भर्खरै :

भारतलाई धोखा दिँदै भारतीय विद्वान्हरू

केही भारतीय विद्वान्हरूले हालै भारतले ‘तिब्बत कार्ड’ को प्रयोग गर्नुपर्ने, तिब्बतको प्रश्नमा संरा अमेरिकासँग सहकार्य गर्नुपर्ने र चीनलाई घेरा हाल्न अथवा चीनको सार्वजनिक रूपमा विरोध गर्न तिब्बतको प्रश्नलाई प्रयोग गर्नुपर्ने धारणा राखे ।
उदाहरणको लागि जनवरी १३ मा भारतका भू–रणविद् ब्रम्हा चेल्लानीले ‘अमेरिकाको तिब्बत कानुनले नयाँ दिल्लीले चीनको विषयमा गुमाएको लाभ पुनः प्राप्त गर्न सक्ने’ भन्दै नयाँ दिल्लीले ‘तिब्बतको विषयमा चीनको धारणा’ बोक्न नहुने बताएका थिए । भारतका पूर्व कूटनीतिक प्रतिनिधि दीपक भोराले जनवरी ९ मा लेखेको एउटा लेखमा ‘यदि तिब्बत आफ्नै बाटोमा अघि बढे, चीन यात विखण्डित हुन्छ अथवा उसले साम्यवादलाई फाल्नेछ । त्यसपछि संसार सुरक्षित स्थान बन्नेछ’ लेखिएको छ ।
तिब्बत चीनको भूभाग हो र भारत सरकारले पनि यो कुरा लामो समयदेखि स्वीकार्दै आएको छ । यदि नयाँ दिल्लीले यी विद्वान्हरूका सल्लाह माने चीन र भारतको सम्बन्ध पूर्ण टुक्रिनेछ । नयाँ दिल्ली युद्धलाई निम्त्याइरहेको हुनेछ । वास्तवमा भारतले चीनमा समस्या सिर्जना गर्न ‘तिब्बत कार्ड’ प्रयोग गर्न छोडेको छैन । भारतले त्यसबाट फाइदा पनि उठाइरहेको छ । तिब्बतको तथाकथित निर्वासित सरकार भारतमै बसेको छ । चीन–भारत सम्बन्धको सबभन्दा प्रमुख विषय नै तिब्बतको प्रश्न हो ।
तर, हाल भारतका केही उच्च रणविद्हरूमा समेत तिब्बतको खास प्रश्नबारे प्रस्ट बुझाइ छैन । ‘तिब्बत कार्ड’ को प्रयोग गरेर केही भारतीय जनता चीनलाई काश्मिर भारतको हिस्सा हो भन्न लगाउन चाहन्छन् । उनीहरूले चीन–भारत सम्बन्धको लागि तिब्बतको प्रश्न कति संवेदनशील विषय हो भन्ने कुरा बुझेका पनि छैनन् । यी मानिसहरू खासमा आगोसँग खेलिरहेका छन् ।
वास्तवमा चीनले चाहे प्रतिकारमा धेरै कदम चाल्न सक्थ्यो । तर, चीनले यस्ता कदम चाल्न चाहेको छैन । उदाहरणको लागि, काश्मिर अन्तर्राष्ट्रियरूपमा नै स्वीकारिएको विवादित क्षेत्र हो । नयाँ दिल्लीले आशा गरेजस्तो चीनले एकपक्षीयरूपमा काश्मिरलाई भारतको हिस्सा मान्न सक्दैन । यो वास्तवमा भारतको आधारहीन आग्रह हो । त्यसअतिरिक्त पनि भारतका धेरै पेचिला प्रश्नहरू छन् । जस्तै धार्मिक विषय र उत्तरपूर्वी भारतका सशस्त्र पृथकतावादी शक्तिहरू आदि । यी विषयमा पेइचिङ भारतमाथि दबाब दिन चाहँदैन ।
भारतका यी विद्वान्हरूका अधिकांश धारणा संरा अमेरिकाको राजनीतिक लाइनमा आधारित छ । भारतको राष्ट्रिय शक्तिले मात्र उसले चीनको विरोधमा युद्ध लड्न सक्दैन । चीनमा समस्या सिर्जना गर्न संरा अमेरिकासँग हात मिलाएर भारतले के लाभ हासिल गर्न सक्ला ? यो विषयमा भारतले गम्भीरतापूर्वक विचार गर्न जरुरी छ । अन्त्यमा भारतले वाशिङ्टनको लागि आगोबाट बदाम निकालिदिने काम हुनेछ । भारत आफै यो आगोको दाउरासिवाय केही बन्नेछैन ।
‘तिब्बत कार्ड’ को प्रयोग अतिरिक्त चेल्लानी र अन्य केही भारतीय विद्वान्हरूले अन्य विभिन्न विषयमा पनि चीनको विरोधमा संरा अमेरिकी लाइन पछ्याउन खोजिरहेका छन् । जस्तै चीनसँग आर्थिक रूपमा सम्बन्ध विच्छेद गराउन पनि उनीहरू उद्यत्त छन् । चेल्लानीले चीनविरुद्ध सधैं कडा र अतिवादी धारणा राख्दै आएका छन् । सन् २०२० को डिसेम्बरमा उनले भनेका थिए,“भारतको अर्को नयाँ चीन रणनीति भनेको सम्भवतः चीनविरुद्ध व्यवस्थित र निश्चित क्षेत्रमा आर्थिक निषेध हुन सक्छ ।”
वास्तवमा भारतले बितेको वर्षमा यही रणनीति प्रयोग गर्ने प्रयास गरिरहेको थियो । सन् २०२० को अप्रिलमा भारतले छिमेकी देशहरूमा भारतीय लगानीको नीतिलाई कडाइ गरेको थियो । गत वर्षको जून महिनामा भएको गलवान झडपपछि भारतले चीनको विरोधमा शिलशिलाबद्ध गतिविधि गर्दै आएको छ । भारतको चिनियाँ एपहरूको प्रयोगमा निषेध पनि यसको एउटा उदाहरण हो ।
तर, त्यसको परिणाम के भयो ? सन् २०२० को अप्रिलदेखि सेप्टेम्बरमा भारतको कुल आयातमा चिनियाँ सामान १८.३ प्रतिशत भयो । भारतको वाणिज्य विभागअनुसार सन् २०१९ को सोही अवधिमा यो प्रतिशत १४.६ प्रतिशत थियो । यदि चीनले भारतको निर्यात नगरे भारतका केही उद्योगधन्धा नै बन्द हुन सक्छ । चेल्लानी र उनीजस्ता अरू विद्वान्हरू पूर्णतः गैरजिम्मेवारीपूर्वक बोलिरहेका छन् । उनीहरू झूट बोलिरहेका छन् । चेल्लानीले आफूप्रति ध्यानाकर्षण गर्न चीनविरोधी हल्ला फैलाइरहेका छन् ।
‘तिब्बत कार्ड’ होस् अथवा चीनमाथि आर्थिक निषेधको कुरा, ती भारतीय विद्वान्हरू केही शक्तिहरूका प्रवक्ताको मात्र भूमिका खेलिरहेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय रूपमा र भारतमै पनि यस्ता खालका सार्वजनिक जनमत मात्र सिर्जना गरिरहेका छन् । यसबाट अन्ततः चीन–भारतको सम्बन्धमा केही समस्या मात्र सिर्जना गरेको छ ।
हामी ती व्यक्तिहरू पछाडि कुन शक्ति छ, भन्ने विषयमा सजग हुन जरुरी छ । यस्ता शक्तिले चीन–भारत सम्बन्धमा पूर्णतः विच्छेदको अवस्था निम्त्याउन सक्छ । यी शक्तिहरूको लागि बोलेर ती भारतीय विद्वान्हरूले भारतबारे अन्धाधुन्ध आक्रामकता प्रदर्शन गरिरहेका छन् । अनि भारतलाई यस्ता भावना र हिन्दुवादी राष्ट्रवादका अतिवादी शक्तिले थप समस्यातिर धकेलिरहेको छ ।
(लेखक साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत चीन–दक्षिण एसिया सहकार्य अनुसन्धान केन्द्रका महासचिव हुनुहुन्छ ।)
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : हरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *