एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा एउटै मञ्चमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल देखिएपछि धेरै सामाजिक सञ्जालमा फेरि वाम एकताको बहस सुरू गरिएको छ । कतिपय स्वनामधन्य विश्लेषकहरूले यसलाई २०७४ सालको जस्तै नयाँ राजनीतिक यात्राको सङ्केतका रूपमा समेत व्याख्या गर्न भ्याइसकेका छन् ।
समाजवादी वा वामपन्थी राजनीतिलाई रूचाउनेहरूले ‘वामपन्थी एकता’ शब्दावलीमा स्वाभाविक भावनात्मक प्रतिक्रिया दिनसक्छन् । तर, भावना र राजनीतिक यथार्थ एउटै कुरा होइनन् । अहिलेको अवस्थामा सबैभन्दा ठुलो प्रश्न ‘वाम एकता हुन्छ कि हुँदैन ?’ भन्ने होइन । बरू प्रश्नहरू हुन् – कस्तो वाम एकता ? कसका लागि वाम एकता ? र, कसको नेतृत्वमा वाम एकता ? नेपालमा वाम एकताको नारा दिएर नेपालको कम्युनिष्ट आन्दोलनप्रति सैद्धान्तिक घात र राजनीतिक विश्वासघात विगतमा पनि पटकपटक भइसकेका छन् । यस पटकको वाम एकता पनि जनता झुक्याउने अर्को प्रपञ्च मात्र नहोला र ?
नेपालमा कम्युनिष्ट वा वामपन्थी आन्दोलन इतिहासदेखि नै बलियो सामाजिक आधार भएको आन्दोलन हो । त्यही आधारमा टेकेर २०६४ सालको संविधानसभा निर्वाचनमा वामपन्थी दावी गर्ने दलहरूले संयुक्त रूपमा करिब ५० प्रतिशत मत प्राप्त गरेका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि त्यो मत झन्डै ४८ प्रतिशत थियो । संसदमा उनीहरूको उपस्थिति दुईतिहाइ नजिक पुग्यो । २०७९ सालको निर्वाचनमा पनि वामपन्थी भनिने दलहरूको मत हिस्सा करिब ४१.५ प्रतिशतकै हाराहारीमा थियो । यसको अर्थ नेपाल वैचारिक रूपमा वामपन्थका लागि उर्वर भूमि थियो । पछिल्लो २०८२ को निर्वाचनमा भने वामपन्थीहरूलाई जम्मा २१.५ प्रतिशत मात्र मत प्राप्त भएको छ । तर, यति बलियो जनाधार भएको आन्दोलन आज किन रक्षात्मक अवस्थामा पुगेको छ ? यसको उत्तर बाहिर होइन, वाम आन्दोलनकै नेतृत्वभित्र खोज्नुपर्छ ।
पछिल्ला डेढ दशकमा वामपन्थी दलहरू नामले कम्युनिस्ट रहे, व्यवहारले होइन । तर सरकारमा पुगेर कथित वामपन्थी पार्टीहरूले दक्षिणपन्थी पुँजीवादी सरकारहरूकै पदचिह्नमा हिँडे । पुँजीवादी पार्टीहरूभन्दा पनि बढी पुँजीवादी आर्थिक नीति लागू गर्न कस्सिए । वर्गीय राजनीति कमजोर बनाइयो, अवसरवाद संस्थागत गरियो, सिद्धान्तलाई सत्ता समीकरणको भ¥याङ बनाइयो । पार्टीहरू विचारले होइन, व्यक्तिवादले चल्न थाले । आन्तरिक लोकतन्त्रको ठाउँमा गुटबन्दी आयो । आलोचनालाई आत्मसमीक्षाको अवसर होइन, दुश्मनीका रूपमा हेरियो । समाजवादको बहस गर्ने नेताहरू आफैं राज्यसत्ताको विशेषाधिकारमा रमाउन थाले ।
सबैभन्दा ठुलो विडम्बना के रह्यो भने कम्युनिस्ट पार्टीभित्र नै कम्युनिस्ट संस्कृति हराउँदै गयो । जनताको नाममा राजनीति गरियो, तर जनताबाट दूरी बढ्दै गयो । श्रमिक, किसान, विद्यार्थी र निम्नवर्गसँगको सम्बन्ध क्रमशः कमजोर बन्यो । पार्टीहरू आन्दोलनका कक्षा र विद्यालय हुन छाडेर चुनावी मेसिन बन्न पुगे । कार्यकर्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्ने परम्परा हरायो । त्यसको सट्टा टिकट, पद, मन्त्रालय र शक्ति बाँडफाँट नै राजनीतिको केन्द्र बन्यो । यही कारणले आज जनताले विकल्प खोजे । वामपन्थी पार्टीहरूप्रतिको विश्वास, भरोसा र आत्मीयता आम जनमानसमा कमजोर बन्यो । आफ्नो आस्थाको धरोहर मान्दै आएको पार्टी र नेताप्रतिको वितृष्णा अकल्पनीय रूपमा बढ्यो । यसैले अहिले चुनाव हारेपछि मात्रै फेरि ‘वाम एकता’ को नारा उठाउनु सही होइन । यदि यो केवल चुनावमा हरिएको पीडा बिर्साउने उपाय हो भने त्यसले आन्दोलनलाई बचाउँदैन । यदि यो विगतका निर्णय, अनियमितता वा विवादबाट आफूलाई जोगाउने राजनीतिक सुरक्षा कवच बनाउने प्रयास हो भने त्यो झन् घातक हुनेछ । वाम एकताको आधार चुनाव हार्ने डर होइन, दर्शन हुनुपर्छ । एकताको आधार सत्ता होइन, सिद्धान्तनिष्ठ कार्यक्रम हुनुपर्छ । एकताको आधार नेताको निम्ति पद र सुविधा होइन, जनताको हित र आवश्यकता हुनुपर्छ ।
२०७४ सालको एकता किन टिकेन भन्ने प्रश्नको इमानदार उत्तर नदिई पटक पटक पुँजीवादी सरकारको नेतृत्व गरेका वामपन्थीहरूले फेरि अर्को एकताको नारा लगाउनु इतिहास दोहो¥याउनुमात्र हुनेछ । त्यो बेला जनताले दुईतिहाइ नजिकको जनादेश दिएका थिए । तर त्यो जनादेश समाजवाद र समाजवादउन्मुख समाज निर्माणको दिशामा प्रयोग भएन । बरू सत्ता सङ्घर्ष, अहङ्कार, अविश्वास र व्यक्तिकेन्द्रित राजनीतिले त्यो अवसर समाप्त भयो । त्यसको मूल्य अहिले ती पदलोलुप अवसरवादी नेताहरूले र समग्र वाम आन्दोलनले चुकाइरहेको छ ।
यदि वाम एकताको अर्थ केवल चुनाव जित्ने गणित हो भने त्यसको आयु फेरि छोटै हुनेछ । तर, यदि वाम एकताको अर्थ उत्पीडित वर्गको मुक्ति, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता, उत्पादनमुखी अर्थतन्त्र र जनउत्तरदायी राज्य निर्माणको साझा अभियान हो भने त्यस्तो एकताको आवश्यकता आज पनि छ, भोलि पनि रहनेछ । तर, यो एकताको यात्राको पहिलो पाइला विचारको नवीकरण र नेतृत्वको पुस्तान्तरण हुनुपर्छ । उही अनुहार, उही शैली र उही राजनीतिक संस्कृतिबाट वाम आन्दोलनको पुनर्जागरण सम्भव छैन ।
Leave a Reply