इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी
- भाद्र २६, २०८२
भक्तपुर, २७ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको १५ औँ तथा महिला उद्यमी समितिको १४ औँ जिल्ला अधिवेशन सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नेपालको आर्थिक विकासमा घरेलु तथा साना उद्योगहरूको विकास गरी देशलाई आत्मनिर्भर बनाउनेतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुर नगरपालिकाले नगरवासीहरूलाई विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरी आत्मनिर्भर बनाउने जीवनउपयोगी सीपहरूको तालिम सञ्चालन गरिरहेको छ भन्नुभयो ।
नेपालमा विदेशी लगानी भित्रँदा देशका उद्योगहरू समाप्त हुँदै जाने खतरा औँल्याउँदै उहाँले विदेशी पैसामा लोभ गर्न नहुने बताउनुभयो ।
भक्तपुरको सम्पदा संरक्षण, विकास निर्माणलगायतका गतिविधिहरूमा नगरवासीहरूको साथ र सहयोग पाइरहेको बताउँदै उहाँले भनपा भक्तपुरको मौलिक वस्तुहरूको उत्पादन, प्रयोग र प्रचारप्रसारमा विशेष ध्यान दिएर अगाडि बढिरहेको छ भन्नुभयो ।
भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरूले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको भन्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नपालाई देशकै नमुना नगर बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भक्तपुर घरेलु तथा साना उद्योगले भक्तपुरको आर्थिक रूपान्तरण गर्न सहयोग पु¥याइरहेको र देशको अर्थतन्त्रलाई विकसित तुल्याउन सङ्घको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासङघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योगले देशको आर्थिक रूपान्तरणको लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै महासङ्घले मुलुकभरका घरेलु तथा साना उद्योगीको छाता सङ्गठनको रूपमा आफ्ना हक र हितको संरक्षण गर्दै आइरहेको बताउनुभयो ।
सङ्घका अध्यक्ष वीरेन्द्र जतिले कुनै पनि देशको विकास लघु, घरेलु तथा साना उद्योगको विकासबिना सम्भव नभएको बताउँदै नेपाल सरकारले नयाँ प्रविधिको लागि सचेतना तथा पुँजीको लागि बैङ्कमार्फत घरेलु उद्यमीहरूलाई सहज ऋण उपलब्ध गराउने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवम् महिला उद्यमी समितिका सभापति ईश्वरी श्रेष्ठले महिलाहरूद्वारा सञ्चालित उद्योगको हकहितलाई ध्यानमा राखी समितिले विभिन्न कार्य गर्दै आइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष एवम् महासङ्घका केन्द्रीय उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, ग्रील तथा स्टील व्यवसायी महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष मोहनप्रसाद कटुवाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाग्मती प्रदेशका अध्यक्ष सूर्य कँडेल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय प्रतिनिधिद्वय डम्बरप्रसाद रेग्मी र सत्यनारायण प्रजापति, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समितिका रीता अवाल, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठ, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेलगायलते शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Leave a Reply