।
भक्तपुर जिल्ला साकोसका अध्यक्ष कृष्णगोविन्द लाखाजुले ‘एक व्यक्ति एक सहकारी’ अन्तर्राष्ट्रिय सरकारीको मूल्यमान्यताविपरीत भएको बताउनुभयो ।
साधारणसभामा सदस्यहरूको सक्रिय सहभागी हुनुपर्ने खाँचौ औँल्याउँदै उहाँले धेरैभन्दा धेरै सदस्यहरूको सक्रिय सहभागिताले संस्थाको प्रगति हुने धारणा राख्नुभयो ।
कार्यक्रममा संस्थाका पूर्व उपाध्यक्ष कृष्णप्रसाद कोजु, सङ्घका उपाध्यक्ष जितेन्द्र खायमली, सचिव सत्यनारायण गाइँजुलगायतले संस्थाको स्थापनाको उद्देश्यबारे प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *