भर्खरै :

यात्रा गण्डकीको

नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा पार्टीको सन्देश लिएर पार्टी केन्द्रीय सदस्य डीपी काफ्लेको नेतृत्वमा माघ ८ गते गण्डकी प्रदेशतर्फ लाग्यौँ ।
कोभिड–१९ को कारण झन्डै एक वर्षको अन्तरालपछि गण्डकी प्रदेशका साथीहरूसँग भेटघाटको निम्ति हामीलाई पार्टीको पठाएको हो । सोहीअनुसार दैनिक करिब ७० लाख मानिसको चलफिर हुने काठमाडौँको कोलाहलपूर्ण वातावरणलाई केही दिनको लागि छोड्ने निर्णय गरेर बिहान १०ः०० बजे कलङ्कीबाट माइक्रोबस चढ्यौँ ।
कलङ्कीबाट थानकोट हुँदै धादिङको धुनीबेसी नपा सिक्रेसम्म पनि उपत्यका पस्ने यातायातको चापले सडक जाम, धुवाँ, धुलो उत्तिकै बढेको महसुस भयो । देशको सन्तुलित विकास गरी सबै प्रदेशमा विकेन्द्रित गर्नुपर्ने सेवा–सुविधालाई काठमाडौँ केन्द्रित गर्नु र शासक दलका नेताहरूको जसरी पनि काठमाडौँमै घर बनाउने प्रवृत्तिको कारण काठमाडौँको हालत दिनप्रतिदिन बिग्रँदो छ ।
धादिङको सिक्रेमा केही क्षणको चिया बसाइपछि नागबेली बाटो हुँदै अलि सरलताका साथ माइक्रो अगाडि बढ्यो । धादिङ जिल्लाको नौविसे भएर खानीखोला बग्दछ । यो खोलाको दुवैतर्फ मलिलो माटो भएकोले उब्जाउ राम्रो हुने गर्दछ भने तरकारीको लागि यो क्षेत्र प्रसिद्ध छ । हजारौँ किसानले तरकारी खेती गरेर आफ्नो जीविकोपार्जन गरेका छन् । तर, यस खोलामा नियमित एवम् अनियमित ढङ्गले सञ्चालित धेरै क्रसर उद्योग र केही सिमेन्ट कारखानाहरू पनि छन् । यस्ता क्रसर उद्योग तथा सिमेन्ट कारखानाहरूको कारण खानीखोलाको पानी पुरै धमिलिएको देखिन्छ । यसले खोलाको छेउछाउ बस्ने मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको छ ।
यस नदीमा नेपाल विद्युत् प्राधिकरण, यसका सहायक कम्पनी र निजी कम्पनीहरूले विभिन्न क्षमताका जलविद्यिुत् आयोजनाहरू निर्माण गरिरहेका छन् । नेपाल विद्युत् प्राधिकरणले देवीघाट १४ मेवा, त्रिशुली २४ मेवा, त्रिशुली ३ (१) ६० मेवा उतपादन गरिरहेको छ भने चिलिमे हाइड्रो पावरले अर्को सहायक कम्पनीमार्फत रसुवागढी १११ मेवा, मध्ये भोटेकोशी १०२ मेवा, याञ्जेन ४२ मेवा र अपर सान्जेन १४.८ मेवा निर्माण गरिरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणकै सहायक कम्पनी त्रिशुली जलविद्युत् कम्पनीले त्रिशुली ३ (बी), ३७ मेवा निर्माण प्रक्रिया अगाडि बढाएको छ भने अपर त्रिशुली (१) २१६ मेवा नेपाल सरकारले चीन सरकारको सहयोगमा मोडेल कायम गरी निर्माण प्रक्रिया अगाडि बढाउने प्रयासमा छ ।
त्रिशुली नदीकै सहायक भोटेकोशीमा १२० मेवाको जलविद्युत् आयोजना पीपीएको प्रक्रियामा रहेको पार्टीका केन्द्रीय सदस्य डीपी काफ्लेले बताउनुभयो ।
त्रिशुली नदीकै बेनीघाट रोराङ्ग गा.पा. क्षेत्रभित्र सुपर त्रिशुली हाइड्रोपावरले ७५ मेवा जलविद्युत्को आयोजना सञ्चालन गर्न सुरु गर्दै छ भने मैलुङ्ग खोलामा एक निजी कम्पनीले ५ मेवाको जलविद्युत् उत्पादन गरी नेपाल सरकारलाई बिक्री गरिरहेको छ ।
मनास्लु हिमालको पूर्वी क्षेत्र र गणेश हिमालको पानीबाट बुढी गण्डकी बगेर धादिङको बेनीघाट रोराङमा आएर त्रिशुली नदीसँग मिसिएको छ । यो बुढी गण्डकीमा देशकै ठूलो जलविद्युत् आयोजना १२ सय मेवा बनाउने प्रक्रियामा रहेको छ । त्यसभन्दा माथि बुढी गण्डकी ‘ए’ र बुढीगण्डकी ‘बी’ आयोजना ‘जनताको पानी जनताको लगानी’ भन्ने नाराका साथ आर्थिक सङ्कलन गरी साझेदारीमा बनाउने प्रक्रिया अगाडि बढेको छ ।
धादिङको गल्छीमा आइपुगेको त्रिशुली नदीको तिरैतिर रसुवाको सदरमुकाम धुन्चेबाट उत्तरतर्फ केरूङ हुँदै चीनको तिब्बत जाने बाटो जोडिएको छ । त्रिशुली नदी मुग्लिन पुगेपछि मस्र्याङ्दी नदी मिसिन्छ र देवघाटसम्म त्रिशुली भएर बगेपछि काली गण्डकीमा समाहित हुन्छ । हामी मुग्लिनबाट मस्र्याङ्दी तिरैतिर हुँदै तनहुँको आँबुखैरेनी पुग्यौँ । कुरिनटारबाट मनकामनासम्म केबलकारको विकास नहुँदा यसै ठाउँबाट (आँबुखैरेनी) अधिकांश मानिस मस्र्याङ्दी र दरौँदी नदी पार गरेर उकालो बाटो हुँदै मनकामनासम्म पैदल यात्रा गर्थे । उतिखेर आँबुखैरेनीको व्यापार–व्यवसाय निकै फस्टाएको स्थानीय बताउँछन् । अहिले त्यो दाँजोमा केही कमी आएको छ ।
आँबुखैरेनीको दक्षिणतर्फ ‘छिम्केशरी’ नामको ठूलो पर्वत उभिएको छ । यो पर्वतलाई नेपालकै चुरे क्षेत्रको सबभन्दा अग्लो पर्वत मानिन्छ । जसको कारण १२–१ बजेसम्म आँबुखैरेनीमा घाम लाग्दैन ।
आँबुखैरेनीमा मनाङबाट लमजुङ हुँदै आएको मस्र्याङ्दी र गोर्खाको मनास्लु हिमालबाट गोरखा पालुङटार हुँदै बगेर आएको दरौँदी नदी मिसिएको छ । मस्र्याङ्दीमा पनि जलविद्युत्का धेरै आयोजनाहरू रहेछन् । मनाङको चामेममा ६ सय मेवा विद्युत् आयोजनाको अध्ययन गरिएको छ । यसलाई भारतको जीएमआर कम्पनीले ‘होल्ड’ गरेर राखेको छ । उक्त आयोजनालाई बुटवल हाइड्रोपावर कम्पनीले जीएमआरसँग किनेर ६ सय मेवाबाट घटाएर २ सय मेवामात्र बनाउने प्रक्रिया थालनी गरिएको सुनिएको छ ।
त्यसभन्दा तल सिनो हाइड्रोपावर कम्पनीले अपर मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट ५ सय मेवा विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । अर्को मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेवा विद्युत् उत्पादन भएको छ । मस्र्याङ्दी सहायक नदी दोर्दी खोलामा निजी कम्पनीहरूले दोर्दी ए, दोर्दी बी, अपर मोदी र दोर्दीसमेत ४ वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पु¥याएको पनि जानकारी प्राप्त भयो ।
मस्र्याङ्दीकै सहायक न्यादी खोलामा २ वटा मेघा पावरका जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको पाइयो भने दरौँदीमा ६ मेवाको दरौँदी जलविद्युत् आयोजना पनि बन्दै रहेछ । लमजुङको दूध पोखरीबाट आएको चेपे खोलामा साना जलविद्युत् (४.५ मेवा) निजी कम्पनीले बनाउँदै गरेको सुनियो ।
मस्र्याङ्दी नदीकै आँबुखैरेनीमा बाँध बाँधेर तनहुँको बेनीटारमा ६९ मेवा विद्युत् नेपाल विद्युत् प्राधिकरणले उत्पादन गरिरहेको पनि देखियो । यात्राका क्रममा त्रिशुली र मस्र्याङ्दी नदीका विभिन्न ठाउँबाट अत्यधिक विद्युत् उत्पादन हुनसक्ने सम्भावनाबारे यथेष्ट जानकारी प्राप्त भयो । नेपाल सरकारले देशको जलस्रोतलाई विदेशीको प्रभावमा नपरी व्यस्थापन गर्न सके नेपाली जनता अँध्यारोमा बस्नुपर्ने छैन ।
माइक्रोबसबाट करिब २ बजेतिर हामी तनहुँको डुम्रे पुग्यौँ । डुम्रेबाट लोकल बस चढेर लमजुङको सुन्दर बजारतर्फ बढ्यौँ । मस्र्याङ्दीको किनारैकिनार, टुरटुरे बाइसजाँगर, कालीमाटी, पाउँदीखोला, सिउँडीबार हुँदै साँझ ४ बजे सुन्दर नगर पुग्यौँ । डुम्रेदेखि लमजुङको बेसीसहरसम्म लोभलाग्दा धनहर खेत प्रशस्तै छन् । प्राकृतिक सुन्दरता उस्तै राम्रो छ । काठमाडौँमा जस्तो धुवाँ–धुलो, प्रदूषण पटक्कै छैन । लमजुङ पर्यटकीय दृष्टिकोणले पनि अत्यन्त सम्भावना बोकेको भूमि हो । देशको सन्तुलित विकासलाई ध्यान दिन सके लमजुङ आत्मनिर्भर हुन सक्छ । लमजुङको सुन्दर बजारमा अधिकांश व्यापारी नेवार तथा गुरूङहरू छन् । बसोबासका दृष्टिकोणले यहाँ ब्राह्मण, क्षेत्री, नेवार, गुरूङको मिश्रण रहेको पाइन्छ । सुन्दरबजार नगरपालिका भोटेओडार चन्द्रेश्वर, सिन्दुरडाँडा, परेवाडाँडा, तार्कु र लमजुङको पुरानो सदरमुकाम कुन्छालाई मिलाएर बनाइएको छ । यहाँ त्रिभुवन विश्वविद्यालयअन्तर्गतका मातृभूमि क्याम्पस र लमजुङ कृषि तथा पशुविज्ञान क्याम्पस सञ्चालनमा छन् ।
राजनीतिक दृष्टिकोणले काङ्ग्रेसको बाहुल्यता रहेपनि उनीहरूको आन्तरिक किचलोका कारण स्थानीय र संसद्को चुनावमा नेकपाले बाजी मारेको रहेछ । यी राजनैतिक दलप्रति पनि जनताको वितृष्णा र आक्रोश हामीले प्रस्टै देख्यौँ । जनतामा राजनीतिक चेतनाको कमी छ ।
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *