भर्खरै :

सिद्धान्त र विचार नै नेमकिपाको शक्तिशाली हतियार

कैलाली
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा नेमकिपा कैलाली जिल्ला समितिको आयोजनामा सोमबार कैलालीको लम्कीचुहामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले पार्टीको इतिहास र उद्देश्यबारे प्रस्ट पार्दै नेमकिपाको उद्देश्य कामदार वर्गलाई शासन सत्तामा पु¥याउने हो भन्नुभयो ।
उहाँले पँुजीवादी व्यवस्था कामदार जनतालाई शोषण गर्ने व्यवस्था हो भन्दै जनतालाई राजनैतिकरूपले सचेत र सङ्गठित पार्न, समाजवादी क्रान्तिलाई टेवा पु¥याउन र राजनैतिक स्पष्टताको लागि निर्वाचनमा भाग लिने नीति नेमकिपाले लिएको बताउनुभयो ।
नेहरू चिन्तनअनुसार भारतले नेपालमाथि कब्जा जमाउने भारतको उद्देश्य कहिल्यै सफल हुन नदिने भन्दै भारतले नेपालमा आफूअनुकूल प्रचण्डलाई नेपालको प्रधानमन्त्री बनाउने र नेपाललाई सिक्किम र भुटानजस्तै आफ्नो कब्जामा लिन खोजिरहेको उहाँले बताउनुभयो ।
“पार्टीको सिद्धान्त र विचार नै पार्टीको शक्तिशाली हतियार हो । नेमकिपाले सदनलाई सङ्घर्ष गर्ने थलोको रूपमा उपयोग गर्दै संसदमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो । चुनावबाट समाजवाद आउँछ भन्ने माक्र्सवादविरोधी सिद्धान्त भएको बताउँदै उहाँले निर्वाचनको क्रममा शासक दलका नेताहरूबीच पद र भागबन्डाको लागि भएको झगडा जनतासमक्ष आउने डरका कारण शासक दल निर्वाचनदेखि डराइरहेका छन् भन्नुभयो ।
शासक दलले राजनीतिलाई व्यापार गर्ने थलोको रूपमा विकास गरिरहेको बताउँदै अतिथि प्रजापतिले नेकपाभित्रको झगडामा कुनै सैद्धान्तिक र नीतिगत आधार नभएको बताउनुभयो । उहाँले नेकपालाई नक्कली कम्युनिस्टको संज्ञा दिँदै नेमकिपा देशको सार्वभौमिकता र स्वाधीनता रक्षा गर्ने पक्षबारे जनतालाई प्रशिक्षित गर्ने अभियानमा छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले राजनीतिक पार्टीको नीति र सिद्धान्त सही भए देशको समृद्धि हुन्छ, जनताको पक्षमा कानुन निर्माण हुन्छ भन्दै नेकपा कम्युनिस्ट पार्टी होइन भन्ने विभिन्न घटनाक्रमबाट पुष्टि हुँदै आएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले नेपालमा समाजवादी व्यवस्था स्थापनाको निम्ति नेमकिपा सङ्घर्षरत रहेको बताउँदै नेकपा पुँजीवादी पार्टी भएको हुँदा व्यापक जनताको भन्दा पुँजीवादी वर्गको हितमा ऐन कानुनहरू निर्माण गरिरहेको बताउनुभयो । उहाँले संसद विघटनबारे नेमकिपाको दृष्टिकोणबारे स्पष्ट पार्दै संसद पुनःस्थापनाभन्दा निर्वाचनमा भाग लिनु प्रजातान्त्रिक कदम हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य रोशनमैँया सुवालले पार्टी स्थापनाकालदेखि समाजवादी व्यवस्था स्थापनाको लागि आवाज उठाउँदै आइरहेको बताउँदै नेमकिपाले बहुमत किसानको अधिकार र हक प्राप्त गर्नको निम्ति सङ्घर्ष तथा आन्दोलन गरेको प्रस्ट पार्नुभयो । २०४६ सालको आन्दोलनमा नेमकिपाले खेलेको भूमिकाबारे प्रशिक्षित गर्दै उहाँले नेपालको प्रजातान्त्रिक अधिकार प्राप्त गर्न नेमकिपाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।
नेमकिपा कैलालीका उपाध्यक्ष ज्योति बडुवालको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर तारामी, नेमकिपा कैलालीका गगन थापामगर र लक्ष्मी पुनले पनि बोल्नुभएको थियो ।
दोलखा
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा नेमकिपा दोलखा जिल्ला समितिको आयोजनामा सोमबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको संशोधनवाद, अवसरवाद, उदारवाद र अराजकतावादविरुद्धको सङ्घर्षमा नेमकिपाले सैद्धान्तिक सङ्घर्ष गरेको बताउनुभयो ।
नेमकिपाले सञ्चालन गरेको समाजवादी गणतन्त्र प्रचार अभियानले देशभर समाजवादी व्यवस्थाबारे जनचेतना अभिवृद्धि भएको धारणा राख्दै दुवालले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षको अग्रमोर्चामा नेमकिपा सक्रिय रहेको बताउनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले नेकपाले आफ्नो नाममा कम्युनिस्ट शब्द राखेर जनतालाई झुक्याएको र कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम नगरेको धारणा राख्नुभयो । उहाँले कम्युनिस्ट पार्टीले शिक्षा निःशुल्क र अनिवार्य, स्वास्थ्य सेवा निःशुल्क, उत्पादनका मुख्य मुख्या साधनको राष्ट्रियकरण, व्यक्तित्व विकासमा समान अवसरको बन्दोबस्त गर्नुपर्न बताउनुभयो ।
नेमकिपा दोलखा जिल्ला समितिका अध्यक्ष कृष्णप्रसाद शिवाकोटीको सभापतित्वमा भएको कार्यक्रममा नेत्रप्रसाद शिवाकोटी, गोपाल शिवाकोटी, दिनेश श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
प्रदेश नं. २ का विभिन्न जिल्लामा पार्टी स्थापना दिवस
रौतहट । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा प्रदेश नं २ का जिल्लाहरूमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व र सरोज साहको नेतृत्वमा रहेको टोलीले बारा जिल्लाको सदरमुकाम कलैया बजार, पर्सा जिल्लाका जयनगर मोदिन टोलका जनताबीच कार्यक्रम गरेको हो ।
कलैयाको स्थानीय विद्यालयमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नेपालका तराई जिल्ला र काठमाडौँ उपत्यकाको किसान आन्दोलनको पृष्ठभूमिमा पार्टी स्थापना भएको चर्चा गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा गरीबका सन्तानहरूले सबै विषयमा निःशुल्क अध्ययन र गरीब जनताले निःशुल्क स्वास्थ्य उपचारको सेवा पाउने बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य सरोज साहले पुँजीवादी व्यवस्थामा जमिनदार र पुँजीपति वर्गले कामदार जनताको पक्षमा कहिल्यै काम नगर्ने हुँदा आफ्नो अधिकारको लागि कामदार जनता राजनैतिकरूपमा सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा बारा जिल्ला अध्यक्ष मुक्तिप्रसाद यादवले तराईका जनता आफ्नै ठाउँका शोषक सामन्त र सिमानामा भारतीय सेनाबाट प्रताडित भएको बताउनुभयो ।
कार्यक्रममा रमेश प्रजापति, पूर्णगोपाल राजचल र यन्दल दासले पार्टीको इतिहासबारे चर्चा गर्दै वर्तमान पुँजीवादी सरकारका गलत क्रियाकलापविरुद्ध सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
पर्सा जिल्लाको मधुवन मथवलमा माघ ११ मा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले शासकहरू नेपाली जनतालाई जात, धर्म र क्षेत्रको आधारमा आपसमा लडाएर गरीब जनतामाथि शासन र शोषण गरिरहेको बताउनुभयो ।
केन्द्रीय सदस्य सरोज साहले वर्तमान ओली सरकार नाममात्र कम्युनिस्ट भएको तर जनताको पक्षमा केही काम नगरेको उल्लेख गर्दै प्रचण्ड–नेपाल–खनालजस्ता नेताहरू पनि भारतीय शासक वर्गको दलाल भएको बताउनुभयो ।
कार्यक्रममा ब्रह्मदेव चौधरी, हकिम अन्सारी, गोकर्ण पासवान र इस्लाम मियाँ अन्सारीले नेमकिपाले तराईका बारा, पर्सा, धनुषा, रौतहटमा किसान आन्दोलन गर्दाको इतिहासबारे जानकारी दिनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका पूर्णगोपाल राजचल र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका रमेश प्रजापतिले राजनीतिको अर्थ भ्रष्टाचार, गुण्डागर्दी र भ्रष्टाचार नभई गरीब जनताको निःस्वार्थ सेवा गर्नु हो भन्नुभयो ।
त्यस्तै पर्साको छपकैयामा भएको स्थानीय जनताको भेलामा केन्द्रीय सदस्यद्वय रवीन्द्र ज्याख्व र सरोज साहले किसान समस्या समाधानका लागि नेमकिपाले गरेको सङ्घर्षबारे जानकारी गराउनुभयो ।
माघ १२ गते रौतहटको जयनगरमा सम्पन्न कार्यकर्ता प्रशिक्षणमा केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पार्टी विधानमा उल्लेखित बुँदाहरूबारे चर्चा गर्दै सबै जाति, भाषा र क्षेत्रमा वर्ग विभाजन हुने र कामदार जनताको समस्या एउटै हुने भएकोले पार्टी सिद्धान्तबमोजिम वर्गसङ्घर्षलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
अर्का केन्द्रीय सदस्य दिनेश साहले पुँजीवादी व्यवस्थामा शासक वर्गले अनेक बहानामा शोषण गरिरहने चर्चा गर्दै समाजवाद र साम्यवाद स्थापनाको लागि पार्टीले निरन्तर सङ्घर्ष जारी राखेको प्रस्ट पार्नुभयो ।
केन्द्रीय सदस्य सरोज साहले कम्युनिस्टको खोल ओढेका नक्कली कम्युनिस्टहरूबाट सचेत रहन आग्रह गर्दै चुनावलाई नेमकिपाले वर्गसङ्घर्षको रूपमा प्रयोग गरेको बताउनुभयो ।
कार्यक्रममा रमेश प्रजापति, पूर्णगोपाल राजचल, लालबाबु चौधरी र परमेश्वर राय यादवले कामदार जनता, आफ्नो हकअधिकारको लागि नेमकिपाको झन्डामुनि गोलबद्ध भई सङ्घर्षशील रहनुपर्ने बताउनुभयो ।
उदयपुर
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा उदयपुरमा सोमबार पार्टी कार्यकर्ताहरूको भेला भयो । भेलामा पार्टीका केन्द्रीय सदस्य उकेश कवांले समाजमा क्रान्तिकारी परिवर्तन हुन एक ऐतिहासिक समय लाग्ने भएकोले कार्यकर्ताहरूमा धैर्यता र लगनशीलता आवश्यक भएको बताउनुभयो ।
पार्टी ठूलो हुँदैमा सही नहुने धारणा राख्दै उहाँले पार्टीले लिएको विचार र सिद्धान्त महत्वपूर्ण हुने बताउनुभयो । केन्द्रीय सदस्य कवांले भन्नुभयो, “नेकपाको झगडा पद, सत्ता र व्यक्तिगत स्वार्थको लागि हो । नेकपाको झगडामा कुनै सैद्धान्तिक कारण छैन ।”
नेमकिपाको स्थापनाका आधारहरूबारे प्रस्ट पार्दै उहाँले नेमकिपा समाजवाद र साम्यवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य राजकृष्ण गोराले कम्युनिस्ट सरकारले शोषित–पीडित जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।
सरकारले कृषिलाई प्राथमिकता दिई उन्नत बीउबिजन र मलखाद समयमा उपलब्ध गराए कृषिमा देश आत्मनिर्भर हुनसक्ने धारणा राख्दै उहाँले कृषिमा विदेशी लगानी भित्रिए देश विदेशीको दास बन्ने बताउनुभयो ।
कार्यक्रममा नेक्रामजदुर सङ्घ उदयपुरका अध्यक्ष चन्द्रबहादुर कार्कीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *