भर्खरै :

सन्तुलित सिद्धान्त र व्यवहार नै जनताको राजनीति हो

‘राजनीति तरवारको धारमा हिँड्नु जस्तै हो’, त्यसैले राजनीतिमा लाग्नुहुन्न भनी सम्झाउने गर्छन् मध्यम वर्गीय अभिभावहरू । नेकपाको पद र पैसाको भित्री झगडाले ‘६ महिनामा साढे १४ प्रतिशतभन्दा कम’ मात्र विकास रकम खर्च गर्न सक्यो– नेकपाको सरकार अर्थात् ओली–प्रचण्ड–माधव नेपालको सरकारले । तर, काम नहुनुको सबै दोष कोरोनालाई दिई सिंहदरबारका कर्मचारीहरू वर्तमान र भविष्यका मन्त्री एवम् नेताहरूको अगाडि तटस्थ देखिने स्वाङ गर्दै छन्  ।
राजनीति गाली–गलौज र सराप्ने शास्त्र होइन, त्यसैले नेताहरू शिष्ट र व्यावहारिक होऊन् भन्ने जनता चाहन्छन् । राजनीतिशास्त्रका विद्यार्थी र नयाँ कार्यकर्ताहरू चाहन्छन् – प्रजातन्त्र र साम्यवादको मन्त्र जप्ने शासक दलका नेताहरूले गाउँका जाली–फटाहा र तराईका जमिनदारहरूले जस्तै अरूको बालीनाली हडप्ने, किसान र मजदुरको ज्याला चोर्ने शोषकको काम नगरून् !
जन बल, भौतिक बल र सत्तामातको कारण भएको नेकपाको झगडामा एक पक्षले अर्कोलाई हानेको अहङ्कार र धाकधक्कुको वाण फर्केर आई आफैलाई लागेको देखिन्छ – ‘निर्वाचन आयोगद्वारा नेकपाका दुवै समूहको दाबी खारेज, पुरानै नेकपालाई मान्यता ’ (राजधानी, १२ माघ २०७७) शीर्षकको समाचार हेर्दा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाअनुसार ‘पुरानै नेकपालाई मान्यता’ प्राप्त छ  ।
गल्ती सच्याउन पाइन्छ तर थुकेको थुक चाट्न मिल्दैन  । गल्ती महसुस गर्ने तर बरोबर गल्ती दोहो¥याइरहने व्यक्ति वा संस्था नसच्चिने रोगबाट ग्रस्त भनेमा फरक पर्दैन । ८ माघको बुधबार बिहान एक अन्तरक्रियामा सम्पादकहरूले प्रश्न गरेका थिए – “तपाईँहरू कहाँनिर हुनुहुन्छ ?” अन्य प्रश्नहरू थिए –
१) तपार्इँहरूको आन्दोलन पदका खातिर होइन (सैद्धान्तिक हो) भन्ने पुष्ट्याइँ कसरी गर्ने ?
२) प्रधानमन्त्री ओलीभन्दा तपाईँहरू उत्तम भनी छुट्याउने ठाउँ कहाँ छ ?
३) दाहाल–नेपाललाई पार्टी÷सरकार सुम्पिनमात्र अरूले आन्दोलन किन गर्ने ?
४) तुच्छ गालीगलौजका दोहोरो वर्षा कति गराउनुहुन्छ ?
५) यत्रो वर्ष गरेका गल्तीमा तपार्इँहरूले … खुला माफी किन नमाग्ने ?
६) तपाईँहरूले पदीय झगडालाई बलजफ्ती सैद्धान्तिकरण गरेको सर्वसाधारणले अनुभूत गरेका छन्, कसरी खण्डन गर्नुहुन्छ ?
७) तपार्इँहरूको हातमा परेको बेला समावेशिताको अभ्यास देखाएको खोई ?
८) राजा फाल्दा दलहरू सच्चिने प्रतिबद्धता जनतामाझ गर्नुभएको होइन ? सच्चिएको खोई ?
९) तपाईँहरू ढाँट पनि हो भन्ने जनतामा परेको छाप कसरी मेटाउनुहुन्छ ?
१०) साकाहारी आन्दोलनले धानेन भन्नुहुन्छ, के भन्न खोज्नुभएको हो ?
उक्त अन्तरक्रियामा सम्पादकहरूले ओलीको कदमलाई असंवैधानिक मानेपनि ‘व्यक्तिगतरूपमा तपार्इँहरू फरक र गतिला हुनुहुन्छ भन्नेमा अलिकति पनि विश्वास’ नभएको मनको कुरो पोखेका थिए  ।
दाहालले आफ्नो मन्तव्यको अधिकांश समय आत्मआलोचना र गल्ती सच्याउने प्रतिबद्धता देखाएर सिध्याए भने माधव नेपालले ‘ओली रद्दी मान्छे, अहङ्कारी मान्छे भन्नैपर्ने र त्यसो भनेन भने घृणा पैदा गर्न सकिन्न  ।’ ‘नेता नेपाल भने ओलीप्रति निकै खरो देखिए  ।’ (अन्नपूर्णपोष्ट, ८ माघ २०७७)
दाहालले ‘हामीबाट गल्ती भएकै हो’ भने  । अर्का अध्यक्ष माधवकुमार नेपालले ‘राज्य तथा पार्टी सञ्चालनमा सही प्रक्रिया अपनाउन दल र तिनका नेताहरू चुकेको स्वीकारे  ।
पत्रकार र सम्पादकहरूले त्यस अवसरमा ‘दलका नेताहरूले नेतृत्व विकास गर्न नसकेको, प्रत्येक निकायमा चरम राजनीतिकरण गरेको र गुटगत राजनीतिमा लागेको तथा पदकै निम्ति’ लुछाचुँडी गरेको कारण अहिलेको अवस्था आएको तर्फ ध्यान आकर्षण गराएका थिए  ।
तर, माघ ९ गते राजधानीमा भएको एक जनसभामा ओलीविरुद्ध नेपाल–दाहालले आक्रोश पोखे – ‘विश्वासघाती, नरसंहारकारी, भस्मासुर, हिटलरको नेपाली संस्करण’ आदि । (नागरिक–शनिबार, १० माघ २०७७)
‘घृणा पैदा’ गर्न जे पनि बोल्ने प्रवृत्तिलाई जिम्मेवारीयुक्त अभिव्यक्ति भन्न मिल्दैन  । धर्मान्धता (क्याथोलिक), कट्टर राष्ट्रवाद, जाति र भाषाको आधारमा बडाराष्ट्र अहङ्कारवाद, प्रजातन्त्र र कम्युनिस्टप्रति द्वेष फैलाउनु नै फासीवाद र नाजीवाद हो  । के नेकपा त्यस्तै पार्टी हो ? प्रश्न उठ्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *