भर्खरै :

आन्दोलनरत भारतीय किसानविरुद्ध राजद्रोहको मुद्दा

भारतमा कृषिसम्बन्धी तीनवटा कानुन खारेजीको माग गरी आन्दोलन गरिरहेका किसानहरूमाथि नरेन्द्र मोदी नेतृत्वको भारतको केन्द्र सरकारले दमनलाई बढाएको छ । ट्रयाक्टर ¥यालीको क्रममा हिंसा फैलाएको आरोपमा बुधबार नै आन्दोलनको नेतृत्व गरिरहेका ३७ जना किसान नेताहरू लगायतविरुद्ध २५ वटा एफआईआर (जाहेरी) दर्ता गरिएका थिए भने २ सत्न्दा बढी किसानलाई पक्राउ गरिसकेको बताइएको छ ।
बिहीबार दिल्ली पुलिसले लालकिल्लामा भएको झडपमा संलग्न किसानहरूविरुद्ध राजद्रोहको मुद्दा दर्ता गरेको छ । दिल्ली पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार पुलिसले हिंसामा संलग्नविरुद्ध भारतीय दण्ड संहिता (आईपीसी) को धारा १२४ ए अनुसार राजद्रोहको अभियोगसहित मुद्दा दर्ता गरेको हो । लालकिल्लामा भएको हिंसामा सामेल किसानहरूको सूचीमा पञ्जाबी अभिनेता दीप सिद्धु र ग्याङ्स्टरबाट सामाजिक कार्यकर्ता बनेका लक्खा सिधानाको नाम समेत भएको बताइएको छ ।
प्रहरीले स्वराज इन्डिया अभियानका नेता योगेन्द्र यादव, भारतीय किसान युनियनका अध्यक्ष राकेश टिकैत, सामाजिक अभियन्ता मेधा पाटकरलगायत ३७ जना किसान नेताहरूविरुद्ध जाहेरी दर्ता गरेको छ । अरू २० जना किसान नेताहरूलाई पनि दिल्ली पुलिसले पत्र पठाएर उनीहरूको विरुद्ध कानुनी कारवाही किन नगर्ने भनी सोधिएको बताइएको छ । दिल्ली पुलिसका आयुक्त एसएन श्रीवास्तवले भारतको गणतन्त्र दिवसका दिन भएको ट्रयाक्टर परेडका क्रममा भएको हिंसालाई लिएर बिहीबारसम्म २५ वटा जाहेरी दर्ता भइसकेको र अरू पनि जाहेरी दर्ता हुने क्रममा रहेको बताए । पुलिसले जाहेरीमा नाम समावेश किसान नेताहरूविरुद्ध लुक आउट सूचना पनि जारी गरिसकेको छ । उक्त सूचनामा नाम रहेकाहरूलाई देशबाट वा कुनै सहरबाट बाहिर जान नदिने गरिन्छ ।
भारतको केन्द्र सरकारले ल्याएका किसानविरोधी तीनवटा कृषिसम्बन्धी कानुनहरू खारेजीको लागि आन्दोलनरत किसान सङ्गठनहरूले मङ्गलबार भारतको गणतन्त्र दिवसका दिन ट्रयाक्टर परेड आयोजना गरेका थिए । त्यस क्रममा दिल्ली पुलिसले आफैले अनुमति दिएका रुटमा समेत अवरोध गरेर परेड रोक्न खोजेको थियो । आन्दोलनकारी किसानहरू अवरोध हटाएर अगाडि बढेपछि अराजकताको स्थिति उत्पन्न भएको र एउटा रुटको ट्रयाक्टर परेड भारतको ऐतिहासिक लालकिल्लासम्म पुगेर किल्लामा शिखहरूको झन्डा गाडेका थिए ।
यसैबीच केही किसान सङ्गठनहरूले ट्रयाक्टर परेडमा रुट परिवर्तन र लालकिल्लाको घटना हुनुमा अभिनेता दीप सिद्धु जिम्मेवार भएको भन्दै उनको आलोचना गरेका छन् । सिद्धुले परेको क्रममा किसानहरूलाई लालकिल्लातर्फ अगाडि बढ्न उक्साइरहेको भिडियो फुटेज सार्वजनिक भएको छ । ३६ वर्षीय अभिनेता सिद्धुले किसानहरूको शान्तिपूर्ण आन्दोलनमा हिंसा प्रवेश गराउन र आन्दोलनलाई बदनाम गराउन खोजेको आरोप पनि किसान सङ्गठनहरूले लगाएका छन् ।
दिल्लीको समयपुर बादली थानामा अज्ञात किसान प्रदर्शनकारीहरूविरुद्ध दर्ता गरिएका जाहेरीमा आन्दोलनकारीहरूले पुलिससँग भएका एक पिस्टोल, दस गोली र दुई अश्रु ग्यासका सेल लुटेको आरोप पनि लगाइएको छ । जाहेरीमा किसानहरूविरुद्ध आईपीसीको धारा ३०७ (हत्याको प्रयास), धारा १४७ (दङगा फैलाएकोमा सजाय), धारा ३५३ (कुनै व्यक्तिद्वारा राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बलपूर्वक अवरोध) र १२० बी (आपराधिक षड्यन्त्रमा सामेल) लगायतका धाराहरू लगाई सजाय गर्न माग गरिएको छ ।
यसैबीच भारतका धेरै सुरक्षा विश्लेषक र विद्वानहरूले लेखहरू लेखी मङ्गलबारको झडप र हिंसात्मक घटना हुनुमा दिल्ली पुलिसका गम्भीर कमजोरी र अराजकता फैलाउने योजना लागू भएको दाबी गरेका छन् । भारतीय सीमा सुरक्षा बलका पूर्व अतिरिक्त महानिरीक्षक सञ्जीव कृष्ण सूद, सीआरपीएफका पूर्व आयुक्त निर्मलचन्द्र अस्थाना, प्राध्यापक अपूर्वानन्द, लेखक अमन बाली, पवनजोत कौरलगायतले लोकतान्त्रिक भारतमा किसानहरूको शान्तिपूर्ण परेडमा अवरोध गर्ने पुलिसको नियतमाथि प्रश्न उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *