भर्खरै :

नेपाल – भारतबीच सीमाङ्कन गर्न बाँकी काम यथाशीघ्र थाल्ने सहमति

काठमाडौँ, ३ माघ । झन्डै छ दशकदेखि समस्याको मुख्य जडको रूपमा रहेको सीमासम्बन्धी विषय टुङ्ग्याउन दुवै देशका उच्च अधिकारी राजनीतिक तहमा वार्ता गर्न तथा द्विपक्षीय संयन्त्रका बैठक समानान्तर ढङ्गले अघि बढाउन सहमत भएका छन् । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा शुक्रबार अपराह्न भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ सहमति भएको सम्बद्ध अधिकारीले बताएका छन् । “सीमाङ्कन गर्न बाँकी काम यथाशीघ्र थाल्ने, राजनीतिक तहका वार्ता र द्विपक्षीय संयन्त्रका बैठकहरू पनि सँगसँगै अघि बढाउने सहमति भएको छ”, नयाँदिल्लीबाट शनिबार साँझ फर्केपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ भन्नुभयो ।
स्वदेश फर्कनुअघि भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भएको भेटवार्तामा द्विपक्षीय प्रतिरक्षा सहयोग, दुवै देशका सेनाबीचको सहकार्य र साझेदारीका साथै विपद् व्यवस्थापनमा दुवै राष्ट्रिय सैन्यबीच अझ घनीभूत कार्यगत एकता हुनुपर्नेमा जोड दिइएको मन्त्री ज्ञवालीले बताउनुभयो ।
दार्चुला जिल्लाको छाङ्रुलाई सडक सञ्जालबाट जोड्न नेपाली सेनाले थालेको काममा भारतीय पक्षबाट भइरहेको अवरोधको अन्त्य गर्नेतर्फ रक्षामन्त्रीको ध्यानाकर्षण गराइएको तथा दुवै देशका सेनाबीच आपसी समन्वयमा आवश्यक प्रक्रिया प्रारम्भ भएको जानकारी उहाँले एक जिज्ञासाको जवाफमा दिनुभयो ।
संयुक्त आयोगको बैठकमा राजनीतिक सुरक्षा तथा सीमा, सम्पर्क सञ्जाल र पूर्वाधार एवं आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, र संस्कृति, पर्यटन तथा शिक्षा गरी मुख्यतः पाँच समूहअन्तर्गत आपसी सहयोगका विविध पक्षमा समष्टिगत समीक्षा गर्दै द्विपक्षीय सहयोग प्रवद्र्धन गर्ने सहमति भएको जानकारी पनि उहाँले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *