भर्खरै :

पेइचिङमा हजारौँले लिए खोप, बेलायतमा अस्ट्राजेनिकाको खोप लगाउन सुरु

पेइचिङ, २० पुस (एएफपी) – चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी पेइचिङका हजारौँ बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ ।
खोप लिन हजारौँ मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरूमा लामबद्ध देखिएका छन् ।
दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले पेइचिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप लिनेहरूमा सामुदायिक कार्यकर्ता र बस ड्रात्रहरू पनि रहेका छन् ।
स्वास्थ्य अधिकारीहरूले चिनियाँ फर्मास्यूटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई सःशर्त स्वीकृति प्रदान गरिसकेको छ । यस खोपको प्रभावकारिता झन्डै ७९ प्रतिशत रहेको सिनोफार्मले जनाएको छ ।
पेइचिङमा ठूलो सङ्ख्यामा मानिसहरू स्थानीय अस्पतालहरू र सामुदायिक स्वास्थ्य केन्द्रहरूमा खोपका लागि भेला भएको दृश्य सरकारी टेलिभिजन सिसिटिभीले प्रशारण गरेको छ । स्वास्थ्य अधिकारीहरूले जिम र कारखानाका खाली भवनहरूलाई पनि खोपका लागि प्रयोग गरिएको बताएका छन् ।
चीनले गत वर्ष सन् २०२० मा आपत्कालीन प्रयोगअन्तर्गत करिब ४५ लाख व्यक्तिलाई खोप दिइसकेको छ जसमा अधिकांश स्वास्थ्यकर्मी र विदेशमा काम गर्ने व्यक्तिहरू रहेका छन् ।
अहिले चीनले भाइरसबाट सर्वाधिक जोखिममा रहेका समूहलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी सुरु गरेको छ ।
यसैबीच, बेलायतले पनि सोमबारदेखि अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्यूटिकल्स कम्पनीले तयार पारेको खोप दिने तयारी गरेको छ । अस्ट्राजेनिकाको खोपलाई स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो ।
निकै सस्तो र वितरणमा निकै सहज मानिएको यो खोप एक जना ८२ वर्षीय बेलायती नागरिक ब्रायन पिकरलाई चर्चिल अस्पतालमा प्रदान गरेर खोप अभियान सुरु गरिएको छ ।
विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट १८ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने झन्डै ८ करोड ५० लाख मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमण दर लगातार वृद्धि हुनुका साथै मानिसको मृत्यु दर पनि दिनहुँ बढ्दै गएको छ ।
बेलायतले पहिलो चरणमा अस्ट्राजेनिकाको खोप ५ लाख ३० हजार डोज उपलब्ध गराउँदै छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले सङ्क्रमण बढ्दै गएकाले आगामी दिनहरू निकै कठिन रहेको बताउँदै खोप अभियान व्यापक बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *