भर्खरै :

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

नयाँ दिल्ली, १६ जनवरी (एएनआई) । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गर्नुभएको हो । यस अभियानलाई विश्वकै सबैभन्दा ठूलो खोप अभियान भनिएको छ ।
अभियानअन्तर्गत सबैभन्दा पहिला कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिएकाहरूलाई खोप लगाउने मापदण्ड बनाइएको छ ।
अग्रपङ्क्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झन्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ । खोप लगाउनका लागि देशभरि तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सबै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् । आज पहिलो दिन हरेक खोप केन्द्रमा सय जनाको दरले खोप लगाउन सक्ने जनाइएको छ ।
खोपका लागि एकीकृत बाल विकास सेवाका कर्मचारीसहित सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मीहरूलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखिएको छ । दैनिक बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनले जानकारी दिनुभयो । उहाँले कोरोनाविरुद्धको खोप अभियान सुरु हुनुलाई ‘कोरोनाको अन्त्य नै सुरु भएको’ रूपमा लिनुभएको छ ।
अर्को चरणमा ५० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई मात्रै खोप दिइने मापदण्ड बनाइएको सरकारी अधिकारीहरूले जनाएका छन् । वृद्धवृद्धाहरू कोरोना भाइरसबाट सङ्क्रमणको उच्च जोखिम हुने र सङ्क्रमित भइसकेपछि जित्न पनि गाह्रो हुने भएकाले उनीहरूलाई प्राथमिकतामा राखिएको उनीहरूले जनाएका छन् ।
उमेरले ५० वर्षभन्दा कम भएकाहरू पनि गम्भीर अवस्थाका बिरामी छन् भने पनि उनीहरूलाई खोप लगाइने मापदण्डमा उल्लेख छ ।
भारतमा दुई प्रकारका खोप लगाउनका लागि सरकारले अनुमति दिएको छ । यही ३ जनवरीमा खोप लगाउन अनुमति दिने निर्णय सरकारले गरेको थियो । भारत बायोटेकले बनाएको कोभ्याक्सीन र अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्राजेनेका कम्पनीले बनाएको कोभिशिल्ड प्रयोग गर्न सरकारले अनुमति दिएको हो ।
खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारीविरुद्धको सङ्क्रमण भारतीयहरू एकताबद्ध भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको बताउनुभयो ।
“यति धेरै जनसङ्ख्या भएको भारतमा महामारीका समयमा मानिसहरूले स्वास्थ्य मापदण्ड अपनाउँदा क्षति कम भएको छ । एक करोडभन्दा बढी मानिसहरूले महामारीसँग लडेका छन् र जितेका छन् । अन्य मुलुकभन्दा भारतमा महामारीको प्रभाव निकै न्युन छ” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *