भर्खरै :

नेकपाभित्रको विवाद र राजनीतिक संस्कार

“राजनीति भनेको देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु हो । राजनैतिक कार्यकर्ताहरू इमानदार, सभ्य, सुसंस्कृत र सदाचारी हुन्छन् । व्यक्तिगत सम्पत्ति र परिवारभन्दा पनि देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छन् ।” कम्युनिस्ट पार्टीहरूमा नयाँ कार्यकर्तालाई यस्तै प्रशिक्षण दिइन्छ । त्यस्ता प्रशिक्षणमा हुर्केका, बढेका कार्यकर्ता अनुशासित हुन्छन् र कठोर परिश्रम गर्छन् । त्यसैले त जनताले राजनीतिक कार्यकर्तालाई सम्मान गर्छन् । उनीहरू देश र जनताको हितको लागि आफ्नो जीवन बलिदान दिन समेत तयार हुन्छन् । ‘सादा जीवन उच्च विचार’ बोकेर उनीहरू राजनीतिलाई सेवाकै रूपमा लिने गर्छन् । यही कारण उनीहरूले जनताको विश्वास जितेका हुन्छन् । त्यही विश्वास नै उनीहरूको शक्ति हुने गर्छ ।
तर, आज समय फेरिएको छ । पँुजीवादी पार्टीका नेताहरू ‘जोगी बन्न राजनीति गरेको होइन’ भन्ने मान्यता राख्छन् । त्यस्तै भावना भएका मानिस अहिले नेकपाको नेतृत्वमा पुगेका छन् । राजनीतिमा गलत मानिसको प्रवेशसँगै राजनीतिलाई व्यापारमा रूपान्तरण गरियो । निर्वाचनमा करोडौँ लगानी गर्ने, पाँच वर्षमा त्यसको सावाँ ब्याजमात्रै होइन अर्को चुनाव जित्न पनि अकुत सम्पत्ति जम्मा गर्ने गरियो । नेपालको राजनीतिमा विकृति, विसङ्गति आउनु र जनतामा राजनीतिप्रति वितृष्णा हुनाका मुख्य कारण यही नै हो ।
अहिले नेकपाको विभाजन औपचारिकरूपमा भइसकेको छैन तर व्यावहारिकरूपमा ओली समूह र प्रचण्ड–नेपाल समूह अलग भइसकेका छन् । पार्टीका शीर्ष नेताहरूदेखि कार्यकर्तासम्म एकले अर्कोको ‘भण्डाफोर’ गर्दै छन् । ती दुई समूहबीच कुनै सैद्धान्तिक र वैचारिक विवाद होइन, पद र पैसाकै निम्ति झगडा भइरहेको छ । तिनीहरू जुलुसहरूमा शीर्ष नेतादेखि राष्ट्रपतिसम्मलाई विभिन्न अपशब्द प्रयोग गर्दै अराजनैतिक ढङ्गले प्रस्तुत भइरहेका छन् ।
प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई लक्षित गर्दै ‘बत्ती निभाएर मतपत्र च्यात्ने, नातागोताहरूलाई सुटुक्क पदमा पु¥याउने’ आरोप लगाए भने प्रचण्डले ओलीलाई ‘जालीझेली, सेटिङमा चल्ने, निरङ्कुश, तानाशाही’ भएको बताए । यदि ती आरोपहरू सत्य हुन् भने किन त्यस्ता व्यक्तिहरूलाई नेकपाको नेता बनाइयो ? नेकपाका अन्य नेता कार्यकर्ताहरू त्यसको निम्ति जिम्मेवार छन् कि छैनन् ? पार्टीका सामान्य कार्यकर्ता वा विद्यार्थी नेताले यस्तो आरोप लगाएको भए अर्कै कुरा हो तर ओली नेकपाका अध्यक्ष र बहालवाला प्रधानमन्त्री हुन् भने प्रचण्ड दुई पटक देशको प्रधानमन्त्री भइसकेका र नेकपाका अर्का अध्यक्षसमेत हुन् । देश हाँक्ने नेताहरूको यस प्रकारको निम्नस्तरको गालीगलौजको अभिव्यक्तिले राजनीतिकर्मीहरूलाई लज्जाबोध भएकै हुनुपर्छ । नेताहरूका यस्ता व्यवहारले भर्खर राजनीतिमा पाइला टेकेका नयाँ पुस्ताका कार्यकर्तामा निराशा र राजनीतिप्रति नै वितृष्णा ल्याउनेछ ।
राजनीतिमा अन्तरविरोधहरू हुन्छन् । विचार र सिद्धान्तमा हुने अन्तरविरोधले पार्टीलाई अझ बलियो बनाउन सहयोग पु¥याउँछ । तर, नेकपाको झगडा ओली र प्रचण्ड–माधव गुटको व्यक्तिगत झगडा जस्तै भएको छ । अत्यन्त निम्नस्तरका शब्दहरूको प्रयोग गर्दै गालीगलौजको तहमा उत्रनु राजनैतिक संस्कार होइन, हुन सक्दैन ।
पुरानो पुस्ताले गरेको त्याग, तपस्या र बलिदानलाई हेरेर नयाँ पुस्ता अगाडि बढ्ने गर्छ । गुरुले जे सिकाउँछ त्यही कुरा विद्यार्थीले सिक्छन् । त्यसैले भन्ने चलन छ –‘सिस्नु रोपेर तुल्सी उम्रिँदैन ।’ आज नेकपाका नेताहरू आफ्ना सबै कार्यकर्तालाई गलत राजनैतिक संस्कार सिकाउँदै छन् । अब गालीगलौजको तहबाट एकले अर्कोमाथि भौतिक आक्रमणसम्म हुनसक्ने सम्भावना बढेको छ किनभने तर्कहीनहरू पशुबल प्रयोग गर्छन् ।
बाग्लुङमा आयोजित सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बागुरुङले प्रचण्ड–माधव नेपाललाई ‘भारतीय दलाल’ भएको आरोप लगाए भने प्रचण्ड गुटका कार्यकर्ताहरूले आफ्नै पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कालो झन्डा देखाउँदै आक्रमणको प्रयास गरे र पोखरेलविरुद्ध चर्काे नाराबाजीसमेत गरे । एउटै पार्टीभित्र एकले अर्को पक्षविरुद्ध नाराबाजी, ढुङ्गामुढा हुन थाल्यो भने देशको राजनीति के होला ? यस्ता गतिविधिबाट नयाँ पुस्ताले कस्तो संस्कार सिक्लान् ?
भारतीय विस्तारवाद नेपालमा राजनैतिक स्थायित्व चाहँदैन । २०४६ सालपछि नेका नेतृत्वमा बहुमतको सरकार बन्यो । नेकाबीच फुट भयो र मध्यावधि निर्वाचन गरियो । पछि एमालेलाई नेकाको प्रतिद्वन्द्वीको रूपमा विकास गरियो । २०५२ सालदेखि सशस्त्र सङ्घर्ष गर्ने ‘माओवादी’ लाई सरकारमा पु¥याइयो । यी सबै काममा भारतको हात थियो भन्ने कुरा घामझँै छर्लङ्ग भइसकेको छ । भारतले नेपालमा समाजवादी क्रान्ति होस् भनेर माओवादीलाई सहयोग गरेको थिएन । ऊ नेपालमा कठपुतली सरकार बनोस् भन्ने चाहन्छ ।
वास्तवमा नेकपाभित्र दुई जना अध्यक्ष बनाउनु नै झगडाको बिउ थियो भन्ने बुझ्न सकिन्छ । जुनसुकै बेला पार्टी फुटाउन मिल्ने गरी भारतकै निर्देशनमा एउटै पार्टीमा दुइ जना अध्यक्ष राखेको त होइन भन्ने प्रश्न पनि उठेको छ । कुनै पनि पार्टीमा विधानबमोजिम एकैजनामात्र अध्यक्ष वा महासचिव वा प्रमुख हुने गर्दछ । तर, नेकपाभित्र बराबरी हैसियतका दुई जना अध्यक्ष राख्ने व्यवस्था गरियो । आश्चर्यको कुरा, त्यसलाई निर्वाचन आयोगले समेत स्वीकृति दियो । निर्वाचन आयोगले दल दर्ता ऐनअनुसार अध्यक्ष वा महासचिव मात्रै व्यवस्था गरेको भए सायद नेकपाभित्र आजको जस्तो भद्रगोलको स्थिति आउने थिएन कि ! प्रतिनिधिसभा विघटन एउटा राजनैतिक घटना हो । न यो पहिलो हो न अन्तिम नै ! राजनीतिमा यस्ता घटना भइरहन्छन् । त्यो संविधानसम्मत छ वा छैन सर्वोच्च अदालतले त्यसको छिनोफानो गर्ने नै छ । तर, अदालतमा विचाराधीन मुद्दाबारे संसद्मा समेत प्रश्न उठाउन नपाइने व्यवस्था हुँदाहुँदै राजनैतिक दलका नेताहरूले मात्रै होइन सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरू समेत संयुक्त वक्तव्य निकालेर अदालतलाई प्रभावित पार्न खोज्दै छन् । यो स्वतन्त्र न्यायपालिकाको अवधारणाविपरीत छ ।
विश्वविद्यालयका उपकुलपति, डीन, रेक्टर, प्राध्यापक, सचिव, विभाग प्रमुखहरू र न्यायाधीशहरू समेत भागबण्डामा नियुक्त हुने गरेका छन् । भागबण्डामा नियुक्त न्यायाधीशहरूले कसरी स्वतन्त्र र निष्पक्ष न्याय दिन सक्छन् ? सत्तापक्ष प्रतिपक्षबीच भागबण्डा र पार्टीभित्र आन्तरिक भागबण्डाले कसरी देशमा राम्रो काम हुन सक्छ ! शासक दलहरू आफ्ना कार्यकर्तालाई कस्तो संस्कार सिकाउँदै छन् ?
शासक दलहरूमा भ्रष्टाचारी, गुन्डा, तस्कर, ठेकेदार, अपराधीहरूको बोलवाला हुन थालेको छ । तिनीहरू आफ्नो संरक्षणको लागि करोडौँ रुपैयाँको चन्दा दिएर शासक दलहरूमा प्रवेश गरेर बिस्तारै पार्टी कब्जा गर्दै छन् । पार्टीका शीर्ष नेताहरूलाई समेत तिनीहरूको स्वार्थबमोजिम काम गर्न बाध्य पार्दै छन् । संसद्, प्रदेशसभा र स्थानीय तहमा त्यस्ता धेरै गलत मानिस प्रवेश गरिसकेका छन् । चुनाव जित्न शासक दलका नेताहरू तिनीहरूकै शरण पर्नुपर्ने भइसकेको छ । करोडौँ रुपैयाँ खर्च गरेर चुनाव जित्न शासक दलका नेताहरूसँग पैसा कहाँबाट आउँछ ? तिनै भ्रष्टाचारी, गुन्डा, तस्कर, ठेकेदारहरूलाई संरक्षण दिएबापत प्राप्त हुने हो ! सिकारीले सिकार छाड्न सक्छ, गँजेडीले गाँजा छाड्न सक्छ, रक्सीबाजले रक्सी छाड्न सक्छतर भ्रष्टाचारी, तस्कर र ठेकेदारहरूसँग गुप्तरूपमा पैसा लिन पल्केका पँुजीवादी दलका नेताहरू त्यसलाई त्याग्न सक्दैनन् । त्यसैको परिणाम हो राजनीतिमा देखिएको आजका विकृति ।
आजका नयाँ पुस्ता भोलिको देश हाँक्ने खम्बा हुन् । ‘देश र जनताको सेवा गर्नेभन्दा पद र पैसाको प्रलोभनमा तयार गरिएका राजनैतिक कार्यकर्ताहरूबाट राम्रो कामको आशा गर्न सकिँदैन । राजनीतिक दलहरूले खराब मानिसलाई यसरी बेरोकतोक प्रवेश दिने हो भने पार्टीमात्रै होइन भोलि देश नै रहने छैन ।
समाज परिवर्तनको लागि परिवार, सम्पत्ति त्यागेर आफ्नो युवा अवस्था जेलनेल, प्रवास, भूमिगत जीवन बिताएर देशमा राजनैतिक परिवर्तन ल्याउन भूमिका खेलेका थुप्रै व्यक्तिहरू अहिले गुमनाम छन् । राजनीतिमा लागेको कारण कैयौँ परिवारले अहिले पनि दुःख पाइरहेका छन् । ती दुःखी मनहरूले आजका राजनीतिकर्मीको व्यवहारलाई हेरेर के सोच्दा हुन् !?
संसद् विघटन भएर खास फरक पर्दैन । फेरि चुनाव हुन्छ र नयाँ संसद् बन्छ । तर, नयाँ पुस्तालाई राजनीतिक संस्कार सिकाइएन भने त्यसले देश र जनतालाई दीर्घकालीन असर पार्नेछ । यसबारे सबै सचेत हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *