भर्खरै :

काठमाडौँमा ‘श्रमिक’ र ‘मजदुर’ को अन्तरक्रिया

काठमाडौँ, २ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसकोे अवसरमा शुक्रबार नेमकिपा काठमाडौँ महानगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको अन्तरक्रिया सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक नेमकिपाको दर्शन, सिद्धान्त र विचारबाट निर्देशित आस्थाको पत्रिका भएको र यसमा प्रकाशन हुने राजनीतिशास्त्र, अर्थशास्त्र, पत्रकारिता, समाजशास्त्र, अन्तर्राष्ट्रिय विषयका लेखहरू स्नातकोत्तर र पीएचडीको शोधकार्यको लागि उपयोगी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक मजदुर, किसान र कामदार वर्गको राजनीतिक चेतनास्तर उठाउने पाठ्यसामग्री हुन् । यसले सामाजिक स्वामित्व, शोषणको विरोध, शिक्षा र स्वास्थ्य निःशुल्क आदि विषयलाई जोड दिँदै आएको छ ।”
“नेमकिपाको स्थापनाको आधार किसान आन्दोलन, भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवादको विरोध, प्रतिक्रियावादी सङ्घ–संस्थामा गएर देश र जनताको सेवा गर्न निर्वाचनलाई उपयोग गर्ने, वर्गीय मुक्तिलाई जोड दिने, सर्वहारा अन्तर्राष्ट्रवादी भावना कायम गर्ने, साम्राज्यवाद र सामाजिक–साम्राज्यवादको विरोध गर्नु हो”, सचिव सुवालले स्पष्ट पार्नुभयो ।
निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भएको हुँदा ताजा जनादेश लिन प्रतिनिधिसभा विघटन औचित्यपूर्ण भएको धारणा राख्दै उहाँले एमालेप्रति नेमकिपाको सैद्धान्तिक आलोचना यथावत रहको र माओवादी भारतको ट्रोजन हर्स भएको बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “निर्वाचनमा सामान र पैसा बाँडेर, भोज–भतेर खुवाएर झूटा आश्वासन दिएका र सरकारमा गएर भ्रष्टाचार गरेका पार्टीहरूलाई अब जनताले अनुमोदन गर्नेछैनन् । ”
उहाँले भ्रष्टाचार नियन्त्रण गरिए निर्वाचन खर्चभन्दा दश गुणा बचत हुने बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “संवैधानिक आयोगका मुख्य–मुख्य पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरू सम्बन्धित क्षेत्रमा निर्वाचन गरी नियुक्ति गरिए स्वच्छ निर्वाचन र भ्रष्टाचारीमाथि कारबाही गर्न मद्दत पुग्नेछ ।”
सचिव सुवालले भन्नुभयो, “सरकारहरूबाट देशको सन्तुलित विकास नगरिएकोले काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको विनाश, प्रदूषणको खतरा, खानेपानीको अभाव आदि समस्या देखिएको हो । जलस्रोतको धनी देश नेपालमा ७५० मेघावाट जलविद्युत् भारतसँग महँगोमा खरिद गर्नु सरकारहरूको गलत नीति हो ।”
पार्टीका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले ‘श्रमिक’ र ‘मजदुर’ कामदार वर्गको पत्रिका भएको चर्चा गर्दै पत्रिकाले जनतालाई सचेत र सङ्गठित गर्ने काम गरिरहेको छ भन्नुभयो । नेमकिपा काठमाडौं महानगर समितिका अध्यक्ष सुरेन्द्र महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रा. आशाकाजी महर्जन, विशोक डंगोल, मीना डंगोल, श्यामकुमार महर्जन, सुरज मालाकार, मदन श्रेष्ठ, शान्त महर्जन, अशोक महर्जन, चन्देश्वरी महर्जन, नरेश महर्जन, राजवीर डंगोल, सानुकाजी महर्जनलगायतले श्रमिक साप्ताहिक र मजदुर दैनिक पत्रिकामा प्रकाशित विभिन्न सामग्रीबारे आफ्ना विचार राख्नुभएको थियो । कार्यक्रममा एकीकृत ब्यान्डका कलाकारहरूले धुन र यशुमती महर्जनले गीत प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *