भर्खरै :

लान्चा फल्चा क्षेत्रमा बजार अनुगमन

भक्तपुर, २७ पुस । भक्तपुर नगरपालिकाले सोमबार भक्तपुर कमलविनायकस्थित लान्चा फल्चा क्षेत्रमा बजार अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक एवम् वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार लान्चा फल्चास्थित २५ वटा पसल अनुगमन भएकोमा अधिकांश पसल बिनादर्ता सञ्चालन भएको र दर्ता भएको पनि नवीकरण नभएको पाइएको छ ।
पसल व्यवसायीहरूले सरसफाइमा ध्यान नदिएको, दर्ता नगरेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, दर्ता प्रमाणपत्र ग्राहकले देख्ने गरी नराखेको, औषधि पसलको हकमा पसलमा बस्ने व्यक्ति औषधि व्यवस्था विभाग वा फर्मेसीको अनुमति प्राप्तमात्र बस्नुपर्नेजस्ता सुधार गर्नुपर्ने अवस्था रहेको अनुगमन समितिले जनाएको छ ।
सो क्रममा म्याद नाघेका सामानहरू गुड डे बिस्कुट १ पाकेट, डार्क प्लिजर बिस्कुट ५ पाकेट, उत्सव पाउरोटी २ वटा, जम्बो पाउरोटी २ वटा, ज्ञान आँटा १ पाकेट, बम पाउरोटी २ पाकेट जफत गरी नष्ट गरियो ।
अनुगमनमा अनुगमन समितिका सदस्यहरू वडाध्यक्ष हरिराम सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर उपशाखाका न्हुज किजू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक कुमारी रानामगर, उद्योग वाणिज्य सङ्घका राजुमान बज्राचार्य, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सीताराम त्वायना सहभागी हुुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *