भर्खरै :

शासकहरूबीचको झगडाको मूलकारण चुनावको क्रममा बाहिर आउनेछ

काठमाडौँ, १६ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले समयमै संसद् विघटनको कदम नचालिएको भए नेपालको प्रजातन्त्रलाई कमजोर बनाउने धेरै क्रियाकलाप हुनसक्ने बताउनुभएको छ ।
बिहीबार चिनियाँ मिडिया ग्रुपका प्रतिनिधिसँग समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी गर्दै उहाँले प्रचण्डको नेतृत्वमा भएको दस वर्षे सशस्त्र सङ्घर्ष भारतकै सहयोगमा भएकोले उनीहरू गतिविधिमा भारतको प्रभाव हुने गरेको बताउनुभयो ।
“आफ्नो अधिकारलाई प्रयोग गरेर प्रधानमन्त्रीले चालेको कदमले प्रजातन्त्रलाई कमजोर बनाउने दुर्घटना रोकिएको छ”, उहाँले भन्नुभयो ।
दमकलले जसरी समयमै काम गर्दा आगो नियन्त्रण हुन्छ, त्यसरी नै संसारका हरेक राज्यले प्रधानमन्त्री वा राष्ट्रपतिलाई दिइएको विशेषाधिकार प्रयोग गरेर देशलाई सङ्कटबाट जोगाइने उहाँले बताउनुभयो ।
शासकहरूबीच भित्र भएको झगडाको कारण थाहा पाउने अधिकार जनतालाई हुने बताउँदै अध्यक्ष बिजुक्छेँले चुनावमा त्यस्ता झगडाका कुरा बाहिर आउने धारणा राख्नुभयो ।
“चुनावको समयमा हुने बहस र छलफल नेपाली जनताको लागि राजनीतिक कक्षासरह हुनेछ”, उहाँले भन्नुभयो ।
उहाँले चुनावमा को ठीक र को बेठीक निक्र्योल जनताले गर्ने चर्चा गर्दै जनताले लोभ र स्वार्थमा नफसेर निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।
महामारीको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने शासक दलका नेताहरू आपसमा पद र पैसाको भागबण्डामा झगडा गरिरहेको अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
जस्ता कार्यकर्ता त्यस्तै नेता र जस्ता नेताहरु हुन्छन्, त्यस्तै प्रधानमन्त्री हुने चर्चा गर्दै उहाँले नेपाली जनताले आज भोगिरहेका समस्याको निम्ति नेकपाका नेताहरू दोषी भएको बताउनुभयो ।
अध्यक्ष रोहितले अत्यन्त बहुमत जनता राजतन्त्रको विपक्षमा रहेको र पुरानो कोट ठीक नहुने भएजस्तै राजतन्त्रको पुनःस्थापना पनि सम्भव नभएको प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *