भर्खरै :

चीन विश्वमा पहिलो अर्थतन्त्र बन्नुको अर्थ !

बेलायतमा अवस्थित ‘सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेस रिसर्चले सन् २०२८ मा चीनले संयुक्त राज्य अमेरिकालाई पछाडि पारेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने छ भन्ने रिपोर्ट सार्वजनिक गरेसँगै संसारभर तरङ्ग प्रवाह भएको छ । जसअनुसार पूर्वानुमान गरिएभन्दा पाँच वर्ष अगाडि नै चीन पहिलो अर्थतन्त्र हुने भएको छ । यो रिपोर्ट वास्तविकतासँग कति नजिक होला भविष्यले नै बताउने छ तर ढिलो वा चाँडो चीन विश्वको पहिलो अर्थतन्त्र हुने निश्चित छ । चीनको पुरानो ट्रयाक रिकर्डलाई आधार मान्ने हो भने अझै ८ वर्ष पनि नलाग्ने देखिन्छ ।
सन् १९९० मा विश्वका शीर्ष अर्थतन्त्रमा चीनको स्थान १० आँै थियो । १९९४ सम्म आइपुग्दा एकै पटक दुई स्थान अगाडि आउँदै आठौँ स्थानमा पुग्यो । १९९७ मा साताँै भयो भने २००० आइपुग्दा छैटाँै भयो । २००५, २००६ र २००७ मा क्रमश पाचौँ, चौथो र तेस्रो स्थानमा आयो । २००९ मा जापानलाई उछिनेर दोस्रो भएको थियो । २००९ मा चीन दोस्रो भएपनि पहिलो स्थानमा भएको संरा अमेरिकाको कूल गार्हस्थ उत्पादन (ग्रस डोमेस्टीक प्रोडक्ट, जीडीपी) चीनको भन्दा तीन गुणा ठूलो थियो अर्थात् अमेरिकाको जीडीपी लगभग १५० खर्ब डलर थियो भने चीनको ५० खर्ब डलरमात्र थियो जुन अमेरिकाको तुलनामा चीनको एकतिहाइमात्र थियो । १० वर्षको अन्तरालमा अर्थात् सन् २०१९ मा चीनको जीडीपी १४५ खर्ब डलर भयो भने अमेरिकाको २१० खर्ब डलर । अर्थात् उक्त अवधिमा चीनले आफ्नो जीडीपी झण्डै २०० प्रतिशतले बढायो भने अमेरिकाको भने ३३ प्रतिशतले मात्र वृद्धि भयो । यो तथ्याङ्कलाई आधार मान्ने हो भने चीनको अर्थतन्त्रले अमेरिकी अर्थतन्त्रलाई चाँडै नै उछिन्ने देखिन्छ ।
यद्यपी सीईबीआरको रिपोर्टको मनसाय गलत हुनसक्ने भनेर चिनियाँ सञ्चार माध्यम ग्लोवल टाइम्सले शङ्का व्यक्त गरेको छ । संरा अमेरिका त सुरुदेखि नै चिनियाँ अर्थतन्त्रलाई कसरी धरासायी बनाउन सकिन्छ भनेर अनेक तानाबाना बुनिरहेको राष्ट्र हो जसअनुसार चीनलाई जे गर्दा समस्या हुन्छ त्यो अमेरिकाले गरिरहेकै छ । त्यसका अलावा अरू पश्चिमा मुलुकहरूले पनि चीनप्रति अमेरिकालेजस्तै कडा व्यवहार देखाओस् भन्ने चाहेको बेलायतस्थित सीईबीआरको सोच हुन सक्छ ।
अर्को कुरा चीन पहिलो अर्थतन्त्र हुन सक्ने कारणमा कोभिडलाई पनि जोडिएको छ । यसको आशय पनि घुमाउरो पाराले चीनले कोभिड फैलाई अरू देशलाई हानी पु¥याएर आफूले फाइदा लिएको देखाउन खोजिएको छ । रिपोर्टका अनुसार कोभिड – १९ महामारीबाट चीन तुरून्तै बाहिर आउन सफल भई अर्थतन्त्रलाई पुन चलयमान बनाउन सफल भयो भने अमेरिकी नेतृत्वको माहामारीबारे गलत आकलनले गर्दा झन् झन् अमेरिकी अर्थतन्त्र भाँसिदै गयो । सीईबीआरले प्रकाशित वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार Fकेही समयको लागि, विश्वव्यापी अर्थशास्त्रको एक प्रमुख विषय संयुक्त राज्य अमेरिका र चीन बीचको आर्थिक शक्ति सङ्घर्ष हुनेछ । कोभिड १९ महामारी र सम्बन्धित आर्थिक नतिजा निश्चितरूपमा अमेरिका र चीन बीचको प्रतिद्वन्द्वीमा चीनको पक्षमा गएको सङ्केत गरेको छ ।”
विश्व बैङ्क र आईएमएफका तथ्याङ्कअनुसार पनि २०२४ सम्ममा जीडीपीको आकारको आधारमा विश्वकै १० शीर्ष राष्ट्रमध्ये ५ एसियाली देशहरू आउने र युरोपियन आर्थिक शक्तिको स्थान तल झर्ने देखिएको छ । सन् १९९० को दशकदेखि चीनको आर्थिक वृद्धि एकदम ठाडो उकालो लागिरहेको छ जबकि भारतले हालसालै मात्र विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको शीर्ष १० मा प्रवेश गरेको छ र २०२४ सम्ममा तेस्रो हुने अपेक्षा गरेको छ । जापान भने चौथोमा आउने अपेक्षा गरिएको थियो । सन् २०२४ मा रूस छैठो स्थानमा रहने अनुमान छ । तर, कोभिडको कारण भारतले प्राप्त गर्ने भनिएको स्थान हासिल नहुने देखिन्छ ।
यसैगरी २०३० अघिसम्म जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनि नै रहने छ भने सन् २०३० को प्रारम्भबाट भारतले उछिन्ने सम्भावना रहेको सीईबीआरले जनाएको छ । त्यसैगरी जर्मनी चौथोबाट पाँचौंमा स्थानमा धकेलिने छ । पाँचाँै ठूलो अर्थतन्त्र संयुक्त अधिराज्य बेलायत भने सन् २०२४ बाट छैठौँ स्थानमा झर्ने सम्भावना रहेको छ । २०२० मा शीर्ष १० विश्व अर्थतन्त्रहरूमा युरोपको योगदान कुल उत्पादनको १९ प्रतिशत रहेकामा युरोप र बेलायतको बिचमा द्वन्द्व जारी रहेको खण्डमा सन् २०३५ सम्ममा १२ प्रतिशतमा झर्ने सम्भावना रहेको पनि सीईबीआरले जनाएको छ ।
सीईबीआरले चीनको कडा प्रारम्भिक लकडाउनसँगै महामारीको कुशल व्यवस्थापन नै चिनियाँ अर्थतन्त्र बलियो हुनुको कारण उल्लेख गरेको छ । चीनले आर्थिक वृद्धिदर २०२१ र २०२५ को बीच औसत ५ दशमलव ७ प्रतिशत हुने लक्ष्य निर्धारण गरेको छ भने सन् २०२६ देखि २०३० सम्म ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । संयुक्त राज्य अमेरिकाले महामारी पछिको अवस्था २०२१ मा आर्थिक वृद्धि १ दशमलव ९ प्रतिशतको दरले फर्किन सक्ने सम्भावना रहेको छ भने २०२२ र २०२४ को बीचमा भने यसको बृद्धि १ दशमलव ६ प्रतिशत हुने अनुमान गरिएको छ ।
यति हुँदाहुँदै पनि प्रतिव्यक्ति आम्दानीको हिसाबलाई आधार मान्ने हो भने अमेरिका र युरोपको दाँजोमा पुग्न चीनले अझै धेरै सफलता हासिल गर्न बाँकी छ । अझै पनि अमेरिकाको तुलनामा चीनको प्रतिव्यक्ति आम्दानी ६ भागको एक भागमात्र छ । त्यसैले चीनको जीडीपी अमेरिकी जीडीपीको ५ गुणा भयो भने बल्ल अमेरिकी जनताको जीवनस्तरसँग चिनियाँ जनताको जीवनस्तर बराबर हुनेछ । यही तथ्यलाई आधार मानेर चिनियाँ नेताहरूले अबको ३० वर्षपछि अर्थात् सन् २०५० सम्ममा चिनियाँ जनताको जीवनस्तरको आधारमा विश्वको शीर्षराष्ट्र हुने लक्ष्य निर्धारण गरेका हुन् । विश्व बैङ्कको रिपोर्टअनुसार प्रतिव्यक्ति आम्दानीको आधारमा विश्वका मुुलुकहरूमा चीनको स्थान ६८ औँ रहेको छ । यही कारणले चिनियाँ नेताहरू सधैँ भन्ने गर्छन्, ‘चीन अझै विकासोन्मुख राष्ट्र हो ।’
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *