भर्खरै :

नेकपाको आन्तरिक झगडा झन्झन् प्रस्ट हुँदै

विभिन्न पार्टीलाई फुटाउँदै र अन्य कम्युनिस्ट दलका कार्यकर्ता एवम् सांसदहरूलाई लोभलालच र मन्त्री बनाउँदै भ्यागुतो फुलेजस्तो फुलेका नेकपा गुटहरू आज अराजनीतिक गालीगलौजमा उत्रेका छन् । सिद्धान्त र नीतिका बारे मौन बसी पार्टीका नेताहरूको चरित्रको बखान गर्दै छन् ती ।
पहिले नै एमालेको महासचिव बनेका माधवकुमार नेपालले केपी शर्माओलीबारे भने – “झूटको अर्को नाम केपी ओली’, ‘घमण्ड, दन्भ, झूटको अर्को नाम दुर्योधन र भष्मासुर प्रवृत्ति केपी ओली’ ले कति बेला कसलाई भष्म गर्छन् ठेगान छैन ।” (‘नागरिक’, २६ पुस २०७७)
प्रधानमन्त्री भइसकेका, राजनीतिक समितिका सदस्य झलनाथ खनालले भने, “ओली लुकेका सर्प हुन् ।” (‘नागरिक’, २६ पुस २०७७)
पञ्चायत कालदेखि यत्तिका वर्षसम्म दलको सर्वोच्च समितिमा रहेका र पटकपटक प्रधानमन्त्री भएकाहरूले आफ्ना अध्यक्ष र प्रधानमन्त्रीलाई कसरी चिनेनन् ? नेकपाजस्तो शासक दललाई कसरी एक घमण्डी, दम्भी, झूट र सर्पजस्तो व्यक्तिले नेतृत्व प्रदान ग¥यो र शासन ग¥यो ?
ओलीको चुनावको मैदानमा चुनौती तर, केपी ओलीले पुष्पकमल दाहाल (प्रचण्ड) लाई लक्ष्य गर्दै भने, “जसलाई छोरीहरूको मतलब छ, जसलाई बुहारीको चिन्ता छ, जसलाई आफन्तको मतलब छ, … यो पार्टी सम्धीवाला पार्टी होइन । यो पार्टी छोरी–बुहारीवाला पार्टी होइन । यो पार्टी भाइ–भतिजावाला पार्टी होइन ।” (धनगढी जनसभा, ‘अन्नपूर्ण पोष्ट’, २५ पुस २०७७)
प्रम ओलीले त राष्ट्रियसभाको बैठकमा निर्वाचनको मैदानमा उत्रिन चुनौती दिए, “अहिले केपी ओलीको ग्राफ शून्यमा गए भनिएको छ तर शून्यमा गएछ कि माइनसमा गएछ निर्वाचनमा हेरौँ न !” (‘नागरिक’, २७ पुस २०७७)
संसद् विघटन गरेकोमा विरोध गर्ने विरोधीहरूले प्रम ओलीले “केही विदेशीको इसारामा नाच्ने तत्वहरूले आफूले अघिल्लो पटक संविधान जारी गरेबापत सरकार ढालेर नाकाबन्दी लगाउन सघाएको र यसपटक पनि नक्सा जारी गरेर धेरै राष्ट्रिय महत्वका काम गरेपछि बाह्य शक्तिकै इसारामा सरकार ढाल्न खोजेको” खुलासा गरे ।
उनले घोषणा गरे, “सरकारले भारत सरकारसँग स्वाभिमानी र मित्रतापूर्वक वार्ता तथा संवाद गरी नेपाली भूमि फिर्ता गरेरै छाड्नेछ ।” (‘राजधानी’ २७ पुस २०७७)
प्रम ओलीले स्थानीय सदन राष्ट्रियसभाको अधिवेशनमा संसद् विघटनको औचित्यबारे ‘बाह्य शक्तिको इसारामा देशका शक्ति गोटी बन्नु, राजनीतिलाई अस्थिरतातर्फ धकेल्न खोज्नु, प्रधानमन्त्रीलाई काम गर्न नदिनु, प्रधानमन्त्री निरीह बन्नुपर्ने स्थिति आउनुलाई स्थीरता र स्थायित्व भन्न नमिल्ने’ बताए ।
“सरकारलाई काम गर्न नदिने, सरकारका काममा बखेडा झिक्ने, जहिले पनि झमेला मात्रै खडा गर्ने गरिएकोले प्रतिनिधिसभा विघटन गर्नुपरेको” उनले बताए । संसद् विघटनभन्दा अरूलाई अध्यक्ष छाडेको भए हुन्थ्यो भन्ने तर्कलाई प्रम ओलीले उत्तर फर्काए – “के यो दान हो र कमण्डलु थाप्ने बित्तिकै छोडिदिने ? यो मोहर सिक्का हो ?” उनले भने, “यो जनताको अभिभारा हो । जोसुकैलाई सुम्पन सकिँदैन ।” (‘अन्नपूर्ण’, २७ पुस २०७७)
‘सरकारलाई काम गर्न नदिने, जहिल्यै जालझेल गर्ने र पदलोलुपको कारण अहिलेको व्यवस्था नै धरापमा पर्ने भएपछि आफूले संसद् विघटन गरेको’ बताउँदै उनले ‘६÷६ महिनामा सरकार परिवर्तन गर्ने खेल सुरु भएपछि आफूले कदम उठाउन बाध्य भएको’ पनि बताए ।
‘लोकतन्त्रमा प्रमले गरेको कुनै पनि सिफारिस राष्ट्रपतिले सदर गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकोेले उक्त निर्णय न्यायसङ्गत भएनभएको जिम्मेवारी आफूले लिने’ बताए । वास्तवमा नेपालको संविधानअनुसार राष्ट्रपति समारोही हुन् ।
प्रम ओलीले ‘चीनसँग एक घण्टाभित्र जोड्ने गरी सुरुङ मार्गको सर्वे भइरहेको बताउँदै विकास निर्माणको काम तीव्र गतिमा अगाडि बढेको देखेर आफ्नै पार्टीभित्रबाट अवरोध गरिएको’ बताए । (‘नेपाल समाचारपत्र’ २७ पुस २०७७)
यसरी प्रम ओली र उनको नेकपा निर्वाचनको निम्ति तयारीमा रहेको देखियो । हेरौँ नेकपा–माधव–प्रचण्डले के गर्ने हुन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *