भर्खरै :

सरकारी दस्तावेज र वेभसाइटबाट बाइडेनले हटाए ‘चाइना भाइरस’

वाशिङ्टन, २७ जनवरी । संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार कोभिड–१९ महामारीको समयमा संरा अमेरिकामा एसियाली समुदायविरुद्धका विभेदकारी गतिविधिको भत्र्सना गरेका छन् । उनले एसियाली अमेरिकी र प्रशान्त क्षेत्रका टापुवासी समुदायहरूविरुद्ध घृणाजन्य अपराध र अपमान हुन नदिन आवश्यक थप कदम चाल्न न्याय विभागलाई निर्देशन जारी गरेका छन् ।
“कोभिड–१९ महामारीको समयमा एसियाली–अमेरिकी र प्रशान्त महासागरका टापुहरूमा बस्ने समुदाय, परिवार, व्यक्ति र उनीहरूका व्यापार–व्यवसायलाई अतिरञ्जनापूर्ण र जातिवादी पूर्वाग्रहले जोखिममा पा¥यो”, बाइडेनले नागरिक अधिकार र जातीय समानताको सन्दर्भमा मङ्गलबार हस्ताक्षर गरेको कार्यकारी निर्देशन (एक्जुकेटिभ अडर्स) मा लेखिएको छ ।
“कोभिड–१९ महामारीको सन्दर्भमा कुनै पनि समुदाय र व्यक्तिविरुद्ध उनीहरूको मूल थलोको आधारमा राजनीतिक नेताहरूले जातिवादी घृणाको भावना फैलाउने काम भएको अवस्थामा आफ्नो भूमिकाप्रति सङ्घीय सरकार सजग छ । निर्देशन पत्रमा लेखिएको छ, “त्यस्ता कामले एसियाली अमेरिकी र प्रशान्त महासागरका टापुहरूका समुदायहरूबीच अदृश्य भय र त्रास फैलाएको छ । ती समुदायमा मानिसहरूलाई अपमान गर्ने, चिढाउने र घृणामा आधारित अपराध बढ्दो छ ।”
राष्ट्रपतिले हस्ताक्षर गरेको दस्तावेजअनुसार सङ्घीय सरकारको स्वास्थ्य निकायले ‘ती समुदायप्रति सांस्कृतिक सहिष्णुता, भाषिक शिष्टता र संवेदनशीलताका साथ’ महामारी नियन्त्रणमा भूमिका खेल्नुपर्ने उल्लेख छ ।
निर्देशनपत्रमा यसअघिको सरकारले विभिन्न नीति र वेभसाइटमा लेखेको ‘चाइना भाइरस’ जस्ता विभेदकारी कुरा हटाउन संरा अमेरिकाका सबै सङ्घीय निकायलाई निर्देशन जारी गरेको छ ।
त्यसमा ती जातीय समूहविरुद्ध घृणामा आधारित अपराध र अपमान हुन नदिन न्याय विभागलाई आवश्यक सूचना जारी गर्न निर्देशन जारी गरेको छ । राष्ट्रपतिले ती समुदायमाथि भएका अपमान र अपराधका घटनाबारे तथ्याङ्क सङ्कलनको लागि पनि आग्रह गरेका छन् ।
“यो समय काम गर्ने समय हो । यो समय सही काम गर्ने समयमात्र नभएर यो समयमा काम गरे हामीले उत्तम उपलब्धि हासिल गर्नसक्ने भएकोले पनि यी काम गर्न जरुरी छ”, बाइडेनले हस्ताक्षर कार्यक्रममा भने ।
बाइडेनले सङ्घीय आवास नीतिमा रहेको जातीय विभेदकारी प्रावधान अन्त्य गर्न आवास तथा सहरी विकास विभागलाई निर्देशन जारी गरेका छन् । राष्ट्रपतिले निजी कारागारको प्रयोग अन्त्य गर्न न्याय विभागको नाम निर्देशन दिएका छन् ।
“मेरो विचारमा यी कुराहरू महत्वपूर्ण छन्…अनि मेरो विचारमा यो सुरुवात हो । अझै पनि गर्न बाँकी काम धेरै छन्”, राष्ट्रपतिका निर्देशनपत्रबारे टिप्पणी गर्दै एसियाली प्रशान्त नीति तथा योजना परिषद्का कार्यकारी निर्देशक मञ्जु कुलकर्नीले भनिन् ।
गत वर्षभरि संरा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक – पटक कोरोना भाइरसलाई ‘चाइना भाइरस’ भनेका थिए । जनस्वास्थ्य अधिकारीहरूले भाइरसलाई कुनै ठाउँ वा जातिसँग नजोड्न पटक – पटक गरेको आग्रहबीच उनले त्यसो भन्न छोडेका थिएनन् ।
स्वास्थ्य शिक्षा तथा व्यवहारसम्बन्धी एउटा जर्नलले गरेको एक अध्ययनअनुसार त्यस्ता जातिवादी भनाइले संरा अमेरिकामा एसियाली अमेरिकीहरूलाई हेर्ने नजरमा गहिरो प्रभाव पारेको छ । त्यस्तो भाषा र शब्दको कारण अमेरिकीहरूको अन्तरमनमा एसियाली अमेरिकीहरू सधैंका विदेशी भएको भावना रहेको अध्ययनले देखाएको छ ।
“अध्ययनहरूले जब कोही मानिसले एसियाली अमेरिकीहरूलाई अझ बढी विदेशीको रूपमा हेर्छ, त्यस्तो हेराइसँगै हिंसा र विभेदका गतिविधि पनि जोडिएर आउने गरेको हुन्छ”, क्यालिफोर्निया विश्वविद्यालयको सार्वजनिक नीतिका प्राध्यापक रुकर जोनसनले भने ।
“शब्दले फरक पार्छ । मानिसहरू कोरोना भाइरस र चिनियाँ जनतालाई जोडेर हेर्ने गरेका छन् किनभने त्यस्तै शब्दहरूको प्रयोग भएको छ”, सान फ्रान्सिस्को स्टेट विश्वविद्यालयको एसियाली अमेरिकी अध्ययन विभागका सभापति रुसल जेङले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *