भर्खरै :

आजको चाखलाग्दो अमेरिका

संरा अमेरिकाका ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी साखलाई खरानी पारेरै छाडे । रिपब्लिकन पार्टीको इतिहासका उज्याला पक्षलाई पनि घोर अन्धकारमै धकेलेरै छोडे । त्यस्ता सन्काहा व्यक्तिलाई राष्ट्रपति पदका निम्ति आफ्नो अमूल्य मतदान गर्ने सज्जन एवम् भद्र करोडौँ मतदाता तथा समर्थकहरूले अहिले के सोचेका होलान् ! भन्ने पनि लाग्छ । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा मतदाताहरूले राम्रो चिनेका थिएनन् रे ल मत दिएपछि एकछिनलाई मानौँ । यो दोस्रो पल्टको मतदानमा पनि त्यतिका मत दिए । ट्रम्पलाई मत दिने अमेरिकी मतदाताहरूलाई के भनेर सम्मान गर्ने ! जर्ज वाशिङटन, अब्राहम लिङ्कनजस्ता व्यक्तिहरू राष्ट्रपति भएको मुलुकमा ४५ औँ राष्ट्रपतिमा कसरी जिते ट्रम्पले । फेरि एउटा कार्यकाल पार गरेपछि पनि रिपब्लिकन पार्टीले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार चयन गर्नु र त्यति धेरै मत प्राप्त गर्नु के ताजुब हो ? भन्ने लाग्छ । के अमेरिकी रिपब्लिकन पार्टीको प्रजातन्त्रको परिभाषा यही हो ? यही विधि र व्यवहारबाटै विश्व निर्देशित हुने हो ? संसारभरका जनताले अमेरिकी रिपब्लिकन पार्टीबाट यही सिक्ने हो ? यही व्यवहारबाट विश्वमा शान्ति हुने हो ? विश्वबन्धुत्व प्राप्त हुने हो ? संरा अमेरिकाको परिचय यही हो ? अब त यो प्रश्नका उत्तर ट्रम्पले दिएरमात्र पुग्दैन । ट्रम्पलाई सघाउने अमेरिकीहरू र ट्रम्पका समर्थकहरूले संसारका अर्बौँ जनतालाई जवाफ दिनु जरुरी भएको छ । संरा अमेरिकाको इज्जत, प्रतिष्ठा र सम्मान यही ट्रम्पवादको बाटोबाट प्राप्त हुने हो ? उत्तर कसले दिने ?
अभूतपूर्व परिस्थिति !
संरा अमेरिकाको इतिहास लामो पो छ त । अमेरिकी संसद् भवन क्यापिटोल हलबाहिर एकत्रित ट्रम्पका समर्थकहरूको एक हुलले सुरक्षाका निषेधहरूको उल्लङ्घन गर्दै संसद् भवनभित्र पुगी त्यहाँ भएका भौतिक सम्पत्ति भाँचकुँच ग¥यो । क्यापिटोल हल युद्धभूमिजस्तो बन्यो । ट्रम्प समर्थक भीड अराजक बन्दै गयो । हुल नै संसद् भवनभित्र पसेपछि त्यहाँ भएका सांसदहरू भागे । भाग्नेमध्ये कतिलाई सुरक्षित कोठातिर पु¥याइएको थियो भने कति जनालाई त संसद् भवन बाहिर पनि सुरक्षित उद्धार गरिएको थियो । सिनेट हलमा बन्दुकसहितका प्रदर्शनकारीहरू पसेपछि बैठक रोकियो । प्रदर्शनकारीहरूको चुरिफुरि बढ्दै गएपछि राष्ट्रपति ट्रम्पले संसदीय मतमाथिको बहसमा सहभागी उपराष्ट्रपति माइक पेन्सको आलोचना गर्दै ट्वीट गरेका थिए । यद्यपि, आफ्ना समर्थकहरूलाई शान्ति कायम गर्न आग्रह गर्दै थिए । तर, उनको कुरा कसैले पनि सुन्ने अवस्था थिएन । गोली चल्यो एक जनाको हत्या भयो । तर, अरू तीन जना पनि मारिएको समाचार प्रसार भए । एकजना प्रदर्शनकारी सिनेट सदस्यहरू बोल्ने मञ्चमा पुगेर ‘यो जीत कसको ? ट्रम्पको ! भन्ने नारा लगाए । प्रदर्शनकारीहरू तल्लो सदनमा पसी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा पुगेर वस्तुहरू भाँचकुँच गरे । सभामुखलाई भने सुरक्षाकर्मीहरूले अन्यत्रै लगी बचाए । आफ्नी आमा सुरक्षित भएको कुरा पेलोसीकी छोरीले जानकारी दिएपछि ढुक्क भए ।
असाधारण परिस्थितिमा हस्तान्तरण !
संरा अमेरिकाको सिनेट र तल्लो सदनमा भएको घटनाले विश्वलाई नै एउटा पाठ सिकाएको छ । त्यसले शासक निर्वाचन गर्दा छान्ने मान्छेहरू कति सचेत र सतर्क हुनुपर्ने रहेछ भन्ने सा¥है गम्भीर सन्देश दिएको छ । संरा अमेरिका कुनै बेला संसारलाई उज्यालो बाटो देखाउने पनि थियो । तर, आजको अझ डोनाल्ड ट्रम्पको अमेरिकाबाट के पाठ सिक्ने ? के शिक्षा लिने भन्ने सन्देश प्राप्त भएको छ । बहालवाला राष्ट्रपतिको नेतृत्वको रिपब्लिकन पार्टीले के गरेको होला ? यी घटनाबाट रिपब्लिकन पार्टीको अमेरिकी पार्टीमा के शिक्षा देला र विश्वलाई सन्देश देला ? वास्तवमा संरा अमेरिका ठट्टाबाट मात्र विश्वको प्रथम शक्ति राष्ट्र बनेको थिएन पक्कै पनि । तर, चार वर्षको रिपब्लिकन पार्टीका ट्रम्पको नेतृत्वले कति तल खसाल्यो । नयाँ राष्ट्रपतिमा डेमोक्रेटिक नेता जो बाइडेनलाई कति अप्ठेरो पर्ला अहिले आकलन गर्न पनि कम मुश्किल छैन । एउटा त निर्वाचन अगाडिदेखि सामान्यरूपमा सहजढङ्गले सत्ता हस्तान्तरण नगर्ने धम्की दिँदै नआएका होइनन् राष्ट्रपति ट्रम्पले । फेरि संसद्भित्रै आक्रमण गराएर संसारलाई नै छक्क पार्ने सारै नै नकाम गरे ट्रम्पले । अब २० तारिखमा हो नयाँ राष्ट्रपति आउने । आउँछ अब अर्को नयाँ व्यवहार । तर, सफा, स्वच्छ र निष्कलङ्कहरूबाट शक्ति हस्तान्तरण हुँदाको स्वाद कस्तो ? यहाँ त अँध्यारोबाट उज्यालोमा जानुपर्ने भो । लौ तपार्इँलाई कस्तो असजिलो भएको होला !
महाभियोग लाग्ला ?
ट्रम्पको छँदा खाँदाको ट्वीटर खाता सधैँका लागि बन्द गरिदिएको छ ट्वीटर सञ्चालक कम्पनीले । ‘एट द रेट रियल डोनाल्ड ट्रम्प’ नामको उनको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा भइसकेको छ । उनको ट्वीटबाट हिंसा फैलने खतरा भएकोले हटाइदिएको रे । हिंसा मच्चाउनेहरूलाई ट्रम्पले देशभक्त भनेपछि उनीविरुद्ध आक्रोश झन् थपिएको हो । संरा अमेरिकातिर वर्तमानमा विश्वको ध्यान आकृष्ट भएको छ । २० जनवरीमा नवनिर्वाचित राष्ट्रपति बाइडेनको सपथग्रहण समारोह हुन्छ । ट्रम्पले सो समारोह बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । यो अशिष्टता र असहयोगको पराकाष्ठा नै होइन र ? ट्रम्पका अति निकट सहयोगी रहेका उपराष्ट्रपति माइक पेन्सले पछिल्ला दिनमा परिवर्तित राजनीतिक परिस्थितिलाई स्वीकार गर्न थालेका छन् । राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणासमेत गरिसके । बाइडेनको विजय रोक्न संसद् भवनभित्र ट्रम्पका समर्थकहरूले आक्रमणसमेत गरे जुन काण्डमा संसद्भित्र र बाहिर गरी पाँच जना मारिइसके । त्यो आक्रमण ट्रम्पले उक्साएका मान्छेहरूले गरेकाले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी भइरहेको छ । ट्रम्पले राजीनामा नदिए वा संविधानको २५ औँ संशोधनबमोजिम राष्ट्रपति ट्रम्पलाई बर्खास्त नगरे डेमोक्रेटिकले महाभियोग लगाउने चेतावनी दिइसकेको छ । तर, यसबारे उपराष्ट्रपति पेन्सले प्रतिक्रिया दिएका छैनन् । सञ्चार माध्यमहरूले भने उपराष्ट्रपति पेन्सले अमेरिकी इतिहासमै नभएको संविधानको त्यो प्रावधान प्रयोग गर्दैनन् भन्न थालेका छन् । तर, भविष्यले के भन्छ प्रतिक्षा गर्नैपर्ने भएको छ । तर कौतुहल भन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *