भर्खरै :

वाम एकता जनता झुक्याउने अर्को प्रपञ्च नहोस् 

वाम एकता जनता झुक्याउने अर्को प्रपञ्च नहोस् 
एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा एउटै मञ्चमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल देखिएपछि धेरै सामाजिक सञ्जालमा फेरि वाम एकताको बहस सुरू गरिएको छ । कतिपय स्वनामधन्य विश्लेषकहरूले यसलाई २०७४ सालको जस्तै नयाँ राजनीतिक यात्राको सङ्केतका रूपमा समेत व्याख्या गर्न भ्याइसकेका छन् ।
समाजवादी वा वामपन्थी राजनीतिलाई रूचाउनेहरूले ‘वामपन्थी एकता’ शब्दावलीमा स्वाभाविक भावनात्मक प्रतिक्रिया दिनसक्छन् । तर, भावना र राजनीतिक यथार्थ एउटै कुरा होइनन् । अहिलेको अवस्थामा सबैभन्दा ठुलो प्रश्न ‘वाम एकता हुन्छ कि हुँदैन ?’ भन्ने होइन । बरू प्रश्नहरू हुन् – कस्तो वाम एकता ? कसका लागि वाम एकता ? र, कसको नेतृत्वमा वाम एकता ? नेपालमा वाम एकताको नारा दिएर नेपालको कम्युनिष्ट आन्दोलनप्रति सैद्धान्तिक घात र राजनीतिक विश्वासघात विगतमा पनि पटकपटक भइसकेका छन् । यस पटकको वाम एकता पनि जनता झुक्याउने अर्को प्रपञ्च मात्र नहोला र ?
नेपालमा कम्युनिष्ट वा वामपन्थी आन्दोलन इतिहासदेखि नै बलियो सामाजिक आधार भएको आन्दोलन हो । त्यही आधारमा टेकेर २०६४ सालको संविधानसभा निर्वाचनमा वामपन्थी दावी गर्ने दलहरूले संयुक्त रूपमा करिब ५० प्रतिशत मत प्राप्त गरेका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि त्यो मत झन्डै ४८ प्रतिशत थियो । संसदमा उनीहरूको उपस्थिति दुईतिहाइ नजिक पुग्यो । २०७९ सालको निर्वाचनमा पनि वामपन्थी भनिने दलहरूको मत हिस्सा करिब ४१.५ प्रतिशतकै हाराहारीमा थियो । यसको अर्थ नेपाल वैचारिक रूपमा वामपन्थका लागि उर्वर भूमि थियो । पछिल्लो २०८२ को  निर्वाचनमा भने वामपन्थीहरूलाई जम्मा २१.५ प्रतिशत मात्र मत प्राप्त भएको छ । तर, यति बलियो जनाधार भएको आन्दोलन आज किन रक्षात्मक अवस्थामा पुगेको छ ? यसको उत्तर बाहिर होइन, वाम आन्दोलनकै नेतृत्वभित्र खोज्नुपर्छ ।
पछिल्ला डेढ दशकमा वामपन्थी दलहरू नामले कम्युनिस्ट रहे, व्यवहारले होइन । तर सरकारमा पुगेर कथित वामपन्थी पार्टीहरूले दक्षिणपन्थी पुँजीवादी सरकारहरूकै पदचिह्नमा हिँडे । पुँजीवादी पार्टीहरूभन्दा पनि बढी पुँजीवादी आर्थिक नीति लागू गर्न कस्सिए । वर्गीय राजनीति कमजोर बनाइयो, अवसरवाद संस्थागत गरियो, सिद्धान्तलाई सत्ता समीकरणको भ¥याङ बनाइयो । पार्टीहरू विचारले होइन, व्यक्तिवादले चल्न थाले । आन्तरिक लोकतन्त्रको ठाउँमा गुटबन्दी आयो । आलोचनालाई आत्मसमीक्षाको अवसर होइन, दुश्मनीका रूपमा हेरियो । समाजवादको बहस गर्ने नेताहरू आफैं राज्यसत्ताको विशेषाधिकारमा रमाउन थाले ।
सबैभन्दा ठुलो विडम्बना के रह्यो भने कम्युनिस्ट पार्टीभित्र नै कम्युनिस्ट संस्कृति हराउँदै गयो । जनताको नाममा राजनीति गरियो, तर जनताबाट दूरी बढ्दै गयो । श्रमिक, किसान, विद्यार्थी र निम्नवर्गसँगको सम्बन्ध क्रमशः कमजोर बन्यो । पार्टीहरू आन्दोलनका कक्षा र विद्यालय हुन छाडेर चुनावी मेसिन बन्न पुगे । कार्यकर्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्ने परम्परा हरायो । त्यसको सट्टा टिकट, पद, मन्त्रालय र शक्ति बाँडफाँट नै राजनीतिको केन्द्र बन्यो । यही कारणले आज जनताले विकल्प खोजे । वामपन्थी पार्टीहरूप्रतिको विश्वास, भरोसा र आत्मीयता आम जनमानसमा कमजोर बन्यो । आफ्नो आस्थाको धरोहर मान्दै आएको पार्टी र नेताप्रतिको वितृष्णा अकल्पनीय रूपमा बढ्यो । यसैले अहिले चुनाव हारेपछि मात्रै फेरि ‘वाम एकता’ को नारा उठाउनु सही होइन । यदि यो केवल चुनावमा हरिएको पीडा बिर्साउने उपाय हो भने त्यसले आन्दोलनलाई बचाउँदैन । यदि यो विगतका निर्णय, अनियमितता वा विवादबाट आफूलाई जोगाउने राजनीतिक सुरक्षा कवच बनाउने प्रयास हो भने त्यो झन् घातक हुनेछ । वाम एकताको आधार चुनाव हार्ने डर होइन, दर्शन हुनुपर्छ । एकताको आधार सत्ता होइन, सिद्धान्तनिष्ठ कार्यक्रम हुनुपर्छ । एकताको आधार नेताको निम्ति पद र सुविधा होइन, जनताको हित र आवश्यकता हुनुपर्छ ।
२०७४ सालको एकता किन टिकेन भन्ने प्रश्नको इमानदार उत्तर नदिई पटक पटक पुँजीवादी सरकारको नेतृत्व गरेका वामपन्थीहरूले फेरि अर्को एकताको नारा लगाउनु इतिहास दोहो¥याउनुमात्र हुनेछ । त्यो बेला जनताले दुईतिहाइ नजिकको जनादेश दिएका थिए । तर त्यो जनादेश समाजवाद र समाजवादउन्मुख समाज निर्माणको दिशामा प्रयोग भएन । बरू सत्ता सङ्घर्ष, अहङ्कार, अविश्वास र व्यक्तिकेन्द्रित राजनीतिले त्यो अवसर समाप्त भयो । त्यसको मूल्य अहिले ती पदलोलुप अवसरवादी नेताहरूले र समग्र वाम आन्दोलनले चुकाइरहेको छ ।
यदि वाम एकताको अर्थ केवल चुनाव जित्ने गणित हो भने त्यसको आयु फेरि छोटै हुनेछ । तर, यदि वाम एकताको अर्थ उत्पीडित वर्गको मुक्ति, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता, उत्पादनमुखी अर्थतन्त्र र जनउत्तरदायी राज्य निर्माणको साझा अभियान हो भने त्यस्तो एकताको आवश्यकता आज पनि छ, भोलि पनि रहनेछ । तर, यो एकताको यात्राको पहिलो पाइला विचारको नवीकरण र नेतृत्वको पुस्तान्तरण हुनुपर्छ । उही अनुहार, उही शैली र उही राजनीतिक संस्कृतिबाट वाम आन्दोलनको पुनर्जागरण सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *