भर्खरै :

संसद् विघटनपछि मात्रै ओली कम्युनिस्टविरोधी !

नेकपाको नेतृत्व गर्ने केपी ओली कुनै हालतमा कम्युनिस्ट होइनन् भनी नेकपाकै नेताहरूले धक नमानी फुकेका छन् । प्रश्न उठ्छ, के केपी ओली संसद् विघटन भएपछि मात्रै कम्युनिस्ट नभएका हुन् ? संसद् विघटन अघिसम्म के उनी कम्युनिस्ट चरित्रका नेता हुन् ? यदि कसैले यो ठम्याइ राख्छ भने त्यो भूल हुनेछ । नेता ओली पहिले कम्युनिस्ट र अहिलेमात्रै कम्युनिस्टविरोधी, सङ्घीय गणतन्त्रविरोधी, स्वेच्छाचारी, तानाशाही, घमण्डी देख्नु नेकपाका नेताहरूको दृष्टिदोष हो । केपी ओलीमा कम्युनिस्टको गुण या चरित्र पहिले पनि थिएन, अहिले पनि छैन । पहिलेको एमाले कम्युनिस्ट होइन भन्ने कुरा नेमकिपाले उहिल्यै भनेको थियो । त्यो कुरा अहिले झन् पुष्टि भएको छ ।
एमाले, माओवादी या नेकपा कम्युनिस्ट मूल्य र मान्यताअनुसार अघि नबढेपछि नेकपाभित्रका सच्चा कम्युनिस्टहरूले उहिले नै खबरदारी गर्नुपर्ने हो । नेकपाका शीर्ष नेताहरू ओली, दाहाल र नेपालले जे निर्णय गरे पनि, जे बोले पनि चुप लागेर बस्दाको कारण नेकपाको जग भत्केको हो । नेकपाका नेताहरूले अब शिक्षा लिनुपर्छ, विगतको समीक्षा गर्नुपर्छ । नेतृत्व पक्ष गलत बाटोमा लाग्ने बित्तिकै या गलत बाटोमा लागेपछि सच्चा नेताहरूले सत्य र न्यायको लागि समयमै आवाज उठाउन नसक्नाको कारण यो दुर्घटना निम्तिएकोमा आश्चर्य छैन । एमालेको नेतृत्व पक्षले कम्युनिस्टको नाउँ जोडेर, कम्युनिस्टको खोल ओढेर पहिले नै कम्युनिस्टकोे सिद्धान्त र मार्ग छोडेर नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीलाई धोका दिएको थियो ।
संसद् विघटन गरेको झोकमा, आफूले मागेअनुसार पद नदिएको रिसमा ओली र ओली पक्षधर नेताहरू कम्युनिस्ट होइनन् भनेर आफूहरू कसरी सद्दे हुन्छन् ? ओली पक्षधर नेताहरू कम्युनिस्ट होइनन् भन्ने पक्षले आफू सच्चा कम्युनिस्ट भएर देखाउनुपर्छ । ओलीको कार्यशैलीको विरोध गर्दैमा दाहाल–नेपाल पक्षधर नेताहरू कसरी सच्चा कम्युनिस्ट हुन्छन् ? दाहाल–नेपाल पक्षधर नेताहरू सत्ताको भागबन्डामा लागेकोमा शङ्का छैन । ओलीलाई पदच्युत गराएर आफू पदमा पुग्ने चाहना के सत्ता स्वार्थ होइन ? अहिले प्रदेश सरकारमा भइरहेको गतिविधिले पनि दाहाल–नेपाल पक्षको स्वार्थ सत्ताको भागबन्डा होइन कसरी भन्ने ?
दल एक भएसम्म नेकपाका नेताहरू कम्युनिस्ट र दल विभाजित भएपछि कम्युनिस्टविरोधी देख्नु दृष्टिदोषमात्र होइन, यो नेकपा नेताहरूको कमजोरी पनि हो । यसले नेकपाका नेताहरू दूरदर्शी नभएको स्पष्ट गर्छ । यो नेकपाका नेताहरूको अवसरवादी चिन्तन हो । अससरवादी चिन्तनका नेताहरूले पछिको हेर्दैनन्, सोच्दैनन् । त्यस्ता नेताहरू भएको दलले देश समृद्ध बनाउँदैन, कम्युनिस्ट आन्दोलन अघि बढाउँदैन, कम्युनिस्ट पार्टी बलियो बनाएर आमूल परिवर्तन गर्दैन, गरिरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *