भर्खरै :

मुख्य शत्रुलाई नचिनेसम्म सङ्घर्ष सफल नहुने

भक्तपुर, १६ भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा प्रशिक्षण एवम् प्रवचन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
नेपाल कर्मचारी समाज केन्द्रीय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नेमकिपा स्थापनाका आधारहरूबारे प्रकाश पार्नुभयो ।
मुख्य शत्रुलाई नचिनेसम्म सङ्घर्ष सफल नहुने भएकोले नेमकिपाले नेपाल कम्युनिस्ट पार्टीमा देखापरेका खोटा विचारहरूको खण्डन गर्दै उहाँले वर्ग सङ्घर्षलाई अगाडि बढाइरहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “आफूलाई कम्युनिस्ट भन्ने तर मजदुर–किसानलाई राजनीतिकरूपले सङ्गठित र सचेत नगर्ने नीति खोटपूर्ण छ ।”
संसारका कम्युनिस्ट र प्रगतिशील आन्दोलनबाट शिक्षा लिनुपर्ने, निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने भावना राख्नुपर्नेमा जोड दिँदै उहाँले सैद्धान्तिक सङ्घर्षको आवश्यकताबारे औँल्याउनुभयो ।
राजनीतिक पार्टीमा मतभिन्नता हुनु स्वाभाविक भए पनि नेकपाको विवाद सैद्धान्तिक र नीतिगत नभई व्यक्तिगत स्वार्थ र भागबन्डा केन्द्रित छ, अध्यक्ष रोहितले भन्नुभयो ।
भारतीय विस्तारवाद र एकाधिकार पुँजीले नेकपाका नेताहरूलाई विवादमा ल्याएको हो, सत्तासीन पार्टी नेताहरूलाई फूट गराई नेपालको प्राकृतिक स्रोत–साधन कब्जा गर्ने दाउ भारतीय विस्तारवाद र एकाधिकार पुँजीको रहेको छ, उहाँले स्पष्ट पार्नुभयो ।
बहुसङ्ख्यक कामदार जनताको हितमा चालिने कुनै पनि कदम स्वागतयोग्य हुने तथा देश र जनताको अहित हुने संविधानका धाराहरू संशोधन हुनुपर्ने धारणा राख्दै अध्यक्ष रोहितले निर्वाचन एक राजनीतिक कक्षाजस्तै हुने भएकोले नेमकिपाले निर्वाचनलाई समर्थन गर्छ भन्नुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले नेपाल विकास नहुनुमा भारतीय विस्तारवाद र एकाधिकार पुँजी नै प्रमुख दोषी रहेको बताउनुभयो ।
“नेपालको ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि भारतीय विस्तारवादले अतिक्रमण गरेको छ । नेपालको प्रशासनयन्त्र र सत्तामा गएका पार्टीहरूमा भारतीय हस्तक्षेप र प्रभाव बढ्दो छ”, उहाँले भन्नुभयो ।
नेमकिपा नभएको भए देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने पार्टी नै नहुने बताउँदै सचिव सुवालले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई नेपालको परिस्थिति अनुकूल व्यवहारमा कार्यान्वयन गर्न नेमकिपा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “जनताको प्रजातन्त्रमा मजदुर, किसान, प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुजीपति वर्गको सरकार हुन्छ । नेपाली काङ्ग्रेस भारतीय एकाधिकार पुँजी र नेपालका दलाल पुँजीपति वर्गको पक्षमा राजनीति गर्छ । नेकपा रातो झन्डा खसाल्न रातो झन्डा उचाल्ने हरियो घाँसभित्र लुकेको सर्प हो ।”
संरा अमेरिकाको रिपब्लिकन र डेमोक्रेटिक पार्टी दुवै पुँजीपति वर्गको पार्टी भएको उल्लेख गंर्दै सचिव सुवालले भन्नुभयो, “नेपालमा पनि त्यहीँ स्थिति देखिएकोले जनता सचेत हुनु आवश्यक छ ।”
सचिव सुवालले कतिपय म्यानपावर कम्पनी र शैक्षिक कन्सलटेन्सीहरू विदेशी दलालको रूपमा लागिपरेको र उनीहरू मानव बेचबिखन गर्ने गल्लावालजस्तै भएको बताउनुभयो ।
“कम्युनिस्टको एउटै लक्ष्य कामदार वर्गको सेवा गर्ने हो । श्रमजीवी वर्गको हकहित र संरक्षणको लागि अगाडि बढ्ने उद्देश्य नेमकिपाको हो । नेमकिपा विभिन्न भाषा, धर्म र क्षेत्रका जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गरी देशको सार्वभौमिकता रक्षाको लागि निरन्तर लागिरहेको छ”, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेमकिपा सर्वहारा अन्तर्राष्ट्रयवादी भावना बोकेर संसारका हरेक कम्युनिस्ट आन्दोलन र प्रगतिशील आन्दोलनलाई समर्थन गर्छ । साम्राज्यवादी थिचोमिचोको विरोध गर्दै संसारका न्यायप्रेमी जनताको आन्दोलनको समर्थन गरी ऐक्यबद्धता जनाउँछ ।”
निजीकरणलाई प्राथमिकता दिएपछि शोषण हुनु निश्चित छ भन्दै सचिव सुवालले समाजवाद विज्ञान भएकोले समाजवादी र साम्यवादी व्यवस्था स्थापना अवश्यम्भावी भएको बताउनुभयो ।
साम्यवाद स्थापनाको लागि एक ऐतिहासिक युग लाग्न सक्ने भएकोले कष्टसाध्य सङ्घर्षको लागि कार्यकर्ताहरू तयार हुनु आवश्यक छ, उहाँले जोड दिनुभयो ।
अहिलेको व्यवस्था पुँजीवादी गणतन्त्र भएको र कामदार जनताको हितको लागि समाजवादी गणतन्त्र आवश्यक भएको सचिव सुवालले बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले कार्यक्रमको औचित्यबारे स्पष्ट पार्दै नेमकिपा नेपालको राजनीतिमा ‘प्रकाशस्तम्भ’ को रूपमा रहेको बताउनुभयो ।
कार्यक्रममा प्राध्यापक समाजका केन्द्रीय सदस्य सुनिल दुवालले नेपालको राजनीतिक आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन र अर्थशास्त्र समाज नेपालका केन्द्रीय अध्यक्ष मुरज दिदियाले नेमकिपा स्थापनाका आधारहरूबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा आयोजक समाजका केन्द्रीय सचिव शिवराम धुख्वाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *