भर्खरै :

कस्तो होला सन् २०२१ ?

कोरोना महामारीबाट गुज्रिदै सन् २०२० लाई बिदाइ गरिएसँगै सन् २०२१ कस्तो होला भन्ने कौतुहलता धेरैमा देखिएको छ । अधिकांशले नयाँ वर्षको स्वागत र शुभकामनाका क्रममा पनि सन् २०२१ सन् २०२० को जस्तो नहोस भन्ने अपेक्षा व्यक्त गरेका छन् । जनअपेक्षा र भवितव्य हुने कुरा एउटा पाटो हो भने नियमित र सम्भावित अवस्था अर्को पाटो हो । धेरै कार्यक्रमहरूमा विद्युतीय माध्यमहरूको प्रयोगलाई प्राथमिकता दिइने भएको छ । केही अनुमान गर्न सकिने नियमित र सम्भावित घटनाहरूको यहाँ चर्चा गरिएको छ ।
अमेरिकी प्रशासनबाट ट्रम्पको विदाइ र बाइडेनको प्रवेश
सन् २०२१ सुरुको ठूलो घटनाको रूपमा अमेरिकी प्रशासनमा हुने परिवर्तनलाई लिन सकिन्छ । यही जनवरी २० तारिखमा अमेरिकी प्रशासनबाट राष्ट्रपति ट्रम्पको बिदाइ हुने छ भने नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको प्रवेश हुनेछ । असामान्य र अस्वभाविक तरिकाले चलिरहेको अमेरिकी प्रशासन नयाँ नेतृत्व आएसँगै पूर्ववत अवस्थामा फर्किने प्रतिक्षा धेरैले गरेका छन् । यही जनवरी ६ तारिखमा अमेरिकी संसद्मा ट्रम्पका समर्थकले गरेको हिंसात्मक प्रदर्शन अमेरिकी राजनीतिमा कालो धब्बाका रूपमा रहने भएको छ । नयाँ वर्षको पहिलो हप्ताबाटै नमिठो राजनीतिक तथा हिंसात्मक घटनाक्रम सुरुआत भएको छ ।
कोरोना न्यूनीकरण हुने अपेक्षा :
सन् २०२० मा सबैभन्दा ठूलो समस्याको रूपमा रहेको कोरोना महामारी सन् २०२१ मा भने कम हुने अपेक्षा र प्रार्थना धेरैले गरेका छन् । सबै क्षेत्रलाई तहसनहस पारेको यो महामारी न्यूनीकरणका लागि विभिन्न खोपहरू विकास हुने क्रम चलिरहेकोले यस वर्ष सबैलाई खोपको उपलब्धता हुने सुखद समाचारको प्रतिक्षा भइरहेको छ । कतिपय देशहरूमा अहिले लगाउन थालिएको खोप आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सिफारिस गरिएको खोप भएकाले सामान्य अवस्थामा पनि सबैले लगाउन मिल्ने खोप आउने विश्वास गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण पूर्णरूपमा अन्त्य हुने नदेखिएकाले न्यूनीकरणमा नै चित बुझाउन पाइने अपेक्षा गरिएको छ ।
पूर्वनिर्धारित प्रतियोगिता तथा प्रदर्शनी हुने
सन् २०२० मा हुने तय भएका धेरै खेलकुद प्रतियोगिताहरू कोरोना महामारीका कारण भएनन् । तर, अहिले महामारी न्यूनीकरण हुँदै जाने सम्भावना देखिएकाले गतवर्ष हुन नसकेका खेलकुद प्रतियोगिताहरू यस वर्ष हुने सम्भावना रहेको छ । कतिपय आयोजकहरूले गतवर्षको कार्यक्रमलाई यस वर्ष सञ्चालन गर्ने गृहकार्य पनि गरिरहेका छन् । विशेष गरेर जापानमा हुने तय भएको गृष्मकालीन ओलम्पिक प्रतियोगिता कोरोनाकै कारण सरेकोले तयारी भने उनीहरूले जारी राखेका छन् । विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिता जून ११ देखि जूलाई ११ मा आयोजना हुँदै छ । सन् २०२० बाट सरेको यो प्रतियोगिता युईएफए युरोपियन च्याम्पियनसिप सँगसँगै आयोजना हुनु फुटबल फ्यानका लागि खुसीको खबर हो । महिला युरोपियन च्याम्पियनसिप भने सन् २०२२ मा आयोजना गर्ने तय गरिएको छ । सन् २०२१ मा विभिन्न फिल्म फेस्टिभलहरूको पनि तयारी भइरहेको छ । ती फेस्टिभलहरूमा सयौँ फिल्मकर्मीहरू सहभागी हुनेछन् ।
विश्व नेताहरूको जमघट हुने :
विश्व नेताहरू सहभागी हुने धेरै कार्यक्रम पनि गत वर्ष स्थगित भए । ती कार्यक्रमहरू यस वर्ष हुने सम्भावना रहेको छ । संयुक्त राष्ट्रसङ्घको महासभा गतवर्ष भर्चुअल माध्यमबाट सञ्चालन गरिएपनि यस वर्ष नेताहरूको उपस्थितिमै हुने अपेक्षा गर्न सकिन्छ । सिङ्गापुरको डाभोसमा हुने विश्व आर्थिक सम्मेलन मे १३ देखि १६ सम्म हुने भएको छ । विश्वभरी महामारी फैलिएकाले मे १८ देखि १९ सम्म हुने विश्व स्वास्थ्य सम्मेलनलाई पनि महत्वका साथ हेरिएको छ । त्यसबाहेक जी ८, जी २० लगायतका धेरै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू पनि यस वर्ष हुने देखिएको छ । धेरै सम्मेलन तथा कार्यक्रमहरू दिर्घकालीन महत्वका भएर पनि अघिल्लो वर्ष हुन नसकेकाले यस वर्षगर्ने तयारीमा आयोजकहरू लागेका छन् ।
बेलायती प्रधानमन्त्री भारत आउने
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन यस वर्ष भारत भ्रमणमा आउने तय भएको छ । जनवरी २६ तारिखमा मनाइने भारतको गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रूपमा उहाँको भ्रमण हुने भएको हो । भ्रमणका क्रममा उहाँले भारतीय उच्चअधिकारीहरूसँग व्यापार, सुरक्षा, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा पनि छलफल गर्नुहुने भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी
चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष पुगेको छ । शतवार्षिकीलाई चिनियाँ कम्युनिस्ट पार्टीले भव्यरूपमा मनाउने र कोरोनापछिको प्रगति पनि विश्वलाई देखाउनेगरी अवसरको रूपमा १००औँ स्थापना दिवसलाई उपयोग गर्ने भएको छ । जुलाई १ मा स्थापना दिवसका अवसरमा गरिवी अन्त्यको घोषणा गर्ने तयारी पनि चीनले गरेको छ । तर कोरोनाका कारण लक्ष्य पूरा हुन बाधा पुगेको पनि हुनसक्छ । त्यो भने अझै स्पष्ट भइसकेको छैन ।
माथि उल्लेखितबाहेक यसै वर्ष धेरै देशमा निर्वाचन हँुदै नयाँ सरकार बन्ने भएका छन् भने दुईपक्षीय विवाद र शान्ति स्थापनाका प्रयासहरूले पनि निरन्तरता पाउने देखिएको छ । त्यस्तै हरेक वर्ष विभिन्न ठाउँमा हुने दुखद् ठूला घटनाहरूका बारेमा भने पूर्वानुमान गर्न नसकिएपनि त्यस्ता घटनाहरू नहोलान् भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *