भर्खरै :

भिजन थेरापी (Vision Therapy) मार्फत अल्छी आँखाको उपचार कसरी गर्नसकिन्छ ?

आँखाका विभिन्न समस्याहरूमध्ये अल्छी आँखा पनि एक हो । आँखामा कुनै पनि प्याथोलोजिकल खराबी नभई आँखाको देख्न सक्ने क्षमतामा कमी हुनुलाई नै अल्छी आँखा भनिन्छ । यस समस्यालाई चिकित्सकीय भाषामा Amblyopio भनिन्छ । अल्छी आँखा विशेषगरी बाल्यकालमै देखिने हुनाले बालबालिकाले आफूलाई भएको समस्या व्यक्त गर्नसक्दैनन् । धेरैजसो बालबालिकालाई त आफ्नो आँखाको दृष्टि कम छ भन्नेसम्म थाहा हुँदैन । अधिकांश अभिभावकहरूलाई यस समस्याबारे जानकारी नभएको देखिन्छ । आँखाको अन्य समस्यामा जस्तै, झट्ट हेर्दा आँखा रातो हुने, आँसु बग्ने र दुख्ने, पोल्नेजस्ता कुनै लक्षणहरू नहुने भएकाले सर्वसाधारणलाई अल्छी आँखाको बारेमा ज्ञान नभएको देखिन्छ ।
कतिपय मानिसले अल्छी आँखाको बारेमा सुनेको भए तापनि यसबारे उनीहरूको बुझाइ फरक पाइन्छ । बिहान उठ्दा आँखा खोल्न गा¥हो हुने, पढ्ने बेलामा हाई आउने, आँखा झुमझुम हुनेजस्ता लक्षणहरू भएमा अल्छी आँखा भएको हो कि भन्ने बुझाइ पाइन्छ तर वास्तवमा अल्छी आँखा फरक समस्या हो ।
अल्छी आँखा विभिन्न कारणले हुनसक्दछ जस्तैः
-जन्मजातै एक वा दुवै आँखामा पावर हुनु (Refractive error)
-जन्मजातै आँखा छड्के हुनु (Squint)
-जन्मजातै आँखाको माथिल्लो ढकनी झुकेको हुनु  । यसले गर्दा सो आँखामा पर्याप्त मात्रामा प्रकाशको किरण नपर्नु
-आँखामा कुनै किसिमको चोटपटक लाग्नु
-माथि उल्लेख गरिएका कारणहरूको मिश्रण
पूरा महिना नपुगिकन जन्मेको बच्चा, जन्मदा कम तौल भएको, परिवारमा कसैलाई अल्छी आँखाको समस्या भएमा र अन्य शारीरिक तथा मानसिक विकासमा समस्या वा विकृति भएका बालबालिकामा अल्छी आँखा हुने जोखिम अझ बढी हुन्छ ।
सन् २००६ देखि २०११ सम्म नेपाल आँखा अस्पताल, काठमाडौँमा भएकोे अनुसन्धानले ०.९ प्रतिशत विद्यालय जाने उमेरका बालबालिकामा अल्छी आँखाको समस्या रहेको पाइएको छ । त्यसैगरी, भरतपुर आँखा अस्पतालले सन् २०११ र २०१२ मा गरेको अध्ययनले १.४ प्रतिशत बालबालिकामा यो समस्या रहेको देखाएको छ । विश्वव्यापीरूपमा हेर्ने हो भने एसिया र अफ्रिकाभन्दा अमेरिका र युरोपमा अल्छी आँखाको समस्या बढी व्याप्त पाइएको छ । सन् २०१६ मा युरोपमा गरिएको एक अध्ययनले ३.६७ प्रतिशतमा यो समस्या भेटिएको छ ।
दोस्रो व्यक्तिले हेर्दा अल्छी आँखाको समस्या सजिलै पत्ता लगाउन गा¥हो हुन्छ । यो अवस्थामा बालबालिकाको एक वा दुवै आँखाले राम्रोसँग देख्न सक्दैनन् जुन बालबालिकाले व्यक्त गर्न सकिरहेका हुँदैनन् । तसर्थ, यो समस्या समयमा पहिचान गर्न सकिँदैन । अल्छी आँखाको समस्याले तत्कालै विशेष असर नगरेता पनि बच्चाको दीर्घकालीन विकास र जीवनशैलीमा नराम्रो असर पु¥याउँदछ । जस्तैः
-पढाइ लेखाइमा कठिनाइ
-खेलकुदमा समस्या
-पेशागत काममा समस्या
-कमजोर आँखाका कारण आत्मविश्वासमा कमी भई सामाजिक व्यवहारमा असर
-शारीरिक असन्तुलन
-आँखाको गहिराइ नाप्नसक्ने क्षमता मा कमी हुँदा हिँडडुल गर्न, साइकल, मोटरसाइकल तथा गाडी चलाउन आँखा हात, खुट्टा र शरीरको सन्तुलन नहुने भएकोले काम गर्न नसक्नु
यसकारण अल्छी आँखाको सही समयमै निदान गरी सही उपचार गर्न अत्यन्तै जरुरी हुन्छ । अभिभावक र विद्यालयका शिक्षक बालबालिकासँग लामो समय नजिकै रहने भएकाले उनीहरूले अल्छी आँखाको बारेमा जान्नु आवश्यक हुन्छ । यदि बालबालिकाले कुनै कुरा हेर्दा आँखा चिम्सो वा टाउको छड्के गरेर हेर्ने, पढ्ने तथा लेख्ने वस्तुहरू आँखाको धेरै नजिक लैजाने, उज्यालोमा हेर्न वा बस्न गा¥हो मान्नेजस्ता लक्षणहरू देखाएमा अल्छी आँखाको समस्या छ कि भनेर अनुमान लगाउन सकिन्छ र तुरून्तै दृष्टि विशेषज्ञसँग परामर्श लिन पर्दछ ।
साधारण मानिसको दृष्टि सफा र स्पष्ट हुन्छ जसलाई चिकित्सकीय भाषामा टरट भनेर वर्गीकरण गरिन्छ । साधारणतया मानिसको आँखामा कुनै समस्या नहुँदा सफा र स्पस्ट देख्ने मात्र नभई कुनै पनि वस्तुको आकार, प्रकार र गहिराइसमेत नाप्ने क्षमता हुन्छ र वस्तुको यथार्थ आकृति देख्न सक्छ । तर, अल्छी आँखा हुने बालबालिका वा व्यक्तिले त्यसरी वस्तुको वास्तविक आकृति देख्न सक्दैनन् ।
अल्छी आँखाको उपचार दृष्टि विशेषज्ञ मार्फत भिजन थेरापीद्वारा गर्न सकिन्छ । भिजन थेरापी एक पर्यवेक्षित विनाशल्यक्रियाको दृश्य गतिविधिहरूको अनुकुलित थेरापी होे जुन दृष्टि समस्याको सुधार गर्न बनाइएको उपचार विधि हो । अल्छी आँखाको उपचार आँखामा पट्टी लगाएर गर्ने भए तापनि, पट्टी लगाउँदा दुवै आँखाको सञ्चालनमा सहयोग नगर्ने र पट्टी लगाएर दृष्टि बढ्ने भए तापनि पछि फेरि पट्टी लगाउन बन्द गरेपछि दृष्टि कम हुन सक्दछ । भिजन थेरापीमार्फत अल्छी आँखाको उपचारका लागि विभिन्न किसिमका लेन्स, प्रिजम, फिल्टर र विभिन्न उपकरणहरूको उपयोगमार्फत दृष्टि बढाउने सँगसँगै दुवै आँखालाई सँगै कसरी सञ्चालन गर्न सकिन्छ भनेर सिकाउन मद्दत गर्दछ ।
अल्छी आँखाको उपचारमा भिजन थेरापीले निम्न क्षेत्रहरूमा सुधार गर्ने गर्दछ । जस्तैः
-दृष्टि संज्ञानात्मक सीप (Visual Cognitive skills): वस्तुको आकार बुझ्न सक्ने क्षमता वृद्घि गर्ने
-दृष्टि स्थानीक सीप (Visual integration skills):वस्तुको स्थान र दिशा बुझ्न सक्ने क्षमता वृद्घि गर्ने
-दृष्टि विश्लेषणात्मक सीप  : दृश्यको जानकारी पत्ता लगाउने, छनोट गर्ने, याद गर्ने र विश्लेषण गर्ने प्रक्रियामा वृद्घि गर्ने
-दृष्टि तथा हात, खुट्टा र शरीरको एकीकरण सीप : दृश्यसँगै शारीरिक अङ्गको प्रयोग गर्ने क्षमता वृद्घि गर्ने
-आँखाको मांसपेशीको सीप: दुवै आँखा बराबर चलाउन सक्ने क्षमता वृद्घि गर्ने
-आँखाको लेन्सद्वारा फोकस गर्ने सीप (Accommodative Skills)०ः आँखाको लेन्सद्वारा सफा र स्पस्ट देख्न सक्ने क्षमता वृद्घि गर्ने र
-दुवै आँखाको प्रयोग: दुवै आँखाले एकसाथ दृश्य देख्न सक्ने क्षमता वृद्घि गर्ने
विभिन्न अध्ययनअनुसार अल्छी आँखाको समस्या आँखामै समस्या हुनु नभई आँखा र दिमागबीचको सन्तुलन र समन्वय नमिल्दाको कारणले भएको हो भन्ने कुरा देखिएको छ । दिमागले सही वस्तुलाई सही ढङ्गले बुझ्न नसक्ने भएकोले नै दृष्टिमा कमी हुने गर्दछ । सन् १९७७ मा अमेरिकामा भएको अध्ययनले अल्छी आँखाको उपचार कुनै पनि उमेरमा गर्न सकिने निष्कर्ष निकालेको छ । न्यूरोप्लास्टिसिटी जुन मस्तिष्कमा स्नायुप्रणालीको सञ्जालको विकास र पुनस्र्थापन गर्न कुनै पनि उमेरमा हुनसक्ने अध्ययनमार्फत अल्छी आँखाको उपचार मृत्युभन्दा अघि कुनै पनि उमेरमा भिजन थेरापीद्वारा गर्न सकिन्छ ।
कुनै पनि बालबालिका वा व्यक्तिहरूमा अल्छी आँखा हुनसक्दछ । त्यसैले, हामीले बालबालिका लगायत वयष्क सबै मानिसहरूले नियमितरूपमा आँखाको जाँच तथा परामर्श अनिवार्य गर्नुपर्दछ । हामीले आफ्नो आँखा पालैपालो दायाँ र बायाँ छोपेर पनि दुवै आँखामा दृष्टि समान छ कि छैन भनेर थाहा पाउन सक्छौँ । यदि दृष्टि असमान भएको देखिए तुरून्तै आँखा जाँच गर्नुपर्दछ । यदि आँखा जचाउँदा अल्छी आँखा देखिए तुरून्तै दृष्टि विशेषज्ञको परामर्शअनुसार भिजन थेरापी पद्दतिबाट उपचार सुरु गर्नुपर्दछ ।
(लेखकद्वय रिङ्कल सुवाल बाल आँखा नाक, कान घाँटी अस्पताल एवं पुनस्थापना सेवा, लोकन्थली, भक्तपुर र हिरानाथ दाहाल बी. पी. लायन्स नेत्र अध्ययन केन्द्र, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज, काठमाडौँमा भिजन थेरापी पद्वतिद्वारा अल्छी आँखा उपचार गर्ने दृष्टि विशेषज्ञ हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *