भर्खरै :

कसले रोक्छ चिनियाँ सामान ?

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘कर्मचारी र निजी क्षेत्रलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।’ (नयाँ पत्रिका, ७ माघ २०७७)
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको त्यस अभिव्यक्तिले कर्मचारी र निजी क्षेत्रबाट देशले बढी आशा गरेको देखिन्छ । तर, वर्तमान नेपालमा कर्मचारी र निजी क्षेत्रबारेका गुनासाबाट अखबारहरू भरिएको देख्छौँ ।
हिजो पञ्चायतकालमा पनि नेपालले चीनमा चामल निर्यात गथ्र्यो । तर, कर्मचारीको मिलेमतोमा नमुनाअनुसारको चामल नपठाउँदा उताको पक्षले चामल फिर्ता पठायो र व्यापार एक पटक बन्द भयो ।
एक पटक एक नेपाली व्यापारी र सवारी चालकले काठमाडौँबाट पठाएको रकम हिनामिना गर्दा खलासीलाई साहुकहाँ पठाई आफू भाग्दा विचरा खलासी पक्राउ परे, त्यसको जहान परिवारको ठूलो विचल्ली भएको थियो ।
तातोपानी नाकाले सबै कन्टेनर नपठाउँदा केही सांसदहरूले तातोपानी नाकाको हाकिमसँग सोध्दा प्रस्ट भनेका थिए,“भारतले नेपाललाई दबाब दिएअनुसार कम सामानमात्रै नाका छोड्न लगाउँछ ।” त्यो कुरो थाहा नपाउँदासम्म सबै व्यापारीले चीनलाई दोष दिन्थे । साथै कति व्यापारमा जालझेलबारे माथिल्ला कर्मचारीहरूले मन्त्रीहरूलाई पनि झूटा कुरा बताउँथे ।
ल्हासा र केरुङ्गबाट नेपाली नाकासम्म आउने कन्टेनरहरू किन काठमाडौँ पु¥याइन्न भन्ने विषयमा पनि व्यापारीहरू भन्न डराउँछन् । तातोपानी र रसुवा नाकामा बलको आधारमा काम गर्ने केही राजनैतिक दलका मानिसहरूले आ–आफ्नो कन्टेनर बाहेक अरूका कन्टेनर पठाउन दिँदैनन् । त्यसको दोष मित्रराष्ट्र चीनलाई होइन, आफ्नै पक्षलाई दिनुपर्छ ।
नाकामा कर्मचारीहरू ती तत्वहरूसँग थरथर काँपेर केही भन्न सक्दैनन् । यसबारे सरकार र व्यापारीहरू किन नाम किटेर भन्न सक्दैनन् ?
चीनमा कोभिड–१९ फैलियो भनी हो–हल्ला फैलाएर चीनमा पढिरहेका विद्यार्थीका केही अभिभावकहरूलाई भड्काएर प्रधानमन्त्रीको आवास बालुवाटारमा घेरा, जुलुस र धर्ना दिएर आफ्ना छोरा–छोरीहरूलाई तुरून्त फिर्ता पठाउन लगाउन सरकारलाई दबाब दिन लगाइयो । तर, यहाँ कोरोनाको रोकथामको कुनै व्यवस्था भइसकेको थिएन । बरु फर्केका विद्यार्थीहरूमा कथंकदाचित कोभिड –१९ रोग भइदिएको भए हाहाकार मच्चिने थियो ।
चीनबाट फर्केका विद्यार्थीहरूलाई क्वारेन्टिनमा राखिएको क्वारेन्टिनस्थल नजिकका जनता रोग फैलिने डर–त्रासको कारण नातागोता वा आफन्तहरूमा बस्न गए । जसका आफन्त थिएन ती घरमै आज रोग लाग्ने हो वा भोलि मर्ने हो भनी पिर मान्दै बसे ।
चिनियाँ मालसामानबाट पनि रोग फैलिने डर छ भनी हल्ला फैलाइयो । त्यही बहानामा सामान ल्याएनन् वा नेपाल सरकारबाटै ल्याउन दिइएन । त्यसको दोष फेरि मित्रराष्ट्र चीनलाई नै दिइयो । यो गलत कुरा हो ।
भारतीय एकाधिकार पुँजी चीनसँगको व्यापार अगाडि नबढोस् भन्ने चाहन्छ । त्यसको दबाब मन्त्रालयमा पर्छ । मन्त्रालयका केही कर्मचारीहरूबाटै उल्टो काम भइरहेको छ र केही व्यापारीहरू चीनलाई ‘अघोषित नाकाबन्दी’ को आरोप लगाउँछन् । (अन्नपूर्ण पोस्ट, १२ माघ २०७७)
अरूलाई दोष दिनुभन्दा पेइचिङमा रहेको आफ्नो राजदूतबाट बुझ्न पाए छर्लङ्ग हुनेछ भन्नेबारे जनतामा व्यापक चर्चा छ । केही व्यापारी र कर्मचारीको भरमा मन्त्रीजस्तो व्यक्तिले दुई देशको बीचमा खलल पुग्ने कुरा गर्नबाट बच्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *