भर्खरै :

संरा अमेरिकामा कोभिडविरोधी खोपमा समेत रङभेद

वाशिङ्टन, ३१ जनवरी । संरा अमेरिकाका सत्र राज्य र दुई सहरमा गरेको एक अध्ययनले कोभिड–१९ को खोपमा गहिरो जातीय विभेद देखाएको छ । ती क्षेत्रको कुल जनसङ्ख्यामध्ये काला समुदायको जनसङ्ख्याको तुलनामा कोभिड–१९ को खोप लगाएका काला समुदायका मानिसको सङ्ख्या कम भएको तथ्याङ्कले उजागर गरेको छ । तीमध्ये कतिपय स्थानमा त उल्लेखनीय स्तरमै खोप लगाउने काला समुदायका मानिस न्यून भएको देखिएको छ ।
खोप लगाउने मात्र होइन, खोप लगाउने स्वास्थ्यकर्मीहरूमध्ये पनि काला समुदायका मानिस नै बढी भएको तथ्याङ्कले सार्वजनिक गरेको छ ।
उदाहरणको लागि, उत्तरी क्यारोलिना राज्यमा काला समुदायको जनसङ्ख्या कुल जनसङ्ख्याको २२ प्रतिशत छ भने त्यहाँका कुल स्वास्थ्यकर्मीमध्ये उनीहरूको हिस्सेदारी २६ प्रतिशत छ । तर, हालसम्म कोभिडविरुद्धको खोप लगाउने काला समुदाय मात्र ११ प्रतिशत छ । हिस्पानिक र गैरहिस्पानिक भनी दुई भागमा विभक्त श्वेत जनताको कुल जनसङ्ख्या ६८ प्रतिशत छ । उनीहरूमध्ये ८२ प्रतिशतलाई खोप लगाइसकिएको तथ्याङ्कले देखाएको छ ।
मेरील्यान्ड राज्यमा काला समुदायको जनसङ्ख्या कुल जनसङ्ख्याको ३० प्रतिशत छ भने स्वास्थ्यकर्मीहरूमध्ये ४० प्रतिशत उनीहरूकै समुदायका छन् । तर, हालसम्म जम्मा १६ प्रतिशत काला समुदायका मानिसलाई पनि कोभिडविरोधी खोप लगाइएको छ । दुवै हिस्पानिक र गैर हिस्पानिक समेट्दा श्वेत समुदायको जनसङ्ख्या कुल जनसङ्ख्याको ५५ प्रतिशत छ । तर, उनीहरूमध्ये ६७ प्रतिशतले भने खोप लगाइसकेका छन् । हिस्पानिक समुदायअन्तर्गत सबैथरीको जनसङ्ख्या कुल जनसङ्ख्याको ११ प्रतिशत छ भने उनीहरूमध्ये ५ प्रतिशतले खोप लगाइसकेका छन् ।
फिलाडेल्फिया राज्यको कुल जनसङ्ख्याको ४० प्रतिशत काला समुदायका जनता छन् भने उनीहरूमध्ये जम्मा १४ प्रतिशतलाई मात्र हालसम्म खोप लगाइएको छ । कुल जनसङ्ख्याको १५ प्रतिशत हिस्पानिक समुदायका छन् र उनीहरूमध्ये ४ प्रतिशतले मात्र खोप लगाएका छन् ।
शिकागोको कुल जनसङ्ख्याको ३० प्रतिशत जनता काला समुदायका छन् । उनीहरूमध्ये हालसम्म १५ प्रतिशतले मात्र खोप लगाइसकेका छन् । कुल जनसङ्ख्याको २९ प्रतिशत ओगटेका हिस्पानिक समुदायका जनतामध्ये १७ प्रतिशतले मात्र खोप लगाइसकेका छन् ।
खोप लगाउनेमा हिस्पानिकहरूको सङ्ख्या पनि कम नै छ । तर, उनीहरूको अनुपात अध्ययन गरिएका केही ठाउँमा सन्तोषजनक छ किनभने अन्य अमेरिकीहरूको तुलनामा हिस्पानिक समुदायका मानिसहरूको उमेर कम नै छ । अमेरिकामा यो चरणको खोप अभियानमा युवाहरूलाई भन्दा अन्य उमेर समूहलाई केन्द्रित गरिएको छ ।
संरा अमेरिकाका कोभिड–१९ को कारण सबभन्दा बढी काला समुदायका जनता नै सबभन्दा बढी सङ्क्रमित र मृत्यु भएको भए पनि खोप लगाउने सन्दर्भमा भने उनीहरूको सङ्ख्या ज्यादै कम हुनुलाई असमानुपातिक मानिएको छ । कोभिडको कारण संरा अमेरिकामा ४ लाख ३० हजार अमेरिकीको निधन भइसकेको छ । मर्नेहरूमध्ये श्वेत जनसङ्ख्याको तुलनामा काला, हिस्पानिक र आदिबासी अमेरिकी जनताको अनुपात तीन गुणाले बढी भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ ।
विज्ञहरू यस्तो विभेदको अवस्थाको निम्ति धेरै कुरा जिम्मेवार हुनसक्ने बताउँछन् । अमेरिकामा काला समुदायमाथिको विभेदकारी उपचारको इतिहास, काला समुदायको लागि खोपमा अपुग पहुँच र जरुरी सूचना पाउन काला समुदायमा असहजताको कारण काला समुदायबीच जन्मेको स्वास्थ्य प्रणालीको अविश्वासको कारण पनि तथ्याङ्कले यस्तो विभेदको तस्वीर देखाएको हुन सक्ने उनीहरूको बुझाइ छ । खोपको लागि नाम दर्ता अनलाइन प्रविधिबाट हुने गरेको छ । विडम्बना काला समुदायबीच त्यो प्रविधिमाथिको निकै सीमित मात्र पहुँच छ । केही काला समुदायका बस्तीमा त कसैले पनि खोपको लागि नाम दर्ता गरेका छैनन् ।
“हामीले बारम्बार सुनेको कुरा के हो भने धेरै जसो काला समुदायका मानिसहरू आफ्नै चिकित्सक वा स्थानीय स्वास्थ्य चौकीमा मात्र खोप लगाउन तयार छन् किनभने उनीहरू त्यसैमा मात्र विश्वास गर्छन्”, मिसिसिपीका स्वास्थ्य अधिकारी डा.थोमस डोब्सले भने ।
अविश्वासको समस्या हल गर्न न्यु ओर्लियन्सस्थित तुलाने विश्वविद्यालयअन्तर्गत जनस्वास्थ्य तथा सरुवा चिकित्साशास्त्र कलेजका डिन थोमस लाभिएस्टले खोप कार्यक्रमको लागि काला समुदायमा स्वयम्सेवकहरू परिचालन गरिएको बताए ।
लाभिएस्टले खोप विकासको लागि सहयोग गरेको ट्रम्प सरकारप्रति आभार व्यक्त गर्दै सो अभियानको नाम अपरेसन ¥याप स्पीड (तीव्रगतिको अभियान) राख्नु भने उचित नभएको बताए । “यो नामले अभियानको तीब्रतालाई जोड दिएको छ तर यसको वैज्ञानिक लेखाजोखालाई ध्यान दिएको छैन”, उनले भने ।
गत सोमबार खोपको पहिलो मात्रा लगाएका उनले भने,“यो अविश्वासको कारण म राम्ररी बुझ्छु । तपाईंले कोभिडको जोखिम र खोपको जोखिमलाई तौलिएर बुझ्न जरुरी छ । यो ज्यादै खतरनाक हो हो र यसले असमानुपातिक रूपमा काला समुदायमाथि प्रभाव पारेको छ । हामीले यो विषयलाई त्यसरी नै बुझेका छौं”, उनले भने ।
घर फिर्ता पठाउने भएको कारण ल्याटिनोहरूबीच पनि खोप अभियानमा सहभागी बनेका छैनन् । त्यसकारण खोप लगाउने ल्याटिनोहरू पनि कम नै छन् । यसको निम्ति भाषाको अवरोध पनि मूल समस्या भएको स्वयम्सेवकहरू बताउँछन् ।
खोप अभियान निकै धिमा गतिमा अघि बढिरहेको छ । अभियानको क्रममा अपेक्षा गरिएभन्दा धेरै समस्या सतहमा देखापरेका छन् । खोपको आपूर्ति सीमित भएकोले अमेरिकाका सबै जात र सम्प्रदायका मानिसहरू खोप लगाउनबाट अझै पनि वञ्चित छन् । हालसम्म झन्डै ७ प्रतिशत अमेरिकीहरूले पहिलो मात्राको खोप लिइसकेका छन् ।
खोप अभियान समतामूलक बनाउन राष्ट्रपति जो बाइडेनले अझ प्रयास गरिरहेका बताइएको छ । उनले सीडीसीको सामाजिक रूपमा कमजोरहरूको सूचाङ्कजस्ता आधारलाई लिएर ती समुदायमाथि लक्षित खोप अभियान सञ्चालनको लागि प्रोत्साहन गरिरहेका छन् । सामाजिक रूपमा कमजोरहरूको सूचाङ्कको मापन आधार जात, गरिबी, गुचमुच आवास र अन्य पक्षलाई मानिएको छ ।
“हामी पुग्न गा¥हो जनसमुदायसम्म पुग्न अतिरिक्त कदम लिन खोजिरहेका छौं र त्यो काम अहिले भइरहेको छ”,बाइडेनको कोभिड–१९ समता कार्य दलका सभापति डा.मार्सेला नुनेज–स्मिथले भने ।
अधिकांश राज्यहरूले अझै पनि जातीय रूपमा खोप अभियानको अवस्थाबारे तथ्याङ्क सार्वजनिक गरेको छैन । आंशिक तथ्याङ्क सार्वजनिक गरेका केही राज्यहरू समेतका तथ्याङ्क अपूर्ण छन् । ती तथ्याङ्कमा जातीय अवस्थाबारे जानकारी अपूर्ण छ ।
खोप लगाइ गत डिसेम्बर महिनाबाट संरा अमेरिकामा कोभिडविरुद्ध खोप अभियान थालनी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *