भर्खरै :

कङ्गोले सम्झ्यो पेट्रिस लुमुम्बा

किनशासा, १८ जनवरी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो सरकारले कङ्गोको स्वतन्त्रता आन्दोलनका नायक पेट्रिस लुमुम्बाको स्मरण गरेको छ । राजधानी किनशासास्थित लुमुम्बाको स्मारकमा आयोजित समारोहमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोका राष्ट्रपति शिशेकेदीले स्वतन्त्रता आन्दोलनका नेताप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । लुमुम्बाको हत्या भएको ६० औँ वर्षको सन्दर्भमा सो श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।
सन् १९६० मा बेल्जियमबाट स्वतन्त्र भएपछि भएको पहिलो प्रजातान्त्रिक निर्वाचनमा लुमुम्बा प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । निर्वाचित भएको तीन महिनामा नै उनलाई सत्ताच्युत गरी हत्या गरिएको थियो ।
सन् १९६१ को जनवरी १७ मा कातागन पृथकतावादी र बेल्जियमका भाडाका सिपाहीहरूले लुमुम्बाको हत्या गरी लास एसिडमा डुबाइएका थिए । एसिडमै नष्ट भएकोले कारण उनको लास सधैँको लागि नष्ट भएको थियो । बेल्जियमको एक जना प्रहरीले लुमुम्बाको एउटा दाँत भने फेला पारेको थियो । लास एसिडमा डुबाउने क्रममा सो दाँत निक्लेको बताइएको छ ।
गत महिना राष्ट्रपति शिशेकेदीले आगामी जुन ३० को स्वतन्त्र दिवसको दिन बेल्जियमले लुमुम्बाको सो दाँत उनको परिवारलाई बुझाउने घोषणा गरेका थिए ।
लुमुम्बाकी छोरी जुलियाना लुमुम्बाले गत वर्ष बेल्जियमका राजा फिलिपलाई आफ्नो बुवाको सो अवशेष फिर्ता गर्न अनुरोध गरेकी थिइन् । कङ्गोका विख्यात स्त्रीरोग विशेषज्ञ र सन् २०१८ को नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगेले पनि लुमुम्बाप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘इतिहासकै सबभन्दा महान नायकमध्ये एक जना’ भएको बताए ।
“लुमुम्बा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको स्वतन्त्रता र सार्वभौमिकताको लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्ध व्यक्तित्व हुनुहुन्छ”, आफ्नो ट्वीटरमा उनले भने,“उनी युवाहरूका लागि साहसका आदर्श हुनुहुन्छ ।”
कङ्गोको स्वतन्त्रतापश्चात् छोटो समय प्रधानमन्त्री बनेपछि लुमुम्बा पदच्युत गरिएका थिए । उनलाई कातागन पृथकतावादी र भाडाका सिपाहींहरूले हत्या गरेको बताइए पनि उनका समर्थक र केही इतिहासकारहरूले हत्यामा अमेरिकी केन्द्रीय गुप्तचर विभाग–सीआईएको संलग्नता भएको बताउँदै आएका छन् ।
सन् २००१ मा बेल्जियमको एउटा संसदीय समितिले लुमुम्बाको हत्यामा बेल्जियम नैतिकरूपमा जिम्मेवार भएको स्वीकारेको थियो । सन् २०१२ मा ब्रसेल्सको एउटा पुनरावेदन अदालतले अझ अघि बढेर लुमुम्बाको हत्या युद्ध अपराध भएको फैसला गरेको थियो ।
लुमुम्बाका छोरा फ्रानकोइस लुमुम्बाको तर्फबाट सन् २०११ मा दर्ता भएको युद्धअपराधसम्बन्धी मुद्दा अन्तिम चरणमा पुगेको वकिल क्रिस्टोफर मर्चन्दले भने ।
“लुमुम्बाको हत्याको योजना बेल्जिमेलीले बनाएको थियो र हत्या पनि बेल्जिमेलीबाट नै भएको थियो”, कङ्गोका इतिहासकार गुइलामे कोङ्गोलोले हालै खुला गरिएको अभिलेखालाई उद्धृत गर्दै भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *