भर्खरै :

बौसीको गोलो

शीर्षक भयानक भए पनि विषय शान्त छ, डराउनै पर्दैन । व्यक्तिगत गन्थनबाट आरम्भ भएर समाजमा टुङ्गिने । आखिर समाज पनि व्यक्ति–व्यक्ति मिलेर न बन्ने हो । व्यक्ति समाजकै अङ्गत हो ।
पानीमा बस्ने माछालाई समेत जाडो हुने विश्वास गरिएको मङ्सिर २० गतेदेखि माघ १० गतेसम्मको ५० दिनलाई मीन पचास भनिन्छ । आधा शताब्दी अघि शिक्षण संस्थाहरूले मंसिरको अन्तिम सातासम्म वार्षिक परीक्षा लिएर पुस र माघ दुई महिना मीन पचासको बिदा भनेर बिदा दिन्थे । त्यसैले जाडोमा अहिलेजस्तो स्युस्यु गर्दै पढ्न जानु पर्दैनथ्यो । बिहानभरि मज्जाले सिरकमा गुटुमुटु भएर बस्यो, दिनभरि घाम ताप्यो, राति अगेनो वा मकलमा आगो ताप्यो गरेर बिदा बित्थ्यो । जाडो पनि त उधुमै हुन्थ्यो नि ऊ बेलामा । भदौ÷असोजदेखि कुइरो लाग्न थाल्थ्यो । मङ्सिरमै पानी छोइनसक्नु हुन्थ्यो । पुसमा ११÷१२ बजेतिर बल्लबल्ल कुइरो फाटेर घाम देखिन्थ्यो । मधुरो, रापै नभएको घामले पुस फासफुस बनाउँथ्यो । माघ लागेपछि घाम त बिहानै झुल्कन्थ्यो तर छानामा, पथमा अनि चहुरमा चिनी छरेझैँ थियो भनेर भीमनिधि तिवारीले गरिब कवितामा भनेभैmँ हाडसम्म ठि¥याउने चिसोले सातो लिन्थ्यो ।
मीन पचासको बिदा केटाकेटी गट्टा, पिङ, घ्वाइँ, गुच्चा, खोपी, भोगटे÷झुम्रोको वा साँच्चैको बल खेलेर बिताउँथे । बच्चाबच्ची न हुन्, फुर्सदिला भएपछि अलिअलि पिराउने नै भए । घुम्ने डुल्ने चलन खासै थिएन । खूब डुले वरपरका मन्दिरसम्म हो । त्योभन्दा बढी जान पाइएछ भने पशुपति, गुहेश्वरी, पाटनको कृष्ण मन्दिर, लेले सरस्वती, भक्तपुरको सूर्यविनायक, दत्तात्रय, आशापुरेश्वर, चाँगुनारायण, काठमाडौँको कार्यविनायक, दक्षिणकाली, बूढानीलकण्ठ, साँखुबज्रयोगिनी, सालीनदीसम्म हो । तीमध्ये कतै मात्र यातायातको सुविधा थियो, अन्त हिँडेरै पुग्नुपथ्र्यो । बरु, आपूm जान लागेको ठाउँ नजिकतिर कोही नातेदार वा परिचित छन् भने त्यहाँ खाना खाने गरी वा एक रात बस्ने गरी गयो भने ‘सम्झेर आएछन्’ भनेर उनीहरू पनि खुसी, आफ्नो काम पनि बन्यो हुन्थ्यो । त्यहाँभन्दा बढीको सपनै नदेखौँ । नाताकुटुम्ब, इष्टमित्र, मामाघर, फुपूको घर बाबाआमाको मामाघर गएर कैयौँ दिन मजाले बस्ने चलन बाक्लै थियो । पाहुना आउँदा यसो मीठो चोखो पाक्ने भएकोले घरपरिवारले पनि रमाइलै मान्थे । मधेसतिर जग्गा–जमिन हुनेहरू जाडोभरि सपरिवार उतै गएर बस्थे । यस्तोलाई ‘जाडो छल्ने’ भनिन्थ्यो ।
बुबाले कमाउने आमाले गृहस्थी सम्हाल्ने त्यो युगमा मेरा बुबा–आमा दुवै जागिरे भएकाले मेरो कथा भने अरूको भन्दा बेग्लै थियो । रातिसम्म खटिनुपर्ने पत्रकार बुबा, रातबिरात ड्युटी पर्ने नर्स आमा । अझ आमा स्टाफ नर्सको अढाइ वर्षे कोर्स गर्न वीर अस्पतालको छात्रावासमा बस्न थालेपछि त बुबा र ममात्र भयौँ डेरामा । त्यसैले बिदा आयो कि दधिकोट घर वा चापागाउँ मामा घर जानु मेरो रहरमात्र नभएर बाध्यता थियो । नाम पो मीन पचास त, बिदा पूरै दुई महिना हुन्थ्यो । त्यति लामो समय कुपण्डोलको भूूत बङ्गलाजस्तो डेरामा एक्लै बिताउनु नपरोस् भनेर म एक जोर लुगा झोलामा हालेर घर वा मामाघर कुदिहाल्थेँ । हजुरआमा, एउटी सानिमा र मेरी बहिनीमात्र भएको मामाघरमा मेरो भाउ थियो । मामाघरमा छोरीका छोराछोरीमाथि आचारसंहिता लागू हुँदैनथ्यो, “दुई दिनलाई आएका भाञ्जाभाञ्जीलाई के गरिस्, के भनिस् ?” भनेर छोराखलकले नै गाली खान्थे । यसरी पुल्पुलिन पाएपछि मामाघरको दुईमहिने बसाइ पनि दुई दिनसरह हुन्थ्यो । ठूलो परिवार भएको घरमा भने ‘दुई दिन’ भन्दै दुई महिना बस्न आउने माथि दामासाही व्यवहार हुन्थ्यो । अझ काकाका छोराछोरी आफ्ना आमाको नजिक भएको फाइदा उठाउँदै पेल्न खोज्थे । त्यसैले मामाघर जानु मेरो प्राथमिकतामा पथ्र्यो ।
घर गए पनि मामाघर गए पनि गाउँ रमाइलै थियो । कुपण्डोलको साधारण डेरामा अति साधारण जीवनस्तर भए पनि सहरी हावामा हुर्के बढेको मेरो इज्जत थियो त्यहाँ । छोरीलाई पढाउने चलन खासै नआइसकेको त्यो युगमाम बोर्डिङ्ग स्कूलमा पढ्थेँ । बाटा कम्पनीको छालाको जुत्ता, मोजा, स्कूल ड्रेस लगाएर, ब्याग बोकेर गाउँ जाँदा बेग्लै देखिन्थेँ । त्यो समाजमा चप्पल लगाउने ममात्र थिएँ । मकै, भटमास, गहुँ, रोटी, चिउरा, उब्रेको भात तताएर खाजा खाने जमानामा म हर्लिक्समा चोपेर जाम दलेको पाउरोटी खान्थे । पोषण÷कुपोष कसले जानोस् ? तर त्यो खाजामा ग्ल्यामर थियो । घरबुना कपडामा भित्री हालेर सिलाएको भोटो, घाँगर सुरुवालमाथि म आमाले डिजाइन हालेर बुनिदिएको स्वेटर भिरेर हिँड्थेँ । ती आधारभूत चिजबाहेक छन् चैँ मसँग पनि अरू उल्लेखनीय केही थिएन ।
गाउँ कामेरै दौँतरीहरू पँधेराबाट पानी ल्याउने, एकदुई डोका घाँस काट्ने, आमा मेलापात, वन गएको बेलामा भाइबहिनी स्याहार्ने, आमा पर सरेको बेलामा भात तिहुन पकाउने भइसकेका थिए । मेरो भने लुगा धुने, जुत्तामा पालिस लगाउने, चिया बनाउने कामसमेत बुबाले गरिदिनुहुन्थ्यो । मेरा बुबालाई घरायसी काममा पटक्कै रुचि थिएन, तर उहाँले मलाई हुर्काउने जिम्मा लिएर मेरी आमालाई स्टाफ नर्सको तालिम लिन पठाउनुभएको थियो । हाम्रो जीवन इन्स्टैन्ट पाराले चलेको थियो ।
बिहान हर्लिक्स हालेको दूधमा चोपेर दुई पिस पाउरोटी खायो, छिमेकीमा पेइङ्ग गेस्ट भएर खाना खाएर आयो, बुबाले हुन सकेसम्म पातलो पारेर जाम दलि दिएको दुई पिस पाउरोटी खाजा बोकेर स्कूल गयो । स्कूलबाट फर्केपछि उही पारामा जाम दलेको चार पिस पाउरोटी बिहान १० बजे बुबा अफिस जानुअघि पकाएर चाइनिज थर्मसमा राखिदिएको चिया गिलासमा खन्याएर चोपेर खायो । त्यसपछि फुक्का । साँझ परेपछि उही घरमा गएर खाना खायो र हटकेसमा हालेर बुबालाई खाना ल्याइदियो । बिहानै कतै कार्यक्रम भएछ भने बुबाले रामभण्डारबाट २५ पैसाको मनभोग ल्याएर जामको सट्टा हलुवा दलेको पाउरोटी खाजा बनाइदिनुहुन्थ्यो । आज पनि त्यही भोलि पनि त्यही रुटिन ।
त्यो वर्ष हजुरबा सरुवा भएर डडेल्धुरा जाँदा हजुरआमालाई पनि लैजानु भएकोले मीनपचासको बिदामा मलाई घर जाने कि मामाघर ? भनेर छान्ने सुविधा प्राप्त भएन । घर पनि नरमाइलो त कहाँ हो र ? पहिलेजस्तो ठूलो परिवार थिएन, किनभने बुबाहरूले बाक्लो दाल खान थालिसक्नुभएको थियो । आमाभन्दा पहिलेकी हाम्री बुबाकी विवाहिता, विशुद्ध ग्रामीण रहनसहन, भेषभूषा, बोलीचाली, खानपिनकी हाम्री ठूलीआमा, जसलाई काका फुपूले ‘ठूलीभाउजू’ भनेको सुनेर हामी छोराछोरी पनि त्यसै भन्थ्यौँ, ले खुवाउने, नुहाइदिने, लुगाधोइदिने गरिहाल्नुहुन्थ्यो । यसै पनि म ज्ञानी बच्ची थिएँ । त्यसमाथि बुबाआमाले ‘दुःख नदिनू, ज्ञानी भएर बस्नू’ भनेर कडा निर्देशन दिनुभएको थियो । त्यसैले जे दिए पनि खान्थेँ, जे भने पनि मान्थेँ । काम सघाइ दिने प्रयास पनि गर्थेँ । तर मैले जानेकै के थिएँ र ?
म भन्दा ६ महिना जेठो ठूली भाउजू तिरको दाजुलाई मलाई भन्दा बढी काम गर्न आउँथ्यो । रोटी बेल्न, भात पकाउन मैले दाजुबाटै सिकेको हो । मैले बेलेको रोटी पहिले त दाजुले ओठ लेप्य्राएर फेल गरिदियो । अनि बिजुली बत्तीतिर फर्काएर हेरेर उज्यालो देखिएन, पातलो भएन भन्दै पिठो थप्दै बेल्दै गर्न लगाएर बल्लबल्ल पास गरेथ्यो । दाजुलाई तरकारी पकाउने गुरु थाप्ने आँट भने मैले गरिनँ किनभने बिँडमा समाएर चुलोबाट झिक्न सजिलो हुन्छ भन्दै जेसुकै तरकारी पनि फलामे ताप्केमा पकाउने भएकोले त्यो न हेरिसक्नुु हुन्थ्यो न खाइसक्नु । ठूली भाउजू पर सरेको बेलामा दाजुले भात पनि ताप्केमै पकाएथ्यो । कालो न कालो त्यो भात पनि मैले केही नभनी खाएँ किनभने आफ्नो त्यति गर्ने ढङ्ग पनि पुग्दैनथ्यो । बरु, मैले तीन दिन पधेँराबाट चार÷चार घल्चा पानी ल्याइदिएर दाजुलाई सघाएकोले हप्ता दिनसम्म टिप्न बिर्सेको घिरौँलाजत्रो नाक पारेर हिँडेको थिएँ ।
गाउँ घरतिर हिउँदमै वर्ष दिनलाई पुग्ने इन्धनको व्यवस्था गरेर राख्थे । बल्ने जे सुकै पनि इन्धन हुन्थ्यो । दाउरा, झिँजा, पात, बँस, बाँसको पट्याँस, सुकेका झारपात, मकैको ढोड, जरा, खोया, खोष्टा, तोरीको डुँड, भटमासको डाँठ, गोबरको गुइँठा, भूस, धानको पोगटा, गहुँको छ्वाली, गहुँको डुँड, नर्कट, नर्कटको जरा केही छाड्दैनथे । यस्ता खित्रिक मित्रिक बालेर अगेनामा पानी, दूध तताउने, गाईबाख्रालाई कुँडो पकाउने आगो ताप्ने काम हुन्थ्यो । चुलोमा चैँ दाउरा वा गुइँठा बालेर खाना पकाउँथे । दाउरा नजिकैको वनजङ्गलबाट खोजेर ल्याउनुपर्ने भएकोले असाध्यै फारोतिनो गरेर बाल्थे ।
वर्ष दिन घर पोत्ने रातोमाटोको व्यवस्था पनि हिँउदमै गर्थे । कतै नजिकै रातोमाटो पाइन्थ्यो भने कुनै गाउँमा भने अलि टाढै गएर बोरा वा डोकोमा बोकेर ल्याउनुपथ्र्यो । त्यसरी ल्याएको माटो आँगनमा खन्याएपछि पानी हालेर राम्ररी मुछेर डल्ला पारेर छिँडी वा बुइँगलमा राख्थे । बर्खाभरि दैलो, पिँढी, आँगन, चुलो, मझेरी, मटान, कोठा, लिप्ने, पोप्ने काम गरेर दशैँमा बाहिरी घर रङ्गाउन पनि त्यही माटोले पु¥याउनुपथ्र्यो । बर्खामा माटो ल्याउने सुविधा हुँदैनथ्यो ।
मैले बिर्सन नसकेको त्यो दिन दधिकोटका महिलाले रातोमाटो लिनजाने योजना बनाएका रहेछन् । छिटोछिटो खाइपिई धन्दा सकी सबै जना बोरा, नाम्लो र कुटो बोकेर लस्कर लागे अनन्तलिङ्गेश्वरभन्दा माथिको डाँडोतिर । ठूलीभाउजूले मलाई “बस्दै गर है छोरी, म माटो लिएर आइहाल्छु” भन्नुभयो । मलाई एक्लै बस्नुभन्दा उहाँसँगै जानु ठीक लाग्यो र भनेँ, “म पनि जान्छु नि । वर्षदिनलाई चाहिने माटो आजै ल्याइदिन्छु ।” अलिकति हाँसेर उहाँले “भइहाल्छ नि छोरीले ल्याइदिई भने मलाई आनन्दै हुन्छ” भन्दै बोरा, नाम्लो र कुटो लिनुभयो । मैले “म चैँ केमा ल्याउने त ?” भनेपछि उहाँले अर्को सानो बोरा र नाम्लो पनि लिनुभयो । कत्ति न माटो ल्याउँला भन्ठानेको, उहाँले सानो बोरा लिएको चित्त नबुझेर मैले भनेँ, “मलाई यति सानो बोरा ?” उहाँले मेरो खुट्टी देखेरै चाल पाइसक्नुभएको थियो तर मेरो जोश मर्न नदिई भन्नुभयो, “तिमी ठूलोमा ल्याउली, सानो बोराम म ल्याउँला ।”
माटो लिन जाने गाउँले लस्करसँग मिसिएर हामी तर्खगाल, अनन्तलिङ्गेश्वर मन्दिर काटेर दक्षिणतिरको सेपिलो पाखो उक्लेर रातमाटोको खानीमा पुग्यौँ । अलि बलिया खानीभित्र पसेर कोदालोेले माटो खन्न थाले । वास्तवमा त्यो एकदम खतराको काम रहेछ । ‘यहाँ सम्म आइसकेपछि फुर्सो माटो के लानू ? रातो माटो लानुपर्छ’ भन्दै गहिरो सुरुङभित्र पसेर अवैज्ञानिक तरिकाले खन्दा ढिस्को भत्केर, सुरुङमा पुरिएर बर्सेनि कैयौँको ज्यान जान्छ । तैपनि, महिलाहरु चेत्दैनन् । खानीभित्र पसेर ज्यान जोखिममा पार्ने काम गरिरहन्छन् ।
आफ्नो पालो आएपछि ठूलीभाउजू खानीभित्र पसेर माटो खन्न थाल्नुभयो । म बाहिरै थिएँ । यहाँ पनि राम्रो माटो छ कि क्या हो ? भनेर एक थरी खानी बाहिर खन्दै थिए । खन्दा–खन्दै त्यहाँ अलि बेग्लै खालको बनोटको मुट्ठीभरको गोलो आकृतिको रातोमाटोको डल्लो भेटियो । त्यो देखेर कसैले “लौ न नि, बौसीको गोलो पो भेटियो त” भन्यो ।
त्यो सुनेर एउटी पाकी महिलाले भनिन्, “ल्याओ न त यता । बौसी–बौसी मिलेर खाऊँ ।”
१८÷२० वर्षकी अविवाहित केटीले एकदम उत्सुक भएर सोधिन्, “के हुन्छ ठूल्याँ त्यो खायो भने ?”
पाकी महिलाले मसिनो स्वरमा भनिन्, “तेरा बाजे, विद्या बलियो हुन्छ क्या ।”
फेरि तिनै केटीले सोधिन्, “हाम्लाई नि सिकाइदिनोस् न त्यो विद्या ?”
पाकीबाट जवाफ आयो, “त्यसै काँ हुन्छ, मन्त्र सुन्नुपर्छ ।”
फेरि जिज्ञासा, “मन्त्र सुन्न के गर्नुपर्छ त ?”
अझ मसिनो स्वरमा जवाफ आयो “फरिया, चोलो, मन्त्र सुन्दा छोप्ने पछ्यौरा चाहिन्छ ?”
एक–एक शब्द यही थियो । यही संवाद भएको हो त्यहाँ। पूर्णतः चेतन अवस्थाका मेरा कानले सुनेका ।
सबैले माटोको भारी कसे । मैले बोक्ने भनेको बोरामा निकै माटो हालेर नाम्लोको डोरी मिलाएर बोक्न खोजेँ । तर, हल्लाउन नि सकिनँ । ठूलीभाउजूले बोराबाट आधा माटो खसालिदिनुभयो । मैले ठसठस कन्दै भारी बोकेँ र असन्तुलित भएर लरखलाउँदै, हुत्तिँदै ओरालो लागेँ । बाफ रे ¤ यो काम त निकै गाह्रो पो हुँदोरहेछ । मैले तीन त्रिभुवन देखेँ । प्यास पनि लाग्यो, तर भनेबित्तिकै पानी कहाँपाउनू ? अलिबेर हिँडेपछि कुवा भेटियो । त्यहाँ हातैले झिकेर पानी खाएँ । एकछिन सुस्ताएर भारी बोक्न खोज्दा उचाल्नै सकिनँ । आधा माटो बाटैमा खसालेर बल्ल बोकेँ । कनी कुथी घरसम्म ल्याएँ । भोलिपल्ट मैले ल्याएको माटोको डल्लो पार्दा जम्माजम्मी ठूलोखाले दुईवटा भोगटेजत्रो डल्ला बन्यो । हैट ¤ काम गर्न मुख चलाएजस्तो, सोचेजस्तो सजिलो कहाँ हुनु । तत्क्षण माटो ल्याउने कामबाट मैले सन्यास लिएँ ।
राति खाना खाने बेलामा ठूलीभाउजूले भन्नुभयो, “आज गाईले दूधै दिएन, दहीसँग खाऊ है छोरी । बिहान मही पारेर मन्छिन बिर्सिछु, गाई भाँडिइहाल्यो ।”
म जिल्ल परेँ । उहाँले साउतीको स्वरमा स्पष्ट पारिदिनुभयो, “बिहान मही पारेर दिन बिर्सेँ, आजै गाईले दूध दिएन । साक्षात्की छ भन्या ।”उही रातोमाटोको खानीमा ‘ल्याओ न बौसी बौसी मिलेर खाऊँ’ भन्ने महिलाप्रति सङ्केत थियो ।
निःसन्तान ती दम्पत्तिलाई गाउँले बोक्साबोक्सी ठान्थे । बूढाबूढीमा भने खूब पे्रम देखिन्थ्यो, दुई ज्यान आफैँमा मख्ख परेर बाँचेका हुन् भनेझैँ । काममा श्रम विभाजन थिएन क्यारे । जसले जे पनि गरेको देखिन्थ्यो । बूढी अलि कडै थिइन्, बूढालाई दबाएरै राखेकी थिइन् । बूढालाई दबिनुमा दुःख मनाउ पनि थिएन । “म पिस् फेरेर आउँछु है कान्छी, दिस् बसेर आउँछु है कान्छी” भनेर दिसापिसाब गर्न पनि अनुमति माग्थे । गाउँले “बौसीले लोग्नेलाई भेडो बनाउँछे भन्या हो बा” भनेर उडाउँथे । बूढाले यसअघि पनि दुई बिहे गरिसकेका थिए तर सन्तान नभएपछि दुवै यिनलाई छाडेर अर्कैसँग गएर सन्तान पनि जन्माए रे । यी तेस्री सन्तानको आशमा झारफुक, जान्नेसान्ने लगाउँदै थिइन् ।

कसैले साथ नदिएपछि एक्लोपनमा रमाउनै परेन र ? एकलकाँटे बन्नै परेन र ?घाँस, पानी, दाउरा गर्न एक्लै हिँड्थे । त्यही विषयलाई लिएर कथा कहानी रचिन्थे । कसैले उनलाई पिपलको बोटमा औँलामा बत्ती बालिरहेको देख्थे, कसैले मन्त्र साधिरहेको देख्थे । आफ्नो धारणाअनुसार उनलाई जे देख्न मनलाग्यो, त्यही देख्थे, जे सोच्न मन लाग्यो, त्यही सोच्न सक्थे, जे भन्न मन लाग्थ्यो त्यही भन्थे ।

दुवै बलिया बाङ्गा थिए, मज्जाले काम गर्थे । घर सफासुग्घर राख्थे । खेतीपातीले खान लाउन पुगिहाल्थ्यो । गाईवस्तु पालेका थिए । एउटा कालो बिरालो पनि पालेका थिए । त्यो पनि उनीहरूलाई बोक्सेराको बात लगाउने एउटा आधार थियो । बिरालो न हो, दहीदूध चोर्न घरघर चहार्यो । कसैको घरमा त्यो गयो भने बोक्सीले चुस्न बाहन पठाई, अब कोही बिरामी हुन्छ, नभए नीलडाम पर्छ भन्थे भित्रभित्रै । बाहिर भने सबै उनीहरूसँग राम्ररी बोल्थे, उनीहरूको घरमा जान्थे, मेलापात सँगै जान्थे । तिनको चित्त बुझाउन सके बिगार गर्दैनन् भनेर सबैले कोसेली पु¥याउँथे । गाईभैँसी ब्यायो, बिगौती चखायो, मही पा¥यो, दही, घिउ, सेल, पुरी, हलुवा, मालपुवा, दही चामल बन्यो अथवा बारीमा अम्बा, केरा, मकै जे छ तिनकहाँ हाजिर । नत्र के के गर्ने हुन् तिनले ? के थाहा र ? यस्तो सोच थियो सबैको ।
केही वर्षपछि ती महिलालाई पक्षघात भयो । बोल्न, हिँड्न नसक्ने भइन् । दिसापिसाब गर्न अनुमति माग्ने उनका बूढाले बूढीलाई लछारपछार गर्दै बाहिरभित्र ल्याउने लाने गर्न थाले । यही दशामा उनी बितिन् । केही वर्षपछि बूढा पनि बिते ।
दूधे दाँतसम्म नझरेको त्यो बेलामा मेरो विचार पनि गाउँलेको भन्दा फरक थिएन । उनीहरूसँग डर लाग्थ्यो । सकेसम्म बोल्दै बोल्दिनथेँ । तर, जब बोक्सी, डङ्किनी, किचकन्नी, भूत, प्रेत, पिशाचको अस्तित्वमाथि मेरो विश्वास उठ्यो तब झन् “बौसी बौसी मिलेर खाऊँ न” भन्ने वाक्यले झस्क्याउन थाल्यो । किन ती महिलाले आपूmलाई बोक्सी भनेर चिनाउन चाहेकी थिइन् ?
अहिले म त्यसको विश्लेषण गर्छु । प्रायःअनाथ, असहाय, विधवा, निःसन्तान जो आफैँ पीडित थिए तिनैलाई समाजले बौसेराको बात लगाउँथ्यो । बालविधवा, जसले माया शब्दको अर्थ जान्नै पाएनन् निःसन्तान जसले कहिल्यै छातिभरि, काखभरि माया खेलाउनै पाएनन्, परित्याक्ता जसले कहिल्यै प्रेमको स्वाद चाख्न पाएनन् तिनले कसरी कसैलाई माया, प्रेम गर्न, अपनत्व देखाउन सक्थे ? अरूबाट जहिल्यै घृणा र तिरस्कार पाएका तिनमा रुखोपन आउनु कसरी अस्वाभाविक हुन्थ्यो ?
कसैले साथ नदिएपछि एक्लोपनमा रमाउनै परेन र ? एकलकाँटे बन्नै परेन र ?घाँस, पानी, दाउरा गर्न एक्लै हिँड्थे । त्यही विषयलाई लिएर कथा कहानी रचिन्थे । कसैले उनलाई पिपलको बोटमा औँलामा बत्ती बालिरहेको देख्थे, कसैले मन्त्र साधिरहेको देख्थे । आफ्नो धारणाअनुसार उनलाई जे देख्न मनलाग्यो, त्यही देख्थे, जे सोच्न मन लाग्यो, त्यही सोच्न सक्थे, जे भन्न मन लाग्थ्यो त्यही भन्थे ।
गाउँमा भएका हरेक नराम्रा कुरा, घटना दुर्घटना तिनैले गरे गराएको मानिन्थ्यो । तिनको पक्षमा बोलिदिने कोही हुँदैनथ्यो । विशेषगरी उनका नजिकका, उनका हकवाला जसले उनको संरक्षण गर्नुपथ्र्यो, तिनै उनका सबैभन्दा घातक शत्रु हुन्थे, तिनैले शारीरिक र मानसिक यातना दिइरहेका हुन्थे । उनको मृत्युको कामना गरिरहेका हुन्थे । उनीमाथि कसैले सहानुभूति नराख्ने मात्र होइन, उनको बाँच्ने इच्छा नै समाप्त गरिदिन्थे । यसरी अनाथ, असहाय, निरुपाय, पीडित उनले यो संसार छाड्दा सबैले राहतको सास फेर्थे । बोक्सीको अन्त्य भयो, दुरात्माले मृत्युदण्ड पायो भनेर आनन्द मान्थे ?
कसरी ? कसरी ? कसरी उनी बोक्सी ? कसरी दुरात्मा ? उनले बाँच्न चाहेकी हुन्, समाजले बाँच्न मन नलाग्ने बनाइदियो । को बोक्सी ?उनी कि समाज ? उनले अलिकति माया, स्नेह, प्रेम, संरक्षण खोजेकी थिइन्, आफन्तले उनको जीजीविषा नै समाप्त गरिदियो ? को दुरात्मा ? उनी कि स्वार्थी आफन्तजन ?
त्यसैले तिनले बौसेरोेलाई सुरक्षा कवच बनाएर बाँच्ने कला सिर्जना गरिन् । उनको प्रेमको महत्व नहुने देखेर त्रासलाई समाज नियन्त्रणमा लिने शस्त्र बनाइन् । सम्भावित दुव्र्यवहार र तिरस्कारबाट बच्न त्यही रातोमाटोको गोलोजस्तो दह्रो, साह्रो, रुखो, शुष्क बनिन् । बौसी नामक डरको अस्त्र प्रयोग गरेर सबैबाट फाइदा उठाएर मजाले बाँच्ने शैली अपनाइन् । यसो भए उनले लत्रनु पर्नेछैन भन्ने ठानिन् । कसैले उनीलाई हेप्न सक्दैन भन्ने अर्थ लगाइन् । अर्थोक गरून् पनि के बरा । छोराछोरी छैनन्, एक्लो बाँच्नु छ, खेतीपानी, पानी पँधेरो, वनपाखा सबै गर्नु छ । दाजुभाइ खलक तिनको जीवनको होइन सम्पत्तिको संरक्षक हुन आतुर छन् । अनि, कसरी आपूmलाई मजबुत छु भनेर देखाउने त ? त्रास सिर्जना गरेर । फेरि त्यो बेलामा समाज बोक्सीसँग डराउँथ्यो पनि । अहिलेजस्तो बोक्सीको आरोप लगाएर मलमूत्र खुवाउने, मरणासन्न हुने गरी कुटपिट गर्ने, गाउँ निकाला गर्ने हिम्मत थिएन समाजको । त्यसैले उनले बोक्सीको चिनारी बनाइन् । यसैमा उनले फाइदा देखिन्, फाइदा लिइन् पनि ।
बरु, उनले यस्तो पर्फेक्ट बिजिनेस आइडिया भने कसरी कहाँबाट सिकेकी होलिन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *