भर्खरै :

नेपालमा पनि अक्सफोर्ड – अस्ट्राजेनेका खोप प्रयोगको अनुमति

काठमाडौँ, ३ माघ । कोभिड–१९ विरूद्ध संसारका विभिन्न देशमा खोप अभियान आरम्भ भएको छ । नेपालका दुई छिमेकीमध्ये चीनले खोप अभियानलाई देशैभरि व्यापकता दिइरहेको छ भने भारतले पनि यसै साताबाट खोप अभियान थाल्दै छ । चीनले आफ्नै देशमा बनेको साइनोभ्याक्स नामको खोपको प्रयोग गरिरहेको छ भने भारतले अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनाकाले बनाएको खोपको प्रयोग गर्ने भएको छ ।
यसैबीच नेपालले भारतमा प्रयोग गरिएको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका औषधि कम्पनीले उत्पादन गरेको खोपलाई प्रयोगको अनुमति दिएको छ । अक्सफोर्ड र अस्ट्राजेनेकासँगको सहकार्यमा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोरोना खोपलाई नेपालले प्रयोग गर्न अनुमति दिएको हो । सो इन्स्टिच्युटले विकास गरेको ‘कोभासिल्ड’ खोपलाई नेपालमा आपत्कालीन प्रयोग गर्न औषधि व्यवस्था विभागले शुक्रबार अनुमति दिएको हो । ‘कोभासिल्ड’ खोप कोभिड–१९ विरूद्ध नेपालमा प्रयोग अनुमति प्राप्त गर्ने पहिलो खोप बनेको छ । ‘खोप खरिद प्रक्रिया अगाडि बढाउन आपत्कालीन प्रयोग अनुमति आवश्यक रहेकोले यो खोपलाई अनुमोदन गरिएको हो,” विभागका प्रवक्ता तथा वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भन्नुभयो ।
विभागले गत बुधबार एक सूचना प्रकाशन गरी ‘विश्व स्वास्थ्य सङ्गठनमा सूचिकृत भएका वा सम्बन्धित मुलुकको नियामक निकायले दर्ता गरेका वा त्यस्ता निकायले अनुमति प्रदान गरेका खोपको उत्पादक सूचीकरण र खोपको आपत्कालीन प्रयोगको दर्ता गर्ने प्रयोजनका लागि सम्बन्धित उत्पादक तथा आयातकर्तालाई विभागमा आवेदन दिन आह्वान गरेको थियो ।
प्रवक्ता केसीले सरकारले हालै जारी गरेको औषधि तथा खोपको आपत्कालीन प्रयोगसम्बन्धी संहिता २०७७ र कोभिड–१९ विरूद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोगसम्बन्धी अवधारणाअनुरूप कोभासिल्डलाई आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति दिइएको बताउनुभयो । उहाँले तोकिएका आधारहरू पूरा गर्ने अन्य खोपलाई पनि अनुमति दिइने बताउनुभयो । नेपालमा आपत्कालीन प्रयोजनका लागि औषधि तथा खोप खरिदको व्यवस्था नभएकोले त्यसलाई सहज पार्न औषधि ऐन २०३५ लाई अध्यादेशमार्फत मंसिरको पहिलो साता तेस्रो संशोधन गरिएको थियो । संशोधित व्यवस्थाले कोभिड–१९ विरूद्धको खोप ल्याउन सहज पारेको छ ।
नेपालले खोप खरिद गर्दा मागेको मात्रामा खोप उपलब्ध गराउन सक्ने, सुपथ मूल्यमा उपलब्ध हुने, २ देखि ८ डिग्री सेन्टिग्रेड तथा माइनस २० डिग्री सेन्टिग्रेड तापक्रमको चिस्यानमा राख्न सकिने तथा जुन देशमा उत्पादन भएको हो, त्यही देशमा प्रयोग भएको खोप हुनुपर्नेजस्ता आधार तय गरेको छ ।
यी आधारमध्ये सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोप २ देखि ८ डिग्री तापक्रमको चिस्यानमा राख्न सकिने भएकोले ग्रामीण क्षेत्रमा पनि पु¥याउन सहज हुने मानिएको छ । यसैगरी तुलनात्मक हिसाबले कोभासिल्ड अन्य खोपभन्दा सस्तो छ । भारत सरकारलाई सेरमले तीन अमेरिकी डलरमा कोभासिल्ड खोप उपलब्ध गराउने भएको छ ।
नेपालले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीलगायत सामाजिक दुरी कायम गर्न कठिन हुने क्षेत्रमा कार्यरत जनशक्तिलाई प्राथमिकताको पहिलो चरणमा राखेर खोप अभियान अगाडि बढाउने तयारी गरेको छ । हाल सरकारले खोपका लागि प्राथमिकतामा परेका क्षेत्रका मानिसको सूची सङ्कलन गरिरहेको छ । १४ वर्षसम्मका बालबालिकाबाहेक ७२ प्रतिशत जनसङ्ख्यालाई २ वर्षभित्र निःशुल्क खोप उपलब्ध गराउने सरकारी तयारी छ । खोपका लागि ४५ देखि ४८ अर्ब रूपैयाँ खर्च लाग्ने सरकारी अनुमान छ ।
गत मङ्गलबार स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरूद्धको खोप खरिदका लागि कोरोना खोप कोषमा सहयोग गर्न दाताहरूलाई सार्वजनिक आह्वान गरेको थियो । विश्व स्वास्थ्य सङ्गठन, सेपी र गाभीको संयुक्त प्रयासमा स्थापना गरिएको कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा कुल जनसङ्ख्याको २० प्रतिशतलाई मात्र खोप उपलब्ध हुने अपेक्षा गरिएको छ ।
यसैबीच भारतको राजधानी नयाँदिल्लीमा भइरहेको छैटौँ नेपाल–भारत ज्वाइन्ट कमिसन बैठकमा कोभिड–१९ विरूद्ध गरेको दुवै राष्ट्रको सहकार्यलाई प्रशंसा गरिएको छ । नेपाल र भारतका परराष्ट्रमन्त्री सहभागी बैठकमा कोभासिल्ड र कोभ्याक्सिन खोप विकासमा भारतले गरेको प्रगतिको नेपालले प्रशंसा गरेको र यथाशीघ्र नेपाललाई खोप उपलब्ध गराउन सहयोग गर्न अनुरोध गरेको भारतीय परराष्ट्र मन्त्रालयले शुक्रबार जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *