भर्खरै :

भक्तपुरमा सात हजार नौ सय ९२ मतदाता बढ्यो

भक्तपुर, ११ माघ । जिल्लाको मतदान स्थल र मतदान केन्द्रबारे आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा जिल्लाका चारै नगरपालिकाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको बैठक बस्यो ।
मतदान स्थल तथा मतदान केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले आगामी निर्वाचनको निम्ति मतदान केन्द्रको सन्दर्भमा निर्णयहरू गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बीसीले जानकारी दिनुभएको छ । बैठकले भक्तपुर नगरपालिका वडा नं ६ मा रहेका दुईवटा मतदान स्थल पाँच नं वडा कार्यालय र बालबोध शान्ति विद्यालय चोछेँको भवन सानो भएकोले दुईवटै मतदान स्थलका मतदातालाई पायक पर्ने स्थान ख्वप कलेज भक्तपुर नगरपालिका वडा नं ६ लाई नयाँ मतदान स्थल कायम गर्ने, भक्तपुर नगरपालिका वडा नं २ को मतदान स्थल शारदा मावि यालाछेँको स्थान साँघुरो भएको हुँदा भक्तपुर नगरपालिकाको भवनलाई नयाँ मतदान स्थल कायम गर्ने र भक्तपुर नगरपालिका वडा नं ५ को मतदान स्थल बरदायणी विद्यालय भगवतीस्थानको भवन साँघुरो भएको हँुदा सोही वडाको आदर्श आजाद मावि भेलुखेललाई नयाँ मतदान स्थलको रूपमा कायम गर्ने निर्णय गरेको छ ।
त्यस्तै सूर्यविनायक नगरपालिका वडा नं ५ को मतदान स्थल महेन्द्र माध्यमिक विद्यालय भवन साँघुरो भएको हुँदा सोही वडामा रहेको कटुञ्जे आधारभूत विद्यालयलाई नयाँ मतदान स्थलको रूपमा कायम गर्ने, मध्यपुर थिमि नगरपालिका वडा नं ९ को मतदान स्थल हेल्थपोस्ट थिमि साँघुरो भएको हुँदा सोही वडामा रहेको कृषि विकास बैङ्क तालिम केन्द्रलाई नयाँ मतदान स्थलको रूपमा कायम गर्ने र मध्यपुर थिमि नगरपालिका वडा नं ३ मा रहेको मतदान स्थल जनप्रेमी आधारभूत विद्यालय कौशलटारको भवन साँघुरो भएको हुँदा सोही वडामा रहेको आदर्श जनप्रेमी कलेजलाई नयाँ मतदान स्थल कायम गर्ने निर्णय भएको छ ।
जिल्ला निर्वाचन कार्यालयअनुसार भक्तपुर जिल्लामा साविकमा कायम मतदाता सङ्ख्या १ लाख ७८ हजार ९९ रहेकोमा अब कायम हुने अनुमानित मतदाता सङ्ख्या १ लाख ८५ हजार ५९१ छन् । सो तथ्याङ्कअनुसार जिल्लामा ७ हजार ४ सय ९२ मतदाता बढेको देखिएको छ ।
त्यस्तै साविकमा कायम मतदान स्थल ७८ रहेकोमा अब ७७ मतदान स्थल कायम गरिएको छ भने साविकमा कायम मतदान केन्द्र २०९ रहेकोमा अब २१५ कायम गरिएको छ ।
बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलगायत प्रतिनिधि, जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *