भर्खरै :

सिद्धि कृषि सहकारी संस्था लि.को आठौँ साधारणसभा सम्पन्न

भक्तपुर, २६ पुस । सिद्धि कृषि सहकारी संस्था लि.को आठौँ साधारणसभा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालको प्रमुख आतिथ्यमा संस्थाको सभाहलमा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि दुवालले राजनीतिक व्यवस्था राम्रो भएमात्र अन्य क्षेत्रको अवस्था राम्रो हुने बताउँदै कमिसनतन्त्र, अनियमितता र भ्रष्टाचारले देशका किसानहरू पनि पीडित रहेको बताउनुभयो ।
कृषिप्रधान देश भएर पनि नेपालमा सरकारले रासायनिक मल कारखाना सञ्चालन नगर्नुमा मन्त्री र शासकहरूमा कमिसनको लोभ रहेको स्पष्ट पार्दै उहाँले देशमा लामो समयसम्म रासायनिक मलको हाहाकार भएको बताउनुभयो ।
किसानको मोहियानी हक कायम गर्न नेमकिपा र नेक्राकिसङ्घले विगतमा गरेको र गरिरहेको सङ्घर्षकै कारण भक्तपुरका अधिकांश किसानको अवस्था माथि उठेको प्रस्ट पार्दै उहाँले अहिले जहाँको पनि जग्गा खरिदबिक्री गर्न पाउने र जहाँ पनि घर निर्माण गर्न पाउने व्यवस्थाले खेती गर्ने जमिन नास भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले कृषि सहकारी संस्थाहरूले नामअनुसार कृषकको हितका लागि बढीभन्दा बढी कार्य गरी किसानलाई सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
भनपा वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले किसानले सहजै मल पाउने अवस्था सिर्जना गर्न भनपाले कृषि सहकारी र अन्य सहकारीले मल ल्याई वितरण गर्न पाउने बन्दोबस्त गरेको बताउनुभयो ।
उहाँले कोभिड–१९ को अर्को लहर आउनसक्ने विज्ञहरूको अनुमानलाई ध्यानमा राखी सबैले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने र सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
सिद्धि कृषिका संस्थापक एवं जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूले नेपालको सहकारी आन्दोलनबारे चर्चा गर्दै सहकारी आर्थिकरूपमा पछाडि परेकाहरूलाई अगाडि बढाउनका लागि हो भन्नुभयो ।
राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार ललितपुरका कृषिविज्ञ डा. रेणुका श्रेष्ठले सिद्धि कृषि सहकारी संस्थाले उच्च गुणस्तरीय गहुँ र धानको बीउ उत्पादनमा गरिरहेको कामको प्रशंसा गर्नुभयो ।
सभापति एवं संस्थाका अध्यक्ष पुण्यराम दुमरुले संस्थाको चालू गतिविधि एवम् भावी कार्यक्रमबारे प्रस्ट पार्नुभयो ।
संस्थाका उपाध्यक्ष काशीनाथ त्वानाबासुको स्वागत मन्तव्यबाट सुरु साधारणसभामा संस्थाका सचिव चन्द्रमान सुवालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णभक्त ख्याजूले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन श्यामकृष्ण दुमरु तथा लेखा परीक्षण प्रतिवेदन सदस्य लक्ष्मीश्वरी दुमरुले प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *