इरानी विश्वकप टोलीमाथिको व्यवहारले पश्चिमा र फिफाको दोहोरो चरित्र पर्दाफास भएको छ !
- असार १९, २०८३
‘बुद्धिजीवीहरू’ को हुन् ? राजनीति, प्रशासन, शिक्षा र समाजका अन्य क्षेत्रमा उनीहरूको भूमिका र दायित्व के हुनुपर्छ भन्नेबारेमा बेलाबखत हामीकहाँ बहस र विवाद हुने गरेका छन् । समाजमा बुद्धिजीवीहरूको चरित्र, भूमिका र आवश्यकताप्रति फरक फरक दृष्टिकोण पाइन्छ । विभिन्न राजनैतिक चिन्तन र दर्शनले पनि बुद्धिजीवीहरूलाई आ–आफ्नै ढङ्गले व्याख्या गरेको देखिन्छ । यस लेखमा इटालियन कम्युनिस्ट पार्टीका संस्थापक तथा माक्र्सवादी चिन्तक एन्टोनियो ग्राम्सीले अथ्र्याएको ‘अर्गानिक बुद्धिजीवी’ (Organic intellectual) का बारेमा चर्चा गरिएको छ ।
को थिए ग्राम्सी ?
पहिलो विश्वयुद्धको समाप्ति र दोस्रो विश्वयुद्ध सुरु हुनु अघिको दुई दशकको अवधिमा हङ्गेरीका जर्ज लुकास (१८८५–१९७१) र इटालीका एन्टोनियो ग्राम्सी (१८९१–१९३७) लाई युरोपका प्रभावशाली माक्र्सवादी चिन्तक र लेखकहरूको रूपमा लिइन्छ । तुरिन विश्वविद्यालयमा अध्ययनरत रहँदा आदर्शवादी दार्शनिक बेनिडेटो कच्र्चबाट (Benedeto Corce) प्रभावित भएका ग्राम्सीले सन् १९१३ मा इटाली सोसियलिस्ट पार्टीसँग आबद्ध भएका थिए भने सन् १९२० मा रुसमा आयोजित कम्युनिस्ट इन्टरनेसनलको दोस्रो महासभामा भाग लिएर फर्की एक वर्ष पछि उनले इटालियन कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । कारखाना मजदुरहरूलाई सङ्गठित गर्ने कार्यमा सक्रिय हुँदै सन् १९२४ मा इटालियन संसद्को सदस्य रहेका ग्राम्सी सन् १९२६ मा फासिस्ट मुसोलिनीको उदयपश्चात् २० वर्षको काराबासको सजायमा पर्छन् । तर, सजाय अवधि पूरा हुनुअगावै यातना, कठिन जीवन र रोगब्याधिले सन् १९३७ मा उनको मृत्यु जेलभित्रै भएको थियो । यसलाई उनको स्वाभाविक मृत्युभन्दा पनि फासिस्ट सरकारको मन्दविषले उनको हत्या नै गरिएको मानिन्छ ।
जेल अवधिमा कडा निगरानी भएपनि माक्र्सवादको गहन अध्ययन र चिन्तनमा उनी तल्लीन हुन पुग्छन् । जेलमा लेखेका उनका आलेखहरूको सङ्ग्रह ‘जेलका नोटहरू’ नामले चिनिन्छ । उनको यस कृतिले माक्र्सवादी साहित्य र दर्शनमा केही नयाँ आयाम थप्न सफल भएको मानिन्छ । ग्राम्सीले प्रतिपादन गरेका विभिन्न सिद्धान्तहरूमध्ये सर्वाधिक चर्चा हुने ‘सांस्कृतिक हेजीमोनीको सिद्धान्त’ हो । यस सिद्धान्तलाई पछि उत्तर औपनिवेशिक तथा नारीवादी सिद्धान्तमा समेत ग्रहण गरिएको पाइन्छ । यस ‘हेजीमोनीे सिद्धान्तका’ विभिन्न अवयवहरूमध्ये अर्गानिक बुद्धिजीवी एक अवयव हो ।
के हो हेजीमोनीको सिद्धान्त ?
हेजीमोनीलाई नेपालीमा आधिपत्य वा हैकम भनेर पनि बुभ्mन सकिन्छ । यस अवधारणाबारे अझ प्रष्ट बुझ्न आइडियोलोजी (ideology) लाई सँगसँगै बुझ्नुपर्ने हुन्छ । आइडियोलोजी राजनैतिक सिद्धान्त र संकथनमा धेरै चर्चा हुने शब्दावली हो । सामान्यतः नेपालीमा बुझ्दा यसलाई हामी विचारधारा भन्छौँ । फ्रान्सका माक्र्सवादी सिद्धान्तकार लुइ अल्थ्युसर (Louis Althusser) का अनुसार सामाजिक वा प्राकृतिक संसारमा रहेका कुराहरूलाई हेर्ने र बुझ्ने कुनै व्यक्तिको आफ्नै दृष्टिकोण हुन्छ, भलै त्यो असत्य हुनसक्छ । यस्ता धेरै सामाजिक मान्यताहरू पनि हुन्छन् जसलाई हामी सत्य ठानी निरन्तरता दिइरहन्छौँ । यसलाई नै अल्थ्युसरले आइडियोलजी भने । उदाहरणको लागि आज पनि ईश्वरको अस्तित्व र मानिसको दुःख र शोषणलाई प्राकृतिक मानेर सहजरूपमा स्वीकार्नेहरू पनि छन् । अल्थ्युसरका अनुसार व्यक्तिमा निहित यो दृष्टिकोण एक वा दुई दिनमा निर्माण हुने कुरा होइन । उनको शिक्षा–दीक्षा, सांस्कृतिक परिवेश, धर्म, साथ–सङ्गत आदिको सामूहिक प्रभावको कारणले व्यक्तिको अवचेतन मस्तिष्कमा आइडियोलोजी गडेको हुन्छ जसलाई सजिलै मेट्न वा मेटाउन गा¥हो हुन्छ । माक्र्सवादी दर्शनमा यसलाई भ्रमपूर्ण चेतना (false consciousness) भनिन्छ । सामान्य जनता, शोषित, पीडित, गरीब निमुखादेखि सचेत व्यक्तिहरूसम्म यो भ्रमपूर्ण चेतनामा बाँचेका हुन्छन् र यथास्थितिलाई सत्य, परिवर्तन र क्रान्तिकारी कदमलाई अनावश्यक र वाहियात ठान्छन् । शास्त्रीय माक्र्सवादीहरूका अनुसार यथास्थितिलाई कायम राख्न शासकहरू र उनका पृष्ठपोषकहरूले नियोजित ढङ्गमा यस्तो भ्रमपूर्ण चेतनाको निर्माण गर्छन् । यसको लागि उनीहरूले साहित्य, कला, सञ्चार, धर्म, शिक्षा, कानुन हरेक कुराको माध्यमले यस्तो गरिरहेका हुन्छन् ।
भ्रमपूर्ण चेतना र आइडियोलोजीका कारण सामान्य बहुसङ्ख्यक जनता शोषणलाई प्राकृतिक ठान्छन् । आफ्नो दुःख र गरिबीलाई आफ्नो भाग्यको कारण मान्छन् र शोषणलाई सहज स्वीकार्छन् । यसरी शासन सत्तामा रहेको वर्ग जसको आकार सानो नै किन नहोस् आम जनतालाई आफ्नो विचार र कुरा लादेर उनीहरूमाथि आफ्नो हैकम र आधिपत्य जनाउन सफल भइरहेका हुन्छन् । बहुसङ्ख्यक निमुखा जनता सत्ताधारीको आधिपत्य र हैकमलाई सहजरूपमा स्वीकार्ने अवस्थालाई नै ग्राम्सीले सांस्कृतिक हेजीमोनी भनेका छन् । ग्राम्सीका अनुसार जनक्रान्तिद्वारा स्थापित समाजवादी र कम्युनिस्ट सत्तालाई दिगो बनाइराख्न यही सांस्कृतिक हेजीमोनी बाधक बन्छ । नयाँ शासन सत्तालाई टिकाइराख्न सैन्यशक्ति वा अन्य आर्थिक आधारहरू मात्रले पर्याप्त हुँदैन । नयाँ वैचारिक र सांस्कृतिक आधारहरू तयार गरी पुरानो आइडियोलोजीलाई विस्थापित गर्नुपर्छ । यही ग्राम्सीको मान्यता रहेको छ ।
अर्गानिक बुद्धिजीवीको भूमिका
अङ्ग्रेजी शब्द organic लाई फरक परिप्रेक्षमा फरक अर्थमा प्रयोग गरेको देखिन्छ । चलन चल्तीमा आज हामी यसलाई जैविक, खानपान र परिकारमा शुद्ध र रासायनिक मलविहीन भने अर्थमा बुझ्दछौँ । समाजशास्त्रीय साहित्यमा इमाइल दुर्खिमले समाजको स्वरूपलाई विश्लेषण गर्ने क्रममा मेकानिकल सोलिड्यारिटी र अर्गानिक सोलिड्यारिटी भन्ने शब्दावलीहरूको प्रयोग गरेको पाइन्छ । दुर्खिमले परम्परागत समाज जहाँ हरेक व्यक्ति र समुदायको सोच, विचार र मान्यतामा, जिम्मेवारी र दायित्व समेतमा समानता हुन्छ । त्यसलाई उनले मेकानिकल सोलिड्यारिटी र आधुनिक समाज जहाँ श्रम विभाजनको परम्परा स्थापित भई एउटै समूह र समुदायका व्यक्तिहरूमा पनि फरक फरक मत, राय, विचार, आचरण र जिम्मेवारी हुने समाजलाई अर्गानिक सोलिड्यारिटी भनेका छन् । ग्राम्सीले प्रयोग गरेको अर्गानिक शब्द यी प्रसङ्गहरूभन्दा फरक देखिन्छ । एकछिन यसको पृष्ठभूमिलाई मनन गरौँ ।
नयाँ आइडियोलोजी निर्माण गरी अधिरचनालाई नयाँ व्यवस्थामैत्री बनाउने कार्यमा बुद्धिजीवीको अहम् भूमिका हुने ग्र्राम्सीको मत छ । उनका अनुसार समाजमा सबै बुद्धिजीवी हुन्छन् तर सबैले बुद्धिजीवीको भूमिका खेल्दैनन् । समाजमा दुईखाले बुद्धिजीवी हुन्छन्– परम्परागत र अर्गानिक । शिक्षक, प्राध्यापक, चिकित्सक, इन्जिनियर, मेनेजर, लेखक, वकिल, पत्रकार, व्यवस्थापक, वैज्ञानिक, कलाकार तथा कृषि विशेषज्ञ आदि सबै बुद्धिजीवी नै हुन् । आफ्नो विशेषज्ञता भएका कर्मलाई मात्र (जस्तैः शिक्षक र प्राध्यापकले पढाउने र चिकित्सकले बिरामी जाँच्नेमात्र कर्म गरेमा) पुस्तौँदेखि निरन्तरता दिँदै आएका उहाँहरू परम्परागत बुद्धिजीवी भए । तर, अर्गानिक बुद्धिजीवीहरु गतिशील हुन्छन् । उनीहरू समाज परिवर्तनका लागि सधैँ चलायमान हुन्छन् ।
समाज परिवर्तनको बारेमा माक्र्सवादी दर्शनको सार हो– आधार (base or infrastructure) वा आर्थिक आधार वा उत्पादनको प्रणालीमा आउने परिवर्तनले अधिरचना वा उपरीसंरचना (superstructure) मा स्वतः हुने परिवर्तन हो । यसलाई सरलरूपमा बुझ्दा आधार भनेको जीविकोपार्जनको लागि व्यक्ति र समुदायले गर्ने आर्थिक क्रियाकलाप हो र अधिरचना भन्नाले समाजको अन्य संस्थाहरू जस्तैः धर्म, शिक्षा, कानुन, राजनीति, साहित्य, दर्शन, वर्गीय चेतना, राजनैतिक सत्ता, वर्गीय विभाजन इत्यादि । माक्र्सका अनुसार आदिम समाजबाट दासयुग, दासयुगबाट सामन्ती युग र सामन्ती समाजबाट पुँजीवादी युगमा परिवर्तन हुनुको कारण नै उत्पादन प्रणालीमा भएको परिवर्तन हो । यी प्रत्येक युग र समाजमा आ आफ्नै खालको अधिरचनाको स्वरूप थियो । यहीँनिर ग्राम्सीले आफ्नो फरक विचार राखे । आधार वा उत्पादन प्रणालीमा आउने परिवर्तनले जसरी अधिरचनामा असर गर्छ । अधिरचनाले पनि आधारमा असर पार्छ । यिनीहरूबीच एकोहोरो होइन दोहोरो सम्बन्ध हुने निष्कर्ष हो ग्राम्सीको । व्यावहारिकरूपमा यसलाई ग्र्राम्सीले यसरी प्रस्ट पारे– जब मानव समाज सामन्ती प्रणालीबाट पुँजीवादमा प्रवेश ग¥यो, यहाँ उत्पादन प्रणालीमा परिवर्तन त भयो नै । साथै यस व्यवस्थालाई मजबुत गरी टिकाउन पुँजीवादीका मुख्य सञ्चालक वर्ग बुर्जुवा र यसका सहायकहरूले सोहीअनुसारको नयाँ आइडिओलोजी निर्माण गर्दै अधिरचनालाई पनि मजबुत बनाउँदै लगे र पुँजीवादी व्यवस्थाप्रति आमजनता हेजीमोनाइज्ड हँुदै गए । ग्राम्सीका अनुसार क्रान्तिपश्चात् स्थापना हुने समाजवादी व्यवस्थालाई टिकाउ गर्न सोहीअनुसारको आइडियोलोजी निर्माण गर्नु नै अधिरचनालाई बदल्नु हो । अनिमात्र यसको स्वतः असर पनि उत्पादन प्रणालीमा पर्न जान्छ । चरम औद्योगिकीकरण भइसकेको देश बेलायतमा पनि समाजवादी क्रान्ति नहुनुमा यही पुँजीवादी व्यवस्थाको अधिरचनामा बुर्जुवा वर्गले निर्माण गरेको आइडियोलजी जिम्मेवार रहेको ठहर गर्छन् ग्राम्सी ।
नयाँ आइडियोलोजी निर्माण गरी अधिरचनालाई नयाँ व्यवस्थामैत्री बनाउने कार्यमा बुद्धिजीवीको अहम् भूमिका हुने ग्र्राम्सीको मत छ । उनका अनुसार समाजमा सबै बुद्धिजीवी हुन्छन् तर सबैले बुद्धिजीवीको भूमिका खेल्दैनन् । समाजमा दुईखाले बुद्धिजीवी हुन्छन्– परम्परागत र अर्गानिक । शिक्षक, प्राध्यापक, चिकित्सक, इन्जिनियर, मेनेजर, लेखक, वकिल, पत्रकार, व्यवस्थापक, वैज्ञानिक, कलाकार तथा कृषि विशेषज्ञ आदि सबै बुद्धिजीवी नै हुन् । आफ्नो विशेषज्ञता भएका कर्मलाई मात्र (जस्तैः शिक्षक र प्राध्यापकले पढाउने र चिकित्सकले बिरामी जाँच्नेमात्र कर्म गरेमा) पुस्तौँदेखि निरन्तरता दिँदै आएका उहाँहरू परम्परागत बुद्धिजीवी भए । तर, अर्गानिक बुद्धिजीवीहरु गतिशील हुन्छन् । उनीहरू समाज परिवर्तनका लागि सधैँ चलायमान हुन्छन् । अझ प्रस्टरूपमा भन्दा नयाँ आइडियोलोजी निर्माण गर्न उनीहरू सधैँ लागिपर्छन् । पुँजीवादी व्यवस्थालाई टिकाउ गर्न उनीहरूले पुँजीवादकै पक्षपोषण गर्ने अर्गानिक बुद्धिजीवीहरू नियोजितरूपमै तयार गर्छन् । उनीहरूको मुख्य कर्म पुँजीवादी व्यवस्था नै अन्तिम सत्य हो । यो भन्दा पर अन्धकार नै अन्धकारमात्र छ भन्ने भ्रम सृजना गर्नु हो । ग्राम्सीको भनाइलाई व्याख्या गर्दा ग्राम्सीका अनुसार “कम्युनिस्ट व्यवस्थालाई दिगो र टिकाउ गर्न पुँजीवादीले जस्तै समाजवादका पक्षपोषण गर्ने अर्गानिक बुद्धिजीवीको परिचालन अपरिहार्य छ । उनीहरूले जनतालाई बुझ्ने भाषामा चित्तबुझ्ने गरी सम्झाउन सक्छन् । वास्तविक अवस्थाका बारेमा निरन्तर जानकारी गराइराख्छन् । यसले नयाँ व्यवस्थामैत्री आइडियोलोजी निर्माण हुन्छ जसले अन्ततः कम्युनिस्ट व्यवस्थालाई दिगो बनाउँछ ।”
ग्राम्सी भन्छन् , “सशस्त्र युद्धका मैदानमा अक्सर दुश्मनको सर्वाधिक कमजोर मोर्चामा प्रहार गर्ने प्रयास गरिन्छ । त्यस किसिमको रणनीतिबाट भए पनि लडाइँ जितिन्छ भन्ने जीत नै भयो भनिन्छ, रणनीति सफल नै मानिन्छ । तर बौद्धिक क्षेत्रमा भने यस किसिमको विजय वा रणनीति काम लाग्दैन । बौद्धिक क्षेत्रमा त हामीले दुश्मनको सर्वाधिक मजबुत र मुश्किल मोर्चामा हमला गर्न सक्नुपर्छ । अनि हाम्रो विजय सार्थक एवम् दीगो हुनेछ ।”
सन्दर्भ सामग्री
१.Representation of the Intellectuals, Edward W. Said
२.Marx and Marxism, Gregory Claeys
३. The Public Intellectual in India, Romila Thapar
४. सिद्धान्तका कुरा, संजीव उप्रेती
५. A dictionary of Philosophy, Thomas Mautner
६. Ideology and Ideological State apparatus (Notes toward an Investigation, 1970), Louis Althusser
७. Hegemony (1929), Antonio Gramsci
८. लेनिन एक अध्ययन, प्रदीप गिरी
(साभारः मधुपर्क, पूर्णाङ्क ६०७, पुस २०७६)
Leave a Reply